आजको मुख्य कार्यभार
सामाजिक सञ्जालमा सरकारले लगाएको रोकलाई फुकुवा गर्नुपर्ने , सुशासन र भ्रष्टाचार अन्त्यको मागलाई लिएर नवयुवा (जेन–जी) पुस्ताले सुरू गरेको शान्तिपूर्ण नेपो बेबी आन्दोलन अकल्पनीय र आश्चर्यजनक रह्यो । मात्र २ दिनमा सम्पूर्ण राज्य संयन्त्रमा उलट्फेर ल्याइएको छ । राज्य, सरकार, राजनीतिक दल र आम जनमानसमा तरङ्गसँगै डरसमेत पैदा गरेको छ अर्थात् हलचल ल्याएको छ । यो रहस्यमय पनि बनेको छ । यो हुनुका पछाडि राज्य सरकार, राजनीतिक दलहरू, कर्मचारीतन्त्र, ब्यापारी, नागरिक समाज, सुरक्षा निकायहरू वा अरूको बढी जिम्मेवार रह्यो सत्यतथ्य अवस्य आउने नै छ ।
अहिलेसम्म यति भन्न सकिन्छ कि राज्य पक्ष जिम्मेवार देखिएन, जसका कारण आन्दोलनको पहिलो दिन नै १९ जना निहत्था नवयुवाले बन्दुकको गोलीद्वारा मृत्युवरण हुनुपर्यो । यसको भोलिपल्ट आन्दोलनले हिंस्रक रूप लिन पुग्यो र थप मानिसहरू अनाहकमा मृत्युवरण गर्नु पुगे । यस सँगसँगै राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशभरका सरकारी, निजी तथा ब्यापारिक प्रतिष्ठानहरू जलाइए । अर्बौ धनमालको क्षतिसमेत बेहोर्नु पर्यो । यो नेपाली इतिहासकै नवीन घटनाको रूपमा दर्ज भएको छ ।
यस बिद्रोह र विध्वंसमा ज्यान गुमाउने ती तमाम नेपाली आमाका सन्ततिलाई भावपूर्ण श्रद्धाञ्जली । साथै नेपालीहरूको महान चाडपर्व दशैको मुखमा सोकमा डुब्नुभएका मृतकका आमाबुबा, घर परिवारमा गहिरो समवेदना । राज्यको तर्फबाट उचित क्षतिपूर्ति, राहत, उपचाररत बिरामीको यथोचित उपचार गर्न ढिलाइ हुनु हुँदैन ।
सरकारले घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कार्वाही सिफारिस गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिसकेको छ । आशा गरौं सरकारले वास्तविक दोषी पहिचान गरी कानुनी कठघरामा उभ्याउने छ ।
बिडम्बना, आजको नेपाली राजनीतिलाई दलहरूले देश र जनताको भलाइका निम्ति नभएर जुवा खेल जस्तो बनाइ दिएका छन्, जहाँ पैसाका लागि नैतिक मूल्य मान्यता, मानवीयता कौडिको भाउमा खरिदबिक्री हुने गर्दछ । राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरू जनताको नजरमा आफ्नो सुख दुःखको अभिभावक, प्रतिनिधिको रूपमा हैन, आलोचनाको पात्र भएका छन् ।
योग्य, इमानदार कार्यकर्ताहरू समेत नयाँ पुस्ताको नजरमा ‘झोले’ उपनामले बेइज्जत खेप्नुपरेको छ । आज सर्वत्र भ्रष्टाचार, बेतिथि ,महङ्गी बढेको छ । आफूले अमूल्य भोट दिएर निर्वाचित गरेका जनप्रतिनिधिहरू मैमत्ता हुँदै गएका उनीहरूको व्यबहारबाट प्रष्ट हुन्छ । निर्वाचनमा आफूलाई चुन्ने सर्वसाधारण जनता कस्तो अवस्थामा छन् त्यसको हेक्का नराखी आफू र परिवारको मात्रै सुख सुबिधामा रूमल्लिएका छन् ।
राजनीतिक दलहरूका बैठक, सभा सम्मेलनमा छलफल, बहस, विधि, पद्धति विचार, सिद्धान्त गुमनाम हुँदै गएको छ । अनि नेताकार्यकर्तामा आदर्श, त्याग, बलिदान, इमान्दारी र सेवाभाव जस्ता कुराहरू ओझेलमा पर्दै गइरहेका छन् । यी सबै कुरा एकादेशको कथा हुन पुगेका छन् । यस्ता विषयमा कुरा गर्नेहरू अनुशासनहिनको रूपमा दरिन्छन् । तिनीहरूलाई पार्टी संगठनमा बोझको रूपमा हेरिन्छ । अनेक षड्यन्त्र गरेर पार्टीबाट अलग्याउन समेत पछि पर्दैनन् ।
अर्कोतिर भ्रष्ट, स्वार्थी, अवसरवादी, चाकडीबाज एवं अनैतिक ब्यक्ति जसले नेतृत्वको गलत कुरालाई पनि सही हो भन्दै भुक्न र भ्रम छर्न सक्दछ वा नेतृत्वको भौतिक आवश्यक्ता परिपूर्तिमा सघाउ पुर्याउन सक्दछ उ नै नेता र पार्टी, संगठनमा नभई नहुने ब्यक्ति ठहरिन्छ ।
गरिखाने पृष्ठभूमिबाट राजनीतिमा आबद्धभएका वैचारिक, इमानदार र कर्मठ ब्यक्तिहरूलाई आफ्नो निहित स्वार्थको दुश्मन सम्झदै त्यसलाई बिस्थापित गर्न जुनसुकै हर्कत गर्न पछि पर्दैनन् ।
नेपालका पुराना दलहरू मात्रै नभएर नयाँ राजनीतिक दलहरू रास्वपा लगायतमा समेत अध्यक्ष भन्ने पद यति निरंकुश, निर्जीव र हिंस्रक भयो कि परिभाषा नै बदलिएको छ । ‘अध्यक्ष’बाट ‘अदक्ष’ मा रूपान्तरित भएको छ ।
दलका नेताहरू लोकतान्त्रीकरण, समानता, सामुहिकता, सह–अस्तित्व आदि इत्यादिको कुरा गरेर कहिल्यै थाक्दैनन् । अझ कम्युनिस्ट पृष्ठभूमि भएकाको त जनवादको रटान कति हो कति । तर व्यबहार हिटलर, मुसोलिनि र जङ्गबहादुरहरूको जस्तो देखिन्छ । आफ्नो गल्तीकमजोरी माथि कसैले औंला नउठाइदियोस्, आलोचना नगरिदियोस् बरू जे भने पनि जे गरेनि ‘येस बोस’ हुन्छ महासय भनिदियोस भन्ने सोच राख्दछन् ।
कसैले सत्य, यथार्थ कुरा गर्यो वा कमजोरी देखाइदियो भने कि त राजीनामा गर्न बाध्य पारिन्छ कि त निष्कासन । अर्कोतिर केन्द्रीय कमिटी (समिति)का महाधिवेशनहरूमा एकपटक हैन पटक–पटक एउटै ब्यक्ति जस्तोसुकै हर्कत गरेर भए पनि पुनः अध्यक्ष नै भैराख्न खोज्ने ।
जसका कारण विभिन्न राजनीतिक दलहरूमा कति आफ्नो अस्तित्व र स्वाभिमान गुमाएर बस्न विवस छन भने कतिपयले आफ्नो अस्तित्व र स्वाभिमानलाई बन्धक नराखी बिगतमा अनेकौं जोखिमहरू सहेर निष्ठापूर्वक गरेको संघर्ष, बलिदान त्याग, समर्पण र समाज परिवर्तनको सुन्दर सपनाहरूनै त्याग्न बाध्य भएका दर्जनौं उदाहरणहरूका पात्रहरू इतिहासदेखि वर्तमानसम्म देख्न पाइन्छ । यसको लेखाजोखा कहिँ कतै पाइदैन । के अब स्वाभिमानी, इमानदार,योग्य र सक्षमहरू नेपालको राजनीतिमा अयोग्य भएकै हुन् त ?
प्रजातन्त्र आगमनदेखि गणतन्त्रसम्म आइपुग्दा विभिन्न दलहरूमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई ,मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारी, प्रदीप नेपाल, लोकेन्द्र बिष्ट मगरहरू आदि दर्जनौंले राजनीतिबाट सन्यासनै लिएर स्वतन्त्रता र स्वाभिमानको बाटो रोजे ।
अब नयाँ दल भनिएको रास्वपामा समेत मुकुल ढकाल, सुमना श्रेष्ठ लगायतकाले कुन बाटो रोज्ने छन् हेर्न बाँकी छ । सुक्ष्म अध्ययन गर्ने हो भने केन्द्रीय तहमा मात्रै नभएर प्रदेश जिल्ला र आधारभूत तहमा पनि ‘अदक्ष’ को कोपभाजनमा पारिएका इमान्दार पात्रहरू हजारौंको संख्यामा भेटिन्छन् ।
निष्कर्षमा नेपालको राजनीतिमा आज केही गम्भीर प्रश्नहरू खडा भएका छन् के अबको राजनीतिमा प्रसिद्ध राजनीतिक सिद्धान्तकार मेकियावेलिले भने जस्तै ‘छलछाम, मक्कारी र जाल, झेल र षड्यन्त्र’ खेल्न जान्नेहरूले मात्र राजनीतिमा सहभागिता या नेतृत्व लिने हो त ?
नव पुस्तालाई के सिकाउने ? राष्ट्र राष्ट्रियता स्वाधिनताप्रति बफादार र सुसंस्कृत राजनीतिप्रति आकर्षित गर्ने कि नगर्ने ? कि राजनीतिप्रति आजको नवयुवाहरूलाइ घृणा जगाएर ‘पोलिटिक्स इज द डर्टी गेम, वि डन्ट प्ले’ भन्दै विदेशिन बाध्य पार्ने हो ?
इतिहासमा कहिल्यै कुनै शक्ति राष्ट्रको उपनिवेशमा नरहेकोको शान्तिप्रिय नेपाल शक्ति राष्ट्रहरूको युद्ध मैदानको चपेटामा परि ‘साँढेको जुधाइ बाछाबाछीको मिचाइ’ त हुने हैन ? भन्ने आशंका र अड्कलबाजी राजनीतिक विश्लेशकहरूले भनिरहेको सुनिन्छ ।
नेपालका राजनीतिकदलहरूका मुख्य नेतृत्वहरूले पद, पैसा, पावर र परिवारवादको मोह छोडेर देश र जनताको स्वाभिमान र भलाइका लागि बाँकी जीवन खर्चिनु सर्बोत्तम विकल्प हुन सक्छ ।
बाँचुञ्जेल ‘अदक्ष’ को बिल्ला भिरेर लाचार भएर नेतृत्वमा रहिरहने सोच छोडेर आफूबाट भए गरेका गल्ती कमिकजोरीहरू आत्मसात गर्दै भर्खरै भएको जेनजी आन्दोलनको प्रभाव, असर र नवयुवाहरूको मागप्रति संवेदनशील भएर सकारात्मक सोचका साथ आफू र पार्टीलाई तत्काल योग्य, इमान्दार, वैचारिक दोस्रो र तेस्रो पुस्तमा नेतृत्व पुस्तान्तरण र रूपान्तरणका लागि सहयोगी बन्नु श्रेयश्कर हुनेछ ।
फागुन २१ मा निर्वाचन गर्ने सरकारले एकतर्फी घोषणा गरेको छ । निर्वाचन समयमा हुन्छ हुँदैन त्यो त अहिल्यै भन्न सक्ने अवस्था छैन । जेहोस ढिलोचा“डो होला नै । निर्वाचनमा भाग लिएर निर्वाचन शान्तिपूर्ण, भयरहित वाताबरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दलहरूको पनि हो ।
निर्वाचनका माध्यमबाट यो अन्तरिम सरकारलाई जतिसक्दो चाँडो विस्थापन गर्न सकियो त्यति अब के हुने हो भन्ने अनेकौं आशङ्का, डर त्रास र भयबाट मुक्त भइ मुलुक स्थिरता र विकाशको नयाँ मोडतर्फ अग्रसर हुनेछ । यसका लागि नयाँ पुस्तालाई अघि ल्याएर पुराना, बीचका पुस्ता (जेन एक्स र वाई) सहित सम्पूर्ण नागरिक भावनात्मक रूपमा एकताबद्ध भै देश र जनताको भलाईका लागि एकजुट हुनु जरूरी छ ।
अन्तमा: नेपाली हरूको दशकौंदेखिको पहलकदमी, रगतपसिना र हजारौं सहिदको बलिदानबाट प्राप्त भएको संघीयता, लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको रक्षा, विकास र रचनात्मक कार्यान्वयनसँगै समृद्ध नेपालका सुखी सम्पन्न सार्वभौम नागरिक हुने नेपाली जनताको उत्कट चाहनालाई अधुरै रहन दिनेकी पूरा गर्ने दलहरूको भूमिकामा निर्भर हुनेछ । आउने दिन त्यति सुखद देखिदैन ।
देश रहने कि नरहने भन्ने सम्मको बहस हुन थालेको छ । सक्किने कि समयसापेक्ष सम्हालिने ? दलहरूले यसलाई गम्भीरतापूर्वक लिएर जिम्मेवार हुन जरूरी छ ।
rkhatiwada03@gmail.com
View : 405
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved