Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विदेश पढेर फर्किएका युवाहरू

विदेश अध्ययन गर्ने विद्यार्थीहरू सन् २०१८–१९ देखि २०२४–२५ को मध्यसम्ममा ५ लाख ४३ हजार ८ सय ३३ नेपाली युवाले ‘नो अब्जेक्सन लेटर’ लिएर अध्ययन गर्न गएको तथ्यांकले देखाएको छ । विदेशमा पढेर फर्किएकामध्ये ३० प्रतिशतले सफल उद्योग, ब्यवसाय गरेर रोजगारी सिर्जना गरेका छन् ।
कमल रिमाल
२ भदौ २०८२, सोमवार

विराटनगर, २ भदौ । बेलायतको विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी आश्विनी गोल्छा अहिले विराटनगरमा जुट उद्योगहरुले के के उत्पादन गर्न सक्छन् भन्ने विषय खोजी गरिरहेकी छन् । उनको प्रयास सफलतातर्फ जाँदै छ । जुटबाट बनेका उत्पादन विश्वका बिभिन्न देशमा निर्यात हुन थालेको छ ।

उनका बाजेले स्थापना गरेको रघुपति जुट मिल्सको निर्देशक रहेकी आश्विनीले नेपाल फर्किएर जुट बारे अध्ययन, अनुसन्धान गरेर फरक वस्तु उत्पादन गरिन् । जुटको ब्याग, डोरी, कार्पेट पहिरोमा लगाउने जाली, भारत निर्यात हुँदैछ । 

उद्योगी राजकुमार गोल्छाकी कान्छी छोरी आश्विनी मात्र हैन, माइली कोमलले दिल्ली र जेठी एकताले बेलायतबाट पढाइ सिध्याएर ब्यवसायलाई दिगो र उत्पादनमुखी बनाउन मद्दत गरे । 

‘विदेशमै चाहेको भए अवसर थियो, अहिले छोरीकै कारण नयाँ उत्पादन गर्न पाएको छु’ उद्योगी गोल्छाले भने, ‘कान्छी छोरीले विदेशको पढाइपछि भारतमा दुई वर्ष काम सिकेकाले सफल भएकी हुन् ।’

लण्डनबाट स्नातकोत्तर सकेका आदित्य दुुगड उद्योगी बाबु मोती दुगडले सञ्चालन गरेको उद्योग, ब्यवसाय, होटलको सञ्चालक बनेर दक्ष ब्यवसायीका रुपमा काम गर्दैछन् । 

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालका छोरा तनिष्क भारतबाट भर्खरै स्नातकको पढाइ सकेर बाबुले सञ्चालन गरेको उद्योगमा काम सिक्दैछन् । 

अर्को वर्ष लण्डनमा स्नातकोत्तर पढ्न जाने तयारीमा रहेका उनी अहिले उद्योग सञ्चालन र उत्पादनको सीप अध्ययनमा छन् । 

उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाका छोरा शौरभ विदेशको अध्ययन सकेर नेपालमा उद्योगीहरुको संस्थाको नेतृत्व गर्ने दौडमा छन् । 

उद्योग संगठन मोरङको तीन कार्यकाल सदस्यमा निर्वाचित भैसकेका शौरभले बाबुको ब्यवसायमा चासो दिएपछि नेपालमै पहिलो हाइटेन्सन केबलको शुरुवात भयो ।

उनले यो उत्पादन नथालेको भए अहिले पनि विदेशबाटै आयात गर्नु पथ्र्यो । दक्ष र जिम्मेवार छोरा भएकाले संविधानसभा सदस्यसमेत रहेका सारडाले छोराले दिएको आत्मवलकै कारण प्रिमियर स्टील पनि सुरु गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतका छोराहरु प्रतीक र प्रत्युष राउतले उद्योग, ब्यापार, अस्पताल, होटल जस्ता ब्यवसायमा अगुवाइ गर्दैछन् ।

उद्योगी गिरिष लुनियाका छोरा जयश, उद्योगी सुरेश राठीका छोरा मुकुन्द र भावेश, श्याम कावराका छोरा सिद्धार्थ, राजन श्रेष्ठका छोरा स्वागतमले पनि नेपालमै आएर व्यवसायमा लागेका छन् । स्वागतमले उनकै नाममा स्थापित होटल स्वागतम ब्यवस्थापनको जिम्मेवारी लिएका छन् । 

बाल कल्याण विद्या मन्दिरका प्राचार्य रविन दाहालका छोरा महिम अमेरिकामा पढेर आएका छन् र लगानीको सम्भावना अध्ययन गर्दैछन् । 

जीवन रिजालका छोरा मुनन उद्योग परिसंघ कोशी प्रदेशको युवा समितिको संयोजकको जिम्मेवारीमा बसिसकेका छन् । 

उनीहरु जस्ता धेरै युवा विदेशमा पढेको शिक्षालाई विराटनगरमा रहेको ब्यवसायमा उतार्दैछन् । स्व. महेन्द्र गोल्छाका छोरा पारस बेलायतमा पढेर आएपछि हुलास वायर उद्योगको जिम्मेवारी लिएर बसेका छन् ।

बेलायतमै पढेकी छोरी युक्ति पनि सोही उद्योगलाई ब्यवस्थित गराउँदै छन् । पुस्तौनी ठूला ब्यवसाय भएका परिवारबाट अध्ययनका लागि विदेश जानेहरु शतप्रतिशत फर्कने गरेको देखिन्छ भने मध्यम वर्गका छोराछोरी पढेकै देशमा आत्मनिर्भर हुने गरेका छन् ।

विदेश अध्ययन गर्ने विद्यार्थीहरू सन् २०१८–१९ देखि २०२४–२५ को मध्यसम्ममा ५ लाख ४३ हजार ८ सय ३३ नेपाली युवाले ‘नो अब्जेक्सन लेटर’ लिएर अध्ययन गर्न गएको तथ्यांकले देखाएको छ । विदेशमा पढेर फर्किएकामध्ये ३० प्रतिशतले सफल उद्योग, ब्यवसाय गरेर रोजगारी सिर्जना गरेका छन् ।

युवाले गरेको नवप्रवर्द्धन

भारतको मुम्बईमा स्नातक गरेपछि लण्डनबाट स्नातकोत्तर गरेका विराटनगरका २७ वर्षीय सगुन बोहरा पढाइ अनुसारकै पेशामा छन् । उनी उत्पादनको अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा बसेर ब्यवसाय गर्दैछन् । उनी घर भित्रबाटै सञ्चालित उद्योग र ब्यापारलाई समय अनुकूल परिवर्तन गर्दैछन् ।

ब्यवस्थापन, बजारिकरण र अन्तर्राष्ट्रिय ब्यापार विषय पढेकाले उनका बाबु तथा उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य अविनाश बोहराले सञ्चालन गरेको उद्योग र ब्यापार बढेको छ । 

सगुनकै प्रयासमा नेपाल बाहिरको बजारमा आफ्नो उत्पादनले परिचय पाउन थालेको छ । त्यहाँका उपभोक्ताले मन पराउन थालेका छन् ।

बेदान्त जाजूले बेलायतमा पढेको विषय ब्राण्ड डिजाइनिङको प्रभाव उत्पादनमा देखिएको छ । 

टुपीएम चाउचाउको भारतमा गरेको ब्राण्डिङकै कारण उनी विश्वका धनाढ्य सूचीमा रहेका भारतका मुकेश अम्बानीको समुहबाट सम्मानित पनि भए  । 

बेदान्त जब पढाइ सकेर नेपाल आए र बाबुले सञ्चालन गरेको उद्योगका उत्पादनलाई विश्वमा चिनाउने प्रयासमा लागे । उनले भारतमा सञ्चालित ई कमर्स कम्पनीहरुमार्फत आफ्नो उत्पादनलाई फैलाए ।

आश्विनी गोल्छाले राजनीतिशास्त्र पढे पनि बाजेको पालादेखि चलेका उद्योगलाई आधुनिकीकरण गरिन् । आधुनिक उद्योग र फरक उत्पादनमा उनले गरेको मेहनतको प्रतिफल अन्तर्राष्ट्रिय बजारमा देखिन्छ । 

भारतमा ब्यापार सफल भएकाले अब बेलायत, अफ्रिका, चीन, दुबईलगायतका देश पठाउने पूर्वतयारी हुँदैछ । 

ब्यवस्थापन विषय पढेपछि आफ्नै ब्यवसाय गर्ने उद्देश्यले नेपाल फर्र्किएका शौरभ सारडा बाबुले सञ्चालन गरेका उद्योगलाई नै आधुनिक र नयाँ उत्पादनमा परिणत गर्ने सोचमा परिवर्तन ल्याए । इन्धनबाट चल्ने मेसिन बिस्थापित गरेर विद्युतबाट चल्ने र वातावरणमैत्री वस्तु उत्पादनमा लाग्दै मार्केटिङको नयाँ शैलि अपनाए । 

विदेशका विश्वविद्यालयमा पढेपछि युवाहरु त्यहाँको देशको ब्यापार शैलि र वातावरण जस्तै नेपालमा पनि प्रयोग गर्न चाहन्छन् । जसका कारण नेपाली उत्पादनले बिभिन्न देशमा बजार पाउन सक्छ ।

नेपालमा देखिने समस्या

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले उद्योगकै कामका लागि केही दिनअघि छोरा तनिष्कलाई काठमाडौं पठाएका थिए । तयारी फायल बोकेर गएका तनिष्कलाई कर्मचारीले कागजातमा कम्जोरी देखाएर तीन दिन झुलाए । 

छोराले पाएको हैरानी थाहा पाएपछि रिजालले माथिल्लो निकायमा फोन गर्दा तत्काल काम भयो । नेपालको नीति र सरकारको ब्यवस्थापन कम्जोर भएकाले युवा काम गर्न सक्दैनन् । 

‘धेरै ठाउँमा समस्या देखाइन्छ र टेबुलमुनिबाट समाधान गराइन्छ’ रिजालले भने,‘पुराना हामी बानी परिसकेका छौं, नयाँलाई कर्मचारीतन्त्रको चालचलन थाहा छैन ।’

नयाँ उद्योग ब्यवसाय गर्न कर्मचारी रिझाउनु पर्ने अवस्था रहिरहे युवा पुस्ताले लगानी गर्न नसक्ने अवस्था आउने उनको तर्क छ । युवानै नआए पुराना अशक्त भएपछि उद्योग ब्यापार बन्द हुने भएकाले सबैले सोच्नु पर्ने रिजालको राय छ ।

नेपालमा स्रोत र सम्भावना बढी भएपनि विदेश पढेर फर्किएका युवालाई नीतिगत समस्याले झन्झट दिने अवस्था छ । 

पूर्वमन्त्री एवं उद्योगी मोति दुगड दलका नेता र सरकारले युवालाई रोजगारीको अवसर दिन नसकेकाले विदेश पढेका युवा उतै पलायन हुने गरेको बताउँछन् । ‘सरकार र नेताको दायित्व युवालाई अवसर दिनु हो, स्थायी सरकार नबनेसम्म कर्मठ र इमान्दार नेपाली युवाले ठाउँ पाउँदैनन्’ दुगडले भने, ‘अवस्थामा सुधार नआए युवा पुनः विदेशिन्छन् र उतै कुलतमा लाग्छन्, जेल पर्छन् ।’

नेपाल जुट उद्योग संघका महासचिव सोम अधिकारीका अनुसार बाबुबाजेले गरेको दिगो ब्यवसाय भएमात्रै युवा विदेशबाट फर्कने सम्भावना हुन्छ । युवाले भित्र्याउने प्रविधि, उत्पादनलाई त्यहाँसम्म पुर्याउने क्षमता र बिस्तार गर्ने अन्तर्राष्ट्रिय सम्बन्धको फाइदा देशले लिन उनीहरुलाई प्रोत्साहनको जरुरी रहेको अघिकारीको भनाइ छ ।

महासंघका पूर्वकेन्द्रीय सदस्य अभिनाश बोहरा विदेशका विश्वविद्यालयबाट शिक्षा पाएका युवाको ब्यवसायिक सोचमा परिवर्तन, तथा उत्पादक र बिक्रेताबीच सम्बन्ध सुधार गर्ने क्षमता विकास भएको बताए । अन्य मुलुकमा जस्तै नेपालमा पनि युवालाई ब्यवसाय गर्ने वातावरण दिन सबै पक्ष लागे छिट्टै देशमा परिवर्तन ल्याउन सकिने बोहराको भनाइ छ ।

विदेशमा पढेर आएका युवा लक्षित सरकारले नीतिगत ब्यवस्था गरेपनि कार्यान्वयन पक्ष कमजोर छ । 

युवा उद्यामशील र रोजगार नीति ल्याइएपछि नेपाल राष्ट्र बैंकको निर्देशनमा उद्यामशीलता प्रवर्धन गर्न ५ प्रतिशत ब्याजदरमा ऋण दिने ब्यवस्था छ । तर, युवाले सहुलियतमा ऋण लिने प्रक्रिया झन्झटिलो भएकाले ऋण पाउन समस्या छ ।

View : 504

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved