पौरखी पात्र
– राजन पौडेल
विदेशिने सपनाले कहिल्यै मेरो मनको कुना पनि छुन सकेन । उता आम्दानी अलि बढी होला, तर त्यहाँको दैनिक खर्च, एक्लोपन र कामको अनिश्चितताले मन सधैं डराइरहन्थ्यो ।
यहीं, आफ्नै ठाउँमा, परिवारसँग बसेर कमाएको थोरै पैसामा पनि म खुसी छु ।
यहाँ न भाषाको बाधा छ, न काम गुम्ने डर । आफ्नै पसल, आफ्नै हातको सीप र आफ्नै पहिचान छ । सानो भए पनि यो व्यवसाय हाम्रो आत्मनिर्भरताको आधार हो ।
लगानी डुब्ने त्रास छैन । विगत १० वर्षदेखि यही काम गर्दै आएको छु र यसैमा मैले जीवनको साँचो सन्तोष भेटेको छु । भविष्यले के मोड लिन्छ थाहा छैन, तर अघि बढ्ने आशा र सपना आज पनि उस्तै बलिया छन् ।
यो व्यवसाय ठूलो पुँजीमा होइन, धैर्य र सीपमा टिकेको छ । जोखिम कम छ र कच्चा पदार्थ पनि महँगा छैनन् । छाला र खरी नै मुख्य सामग्री हुन्, जुन नेपालमै सहजै पाइन्छन् ।
"व्यवसायकै लागि भनेर लिएको न तिर्ने ऋण छ, न उडाउने धन छ । यसैमा त आनन्द छ," सपन भन्छन् ।
यो सीप उनले किताबबाट होइन, परम्पराबाट सिकेका हुन् । हजुरबुबाको हातबाट बाबुको हातमा सरेको सीप आज सपनको हातसम्म आइपुगेको छ । १५–१६ वर्षको उमेरमा बाबुको छेउमा बसेर मादल मर्मत गर्दा आउने गन्ध, छालामा पर्ने हातको ताप र आवाज मिलाउँदाको धैर्य नै उनका शिक्षक बने ।
बाबुले जति सिक्नुभयो, हजुरबुबाले पनि त्यत्तिकै मिहिनेतका साथ यो पेसा अघि बढाउनुभएको थियो । यो केवल रोजगारी मात्र होइन, तीन पुस्तादेखि निरन्तर बग्दै आएको परम्पराको धरोहर हो । त्यसैले यो पसल र उनीहरूलाई नचिन्ने सायदै होलान् ।
यहाँ नयाँ बाजा बनाइँदैन, तर थाकेका र बोल्न छाडेका बाजालाई फेरि आवाज दिइन्छ । मादल, ढोलक, नगाडा, मृदङ्ग र तबलाजस्ता लोकबाजाहरू यो पसलमा आएपछि पुनः जीवन पाउँछन् ।
मादलको बजाउने भागमा बाख्राको छाला प्रयोग गरिन्छ, किनकि त्यो अरू जनावरको भन्दा पातलो हुन्छ । पातलो छालाले स्पष्ट स्वर दिन्छ र आवाज फाट्दैन । बाजालाई बाँध्न (बर्ती) भने राँगाको छाला प्रयोग गरिन्छ, किनकि त्यो बाक्लो र बलियो हुन्छ, जसले बाजालाई लामो समयसम्म टिकाउ बनाउँछ ।
एकाग्र भएर मादलको बर्ता (छालाको डोरी) तान्दै 'टुङ् टुङ्' पारेर आवाज सुन्दै गरेका उनले सुरुमा बोलेको सायद सुनेनन् । प्रत्येक पटकको डोरी कसाइपछि आवाज फरक र प्रष्ट सुनिन्थ्यो । एकछिन पछि हात तन्काउँदै लामो सास फेरे र भने, "कुरा गर्दै काम गर्न मिल्दैन, हातको हिर्काइ र निस्कने आवाजमा ध्यान दिनुपर्छ ।"
२६ वर्षीय सपन दासले छेउमा काम गरिरहेका ७० वर्षीय वृद्धतिर इशारा गर्दै भने, ‘उहाँ मेरो बुबा मन्टु दास ।’ मन्टु दास छाला सफा गर्न व्यस्त थिए ।
मर्मतबारे सपन भन्छन्, "खरी हाल्न हेर्दा सामान्य लागे पनि होस पुर्याएर गर्नुपर्छ । हतारमा काम बिग्रन्छ । फिनिसिङ राम्रो भएन भने आवाजै राम्रो निस्कँदैन । मादलको विशेषता नै यसको आवाज र बजाउने कला हो ।"
मर्मत खर्चबारे उनले जानकारी दिए— बर्ता कसेको १०० रुपैयाँ, मादलको आकार अनुसार खरी हालेको ६ सयदेखि ८ सयसम्म र छाला नै फेर्नुपरे १५ सय रुपैयाँसम्म लाग्छ ।
खरी बनाउँदा काँस र किटको धुलो मिसाइन्छ, जुन मोरङको पथरीबाट प्रतिकिलो ८० रुपैयाँमा ल्याउने गरिन्छ । खरी हाल्ने बेला यसमा भात मिसाएर मुछेपछि यो लस्सादार हुन्छ र छालामा राम्ररी टाँसिन्छ ।
मादलका लागि छतिवन, दार वा खमारीको काठ उपयुक्त हुन्छ । मादलको ठूलो भागलाई 'भाले' र सानो भागलाई 'पाथी' भनेर चिनिन्छ ।
यस व्यवसायको पनि आफ्नै 'सिजन' छ । चाडपर्वका बेला कामको भ्याइनभ्याइ हुन्छ र दैनिक कमाई ३ हजार रुपैयाँसम्म पुग्छ । पछिल्लो समय टोल–टोलमा भजन कीर्तन समूहहरू गठन हुनाले मादलको माग र मर्मत बढेको छ । सरस्वती पूजाका अवसरमा विद्यालयहरूले गर्ने प्रतियोगिताले पनि व्यापारमा टेवा पुर्याएको उनको अनुभव छ ।
विराटनगरको शनि मन्दिर चोक पश्चिम, पेट्रोल पम्प छेउमा व्यवसाय गरिरहेका सपन भन्छन्, "डिजिटल संगीतका कारण मादलको प्रयोग घटेको थियो, तर केही वर्षयता आफ्नो संस्कृतिप्रति समुदायको चासो बढेकाले आशा जागेको छ । लोकबाजाको संरक्षणमा सरकारले नीतिगत तहबाटै काम गर्न जरुरी छ । यो हाम्रो पेसा मात्र होइन, हाम्रो पहिचान र संस्कृतिको जगेर्ना पनि हो ।"
View : 296
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved