रामसुन्दर राजवंशी
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसक्दा पनि तराईका आदिवासीहरूको भेषभूषा, भाषा, संस्कृति र संस्कार लोप हुँदै गएको छ । आदिवासीहरूको पवित्र धार्मिक आस्थाको केन्द्र ग्रामथान हो । जहाँ देवी देवताको पुजन गर्ने गरिन्छ । मुलतः ग्रामथान गाउँ बस्तीको रक्षाका लागि स्थापना गरिएको हुन्छ । ग्रामथान आदिवासीहरूको पहिचान र अस्थित्वसँग जोडिएको छ ।
आदिवासीहरूको बसोवास गर्ने गाउँ बस्तीहरू शहरीकरण हुँदै गएपछि ग्रामथानहरूमा अतिक्रमण बढ्दै गयो । जसले गर्दा पूर्वी तराईका आदिवासीहरूको पहिचान र अस्तित्व खस्किदै गएको छ । आदिवासीहरूको ग्रामथान ठोस मौलिक संस्कृति हो । जहाँ अहिले पनि आदिवासीहरूको गाउँ बस्ती भन्दा अलि टाढा ग्रामथानहरू भेट्न सकिन्छ । ग्रामथानलाई मठ, मन्दिर भन्न चाहिँ मिल्दैन ।
तराईका आदिवासीहरूको परापूर्वकालदेखि ग्रामथान प्राकृतिक पूजा गर्दै आइरहेका छन् । तराईका आदिवासी भन्नाले थारू, राजवंशी, गन्गाईं र धिमाललगायत समुदायले ग्रामथानका देवी देवताको पूजा गर्ने चलन छ । जुन चाहिँ आदिवासीहरूको मौलिक संस्कृति र संस्कार हो । ग्रामथानको पुजन कार्यबाट आसपासका गाउँ बस्तीमा बसोवास गर्ने सबै समुदायमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, उन्नति र प्रगतिको कामना गरिएको हुन्छ । ग्रामथानको पुजनले सबैसँगको आत्मीयता बढाउने कार्य गर्दछ । भाइचाराको सम्बन्ध सुमधुर बनाउने गर्दछ । ग्रामथान पुजन हर्ष उल्लासका साथ भव्य–श्रब्य रूपमा मनाउने चलन छ ।
तराईका आदिवासी समुदायका ग्रामथानहरूको स्थानहरू धेरै नै थिचोमिचो भएको पाइन्छ । कतिपय ग्रामथानहरूको स्थानसमेत अरूले अतिक्रमण गरेको पाइन्छ । यस्तै विराटनगर–११ का स्थानीय बुढापाका र बुद्धिजीवीहरूले ‘झुम्की’ ग्रामथान यस वडामा रहेको बताउँछन् । झुम्की ग्रामथानको क्षेत्रमा विराट राजवंशी समुदायले पूजाआजा गर्ने गर्दथे । तर अहिले झुम्की ग्रामथानको भूमि अतिक्रमण भैसकेको गुनासो स्थानीयबासीहरूले गर्दै आएका छन् । यस्ता थुप्रै ग्रामथानहरू अतिक्रमण भइरहेको अवस्था छ । यसप्रति तीनै तहका सरकारमा कुनै पनि प्रकारको चासो देखिदैन ।
झुम्की ग्रामथान बारेमा खोज अनुसन्धान गर्दैगर्दा यस्को छुट्टै किसिमको किम्बदन्ती छ । उनी मत्स्य देशकी अद्भूत नारी थिइन् । नृत्यकलामा सुप्रसिद्ध थिइन्, उनी पवित्र पनि थिइन्, उनी सामर्थ्य र क्षमतावान नारीसमेत थिइन् । जसले गर्दा मत्स्य देशलाई आक्रमण गर्दा कुनै पनि राज्यले त्यति बेला सोच्नु पर्दथ्यो । तसर्थ त्यस्तो अद्भूत शक्तिशाली नारी जसलाई ‘झुम्की’ भनिएको हो । झुम्की देवीको रूप हो भन्ने सामाजिक मान्यता छ । परापूर्वकालदेखि नै झुम्की ग्रामथानलाई मान्दै आएका छन् । यो झुम्की थानमा कसैले कुनै कुराको भाकल गरेमा मनोकामना पूरा हुने आदिवासी समुदायमा विश्वास छ ।
त्यतिबेला कोही कसैले झुटो बोले नबोलेको, गलत कार्य गरे नगरेको ठहर गर्न झूुम्की देवीको कसम खाने प्रचलन थियो । अहिले त्यो प्रचलन हराउँदै गएको छ । किनकि मानिसहरूमा नैतिकता गुम्दै गएकोले यस्तो भएको हो भन्ने अग्रजहरूको भनाइ छ ।
आदिमकालदेखि नै आदिवासीहरूको आफ्नो बसोबास गाउँबस्ती भन्दा अलि टाढा ग्रामथान हुन्थ्यो । सायद ग्रामथानहरूलाई पवित्र राख्नका लागि गाउँबस्ती भन्दा पर गरिएको हुनुपर्छ । यसरी नै आदिवासीहरूको विश्वास र आस्थाको केन्द्र ग्रामथान रहेको पाइन्छ ।
ग्रामथान तराईका आदिवासीहरूको श्रद्धा, आस्था र विश्वासको थलो हो । जहाँ देवी देवताको पुजन गरिन्छ । ग्रामथानहरूको नामकरण विभिन्न पौराणिक स्थानहरूका आधारमा गरिएको पाइन्छ । कतिपय ग्रामथानको नाम राजा रजौटा र सर्वश्रेष्ठ महामानवहरूको नामबाट पनि गरिएको पाइन्छ । ग्रामथानहरूको मौलिक सभ्यता र संंस्कृति छ । तसर्थ आदिवासीहरूको ग्रामथानको बारेमा चर्चा गर्न उपयुक्त छ ।
ग्रामथानको संरचना
आदिवासीहरूले पूजा गर्ने ग्रामथानको संस्कृति संरञ्चना अरू धार्मिक मठ मन्दिर भन्दा पृथक रहेको पाइन्छ । आदिमकालदेखि नै जल, जमिन र जङगलसँग जोडिएको आदिवासीहरू ग्रामथानको संरञ्चना संस्कृति पहिचान रहेको पाइन्छ । यसको संरचना नदी, खोला र वन जङ्गलहरूको आसपासमा काठको खम्बाहरूको छानो खरबाट बनेका आयतकार र वर्गकार भएको संरचना रहेको पाइन्छ । ग्रामथानको वरपर घना रूख विरूवा रहेको पाइन्छ । अहिले प्रायः ग्रामथानमा टिनको छानो प्रयोग गर्न थालिएको छ । अहिले कतिपय ग्रामथानहरू पक्की नै बनाइसकेका छन् । आदिवासीहरुको ग्रामथानको संरचनाले थप मौलिकता दिएको छ । वर्तमानमा अवस्थामा धेरै ग्रामथानहरू जीर्ण अवस्थामा पुगेका छन् । ग्रामथानको संरचचना निर्माणमा कुनै पनि निकायको ध्यान गएको देखिदैन ।
आदिवासीहरूको धार्मिक आस्थाको केन्द्र ग्रामथानको संरचना आदिवासीको गाउँ बस्तीको आसपासमा मात्र सुरक्षित छ । अन्य समुदायको सेरोफेरोमा रहेका ग्रामथानका अतिक्रमण भइरहेको छ । तसर्थ आदिवासीहरूको ग्रामथान संरक्षण एवम् प्रवर्द्धन गर्न स्थानीय सरकार गम्भीर हुन जरूरी छ ।
ग्रामथानको सांस्कृतिक भूमि
तराईका आदिवासीहरूको सांस्कृतिक भूमि नै ग्रामथान हो । जहाँ ग्रामथानमा पुजन गर्ने प्रचलन छ । भूमि अतिक्रमणले गर्दा ग्रामथान मासिदै गएको छ । आदिवासीहरूका अधिकांश भूमि ग्रामथानको नामबाट नामकरण भएको पाइन्छ । भूमाफियाहरूको अतिक्रमणले ग्रामथानको सांस्कृतिक भूमि सुरक्षित छैन । अहिले पनि अधिकांश स्थानको नामकरण ग्रामथानको नामबाट बनेको हेर्न सक्छौं ।
मालपोत कार्यालय, नापी शाखाको फिल्ड बुकको कैफियत महलहरूमा विभिन्न थानहरूको नामबाट त्यस स्थानको नाम रहेको उल्लेख गरेको पाइन्छ । ग्रामथानको भूमि गाउँ–गाउँ, बस्ती–बस्तीमा छ । ती अधिकांश ग्रामथानहरू भूमि माफियाहरू कै मिलोमतोमा अपचलन भएको छ । यसप्रति राज्य अनभिज्ञ छ । यस्तो अपचलन गर्ने कार्यलाई रोक्न तथा निरुत्साही गर्न सरकारले भूमाफियालाई कारवाही गर्न आवश्यक छ ।
ग्रामथानका धामी
तराईको आदिवासीहरूको ग्रामदेवता पुजन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । ग्रामदेवताको पूजा गर्ने क्रममा धामीले नाच्ने वेलामा सहयोगीको रूपमा पथिया राख्ने गर्दछ । जसले ग्रामथानमा लगलगी नाँच्ने (नाम्ने) कार्य गर्दछ । पथिया नाम्ने बेलामा स्थानीयले जिज्ञासाहरू राख्ने गर्दछन् । जसको प्रतिक्रिया पथियाले दिने गर्दछ । पथियाले दिएको प्रतिक्रिया आत्माले बोलेको हो भन्ने मान्यता छ ।
यो एक वर्षमा एकचोटी थानी मेला लगाउने प्रचलन छ । ग्रामथानको देवी देवता पुजन धामीको विधि अनुसार हुने गर्दछ । धामीको सहयोगी पथिया हुन्छ । ग्रामथानका धामीले पुजाको बेला विधिपूर्वक गाउँ बस्तीको सुरक्षाका लागि कामना गर्ने गर्दछ । धामी आदिवासीहरूको सांस्कृतिक पहिचान हो । यस्तो सामाजिक संस्कृति र संस्कार ग्रामथनका धामीहरूमा पाइन्छ । जसले गर्दा समुदायमा एक खालको उर्जा प्राप्त हुने गर्दछ ।
ग्रामथानको गहदार
आदिवासीहरूको ग्रामथानमा पुजन कार्य, हेरचार, रेखदेख, संञ्चालन एवम् व्यवस्थापन गर्ने कार्य गहदारले गर्ने गरेको पाइन्छ । जसले गर्दा प्रशासनलाई गहदारको रूपमा लिन सकिन्छ । सामाजिक आचारणमा रहुनजेलसम्म गहदार पदको गरिमामय रहिरहन्छ । ग्रामथानको पुजन कार्य र मेला लगाउन पूर्व गहदारले गाउँलेहरूको बैठक राखी योजना बनाउनुपर्ने हुन्छ । सोही योजना अनुसार गहदारले काम कारवाही शुरू गर्नुपर्ने हुन्छ ।
ग्रामथानहरूको स्तरोन्नति, सभ्यता र संस्कृति संरक्षण एवम् प्रवर्द्धन गर्न गहदारको भूमिका हुने गर्दछ । ग्रामथानको गहदार बन्ने प्रचलन एउटै परिवारको पक्षबाट हुने गरेको छ । यस्तो किसिमको सांस्कृतिक प्रचलनको विवाद भएको देखिदैन । अहिले शहरीकरणको विस्तारसँगै ग्रामथानहरूको अतिक्रमण हुँदै गएकोले गहदारहरु पलायन हुने अवस्थामा पुगेका छन् ।
ग्रामथानमा प्रकृति पुजन
तराईका आदिवासीहरू ग्रामथानमा प्रकृति पुजन गर्दै आइरहेका छन् । यसमा कुनै दुई मत छैन । ग्रामथानको प्राकृतिक पुजन गर्दा ठठेलको वनस्पतिबाट बनिएको स–सानो घोडाहरूको प्रयोग गरिन्छ । जुन चाँहि पानी जमेको पोखरीमा ठठेल वनस्पती रहेको पाइन्छ । अहिले यो चलन दुर्लभ हुँदै गएको छ । यो वनस्पती आदिवासीहरूले कुलदेवता पुजन गर्ने बेला, विहेवारी र धाँमी झाँक्री लगाउदा अधिकतम् प्रयोग गर्ने गरिन्छ । ग्रामथानमा चनवा र डोलाडोली झुण्डाइन्छ ।
माटोबाट बनेका हात्ती, घोडा, चाँदीको सानो छाता, धर्म भकारी, बाँसबाट बनेको सानो बागेश्वरीको घर, हतियार, झाझन घर (नागनगिनी बस्ने घर) पूजा गर्न यिनै सामग्रीहरूको प्रयोग गरिन्छ । त्यसैगरी पान, सुपारी, केरा, सुहारी, मिठाई, थोरै–थोरै चामल इत्यादी पूजा सामग्री ग्रामथानमा चाहिने हुन्छ ।
यसैगरी ग्रामथान पुजन कार्यमा बोका, पाठी, हाँस, परेवा आदि बली दिने प्रचलन रहेको पाइन्छ । पूजा गर्ने बेलामा धुमन र मार्ककिङ कपडासमेत प्रयोग गरिन्छ । यस्तो फरक संस्कति पुजनको कार्य आदिवासीहरूले गर्दै आएका छन् । प्रकृति पुजन कार्यमा धामी र गहदारको उल्लेखिनीय भूमिका हुन्छ । जसले गर्दा गाउँ बस्तीका आदिवासीहरूलाई पुजन गर्दा सरल र सहज परिस्थति निर्माण गरी दिन्छ ।
अन्त्यमा, आदिवासीहरूको सांस्कृतिक पहिचान नै ग्रामथानहरूको प्रकृति पुजन हो । ग्रामथानको संरक्षण एवम् सम्बर्द्धन गर्न सवैधानिक व्यवस्था भएता पनि यसप्रति राज्यले कुनै पनि चासो देखाएको छैन । राज्य मौन बस्नु भनेको आदिवासीहरूको संस्कृति र संस्कारमाथि अतिक्रमण गर्न छोडदिनु हो । ग्रामथानहरू आदिवासीहरूको प्राकृतिक सम्पदा हुन् । यस्ता प्राकृतिक सम्पदाहरूमाथि अतिक्रमण भइरहेकै छ । तसर्थ यसप्रति राज्य गम्भीर हुन जरूरी छ ।
(ग्रामथान पूजाका सामग्रीहरू (तस्वीरमा) : भकारी, हात्ती सार, बागेश्वरी देवी मन्दिर, झाझन घर (नागनागिनी बस्ने घर))
View : 553
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved