Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशका ८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाउने तयारी

कोशी प्रदेशमा ८ हजार ३ सय ६६ खोप केन्द्रमार्फत ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाईँदैछ ।
जुनु भट्टराई
११ फागुन २०८०, शुक्रवार

विराटनगर, ११ फागुन । कोशी प्रदेशका ८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाईने भएको छ । बिश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार विराटनगरमा आयोजित दादुरा रुवेला खोप अभियानको खोप समन्वय समिति फदधिकारी, सञ्चारकर्मी तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यत्रममा निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले फागुन १३ देखि सुरु हुने अभियानअर्न्तगत कोशी प्रदेशका ९ महिनादेखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९ सय ३४ जनालाई खोप लगाईने जानकारी दिए । 

अभियानअर्न्तगत कोशी प्रदेशमा फागुन १३ देखि चैत ३ गते सम्म खोप लगाईने कार्यक्रम रहेको छ । राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसंख्यालाई खोप लगाई सकिने तयारी गरिएको समेत उनले जानकारी दिए ।

फागुन १३ गते कोशी प्रदेशका मोरङ, भोजपुर, तेह्रथुम र उदयपुरमा खोप अभियान सुरु हुने र अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान सुरु गरी चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य बनाएको निर्देशनालयका निर्देशक बस्नेतले जानकारी दिए । 

निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले खोप अवस्था तथा खोप अभियानको बारेमा प्रस्तुतिकरण गर्दै कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको खोप लगाउने जनसंख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसंख्या ५ लाख २९ हजार २ सय २८ रहेको जानकारी दिए । उनले ति लक्षित जनसंख्याको सवैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनु पर्ने समेत बताए । मोरङका लक्षित जनसंख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६–२६ प्रतिशत रहेको छ ।

१३ गतेबाट सुरु हुने उक्त खोप अभियान सञ्चालन गर्नका लागि सरकारले प्रदेशभरका ८ हजार ३ सय ६६ खोप केन्द्रबाट खोप लगाउने तयारी गरिरहेको जनाइएको छ । 

उक्त खोप केन्द्रहरु सबै विद्यालय लक्षित रहेका छन् । खोप अभियान सञ्चालनका लागि २० हजार ९ सय ९० कार्यदिन खोप लगाइने पनि जनाइएको छ ।

निर्देशनालयका खोप अधिकृत श्रेष्ठका अनुसार दादुरा रूबेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोश्रो) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशतभन्दा धेरै भएको हुनुपर्ने मानिदै आएको छ । 

जसमा प्रति १ लाख जनसंख्यामा वार्षिक कम्तिमा २ जना शंकास्पद बिरामीको पहिचान भई प्रयोगशाला परीक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा रुबेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तिमा १२ महिनासम्म दादुरा रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्ष सम्म सोहि अवस्था कायम भएमा दादुरा–रुबेलाको अवस्था शुन्य भएको मानिन्छ ।

गतवर्ष मात्रै नेपालका १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । कोशी प्रदेश अन्तरगत गतबर्ष मोरङ जिल्लामा ८४ जना दादुरा रुबेलाका बिरामी फेला परेका थिए । जसमा मोरङमा ४२ र सुनसरीमा ४२ जना रहेका थिए ।

दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिमिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य राखिएको जनाइएको छ । सोही अनुसार राष्ट्रव्यापी अभियान सुरु गर्न लागिएको निर्देशनालयले जनाएको छ । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिए पनि सम्भव नभएपछि सन् २०२६ लाई नयाँ लक्ष्य निर्धारण गरिएको थियो । 

सन् २०२२–२०२३ मा नेपालको धेरै जिल्लाहरुमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो । 

सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको जनाइएको छ ।

View : 315

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved