विद्यावारिधि (पीएचडी) को पढाइलाई पहिला दुई वटा संज्ञा दिइन्थ्यो– एउटा हो बिना शिक्षक आफैं पढ्ने पढाइ र दोस्रो– एक व्यक्तिले दिने उपाधि । दशकौं समय बितेर आउँदा यी दुवै भनाइहरू करिब अमान्यको स्थितिमा छन् । किनकि अहिले अधिकांश देशमा विद्यावारिधि पढाइको पहिलो चरणमा कम्तीमा एक सेमेष्टर (छ महिना) नियमित कक्षामा बसेर तल्ला कक्षाहरूमा जस्तै पढ्नु पर्छ । प्राध्यापकहरूले शिक्षण गर्छन् । लिखित परीक्षा दिएर न्यूनतम पास अङ्क पाएमा मात्र अघि बढ्न पाइयो । त्यसपछिका दिनमा पनि पाइला पाइलामा शिक्षक (शोधनिर्देशक)को मार्गदर्शन आवश्यक पर्छ ।
अहिले विश्वविद्यालयले खुलाएको अवधिमा भर्न प्रक्रियामा सामेल हुनुपर्ने हुन्छ । कुनै विश्वविद्यालयले पहिला प्रवेश परीक्षा लिने, पास भएकाहरूलाई कोर्ष वर्कमा(कम्तीमा छ महिनाको) स्कलर (शोधार्थी)ले अनिवार्य नियमित हाजिरी हुनुपर्ने र कक्षा लिनुपर्ने, त्यसपछि तोकिएको समयतालिकामा विविले लिने लिखित परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने प्र्रावधान छ । त्यसपछि आफूले चाहेको विषयवस्तु के हो, सोसम्बन्धी प्रस्ताव तयार गरी विविले गठन गरेको विज्ञ समूहसमक्ष प्रस्तुत गरेपछि यदि सो स्वीकृत भएमा बल्ल दर्ता हुन पुग्छ र अनुसन्धान अघि बढ्छ ।
जतिसुकै छिटो काम सक्छु भने पनि दर्ता भएको दुई वर्ष पूरा नभई थेसिस बुझाउन पाइदैन । यस्तो नियम भारतको विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले लागू गरेको छ । नेपालको पनि यस्तै नियम छ तथापि अनुसन्धान प्रस्ताव पहिला नै प्रस्तुत गरेर सो स्वीकार्य भएमा मात्र प्रवेश परीक्षामा भाग लिन पाउने नियम त्रिभुवन विश्वविद्यालयमा देखिन्छ । समयवाधिभित्र अनिवार्य विषयसाग सम्बन्धित सम्मेलन वा सेमिनारहरूमा कार्यपत्र प्रस्तुत गर्नुपर्ने, युजीसीले स्वीकार गरेका जर्नलहरूमा अनुसन्धानसम्बन्धित लेखहरू छापिनुपर्ने प्रावधान छ । तसर्थ अब यो एक व्यक्तिले दिने उपाधि नभई लोक, विज्ञ समूहले दिने उपाधि भएको छ ।
उहिले स्नातकोत्तर पास गरेपछि ‘नेपालको पढाइ सकियो’ भन्ने गरिन्थ्यो । तर, त्रिभुवन विश्वविद्यालयले स्तानकोत्तरभन्दा माथिल्लो तहको पढाइ पीएचडी सुरू गर्यो र वि.सं. २०२५ सालमा अंग्रेजी विषयमा मोहन झाले पहिलो पीएचडी उपाधि प्राप्त गरे । पछिसम्म पीएचडी काठमाडौं केन्द्रित थियो । त्यसैले बाहिरकालाई अप्ठेरो थियो ।
अलि अघि गर्नेहरू कठिनाइका बाबजुद काठमाडौं गए, कोही भारत र कोही तेस्रो मुलुक गएर उपाधि हासिल गरे । तर केही वर्ष यता विराटनगरले पनि पीएचडी गराउन थालेको छ । अनुसन्धान गरेर नयाँ परिणाम निकाल्ने, उच्च तहको उपाधि विराटनगरले दिन सक्नु पूर्वका विद्वान, विद्यार्थीहरूलाई खुशी र सुखको कुरा हो । यो ठूलो मौका र भाग्य पनि हो । विराटनगरमा अन्य विषयहरूभन्दा विज्ञान यस मामिलामा अगाडि देखिन्छ ।
भौतिकशास्त्र (फिजिक्स) मा डा इन्दुशेखर झाले पीएचडीको अभियान नै ल्याए । सुरूमा अशोककुमार मल्लिक र देवेन्द्रराज अधिकारीलाई सह–शोधनिर्देशकको रूपमा रहेर उनले पीएचडी गराए । प्राडा मल्लिक हाल सेवानिवृत भए भने प्राडा अधिकारी मोरङ क्याम्पस भौतिकशास्त्र विभागका प्रमुख तथा कहलिएका, दख्खलदार वैज्ञानिकका रूपमा स्थापित भएका छन् । डा झाले विराटनगरमा बसेर पूर्वका मात्र होइन काठमाडौंमा रहेर काम गरिरहेकाहरूलाई समेत पीएचडीको मार्गनिर्देश गरी उपाधि हासिल गर्न सफल बनाए र वर्तमानमा पनि निरन्तर शोध निर्देशन गरिरहेका छन् ।
आफूले उपाधि हासिल गरेपछि प्राडा अधिकारीले डा. झाको अभियानलाई तीव्रता दिए । स्वयम्ले विदेशी विश्वविद्यालयको सम्बन्धनका र नेपालकै त्रिभुवन विश्वविद्यालयका स्कलर (जस्तै ः शशित यादव) लाई सह निर्देशक भएर पछि त्रिभुवन विश्वविद्यालयका स्कलरहरूलाई निर्देशक भई काम गरे । उनकै सुपरीवेक्षणमा सन् २०१४ यता विराटनगरमै रहेर रमेश गोहिबार र उपेन्द्र मेहताले विद्यावारिधि उपाधि प्राप्त गरे । अहिले पनि प्राडा अधिकारीले दुई जनालाई शोधनिर्देशन गरिरहेका छन् ।
त्यस्तै सहप्राध्यापक डा रामप्रसाद कोइरालाले तीन जना र डा शशित यादवले दुई जना स्कलरलाई शोधनिर्देशन गरिरहेका छन् । सबै स्कलरहरू पढाइको पहिलो चरणको कोर्ष वर्क पूरा गर्न भने काठमाडौं नै जानुपर्ने वाध्यकारी अवस्था छ ।
रसायनशास्त्र (केमेष्ट्री) मा पनि विराटनगरबाट विद्यावारिधिका उत्पादन भएका छन् । सुरूमा प्राडा सुजीतकुमार चटर्जीले सुजितकुमार साहलाई शोधनिर्देशन गरी उपाधि दिलाए । निरन्तर अनुसन्धान गराउँदै तुलसीप्रसाद निरौलालाई पनि उपाधि दिलाए । उपाधिसँगै ज्ञान र सीप आर्जन गरेका डा साह र डा निरौला दुवै अहिले अरू स्कलरहरूलाई पीएचडी गराइरहेका छन् । प्राडा चटर्जीले भने–‘सुरूमा प्रयोगशाला सेट अप गर्न धेरै मेहनेत गर्नुपर्यो । मैले सुरूआत गरेको काम र अभियानलाई मेरा चेलाहरूले निरन्तरता दिइरहेका छन् ।’
केमेष्ट्रीमा भुल्नै नहुने अरू दुई नाम छन् जसको भूमिका ऐतिहासिक छ । तीमध्ये एक हुन् –प्राडा अजय भट्टराई । उनले मोरङ क्याम्पसमा प्रयोगशाला स्थापना गर्न, सहयोग जुटाउन ठूलो योगदान गरेका छन् । धेरै स्कलरहरू कुनैलाई सह त कुनैलाई पूर्ण निर्देशक भई उतारेका छन् र अविच्छिन्न छन् । त्यस्तै, यहींबाट पीएचडी सकेर अरू स्कलरहरूलाई पनि उतारिसकेका र गराइरहेका छन् उपप्राध्यापक डा नरेन्द्रकुमार चौधरीले । काठमाडौंमा कोर्ष वर्क पूरा गरेर हाल कम्तीमा पाँच जना स्कलरले विराटनगरको मोरङ क्याम्पसको प्रयोगशालाबाट रसायनशास्त्रमा पीएचडीको लागि अनुसन्धान गरिरहेका छन् ।
विज्ञानकै अर्को हाँगो वनस्पति शास्त्रले पनि इतिहास रचेको छ । डिग्री क्याम्पसका प्राडा शशिनाथ झाले २०६७ सालतिरै उमेश कोइरालालाई पीएचडी गराए । केहीदिन वा महिनाकै फरकमा डिग्री क्याम्पसकै प्राडा तेजनारायण मण्डलले तिलकप्रसाद गौतमलाई पीएचडी डिग्री हासिल गराए । प्राडा कोइराला सेवानिवृत्त भए भने प्राडा गौतम मोरङ क्याम्पसमा वनस्पति विभाग प्रमुखमा बहाल रही केही स्कलरलाई शोधनिर्देशन गरिरहेका छन् । प्राडा मण्डलले दुईलाई शोधनिर्देशन गरी सेवा निवृत्त भए ।
त्रिविको चालू नियमले निवृत्त भइसकेपछि सहनिर्देशन गर्न मात्र मिल्ने भएकोले हाल उनी अरू चारलाई सहनिर्देशन गरिरहेका छन् र उनैको अवधारणामा काम गर्न चाहने थप स्कलर सम्पर्कमा आइरहेको उनले बताएका छन् । प्राडा मण्डल भन्छन्– ‘मेरो जोस घटेको छैन अझै केही स्कलरलाई काम गराउने योजनामा छु ।’
प्राणीशास्त्रले पनि विराटनगरमा शोधनिर्देशक पाएको छ । डा विनोदकुमार महासेठले धनकुटाका सुरेन सुब्बालाई तमोर नदीको कुनै माछाको विषयमा विराटनगरबाट मार्गनिर्देश गरी पीएचडीको पदवी दिलाए । प्राणीशास्त्रकै डा भरतराज सुब्बाले माछाकै विषयमा दुई जनालाई सहनिर्देशन गरी विद्यावारिधि हासिल गराएका छन् ।
विज्ञान विषयमा करिब एक दर्जन स्कलरले यहीं विराटनगरकै विज्ञहरूबाट निर्देशित भई विद्यावारिधि दर्जा हासिल गरेका छन् र त्यति नै हासिल गर्ने चरणमा छन् । यसबाट के स्पष्ट हुन्छ भने विराटनगरमा पीएचडी गराउन सक्ने योग्यता र क्षमता भएका व्यक्तिहरू छन् । त्रिभुवन विश्वविद्यालयले कोर्ष वर्क डीन अफिस र केन्द्रीय विभागमा मात्र केन्द्रित गरेको कारणले पूर्वेली स्कलरहरूलाई समस्या भएको छ । प्राडा अधिकारी भन्छन्– ‘विराटनगरमा कोर्ष वर्कको अनुमति पाएमा यहाँ उपलब्ध जनशक्तिले सजिलै प्राध्यापन तथा निर्देशन गर्न सक्छ, तसर्थ यसतर्फ पहल गरे असम्भव भने छैन ।’ उनले भनेजस्तो भएमा यहाँ बर्सेनि दर्जनौ विद्यावारिधिकाहरू उत्पादन हुने निश्चित छ ।
निकै अघि संस्कृतिविद् प्राडा गणेश क्षेत्रीले सोमप्रसाद खतिवडा र रामचन्द्र रायमाझीलाई शोधनिर्देशन गरी पीएचडी उपाधि दिलाएको जानकारी डा गुणनाथ गौतमबाट पाइयो । त्यस्तै प्राडा अनिल पोखरेलले इतिहास विषयमा रमेश श्रेष्ठ र गुणनाथ गौतमलाई शोधनिर्देशन गरेका छन् ।
विराटनगर नै केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयले पनि व्यवस्थापन संकायअन्तर्गत एमफिल– फीएचडी कार्यक्रम सुरू गरेको छ । सो कार्यत्रमका निर्देशक प्राडा जीवनकुमार ढकालका अनुसार अहिले एमफिलमा ५१ जना विद्यार्थीहरू छन् भने पीएचडीमा सात जना । प्राडा ढकालले भने –‘पीएचडी गर्न इच्छा गर्नेहरू धेरै आइरहनु भएको छ । तसर्थ निकट भविष्यमै धेरै स्कलरहरू देखिने छ ।’
नेपालका विश्वविद्यालयमा मात्र होइन विदेशी खासगरी भारतीय विश्वविद्यालयमा दर्ता भएका स्कलरहरू (जस्तै: यो लेखको लेखक) लाई पनि यहाँका विज्ञ, प्राध्यापकहरूले अनौपचारिक रूपमा सहयोग गरिरहेका छन् । अंग्रेजी विषयका उपप्राध्यापक डा विमलकिशोर श्रीवास्तवले सहनिर्देशकको रूपमा तीन जना स्कलरहरूलाई मार्गदर्शन गरिरहेका छन् । नेपाली विषयका सहप्राध्यापक डा बाबुराम तिमल्सेना कोही स्कलर आएमा उपाधि प्राप्त गर्न सक्ने बनाउन सकिने बताउँछन् ।
माथि उल्लेख गरेका बाहेक पनि धेरै विज्ञहरूले पीएचडी शोध निर्देशनको काम गरिरहेका छन् तथापि यो एउटै लेखमा सबै विषयका र सबै विज्ञका बारेमा कुरा अटाउन सकिएन । यहाँ आशय व्यक्त गर्न खोजेको के भने विराटनगरमा दक्ष विषय विज्ञहरू छन् जसले पीएचडी उपाधि प्राप्तिका लागि सुपरभाइजरको झूमिका सहजै निर्वाह गर्न सक्छन् र गरिरहेका छन् ।
ramchandraadhiari8@gmail.com
View : 332
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved