बाँसको शिल्प र स्वाभिमानको कथा
झापाको भद्रपुर नगरपालिका–५ मा जन्मी हुर्केका जतन राजवंशी बाँसको शिल्पमा नाम कमाएका एक यस्ता कुशल शिल्पकार हुन्, जसले आफ्नो पुर्खौली पेसा कृषि भए पनि माटोमाथि फल्ने बाँसलाई जीवनको आधार बनाएका छन् । बाल्यकालदेखि नै उनी पढाइमा भन्दा पनि हातले केही न केही रचनात्मक काम गरिरहन मन पराउँथे ।
सानो छँदा बाँसका टुक्रालाई चिर्ने, तिखार्ने, घुमाउने र त्यसबाट केही बुन्ने काममा लाग्दा उनलाई छुट्टै आनन्द मिल्थ्यो । त्यो बेला कसैले उनको यस खास रुचिमा खासै ध्यान दिएनन् होला, तर उनले आफूभित्रको एउटा अनौठो कलाको बीउ रोपिरहेका थिए ।
माध्यमिक तहको पढाइ बीचमै छोडेपछि उनले आफ्नो रुचि र स्वभाव अनुसार फर्निचर दोकानमा सिकर्मी (काठ मिस्त्री) को काम गर्न थाले । यही कामले उनलाई आफ्नो लुकेको शिल्प र प्रतिभालाई निखार्ने र प्रदर्शन गर्ने ठूलो अवसर दियो । सिकर्मीको काम गर्दै जाँदा उनी काठबाटै मूर्ति, चरा, मान्छे लगायतका विभिन्न कलात्मक सामग्रीहरू बनाउन थाले । घरमा ल्याएका दाउरा र खेर गएका बाँसका टुक्राहरूबाट पनि जुत्ताजस्ता दैनिक उपभोगका सामग्रीहरू निर्माण गर्ने उनको बानी थियो ।
आज, उनै जतन राजवंशीले आफ्नो बाल्यकालदेखिको बाँसप्रतिको लगाव र सिकर्मीबाट आर्जेको अनुभवलाई एकै ठाउँमा मिसाएर बाँसबाट बनेका आकर्षक स्वदेशी सामग्रीहरू बेचेर जीवनयापन गरिरहेका छन् । जतन राजवंशी आफ्नो काममा यति धैर्यवान् र निपुण छन् कि बाँसबाट बनाइने हरेक सामग्रीमा उनको सृजनशीलता झल्कन्छ ।
परम्परागत बाँसको कलालाई जीवित राख्दै उनले नयाँ–नयाँ ढाँचा र उत्पादनहरू सिर्जना गर्न पनि उत्तिकै सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । जतन राजवंशी एक यस्ता शिल्पकार हुन्, जसले बाँसलाई केवल काठको विकल्पमा मात्र नभएर कला र जीवनको सुन्दर आधारका रूपमा प्रस्तुत गरेका छन् ।
सीपको विस्तार र युवा जागरण : तालिमका माध्यमबाट
जतन राजवंशीको बाँसको यात्रा केवल व्यक्तिगत आयआर्जनमा मात्र सीमित छैन । विगत २० वर्षदेखि नै उनी बाँसबाट बनाइएका उत्पादित सामग्रीहरूबाट परिवार पाल्दै आएका छन् भने, आयआर्जनसँगै आफ्नो सीप अरूलाई बाँड्ने काममा पनि उत्तिकै सक्रिय छन् । उनले दमक, कन्काई, धुलाबारी, चारआली, भद्रपुर र विराटनगर लगायतका पूर्वी नेपालका विभिन्न स्थानहरूमा बाँसका सामग्री बनाउने तालिमहरू दिंदै आएका छन् । उनको तालिमबाट थुप्रै युवायुवतीहरूले बाँसको शिल्प सिक्ने अवसर पाएका छन् र कतिपयले त यसैलाई आफ्नो आयआर्जनको माध्यम पनि बनाएका छन् ।
हालै मात्र कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अवसरमा विराटनगरमा एउटा विशेष तालिम सम्पन्न भयो । ’बाँसको जराबाट उपहारजन्य सामग्री उत्पादन’ सम्बन्धी यो तालिम २०८२ असार ८ गतेदेखि १९ गतेसम्म चलेको थियो । आर्थिक सहयोग पर्यटन कार्यालय कन्काई, झापा र बंगलामुखी हस्तकला केन्द्र, भद्रपुरको संयुक्त आयोजनामा भएको यस तालिमले बाँसका सामग्रीको दिगो उत्पादन र बजारीकरणमा जोड दिएको थियो ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले गरेका थिए । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुबेदी, कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक भबिसकुमार श्रेष्ठ र साना तथा मझौला व्यवसाय महासंघ मोरङका अध्यक्ष दिनेशभक्त श्रेष्ठलगायतका व्यक्तित्वहरूको पनि उपस्थिति थियो ।
तालिममा बाँसको जराबाट सामग्री बनाउने मुख्य प्रशिक्षकका रूपमा सञ्जयकुमार प्रधान थिए भने जतन राजवंशी र तुलसी श्रेष्ठले सहायक प्रशिक्षकका रूपमा प्रशिक्षार्थीहरूलाई कला र सीपमा निपुण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तालिममा अञ्जु अधिकारी, राजेश राजलवट, निलेफर पाण्डे, अफ्रिन पाण्डे, विवश प्रधान, विकल कुलुङ, पुजन जोगी, सुदीप राई, राजेश सरदार, सुमन छाराहङ, सुनिता छाराहङ, लक्ष्मी श्रेष्ठ, अर्पण पाण्डे, सुनिल मुर्मू, नीरज सुवाल, सञ्जु बुढाथोकी लगायतका युवायुवतीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
तालिम समापन कार्यक्रम पर्यटन मन्त्री सदानन्द मण्डलको उपस्थितिमा सम्पन्न भएको थियो । सो कार्यक्रमपश्चात् नेपाली कांग्रेसका युवा नेताहरू राजु मास्के, गिरीश कोइराला, दीपक रायलगायतका हरूले बाँसबाट बनेका विभिन्न सामग्रीहरूको अवलोकन गर्ने अवसर पाए ।
यस क्रममा बाँसका सामग्रीहरूको महत्व, सदुपयोग र प्रवर्धन, तथा दैनिक जीवनमा तिनको उपयोगिताका बारेमा गहिरो चिन्तन र फलदायी बहस पनि चलेको थियो । यस्ता उत्पादित सामग्रीहरूको बजारीकरण राम्ररी गर्न सकियो भने नेपालमा आत्मनिर्भरताको आधार बन्ने र यसले रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्नुका साथै उद्यमशीलताको विकासमा पनि टेवा पुर्याउने विश्वास गरिएको छ ।
दैनिक जीवनमा बाँसको महत्व : प्रकृतिको अनुपम उपहार
गरिबको जीवनमा बाँस काठजस्तै अभिन्न हुन्छ भनिन्छ । मानव सभ्यताको विकाससँगै बाँसलाई प्राकृतिक स्रोतका रूपमा सदियौंदेखि प्रयोग गरिँदै आएको छ । तर, विश्व आधुनिकीकरण हुँदै जाँदा यसको परम्परागत प्रयोग कम हुँदै गएको देखिन्छ । यद्यपि, विकसित देशहरूले भने बाँसको बहुउपयोगितालाई बुझेर यसको अत्यधिक सदुपयोग गरिरहेका छन् ।
प्लास्टिक र अन्य हानिकारक सामग्रीहरूको तुलनामा बाँसका उत्पादनहरू वातावरणमैत्री र स्वास्थ्यका लागि उत्तम मानिन्छन् । यसको प्रयोगले वातावरण प्रदूषण घटाउन मद्दत पु¥याउ“छ, जुन आजको विश्वको लागि एउटा ठूलो चुनौती हो । नेपालमा बाँस प्रशस्त मात्रामा पाइने भएकाले यसबाट बनेका सामग्रीहरू प्रायः सस्तो हुन्छन् र ग्रामीण क्षेत्रमा सजिलै उपलब्ध हुन्छन् ।
बाँस एक प्राकृतिक सामग्री भएकाले यसबाट बनेका भाँडाकुँडा, फर्निचरलगायतका सामग्रीहरू स्वास्थ्यका लागि हानिकारक मानिंदैनन्, जसले उपभोक्तालाई स्वस्थ र स्वच्छ राख्न मद्दत गर्छ ।
यति मात्र होइन, बाँसका उत्पादनहरूले नेपालको सांस्कृतिक विविधता र स्थानीय कलालाई पनि प्रतिबिम्बित गर्छन् । डोको, नाङ्लो, डालो जस्ता सामग्रीहरू हाम्रो परम्परागत जीवनशैलीका अभिन्न अंग हुन्, जसलाई हाम्रो सांस्कृतिक पहिचानका रूपमा लिन सकिन्छ । यी सामग्रीहरूको संरक्षण र प्रवर्धनले हाम्रो मौलिकतालाई जोगाउन पनि मद्दत पुग्छ ।
बाँसका सामग्रीहरूको बहुआयामिक उपयोगिता
हाम्रो दैनिक जीवनमा बाँसको उपयोगिता अत्यन्त फराकिलो छ । यसलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ,
घरायसी प्रयोग : बाँसबाट विभिन्न प्रकारका फर्निचरहरू (कुर्सी, टेबल, खाट), भान्साका सामग्रीहरू (डोको, नाङ्लो, डालो, टपरी, थाल, चम्चा), सजावटका सामग्रीहरू (शो पिस, ल्याम्प सेड), र खेतीका लागि आवश्यक औजारहरू (टेका, बाँसको घेरा) बनाइन्छन् । यी सामग्रीहरू बलिया, टिकाऊ र किफायती हुन्छन् ।
निर्माण कार्य : बाँसलाई अस्थायी संरचना (घर, गोठ), मचान (स्काफोल्डिङ), फलामे डन्डीको विकल्प (साना संरचनामा), र सिंचाइका लागि पाइप (नाला)को रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसको लचकता र बलियोपनले यसलाई निर्माण क्षेत्रमा महत्वपूर्ण विकल्प बनाएको छ ।
ऊर्जा र आधुनिक उद्योग : बाँसलाई बायोमास ऊर्जा उत्पादन गर्न र दाउराको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आधुनिक प्रविधिले बाँसबाट कपडा र कागज उत्पादन गर्न पनि सम्भव बनाएको छ, जुन यसको अर्को महत्वपूर्ण औद्योगिक उपयोगिता हो । यसबाट वातावरणमैत्री कपडा र कागज उत्पादन गर्न सकिन्छ ।
कृषि : बिरुवाहरूलाई टेका दिन, बारीमा बार लगाउन, र विभिन्न कृषि उपकरणहरू बनाउन बाँसको प्रयोग गरिन्छ । यसले कृषि उत्पादनमा पनि टेवा पुर्याउँछ ।
बाँस उद्योग प्रवर्धनमा सरकारी भूमिका : अपेक्षा र आवश्यकता
नेपालमा बाँस प्रशस्त मात्रामा पाइने भए पनि यसको सदुपयोग नभई खेर गइरहेको अवस्था छ । यसको उपयोग र प्रवर्धनमा कुनै पनि तहका सरकारको ध्यान पुगेको देखिंदैन, जुन दुःखद कुरा हो । तसर्थ, बाँस उद्योगको विकास र प्रवर्धनका लागि सरकारले निम्न नीतिगत कदमहरू चाल्नु अत्यन्त आवश्यक देखिन्छ-
बाँसको दिगो प्रयोग र भविष्यको बाटो : बाँसका सामग्रीको सदुपयोग र प्रवर्धनका लागि व्यक्तिगत तथा संस्थागत दुवै स्तरबाट पहल हुनु आवश्यक छ । प्लास्टिक र अन्य आयातित सामग्रीको सट्टा बाँसबाट बनेका स्वदेशी उत्पादनहरूलाई प्राथमिकता दिनुपर्छ । बाँसका सामग्रीहरूलाई फ्या“क्नुको सट्टा पुनः प्रयोग गर्ने र बिग्रिएमा मर्मत गरी प्रयोग गर्ने बानी बसाल्नुपर्छ । बाँसका सामग्रीको महत्व र यसको पर्यावरणीय फाइदाबारे परिवार र समुदायमा सचेतना फैलाउनुपर्छ । सरकारले बाँस खेती र प्रशोधनका लागि आवश्यक पूर्वाधार विकास (जस्तैः प्रशोधन केन्द्र, भण्डारण सुविधा) मा लगानी गर्नुपर्छ । स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा बाँसका उत्पादनहरूको पहुंच बढाउन मेला, प्रदर्शनी र अनलाइन प्लेटफर्मको व्यवस्था गर्नुपर्छ ।
बाँसका शिल्पकारहरूलाई नयाँ प्रविधि र ढाँचामा तालिम प्रदान गरी उनीहरूको सीप विकासमा सहयोग गर्नुपर्छ । साथै, बाँसको दिगो प्रयोगले वातावरण संरक्षणमा पुग्ने योगदानबारे जनचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
अन्त्यमा, बाँस नेपालको आर्थिक विकास र वातावरण संरक्षण दुवैका लागि एक महत्वपूर्ण स्रोत हो । यसको सही उपयोग र प्रवर्धनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै दिगो विकासको लक्ष्य प्राप्त गर्न मद्दत गर्छ । दैनिक जीवनमा बाँसबाट बनिने सामग्रीहरूको उपयोगलाई अझ व्यापक बनाउन अत्यधिक उत्पादन गराउन सक्नुपर्छ । यसका लागि कुशल शिल्पकारहरूको आवश्यकता पर्छ, किनकि शिल्पकार भनेकै सीप र कलासहितको जनशक्ति हो ।
शिल्पकारको अभाव भयो भने बाँसबाट बनिने सामग्रीहरूको उत्पादनमा कमी आउन सक्छ, जसले गर्दा सबै उपभोक्तासम्म सेवा नपुग्न पनि सक्छ । तसर्थ, जतन राजवंशीजस्ता शिल्पकारहरूलाई प्रोत्साहन गर्दै र ठूलो संख्यामा तालिम दिएर दक्ष जनशक्ति तयार गर्न आजको आवश्यकता हो ।
shyamram72@gmail.com
View : 760
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved