Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

भोलि होइन, आजै

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा केवल भाषण होइन, आचरण हुनुपर्छ । त्यसका लागि नीति मात्र होइन, कार्यान्वयन पनि आवश्यक छ । त्यसैले सम्पूर्ण नेपाली जनसमुदायलाई यही आग्रह—भोलि होइन, आजै थालौं ।
सुश्री श्रृष्टि लुइटेल
१९ साउन २०८२, सोमवार

पृथ्वीका प्रत्येक जीव प्रजाति अस्तित्व र विकासका निम्ति संघर्षरत छन् । वनस्पति होस् या जनावर, सबैले दैनिक भोजन, सुरक्षा र प्रजननजस्ता कार्यहरू निश्चित समयभित्र नै सम्पन्न गर्छन् । मानव जाति विवेकशील, सिर्जनशील र विकसित प्राणी भएकाले उसमा सोच, विश्लेषण र कार्य गर्न सक्ने अद्वितीय क्षमता हुन्छ । यही विशेषताको कारण मानव जाति सामाजिक, सांस्कृतिक र प्रविधिक प्रगतिको वाहक बन्न पुगेको हो ।

तर दुर्भाग्यवश, यति क्षमतावान प्रजातिभित्र एउटा गम्भीर कमजोरी पनि व्याप्त छ—‘भोलिवाद’ अर्थात्, आजै गर्नुपर्ने कामलाई अनावश्यक रूपमा भोलिसम्म धकेल्ने प्रवृत्ति । यो सोच व्यक्तिगत स्तरदेखि लिएर राष्ट्रिय योजनासम्म गहिरिएको छ । सरकारी कामकाज, सामाजिक गतिविधि, शैक्षिक जिम्मेवारी वा दैनिक जीवन—जहाँ पनि ‘भोलि गरौंला’ भन्ने प्रवृत्तिले जरा गाडेको छ ।

भोलिवादको प्रभाव
अधिकांश मानिसहरू आजै सकिने कार्यलाई भोलिमा सार्ने बानीमा रमाउँछन् । घरको स–साना कामदेखि लिएर पढाइ, सामाजिक जिम्मेवारी वा प्रशासनिक कार्यहरूमासमेत ढिलासुस्ती, अनियमितता देखिन्छ । ‘अहिले अल्छी लाग्यो’, ‘समय छैन’ जस्ता बहानाले जीवनको अमूल्य समय खेर जाने गर्छ । विशेष गरी सरकारी निकायहरूमा नीति तर्जुमा भए पनि कार्यान्वयनको चरणमा आइपुग्दा समयमा काम पूरा नहुनु सामान्यजस्तै भएको छ ।

यसैकारण विकासको गति न्यून छ, समृद्धिको सपना अधुरो छ । यदि भोलिवादी प्रवृत्तिको कुनै अन्तर्राष्ट्रिय सूचक बनाइयो भने, सायद नेपाल अग्रणी स्थानमा पर्ने मुलुकमा पर्न सक्छ ।

समयको मूल्य र व्यवस्थापन
हामीले जीवनमा थुप्रै काम गर्न सक्ने क्षमताको विकास गरेका छौं । तीमध्ये केही अत्यावश्यक हुन्छन्, केही मध्यम र केही गौण तर उपयोगी । यिनलाई प्राथमिकताको आधारमा वर्गीकृत गरी काम सम्पन्न गर्न सकिन्छ । तर दुःखको कुरा, हामी अक्सर कम महŒव भएका कामलाई बेवास्ता गरौंला भनी थुपार्दै जान्छौं । यसले हाम्रो व्यक्तिगत, सामाजिक र राष्ट्रिय जीवनमा पछाडि पार्छ ।

विचार, धारणाले मात्र समाज र राष्ट्र बदलिंदैन । ती विचारलाई व्यवहारमा उतार्नु पर्छ—त्यो पनि भोलिदेखि होइन, आजैदेखि । जबसम्म हामी कर्ममा उत्रदैनौं, तबसम्म सोच र योजनाले मात्र अर्थ राख्दैन ।

सामाजिक सञ्जाल र भोलिवाद
भोलिवादी सोचको एउटा कारण प्रविधिको दुरुपयोग पनि हो । सामाजिक सञ्जालमा झुण्डिएर घण्टौं बिताउने, सुतिरहेको अवस्थामै देश, नेता, नीति र राजनीतिमाथि टीका–टिप्पणी गर्ने अभ्यास व्यापक छ । टिप्पणी गर्नु गैरकानुनी होइन, तर केवल आलोचनामा सीमित रहनु, आफ्नो कर्तव्य भने नबुझ्नु गलत हो ।

सामाजिक सञ्जाल दोषी होइन, दोष त त्यसको अनियन्त्रित र अनुपयुक्त प्रयोगमा छ । प्रविधि प्रगतिका लागि हो, बाधक होइन । भोलि होइन, आजैलाई सही तरिकाले प्रयोग गर्न सक्ने विवेक राख्नु नै विवेकशील मानवको चिनारी हो ।

कर्मको दृष्टिकोण
व्यक्तिगत व्यवस्थापनको सन्दर्भमा हरेक दिन नित्यकर्म, अध्ययन, व्यायाम, घरायसी काम वा सिर्जनात्मक कार्यमा समय खर्चिन सकिन्छ । ती नै हाम्रो आत्मनिर्भरता र अनुशासनको आधार हुन् । जब यी पूरा हुन्छन्, तब हामी अरूको भलोका लागि पनि योगदान दिन सक्ने अवस्थामा पुग्छौं ।

यदि हामी केवल आफ्नो भलाइका लागि मात्र बा“च्यौं भने, हामी अन्य प्राणीभन्दा पृथक हुने औचित्य हराउँछ । त्यसैले मानिसले अरूको कल्याणका लागि सोच्न, योजनाबद्ध रुपमा अघि बढ्न र त्यसलाई कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।

हाम्रा अग्रजहरूबाट सिकौं
हाम्रा अग्रजहरू भोलिमा होइन, आजै गरेका कार्यका कारण आज हामी यहाँ छौं । उनीहरूले समयको मूल्य बुझेर राष्ट्र, समाज र संस्कृतिमा योगदान दिएका हुन् । यदि उनीहरूले पनि ‘भोलि गरौंला’ भनेका हुन्थे भने, आज हामीले यो चेतना, अधिकार, विकास र सभ्यताको अनुभव गर्न पाउने थिएनौं ।

आजै सुरू गरौं
अब हाम्रो पालो हो—कसरी व्यक्तिगत, सामाजिक र राष्ट्रिय रूपमा योगदान दिने ? भोलिमा होइन, आजै सोचौं र थालौं । आफूलाई सुधार्न, समाजलाई रुपान्तरण गर्न र राष्ट्रलाई समृद्धितर्फ डोहो¥याउन हामी सक्रिय हुनुपर्छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा केवल भाषण होइन, आचरण हुनुपर्छ । त्यसका लागि नीति मात्र होइन, कार्यान्वयन पनि आवश्यक छ । त्यसैले सम्पूर्ण नेपाली जनसमुदायलाई यही आग्रह—भोलि होइन, आजै थालौं ।

निष्कर्षमा यो भन्न सकिन्छ कि हामीसँग समय छ, तर त्यो अनन्त छैन । नेपाली उखान छ—‘बगेको खोला फर्कदैन, समयले पर्खदैन ।’ तसर्थ, अब पनि नजाग्ने हो भने इतिहासले हामीलाई कहिल्यै क्षमा गर्ने छैन ।

भैरव अर्यालले ‘जय भोली’ निबन्धमा भनेका छन्– ‘कतै पृथ्वीले भोली घुमौंला भनेर विश्राम नगरिदियोस्, हावाले भोलि डुलौंला भनेर विश्राम नगरिदियोस् ।’
यस कथनले मानवबाहेक सबै प्राकृतिक तत्वले समयको पालना गर्ने सत्य उजागर गर्छ । अब समय आयो—मानवले पनि समयको कदर गर्न सिक्ने ।
 

View : 466

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved