विराटनगर । मोरङ सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापा सोमबार विराटनगरस्थित कोशी अस्पतालको हातामा निकै हतास देखिन्थे ।
आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘ए बी पोजेटिभ’ रगत आवश्यक थियो, तर रक्तसञ्चार केन्द्रमा मौज्दात नभएपछि उनी रक्तदाताको खोजीमा भौतारिन बाध्य भए ।
‘डाक्टरले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार सेवा केन्द्रमा छैन भनियो,’ उनले निराश हुँदै भने, ‘त्यसपछि हामी सामाजिक सञ्जालमा पोष्ट हाल्यौं, साथीभाइलाई फोन ग¥यौं, तर समयमै रगत पाउन निकै गाह्रो भयो ।’
रमेशका आफन्तका अनुसार रगतको अभावले उपचार प्रक्रिया नै ढिलाइ भएको थियो ।
‘हामीलाई सबैभन्दा ठूलो डर बिरामीको ज्यानको हुने रहेछ,’ उनका अर्का आफन्तले भने, ‘रगत खोज्दै दौडधुप गर्दा निकै तनाव पो भयो ।’
कोशी अस्पतालमा उपचारका लागि आएका अर्का एक बिरामीका आफन्तले पनि यस्तै समस्या सुनाए ।
‘अस्पतालमै रगतको व्यवस्था होला भन्ने सोचेका थियौं,’ उनले भने, ‘तर अन्तिममा आफैले खोज्नुपर्दा निकै अप्ठ्यारो भयो । यस्तो अवस्थामा बिरामीको परिवार झन् मानसिक दबाबमा पर्ने रहेछ ।’
रमेशजस्तै अवस्था अहिले कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौं बिरामीका परिवारले भोगिरहेका छन् ।
आकस्मिक उपचारका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध नहुँदा बिरामीका आफन्त आफै रक्तदाता खोज्न बाध्य छन् ।
रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको छ ।
आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूति जस्ता अवस्थामा तत्काल रगत आवश्यक पर्ने हुँदा समयमै उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने चिकित्सकहरू बताउँछन् ।
रगत व्यवस्थापनको यो चुनौती अहिले गम्भिर समस्याको रुपमा देखिएको हाम्रो अस्पताल विराटनगरका सञ्चालक तथा निजी अस्पताल एसोसिएसन (अफिन) का अध्यक्ष डा. शंकरप्रसाद अधिकारी बताउँछन् ।
उनका अनुसार रक्तसञ्चार सेवा केन्द्रहरूमा रगतको पर्याप्त भण्डारण (स्टोरेज) नहुँदा अस्पतालहरूले आकस्मिक बाहेकका बिरामीका आफन्तलाई आफै रगत व्यवस्थापन गर्न वा साट्न (एक्सचेन्ज) आग्रह गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।
यद्यपि बिरामीका आफन्तले रगत व्यवस्थापन गर्दा केही सहजता त भएको छ, तर सडक दुर्घटना जस्ता तत्काल रगत चाहिने आकस्मिक अवस्थामा भने अझै पनि ठूलो जोखिम र चुनौती कायम रहेको उनको बुझाइ छ ।
क्षेत्रीय स्तरमा रगतको केन्द्रिकृत व्यवस्थापन हुनुपर्नेमा डा. अधिकारी जोड दिन्छन् ।
धेरैजसो साना अस्पतालहरूमा आफ्नै ‘ब्लड बैंक’ नहुने र उनीहरू रेडक्रस, नोबेल वा विराटनगरका ठूला संस्थाहरूमा निर्भर रहनुपर्ने बाध्यता छ ।
‘सबै साना अस्पतालमा ब्लड बैंक राख्दा रगत खपत नभए खेर जाने जोखिम हुन्छ,’ उनले प्रस्ट्याउँदै भने ‘त्यसैले एउटै बलियो र केन्द्रिकृत व्यवस्थापन बढी प्रभावकारी हुन्छ ।’
कोशी प्रदेशकै सबैभन्दा ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा बिरामीको चापसँगै बिरामीहरुले दैनिक रगतको अभावको समस्या भोग्नुपरेको स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा. अन्जु देव बताउँछिन् ।
प्रसूति र सर्जरी सेवा अत्यन्तै आपतकालीन हुने भएकाले रगत अभाव हुँदा यो बिभाव सबैभन्दा बढी समस्यामा पर्ने गरेको डा. देवको भनाइ छ ।
‘हामीकहाँ प्रसूति र शल्यक्रियाका बिरामीमा रगतको अत्यधिक आवश्यकता हुन्छ,’ डा.देवले भनिन्, ‘तर अभावका कारण कतिपय अवस्थामा बिरामी भर्ना गर्नुअघि नै एक पोका रगतको व्यवस्था गर्न लगाउनुपर्ने बाध्यता हुन्छ ।’
प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवका अनुसार कोशी प्रदेशमा दैनिक करिब एक हजार युनिटसम्म रगतको माग हुने गरेको छ ।
विशेषगरी मोरङ जिल्लाका अस्पतालहरूमा रगतको माग अत्यधिक हुनेगरेको उनी बताउँछन् ।
प्रदेशकै जेठो र ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा टाढाका जिल्लाहरू र छिमेकी भारतीय शहरहरूबाट समेत बिरामीहरू उपचारका लागि आउने भएकाले यहाँ रगतको माग अत्यधिक हुने यादव बताउँछन् ।
पछिल्लो समय निर्वाचन जस्ता राजनीतिक गतिविधिमा मानिसहरू केन्द्रित हुँदा नियमित रक्तदान कार्यक्रमहरू ओझेलमा परेका छन्, जसका कारण संकलनमा आएको गिरावटले अभावलाई अझ चर्काएको उनको भनाइ छ ।
विराटनगरमा रगतको चरम अभाव देखिएका बेला झापा वा धरान जस्ता छिमेकी सहरहरूबाट रगत मगाएर व्यवस्थापन गर्ने प्रयास गरिएको यादव बताउँछन् ।
तर संकलन नै कम भएकाले कुनै एउटा समूहको मात्र नभई सबै समूहका रगत अभाव हुने जोखिम कायम रहने उनी बताउँछन् ।
एक स्वस्थ व्यक्तिले प्रत्येक तीन महिनामा सहजै रक्तदान गर्न सक्ने भए तापनि जनचेतनाको कमीले गर्दा मानिसहरू अझै पनि रक्तदान गर्न हच्किने गरेका छन् ।
रक्तदान गर्ने संघ–संस्थाहरूले वर्षमा एक पटक गर्ने औपचारिक कार्यक्रमलाई बढाएर कम्तीमा दुई पटक पु¥याउनुपर्ने र शैक्षिक संस्थाहरूमा युवाहरूलाई यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता देखिएको छ ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved