Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बराहक्षेत्रमा कुम्भमेला सुरु

मणिराम दाहाल
२८ चैत २०८०, बुधवार

सुन्दरहरैंचा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक क्षेत्रको रूपमा रहेको बराहक्षेत्रस्थित चतराधामको महत्व कुम्भमेलाबाट झन बढेको उल्लेख गरेका छन् । 

मंगलबारदेखि सुरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भमेलाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले कुम्भ प्रारम्भ भएको पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गरेका थिए । राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना स्थापना गर्नु रहेको उल्लेख गर्दै द्रष्टाहरूले हजार वर्ष पहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको समाधानबारे उल्लेख गरेको बताए ।

राष्ट्रपति पौडेलले भने, ‘त्यो बेला आजको जस्तो जलवायु परिवर्तन भएको थिएन, त्यसैले अबको युग वैदिक संस्कृतिको पुनरुत्थानको युग मानेर  चिन्तन र आचरणमा चल्न आवश्यक छ, आजको जलवायु परिवर्तन साथै अन्तर्राष्ट्रिय कलहको समेत समाधान भेटिनेछ भन्ने मलाई लाग्छ ।’

राष्ट्रपति पौडेलले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव र एकता नै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि मूल लक्ष्य भएको विचार व्यक्त गरे । उनले ऋषिमहर्षिहरूको तपोभूमि, देवदेवीहरूको क्रिडास्थल, एक पवित्र तीर्थस्थल नेपाल आमाको पवित्रभूमि बराहक्षेत्रको  प्राचीन हरिद्वार चतराधामको महाकुम्भ नगरीमा सहभागी हुन पाउँदा सुखानुभूति र गौरव महसुस भएको बताए ।  

उनले चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण तथा विश्वकै चार पवित्र क्षेत्रमध्येको एक मानिएको उल्लेख गरे । राष्ट्रपति पौडेलले परापूर्वकालदेखि नै हिमश्रृंखलाबाट उद्गम भएर बग्ने पवित्र नदीहरूको प्रवाह, महान व्यक्तित्वहरूको जन्म, तपसाधना र उहाँहरूबाट मानवजातिको सर्वोक्तम हितका लागि व्यत्त विचारका कारण यसको आफ्नै महत्व र महिमा रहँदै आएको जानकारी दिए । 

राष्ट्रपति पौडेलले अर्को प्रसङ्गमा बोल्दै राजनीतिमा जसले जस्तो गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् । 

समारोहमा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरिएको थियो । समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महाकुम्भ मेलाको सफलताका लागि शुभकामना व्यक्त गर्दै  धार्मिक तथा पर्यटकीय बराहक्षेत्र तथा चतराधामको विकास र समृद्धिका लागि सबैको पहल आवश्यक भएको उल्लेख गर्दै प्रदेश सरकार यसका लागि पछि नहटने बताए ।

नेपालमा कुम्भमेलाका परिकल्पनाकार तथा प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले शास्त्रमा प्रमाण भेटिएअनुसार  चतरामा कुम्भमेला लगाउने प्रशस्त आधार रहेको बताए । उनले शास्त्रीय प्रमाणको गहन अध्ययनपछिको आधारमा यहाँ कुम्भमेला लगाउन सुरु गरिएको उल्लेख गर्दै  मेलामा सहभागी बनेर पुन्यप्राप्त गर्न सबै नेपालीमा आग्रह गरे ।

उनले  मेलाका लागि सरसफाई, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत तथा सञ्चार सुविधा, शान्ति सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका लागि पहल भएको साथै मेला अवधिभर चतरामा मदिरा माछा, मासु बिक्री वितरणमा निषेध गरिएको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले उल्लेख गरे । 

पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरी लाखौं  धार्मिक भक्तजनको मेलामा सहभागिता रहने छ । मेला चैत २७ देखि बैशाख २८ गतेसम्म एक महिनाका लागि  लाग्नेछ । धार्मिक तथा पर्यटकीय हिसावले समेत भव्य, सभ्य मानिएको कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरू सहभागी भएका छन् । बाह्रकुम्भ मध्ये नेपाल लगायत भारतका प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ । 

यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ । नेपालमा प्रथम पिण्डेश्वर कुम्भ मेला महोत्सवको रूपमा २०५९ चैत्र ६ गतेदेखि एक महिनासम्म सञ्चालन भएको थियो । 

महाकुम्भकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि नवरात्र अनुष्ठान सुरु गरेको छ । पीठले बैशाख १ देखि संकटमोचन श्रीहनुमद् महायज्ञ गर्ने र वैशाख ५ मा पीठको निमन्त्रणामा भारतको बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम छ ।

View : 373

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved