विराटनगर । पढ्दै गरेका विद्यार्थी निजी विद्यालयमा गए । जनसंख्या अनुसार विद्यालयमा विद्यार्थी बाढ्नुको साटो घट्न थाले । पछाडि पारिएको समुदाय र अति बिपन्न परिवारले बालबालिकालाई विद्यालयनै पठाउन छाडे ।
सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्न र टिकाईं राख्न कतिपय विद्यालयलाई समस्या भएपछि विराटनगर–४ मा रुपान्तरण अभियान थालिएको छ । पढ्न मात्रै हैन हरेक विषयको ज्ञान दिने विद्यालय बनाउन वडा कार्यालयले विद्यालय रुपान्तरण अभियान २०८१ सुरु भएको छ । अभियानपछि विद्यालयमा विद्यार्थीले समाज, देश, संस्कार, संस्कृति सामाजिक सद्भाव जस्ता कुरा सिक्न पाउनेछन् ।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले शिक्षकले पढाउने मात्रै नभई विद्यार्थी खोज्ने पनि दायित्व निर्वाह गर्नुपर्ने बताए । कतै विद्यार्थी भन्दा शिक्षक बढी भएका विद्यालय पनि रहेको जानकारी दिंदै उनले विद्यार्थी बढाउन नसके विद्यालय ‘मर्ज’ गरिने बताए । ‘शिक्षकले विद्यालयलाई अविभावकको आँखाले हेर्न सक्नु पर्छ, त्यसै बसेर मात्रै हुँदैन’ कोइरालाले भने ।
महानगरले सबै सामुदायिक विद्यालयसँग कार्य सम्पादन सम्झौता गरेको छ । शिक्षाको गुणस्तर वृद्धि गर्न प्रधानाध्यापक र शिक्षकहरुको मुख्य भूमिका हुनु पर्ने बताउँदै उनले स्तरीय शिक्षाका लागि विद्यालयहरु बीच प्रतिस्पर्धा हुनु जरुरी रहेको बताए ।
वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर ४ ले गरेको सामुदायिक विद्यालय रुपान्तरण अभियानलाई सम्बोधन गर्दै उनले विराटनगरकै शिक्षकले पढाएर आफूहरु यो स्थानमा पुगेको स्मरण गरे ।
विद्यालयको स्तरोन्नती नहुनुमा शिक्षक, विद्यार्थी वा जनप्रतिनिधि भन्दा पनि अभिभावकको कम्जोरी बढी हुने वडाध्यक्ष जितन थापाको भनाइ छ ।
‘शिक्षामा सुधार नआउनुमा शिक्षक, अभिभावक, जनप्रतिनिधि कस्को कम्जोरी ?’ थापाले भने ‘छात्रवृत्ति बाँड्दा पनि अभिभावक विद्यालयमा आउँदैनन्, शिक्षक मात्रै दोषी हैनन् ।’ कतिपय ठाउँबाट शिक्षक हाजिर मात्रै गरेर घर जाने गरेको गुनासो आउने गरेको उनी बताउँछन् ।
उनका अनुसार विराटनगर–४ मा रहेका ४ वटा सामुदायिक विद्यालयको रुपान्तरणका लागि सुरु गरिएको अभियानले ४ महिनामै प्रभाव देखिने छ । अभियान सञ्चालनका लागि शिक्षाका अभियन्ता अभिषेश घिमिरेले ४ नम्बर वडाका शिक्षक, दलका नेता तथा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलाई शिक्षा सुधारका सूचकहरु सुनाएका छन् ।
‘टाई लगाउँदैमा, अंग्रेजी पढाउँदैमा, विद्यार्थी बढाउँदैमा विद्यालयमा सुधार आएको भनिदैन’ घिमिरेले भने ‘विद्यालयहरु बन्द गरिने सुनिन्छ, गाउँको विद्यालय बन्द हुनु भनेको गाउँमा उज्यालो दिने दियो निभ्नु हो ।’ समाजवादको आधार, विकास तथा उत्थानको केन्द्र, चेतना र ज्ञानको केन्द्र विद्यालय हो । समतामुलक समाजको केन्द्र, अध्ययन, अनुसन्धान, आविस्कार तथा नव प्रवर्द्धनको केन्द्र विद्यालय भएको उनको भनाइ छ ।
महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले शिक्षाको गुणस्तर बिना रोजगारीका अवसर प्राप्त हुने बताउँदै दक्ष जनशक्ति उत्पादन गर्न विद्यालय तहदेखि नै पढाइको गुणस्तर राम्रो हुनुपर्ने बताए ।
महानगर सामाजिक समिति संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपानेलगायतले महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विषेश ध्यान दिनु जरुरी रहेको बताए ।
View : 183
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved