Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

आजको मुख्य कार्यभार

दलहरूमा  रूपान्तरण सहितको पुस्तान्तरण

बाँचुञ्जेल  ‘अदक्ष’ को बिल्ला भिरेर लाचार भएर नेतृत्वमा रहिरहने सोच छोडेर आफूबाट  भए गरेका गल्ती कमिकजोरीहरू आत्मसात गर्दै भर्खरै भएको जेनजी आन्दोलनको प्रभाव, असर र नवयुवाहरूको मागप्रति संवेदनशील भएर  सकारात्मक सोचका साथ  आफू र पार्टीलाई तत्काल योग्य, इमान्दार, वैचारिक दोस्रो र तेस्रो पुस्तमा नेतृत्व  पुस्तान्तरण र रूपान्तरणका लागि  सहयोगी बन्नु   श्रेयश्कर हुनेछ ।
रुपेश खतिवडा
२४ असोज २०८२, शुक्रवार

सामाजिक सञ्जालमा सरकारले लगाएको रोकलाई फुकुवा गर्नुपर्ने , सुशासन र भ्रष्टाचार अन्त्यको मागलाई लिएर नवयुवा (जेन–जी) पुस्ताले सुरू गरेको शान्तिपूर्ण नेपो बेबी आन्दोलन अकल्पनीय र आश्चर्यजनक रह्यो । मात्र २ दिनमा सम्पूर्ण राज्य संयन्त्रमा उलट्फेर ल्याइएको छ । राज्य, सरकार, राजनीतिक दल र आम जनमानसमा तरङ्गसँगै डरसमेत  पैदा  गरेको छ अर्थात् हलचल ल्याएको छ । यो रहस्यमय पनि बनेको छ । यो हुनुका पछाडि राज्य सरकार, राजनीतिक दलहरू, कर्मचारीतन्त्र, ब्यापारी, नागरिक समाज, सुरक्षा निकायहरू वा अरूको बढी जिम्मेवार रह्यो सत्यतथ्य अवस्य आउने नै छ ।

अहिलेसम्म यति भन्न सकिन्छ कि राज्य पक्ष जिम्मेवार देखिएन, जसका कारण आन्दोलनको पहिलो दिन नै १९ जना  निहत्था नवयुवाले बन्दुकको गोलीद्वारा मृत्युवरण हुनुपर्‍यो । यसको भोलिपल्ट आन्दोलनले हिंस्रक रूप लिन पुग्यो र थप मानिसहरू अनाहकमा मृत्युवरण गर्नु पुगे । यस सँगसँगै राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशभरका सरकारी, निजी तथा ब्यापारिक प्रतिष्ठानहरू जलाइए । अर्बौ धनमालको क्षतिसमेत बेहोर्नु पर्‍यो । यो नेपाली  इतिहासकै नवीन घटनाको रूपमा दर्ज भएको छ ।

यस बिद्रोह र विध्वंसमा ज्यान गुमाउने ती तमाम नेपाली आमाका सन्ततिलाई भावपूर्ण श्रद्धाञ्जली । साथै नेपालीहरूको महान चाडपर्व दशैको मुखमा सोकमा डुब्नुभएका  मृतकका आमाबुबा, घर परिवारमा गहिरो समवेदना । राज्यको तर्फबाट उचित क्षतिपूर्ति, राहत, उपचाररत बिरामीको यथोचित उपचार गर्न ढिलाइ हुनु हुँदैन ।

सरकारले  घटनाको सत्यतथ्य छानबिन गरी  दोषी माथि कार्वाही सिफारिस गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिसकेको छ । आशा गरौं सरकारले वास्तविक  दोषी पहिचान गरी कानुनी कठघरामा उभ्याउने छ । 

बिडम्बना, आजको  नेपाली राजनीतिलाई दलहरूले देश र जनताको भलाइका निम्ति नभएर  जुवा खेल जस्तो बनाइ दिएका छन्, जहाँ पैसाका लागि नैतिक मूल्य मान्यता, मानवीयता  कौडिको भाउमा खरिदबिक्री हुने गर्दछ । राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरू जनताको नजरमा आफ्नो सुख दुःखको अभिभावक, प्रतिनिधिको रूपमा हैन, आलोचनाको पात्र भएका छन्  ।

योग्य, इमानदार कार्यकर्ताहरू समेत नयाँ पुस्ताको नजरमा ‘झोले’ उपनामले बेइज्जत खेप्नुपरेको छ । आज सर्वत्र भ्रष्टाचार, बेतिथि ,महङ्गी बढेको छ । आफूले अमूल्य भोट दिएर निर्वाचित गरेका जनप्रतिनिधिहरू मैमत्ता हुँदै गएका उनीहरूको  व्यबहारबाट प्रष्ट हुन्छ । निर्वाचनमा आफूलाई चुन्ने सर्वसाधारण जनता कस्तो अवस्थामा छन् त्यसको हेक्का नराखी आफू र परिवारको मात्रै  सुख सुबिधामा रूमल्लिएका छन् ।

राजनीतिक दलहरूका बैठक, सभा सम्मेलनमा छलफल, बहस, विधि, पद्धति  विचार, सिद्धान्त गुमनाम हुँदै गएको छ । अनि नेताकार्यकर्तामा आदर्श, त्याग, बलिदान, इमान्दारी र सेवाभाव जस्ता कुराहरू ओझेलमा पर्दै गइरहेका छन् । यी सबै कुरा एकादेशको कथा हुन पुगेका छन् । यस्ता विषयमा कुरा गर्नेहरू अनुशासनहिनको रूपमा दरिन्छन् । तिनीहरूलाई पार्टी संगठनमा बोझको रूपमा हेरिन्छ । अनेक षड्यन्त्र गरेर पार्टीबाट अलग्याउन समेत पछि पर्दैनन् ।

अर्कोतिर  भ्रष्ट, स्वार्थी, अवसरवादी, चाकडीबाज एवं अनैतिक ब्यक्ति जसले नेतृत्वको गलत कुरालाई पनि सही हो भन्दै भुक्न र भ्रम छर्न सक्दछ वा नेतृत्वको भौतिक आवश्यक्ता परिपूर्तिमा सघाउ पुर्‍याउन सक्दछ उ नै नेता र पार्टी, संगठनमा नभई नहुने  ब्यक्ति ठहरिन्छ ।

गरिखाने  पृष्ठभूमिबाट राजनीतिमा आबद्धभएका  वैचारिक, इमानदार र कर्मठ ब्यक्तिहरूलाई आफ्नो निहित  स्वार्थको दुश्मन  सम्झदै त्यसलाई बिस्थापित गर्न जुनसुकै हर्कत गर्न पछि पर्दैनन् ।

नेपालका पुराना दलहरू मात्रै नभएर नयाँ राजनीतिक दलहरू रास्वपा लगायतमा समेत अध्यक्ष भन्ने पद यति निरंकुश, निर्जीव र हिंस्रक भयो कि परिभाषा नै बदलिएको छ । ‘अध्यक्ष’बाट ‘अदक्ष’ मा रूपान्तरित भएको छ ।

दलका नेताहरू लोकतान्त्रीकरण, समानता, सामुहिकता, सह–अस्तित्व आदि इत्यादिको कुरा गरेर कहिल्यै थाक्दैनन् । अझ कम्युनिस्ट पृष्ठभूमि भएकाको त जनवादको रटान कति हो कति । तर व्यबहार  हिटलर, मुसोलिनि र जङ्गबहादुरहरूको जस्तो देखिन्छ । आफ्नो गल्तीकमजोरी माथि कसैले औंला नउठाइदियोस्, आलोचना नगरिदियोस् बरू जे भने पनि जे गरेनि ‘येस बोस’ हुन्छ महासय भनिदियोस  भन्ने सोच राख्दछन् ।

कसैले सत्य, यथार्थ कुरा गर्‍यो वा कमजोरी देखाइदियो भने कि त राजीनामा गर्न बाध्य पारिन्छ कि त निष्कासन । अर्कोतिर केन्द्रीय कमिटी (समिति)का महाधिवेशनहरूमा एकपटक हैन पटक–पटक एउटै ब्यक्ति जस्तोसुकै हर्कत गरेर भए पनि पुनः अध्यक्ष नै भैराख्न खोज्ने ।

 जसका कारण विभिन्न राजनीतिक दलहरूमा कति आफ्नो अस्तित्व र स्वाभिमान गुमाएर बस्न विवस छन भने कतिपयले  आफ्नो अस्तित्व र स्वाभिमानलाई  बन्धक नराखी बिगतमा अनेकौं जोखिमहरू सहेर निष्ठापूर्वक   गरेको संघर्ष, बलिदान  त्याग, समर्पण र समाज परिवर्तनको  सुन्दर सपनाहरूनै  त्याग्न बाध्य भएका दर्जनौं उदाहरणहरूका पात्रहरू इतिहासदेखि वर्तमानसम्म देख्न पाइन्छ । यसको लेखाजोखा कहिँ कतै पाइदैन । के अब स्वाभिमानी, इमानदार,योग्य र सक्षमहरू नेपालको  राजनीतिमा अयोग्य भएकै हुन् त ?

प्रजातन्त्र आगमनदेखि गणतन्त्रसम्म आइपुग्दा विभिन्न दलहरूमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई ,मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारी, प्रदीप नेपाल, लोकेन्द्र बिष्ट मगरहरू आदि दर्जनौंले राजनीतिबाट सन्यासनै लिएर स्वतन्त्रता र स्वाभिमानको बाटो  रोजे ।

अब नयाँ दल भनिएको रास्वपामा समेत मुकुल ढकाल, सुमना श्रेष्ठ लगायतकाले कुन बाटो रोज्ने छन् हेर्न बाँकी छ । सुक्ष्म अध्ययन गर्ने हो भने केन्द्रीय तहमा मात्रै नभएर प्रदेश जिल्ला र आधारभूत तहमा पनि ‘अदक्ष’ को कोपभाजनमा पारिएका इमान्दार पात्रहरू हजारौंको संख्यामा भेटिन्छन् ।

निष्कर्षमा नेपालको राजनीतिमा आज केही गम्भीर प्रश्नहरू खडा भएका छन् के अबको राजनीतिमा  प्रसिद्ध राजनीतिक सिद्धान्तकार मेकियावेलिले भने जस्तै ‘छलछाम, मक्कारी र जाल, झेल र षड्यन्त्र’ खेल्न जान्नेहरूले मात्र राजनीतिमा  सहभागिता या नेतृत्व लिने  हो त ?

नव पुस्तालाई के सिकाउने ? राष्ट्र राष्ट्रियता स्वाधिनताप्रति बफादार र सुसंस्कृत राजनीतिप्रति आकर्षित गर्ने कि नगर्ने ? कि  राजनीतिप्रति आजको नवयुवाहरूलाइ घृणा जगाएर ‘पोलिटिक्स इज द डर्टी गेम, वि डन्ट प्ले’ भन्दै विदेशिन बाध्य पार्ने हो ?

इतिहासमा कहिल्यै कुनै शक्ति राष्ट्रको उपनिवेशमा नरहेकोको शान्तिप्रिय नेपाल शक्ति राष्ट्रहरूको युद्ध मैदानको चपेटामा परि ‘साँढेको जुधाइ बाछाबाछीको मिचाइ’ त हुने हैन ? भन्ने आशंका र  अड्कलबाजी राजनीतिक विश्लेशकहरूले  भनिरहेको सुनिन्छ ।

नेपालका राजनीतिकदलहरूका मुख्य नेतृत्वहरूले पद, पैसा,  पावर र परिवारवादको मोह छोडेर  देश र जनताको स्वाभिमान र भलाइका लागि बाँकी जीवन खर्चिनु सर्बोत्तम विकल्प हुन सक्छ ।

बाँचुञ्जेल ‘अदक्ष’ को बिल्ला भिरेर लाचार भएर नेतृत्वमा रहिरहने सोच छोडेर आफूबाट भए गरेका गल्ती कमिकजोरीहरू आत्मसात गर्दै भर्खरै भएको जेनजी आन्दोलनको प्रभाव, असर र नवयुवाहरूको मागप्रति संवेदनशील भएर  सकारात्मक सोचका साथ  आफू र पार्टीलाई तत्काल योग्य, इमान्दार, वैचारिक दोस्रो र तेस्रो पुस्तमा नेतृत्व  पुस्तान्तरण र रूपान्तरणका लागि  सहयोगी बन्नु श्रेयश्कर हुनेछ । 

फागुन २१ मा निर्वाचन गर्ने सरकारले एकतर्फी घोषणा गरेको छ । निर्वाचन समयमा हुन्छ हुँदैन त्यो त अहिल्यै भन्न सक्ने अवस्था छैन । जेहोस ढिलोचा“डो होला नै । निर्वाचनमा भाग लिएर निर्वाचन शान्तिपूर्ण, भयरहित वाताबरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दलहरूको पनि  हो ।

निर्वाचनका माध्यमबाट यो अन्तरिम सरकारलाई जतिसक्दो चाँडो  विस्थापन गर्न सकियो त्यति  अब के हुने हो भन्ने अनेकौं आशङ्का, डर त्रास र भयबाट मुक्त भइ मुलुक स्थिरता र विकाशको नयाँ मोडतर्फ अग्रसर हुनेछ । यसका लागि नयाँ पुस्तालाई अघि ल्याएर पुराना, बीचका पुस्ता (जेन एक्स र वाई) सहित सम्पूर्ण नागरिक भावनात्मक रूपमा एकताबद्ध भै देश र जनताको भलाईका लागि एकजुट हुनु जरूरी छ ।

अन्तमा: नेपाली हरूको दशकौंदेखिको पहलकदमी, रगतपसिना र हजारौं  सहिदको बलिदानबाट प्राप्त भएको संघीयता, लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको रक्षा, विकास र रचनात्मक कार्यान्वयनसँगै समृद्ध नेपालका सुखी सम्पन्न सार्वभौम नागरिक हुने नेपाली जनताको उत्कट चाहनालाई अधुरै रहन दिनेकी पूरा गर्ने दलहरूको भूमिकामा निर्भर हुनेछ । आउने दिन त्यति सुखद देखिदैन ।

देश रहने कि नरहने भन्ने सम्मको बहस हुन थालेको छ । सक्किने  कि समयसापेक्ष  सम्हालिने ? दलहरूले यसलाई गम्भीरतापूर्वक लिएर जिम्मेवार  हुन जरूरी छ ।

rkhatiwada03@gmail.com


 

View : 405

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved