Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा सञ्चारकर्मीको चासो

उद्घोष सम्वाददाता
२९ वैशाख २०८१, शनिवार

विराटनगर । यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा आमनागरिकलाई पूर्ण रुपमा जानकारीको अभाव रहेको एक कार्यक्रमका सहभागीहरूले औंल्याएका छन् । 

अझै पनि यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा पर्याप्त जानकारी नहुँदा निसन्तानको समस्या भोग्दै आएका महिलाहरूले विभिन्न लान्छना खेप्नुपरेकोमा सहभागीहरूले चिन्ता व्यक्त गरेका छन् ।

महिलाले समाजबाट अनेकौ किसिमका बिभेद तथा लाल्छाना भोग्न बाध्य भएको भन्दै त्यसको न्यूनीकरणका लागि समाजमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा उनीहरूले थप जनचेतना आवश्यक रहेको औंल्याएका हुन् ।  

ओरेक नेपालले शनिबार विराटनगरमा आयोजना गरेको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सवाल र सञ्चारकर्मीको भूमिकाको विषयमा भएको कार्यक्रमका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन् ।

पछिल्लो समयमा निसन्तानपन अर्थात बाँझोपनाको समस्या प्रजनन् स्वास्थ्य समस्यामध्ये एक भयानक समस्याको रुपमा देखा पर्न थालेको छ  । जसका कारण बिवाहित दम्पतीमा शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसा, निरासा, घरायसी झगडा, बहुविवाहलगायतका समस्याहरू पनि दिनानुदिन बढ्दै गएका घटनाहरू सुनिन्छन् ।

यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा सर्वसाधारणहरूमा जनचेतना तथा जानकारी समेत नभएको कारण बिभिन्न बिभेद र लाल्छाना सहनुपर्ने अवस्थाबाट महिलालाई मुक्त गराउन जानकारी तथा जनचेतनाको आवश्यक भएको अन्तरकृयामा सहभागीहरूले निचोड निकालेका थिए । 

कार्यक्रममा ओरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनालीले पछिल्लो समयमा यौन तथा प्रजनन् अधिकारको विषयमध्ये निसन्तानको समस्या निकै गम्भीर विषय रहेको बताइन् । उनले सन्तान भएकै कारण बिभिन्न प्रकारका सामाजिक बिभेद र लाल्छाना खेप्नुपरेको अवस्था रहेको पाइएकाले विशेषगरी महिलासँग जोडेर हेरिने बाँझोपनाको समस्याको कारण महिलाले भोग्दै आएको हिंसा न्यूनीकरणको लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताइन् । 

गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिला र पुरुष दुबैमा समस्या देखिन सक्ने भए पनि समाजमा महिलालाई बढी दोषी देख्ने भएकाले पुरुषको तुलनामा महिला नै बढी हिंसाको चपेटामा पर्ने गरेको पाइएकाले यस्तो अन्धविश्वास हटाउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

कार्यक्रममा बोल्दै ओरेककी निर्देशक मैनालीले सरकारको तर्फबाट निसन्तानपनाको समस्या सम्बन्धी आवश्यक विश्लेषण गरी समुदायको अवस्था कस्तो छ भन्ने विषयको खास अध्ययन नभएका कारण यस विषयमा सिधै कार्यक्रम ल्याउन कठिन भएको समेत बताइन् । 

हाम्रो समाजमा अझै पनि महिलाहरूले आफ्नो प्रजनन् क्षमता पुष्टि गर्न सन्तान जन्माउनुपर्छ जसकारण सन्तान जन्माउन नसकेका महिलाहरू परिवार समाजबाट विभिन्न हिंसा सहन बाध्य भएको समेत उनले बताइन् ।

ओरेक नेपालकी प्रदेश संयोजक सरस्वती दनुवारले ओरेकले हालै २४ वटा स्वास्थ्य संस्थामा निसन्तान दम्पत्तिको बारेमा अध्ययन गर्दा धेरैलाई संविधानले सुनिश्चित गरेको यौन तथा प्रजनन् स्वास्थ्यअधिकारको बारेमा जानकारी नभएकै कारण महिलाहरू मानसिक र शारीरिक हिंसा सहन बाध्य भएको पाइएको बताइन् ।

उनले निसन्तानपनको उपचारका लागि बिभिन्न प्रविधिहरूको विकास भएपनि त्यसको जानकारीको अभावका कारण बाँझोपना भएका दम्पत्तिहरू सन्तान प्राप्त गर्ने अधिकारबाट बञ्चित भएको पाइएको बताइन् । 

कोशी प्रदेश संयोजक दनुवारले प्रबिधिको विकास भए पनि एकातिर दम्पत्ति सन्तान सुख प्राप्त गर्ने अधिकारबाट बञ्चित छन् भने अर्कोतिर यौन तथा प्रजनन् स्वास्थ्यअधिकारकारका बारेमा अनबिज्ञ छन् । जसले गर्दा निसन्तानको समस्या भोग्दै आएका अधिकांश महिलाहरू कुनै न कुनै किसिमका हिंसा सहन बाध्य भएको उनले बताइन् । 

उनले निसन्तान नवदम्पत्तिहरूका लागि आइएभिएफ सेवा, सरोगेसी लगायतका प्रबिधिहरूका विषयमा सर्वधारणहरूमा जानकारी नभएका कारण पनि उनीहरू सन्तान नभएकै कारण बिभिन्न प्रकारका मानसिक तथा शारीरिक हिंसा सहन बाध्य छन् । साथै प्रविधिको बारेमा जानकार भएका दम्पत्तिहरूमा पनि महँगो प्रविधि भएकाले सबैको पहुँचमा नभएको पाइएको उनले बताइन् । 

नेपाल पत्रकार महासंघ मोरड शाखाकी कार्यवाहक अध्यक्ष तारा आचार्यले बाँझोपना कुनै महिला या पुरुषको मात्र नभएर यो सामाजिक विषय भएको बताइन् । उनले यस विषयमा भएका गलत धारणालाई हटाउन  सर्वसाधारण सामु सही सूचना पुर्याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने प्रष्ट पारिन् । अध्यक्ष आचार्यले यस्ता विषयमा सही जानकारी पुर्‍याउन सशक्त कलम चलाउने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।

View : 229

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved