Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

असन्तोष, संक्रमण र सम्भावनाबीचको राजनीतिक परीक्षण

१९ माघ २०८२, सोमवार

- सतार अन्सारी

नेपाल यतिबेला इतिहासको एउटा कठिन र निर्णायक मोडमा उभिएको छ, जहाँ विगतका लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र भविष्यप्रतिको अनिश्चितताबीच गहिरो राजनीतिक संक्रमण देखिन्छ। २०८२ फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचन केवल संवैधानिक औपचारिकता मात्र होइन, यो नेपाली लोकतन्त्रको पुनर्जीवन र नागरिक विश्वासको पुनस्र्थापनाका लागि एक महत्वपूर्ण राजनीतिक परीक्षण हो।

यद्यपि राज्यका औपचारिक संयन्त्रहरू निर्वाचनतर्फ उन्मुख देखिए पनि राजनीतिक वृत्त, नागरिक समाज र आन्दोलनमा संलग्न केही समूहहरूबीच निर्वाचन निर्धारित समयमै सम्पन्न हुन्छ कि हुँदैन भन्ने आशंका अझै कायम छ।

यी शंकाहरू पूर्ण अस्वीकारभन्दा बढी वर्तमान राजनीतिक व्यवहार, शक्ति-सन्तुलन, असन्तोष र संक्रमणकालीन अन्योलसँग जोडिएका छन्। राजनीतिक चेतनाको उद्गमस्थल विराटनगरदेखि राजधानी काठमाडौंका गल्लीहरूसम्म आज एउटै प्रश्न व्याप्त छः के आगामी निर्वाचनले मुलुकलाई सही दिशा देला?

निर्वाचन र जेनजी विद्रोहको मनोविज्ञान
नेपाली राजनीतिको आकाशमा यतिबेला एउटा नयाँ र शक्तिशाली परिघटना उदय भएको छ— जेनजी अर्थात् नयाँ पुस्ताको राजनीतिक असन्तोष र विद्रोह। सूचना प्रविधि, सामाजिक सञ्जाल र विश्वव्यापी चेतनाले सुसज्जित यो पुस्ताले दशकौंदेखि सत्तामा हालिमुहाली गर्दै आएका परम्परागत दल र नेतृत्वको कार्यशैलीमाथि गहिरो प्रश्न उठाएको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार, मतदाता सूची अद्यावधिक भएपछि करिब ९ लाख १५ हजारभन्दा बढी नयाँ योग्य मतदाता थपिएका छन्। यसको ठूलो हिस्सा पहिलोपटक मताधिकार प्रयोग गर्न लागेका जेनजी उमेर समूहका नागरिक हुन्।

यसले कुल मतदाताको बनोटमा मात्र होइन, निर्वाचनको समग्र राजनीतिक मनोविज्ञानमा समेत उल्लेखनीय परिवर्तन ल्याउने संकेत गरेको छ। सामाजिक सञ्जालमाथिको नियन्त्रणको प्रयास, सुशासनको अभाव, बढ्दो बेरोजगारी र अवसरहरूको संकुचन जस्ता मुद्दाहरूले यो पुस्तालाई सडक आन्दोलन मात्र नभई, वैकल्पिक राजनीतिक चिन्तनतर्फ समेत धकेलेको छ।

यी नयाँ मतदाताहरूको आकर्षण परम्परागत राजनीतिक शक्तिभन्दा नीतिगत स्पष्टता, भ्रष्टाचारविरोधी एजेन्डा र भविष्यको सुनौलो खाका प्रस्तुत गर्न सक्ने नयाँ प्रवृत्ति वा शक्तिहरूतर्फ बढी देखिन्छ।

जेनजीले अब ‘अन्धसमर्थक कार्यकर्ता’ बन्न अस्वीकार गरिसकेको छ। उनीहरू प्रश्न गर्छन्, तुलना गर्छन् र ठोस परिणाम खोज्छन्। यही कारणले कतिपयमा निर्वाचनप्रति ठूलो आशा छ भने कतिपयमा राजनीतिक अस्थिरताका कारण निर्वाचनको विश्वसनीयताप्रति संशय पनि देखिन्छ।

२०८२ को आसन्न निर्वाचन यो युवा ऊर्जा र असन्तोषलाई संवैधानिक, शान्तिपूर्ण र रचनात्मक निकास दिने एउटा निर्णायक अवसर हो।

यदि यो पुस्ताको तीव्र आकांक्षा र परिवर्तनको हुटहुटीलाई मतपेटिकामार्फत विश्वसनीय राजनीतिक रूपान्तरणमा बदल्न सकिएन भने, सडकमा गुम्सिएको आक्रोशले अनियन्त्रित द्वन्द्व र प्रणालीगत अस्थिरता निम्त्याउने जोखिम रहन्छ, जसले लोकतान्त्रिक पद्धतिको औचित्यमाथि नै गम्भीर संकट पैदा गर्न सक्छ।

तसर्थ, यो निर्वाचन केवल मत खसाल्ने प्रक्रिया मात्र नभई, युवा पुस्ताको विश्वासलाई व्यवस्थासँग जोड्ने अन्तिम ‘सेफ्टी भल्भ’ पनि हो।

नयाँ राजनीतिक दल र शक्तिहरूको उदय, आकर्षण र चुनौती
पछिल्ला केही निर्वाचन र स्थानीय तहको नतिजाले नेपाली राजनीतिमा एउटा स्पष्ट संकेत दिएको छ– मतदाताहरू परम्परागत राजनीतिको विकल्प खोजिरहेका छन्।

नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारप्रतिको बढ्दो आकर्षण त्यसैको परिणाम हो। यी नयाँ शक्तिहरूले परम्परागत दलहरूको कार्यशैली, नेतृत्वको निरन्तरता र जवाफदेहिताको अभावलाई आफ्नो मुख्य मुद्दा बनाएका छन्।

पारदर्शिता, कार्यसम्पादन र ‘नयाँ राजनीति’को नाराले खासगरी युवाहरू र सहरी मतदातालाई आकर्षित गरेको छ। काठमाडौंदेखि धरान र धनगढीसम्म देखिएको नयाँ र स्वतन्त्र उम्मेदवारहरूको लहरले परम्परागत दलहरूको ‘सिन्डिकेट’लाई ठूलो धक्का दिएको छ। तर, यी नयाँ शक्तिहरूका लागि आगामी बाटो सहज भने छैन।

उनीहरूका सामु नीतिगत स्पष्टता, संस्थागत क्षमता, आन्तरिक लोकतन्त्र र दीर्घकालीन राजनीतिक दृष्टिको अभाव खड्किएको देखिन्छ। केवल असन्तोषको प्रतिनिधित्व गर्नु मात्र पर्याप्त हुँदैन, देशको जटिल भूगोल र राजनीतिलाई शासन गर्ने क्षमता पनि प्रमाणित गर्नुपर्ने हुन्छ। आगामी निर्वाचनले यी नयाँ शक्तिहरूलाई अवसरसँगै एउटा कठोर अग्निपरीक्षा पनि दिनेछ।

मधेस र पहिचानको राजनीति: नयाँ ध्रुवीकरण र परम्परागत भन्दा बाहिरका शक्तिको चुनौती
नेपाली राजनीतिमा मधेस र पहिचानको मुद्दा केवल भूगोल वा भावनात्मक नारा मात्र नभई राज्यको समावेशी पुनर्संरचनाको एउटा बलियो आधार हो।

निर्वाचनको पूर्वसन्ध्यामा उपेन्द्र यादव र महन्थ ठाकुर जस्ता स्थापित नेताहरूले आफ्नो शक्ति सुदृढ गर्न र साख जोगाउन दलहरूबीच एकता र मोर्चाबन्दीको प्रयासलाई तीव्र पारेका छन्। विगतका विभाजनहरूबाट पाठ सिक्दै मधेसका यी प्रमुख शक्तिहरू एकै ठाउँमा उभिन खोज्नुले मधेसको राजनीतिमा फेरि नयाँ ध्रुवीकरणको संकेत गरेको छ।

उता निर्वाचनको पूर्वसन्ध्यामा गगन थापा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति निर्वाचित हुनु र उनले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्दै मधेसको केन्द्रविन्दु मानिने सर्लाही–४ बाट चुनाव लड्ने शाहसिक निर्णय गर्नुले परम्परागत समीकरणमा हलचल पैदा गरेको छ।

पहाडी मूलका नेता भए पनि मधेसको धरातल बुझ्न र राष्ट्रिय दृष्टिकोण बनाउन उनले गरेको यो ‘मधेस जूवा’ ले मधेसवादी दलहरूलाई आफ्नै पकड क्षेत्र जोगाउन हम्मे–हम्मे पार्ने देखिन्छ।

यसले एकातिर उपेन्द्र यादव र महन्थ ठाकुर जस्ता स्थापित नेताहरूलाई शक्ति सुदृढीकरणका लागि मोर्चाबन्दी गर्न बाध्य पारेको छ भने अर्कोतिर कांग्रेसको साख मधेसमा पुनः फर्काउने संकेत गरेको छ।

यही राजनीतिक महासंग्राममा बालेन शाहले ल्याएको नयाँ मोड झनै रोचक र विवादास्पद छ। यसअघि आफ्नो राजनीतिक पहिचानमा मधेसी मूलको सन्दर्भलाई खासै महत्व नदिएका बालेनले हालै जनकपुरको आफ्नो पहिलो राजनीतिक सभामा आफूलाई तथाकथित मधेसको छोरो’ का रूपमा प्रस्तुत गर्दै भावनात्मक पासा खेलेका छन्।

निर्वाचनको मुखमा मात्र प्रकट भएको उनको यो ‘मधेसी पहिचान’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अपराजित गढ मानिने झापा–५ मा दिएको उम्मेदवारीले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ। पहाडी बाहुल्य रहेको क्षेत्रमा बालेनको यो प्रवेशले ‘पहिचान र भूगोल’को पुरानो परिभाषालाई मात्र चुनौती दिएको छैन, बरु एमालेको ‘बा–बिरासत’ लाई समेत कठोर परीक्षामा उभ्याएको छ।

यदि बालेनले झापामा ओलीलाई कडा टक्कर दिए भने, त्यसले मधेस केन्द्रित दलहरूको ‘पहिचानको राजनीति’ माथिको एकाधिकार मात्र तोड्ने छैन, बरु मधेसी मूलको नेताले पहाडी क्षेत्रमा लोकप्रियता कमाउँदा क्षेत्रीय दलहरूको सीमिततालाई समेत छताछुल्ल पारिदिनेछ।

यद्यपि, चुनावी स्वार्थका लागि मात्र प्रकट भएको उनको यो ‘मधेसी कार्ड’लाई मधेसका सचेत मतदाताले कसरी लिन्छन् भन्ने कुराले उनको राजनीतिक भविष्य तय गर्नेछ।

अर्कोतिर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो राजनीतिक साख जोगाउने अन्तिम प्रयासस्वरूप पहिचान र समाजवादी मोर्चाको कार्डमार्फत मधेस र जनजाति आधारक्षेत्र पुनः सक्रिय पार्न लागेका छन्।

उता, सहकारी प्रकरण र कानुनी दबाबबीच पनि रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी ‘पुरानो विरुद्ध नयाँ’ को कथन निर्माण गर्दै मधेसका शहरी क्षेत्र र युवा मतदातामा प्रभाव विस्तार गर्न खोजिरहेका छन्, जहाँ उनको राजनीतिक ऊर्जा ठूलो हदसम्म बालेन शाहको लोकप्रियतामा निर्भर देखिन्छ।

बालेनले मधेसबाट सुरु गरी पूर्वदेखि पश्चिम नेपालसम्म १३ दिन लामो राजनीतिक यात्रामा प्रायः मौन रहँदै हात हल्लाउने र घण्टी बजाउने प्रतीकात्मक अभियानले यस भाष्यलाई थप बल दिएको छ।

यसैगरी, हर्क साम्पाङको श्रम संस्कृति र कुलमान घिसिङको कार्यकुशलताले आदिवासी जनजाति समुदायमा पारेको प्रभावले परम्परागत शक्तिहरूलाई रक्षात्मक बनाएको छ।

अर्कोतर्फ, सीके राउत र उनको जनमत पार्टी यतिबेला आन्तरिक संघर्ष र स्पष्ट एजेन्डाको अभावले गर्दा कठिन मोडबाट गुज्रिरहेका छन्।

यस्तो अवस्थामा गगन थापा र बालेन शाह जस्ता पात्रहरूको नयाँ रणनीतिक प्रवेशले २०८२ को निर्वाचनलाई केवल ‘हार–जित’को लडाइँ मात्र नभई नेपाली राजनीतिको थिति सुधार गर्ने महासंग्राम बनाइदिएको छ।

यस्तो अवस्थामा मधेस र जनजाति केन्द्रित शक्तिहरूले केवल ‘पहिचान’को नारामा मात्र सीमित नभई, जेनजी पुस्ताले खोजेको सुशासन र परिणाममुखी विकासलाई आफ्नो मूल एजेन्डा बनाउनु पर्ने देखिन्छ।

पहिचानको गौरव र आर्थिक समृद्धिको सन्तुलन मिलाउन सक्ने शक्ति नै आगामी निर्वाचनमा मधेसको निर्णायक शक्ति बन्नेछ, जसले संघीयतालाई वास्तविक रूपमा सफल बनाउन मद्दत पुगाउनेछ।

अनुभव र ऊर्जा: सन्तुलनको अपरिहार्यता
आसन्न निर्वाचनको सन्दर्भमा सबैभन्दा बढी बहस भएको विषय हो, अनुभवीविरुद्ध युवा ऊर्जा। एकातिर पुराना दल र नेताहरू छन्, जसले ऐतिहासिक संघर्ष, संविधान निर्माण, संघीयताको कार्यान्वयन र राज्य सञ्चालनको लामो अनुभव बटुलेका छन्।

उनीहरूले गरेका बलिदान र योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्नु न त यथार्थपरक हुन्छ, न त लोकतान्त्रिक न्याय नै।

अर्कोतिर नयाँ दल र युवाहरू छन्, जोसँग नवीन सोच, प्रविधिमैत्री दृष्टिकोण, तीव्र गतिशीलता र जवाफदेहिताको माग छ। मुलुकका लागि अब द्वन्द्व होइन, सन्तुलन आवश्यक छ। हामीलाई एउटा यस्तो संसद् र सरकार चाहिएको छ, जहाँ अनुभवको मार्गदर्शन होस् र युवाको गतिशीलताले कार्यसम्पादनमा ऊर्जा थपोस्।

स्थायित्वतर्फको साझा आकांक्षा
आसन्न निर्वाचन केवल सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया मात्र नभई, लोकतन्त्रप्रतिको जनविश्वास नवीकरण गर्ने राष्ट्रिय कसी र अग्निपरीक्षा हो। वर्तमान सरकारका सामु आर्थिक संकट समाधान र धाँधलीरहित निर्वाचनमार्फत राजनीतिक गतिरोधको तार्किक निकास दिने ऐतिहासिक जिम्मेवारी छ।

आजको आवश्यकता पुरानो र नयाँ शक्तिबीचको टकराव होइन, बरु सहकार्य र स्वस्थ प्रतिस्पर्धा हो। पुराना दलहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको विवेकपूर्ण संयोजनले मात्र लामो समयदेखिको राजनीतिक अन्योल र संवैधानिक अकर्मण्यतालाई चिर्न सक्छ।

हामीलाई न त केवल पुराना अनुहारहरूको निरन्तरता चाहिएको छ, न त अनुभवविहीन परिवर्तनको जोखिम। आजको समयको माग भनेको पुरानाको अनुभव र नयाँको ऊर्जाको विवेकपूर्ण संयोजन हो। विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको मार्गचित्र कोर्न यो निर्वाचन निर्णायक हुनुपर्छ।

सडकमा देखिएको आक्रोशलाई मतपेटिकामार्फत रचनात्मक निकास दिनु र सबै राजनीतिक शक्तिले एकअर्काको भूमिकालाई सम्मान गर्दै चुनावी मैदानमा उत्रिनु नै लोकतान्त्रिक परिपक्वता हो। अन्ततः, यो निर्वाचनले देशलाई दीर्घकालीन स्थायित्व र सुशासनतर्फ डोहोर्याओस्, यही नै आम नेपाली नागरिकको साझा अपेक्षा र आजको राष्ट्रिय आवश्यकता हो।

 

View : 848

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved