विराटनगर । नेपाली कांग्रेसको आठ दशक लामो इतिहासमा अनेकन् उतारचढाव आएका छन् । तर, यसपटक पुस महिना नेपाली राजनीतिका लागि एउटा यस्तो ऐतिहासिक मोड साबित भएको छ जसले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्तिलाई तेस्रो पटक औपचारिक विभाजनतर्फ धकेलेको छ ।
कांग्रेसभित्र परिवर्तन आत्मसात् गर्न अस्वीकार गर्ने यथास्थितिवादी शक्ति र नयाँ युगको पदचाप पछ्याउन खोज्ने परिवर्तनकारी पुस्ताबीचको भीषण टक्करको परिणामस्वरुप अन्ततः कांग्रेस विभाजित भएको छ ।
सभापति शेरबहादुर देउवा र उनको टोलीले समयको मागलाई बुझ्न र नेतृत्व हस्तान्तरण गर्न अस्वीकार गर्दा कांग्रेस फेरि एकपटक फुटको पीडा भोग्न विवश भएको छ ।
भृकुटीमण्डपमा २७ पुसदेखि जारी विशेष महाधिवेशनकै क्रममा संस्थापन पक्षले चालेको कदमले विभाजनलाई कानुनी र व्यावहारिक रुपमा वारपारको स्थितिमा पुर्याएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सुरु भएको विशेष महाधिवेशनलाई देउवा पक्षले अवैधानिक भन्दै चुनौती दिइरह्यो ।
यही विवादका बीच सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने कठोर निर्णय गर्यो । यसरी पार्टीका निर्वाचित पदाधिकारीलाई नै निष्कासन गरेपछि कांग्रेसको विभाजन अब निश्चित बनेको छ ।
यद्यपि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले देउवा पक्षको यो कारबाहीलाई खारेज गरिदिएको छ ।
गगन थापाले विशेष महाधिवेशनको मञ्चबाटै विशेष महाधिवेशनले वर्तमान केन्द्रीय कार्यसमितिलाई नै खारेज गरिसकेको भन्दै त्यसैले खारेज भइसकेको समितिले कसैलाई कारबाही गर्ने नैतिक र कानुनी हैसियत नराख्ने घोषणा गरेका छन् ।
उनले विशेष महाधिवेशनमा उपस्थित कांग्रेस आधिकारिक रहेको र यो विद्रोह पार्टी जोगाउनका लागि गरिएको तर्क गरे । नेपाली कांग्रेसको इतिहासमा यो तेस्रो ठूलो विभाजन हो । रोचक कुरा के छ भने यी तीनमध्ये दुई वटा विभाजनका मुख्य पात्र शेरबहादुर देउवा नै देखिएका छन् ।
२०५९ मा उनले आफैंले बोलाएको भेलालाई महाधिवेशनमा परिणत गरेर पार्टी फुटाएका थिए भने यसपटक नेतृत्व परिवर्तनको आवाज उठाउनेहरूलाई कारबाही गरेर फेरि उनैले विभाजनको रेखा कोरेका छन् ।
कांग्रेसको आठ दशक लामो इतिहासमा साना विभाजन त धेरै भए तर गहिरो प्रभाव पार्ने गरी तीन वटा ठूला फुट देखिएका छन् ।
पहिलो विभाजन २००९ सालमा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा भएको थियो ।
२००७ सालमा प्रजातन्त्र आएपछि गठन भएको मोहनशमशेर जबरा नेतृत्वको सरकार ढलेपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र राजा त्रिभुवनको रोजाइमा मातृका प्रधानमन्त्री बनेका थिए । त्यतिबेला बीपीले प्रधानमन्त्री बन्न चाहे पनि सफल हुन सकेनन् ।
सरकार गठन भएपछि दाजु मातृका र भाइ बीपीबीच असमझदारी बढ्यो । संसद् नभएको बेलामा सरकारको स्वेच्छाचारी रोक्न पार्टीले मात्रै सक्ने भन्दै बीपीले मातृकाले पार्टीको नेतृत्व छाड्नुपर्ने बताएका थिए । मातृका तयार भएनन् र विवाद बढ्दै गयो ।
मातृकाले प्रधानमन्त्री बन्दा चुनाव गराउन खासै रुचि नदेखाएको र पार्टीले मन्त्रिमण्डलमा हेरफेर गर्न दिएको निर्देशन समेत कार्यान्वयन नगरेपछि विवादले चरम रुप लियो ।
मातृकाले प्रधानमन्त्रीलाई पार्टीले निर्देशन दिन नमिल्ने तर्क गरेपछि बीपी निकट मन्त्रीहरू सुवर्णशमशेर र गणेशमान सिंहले राजीनामा दिए ।
२००९ साउन ८ गते पार्टीले प्रधानमन्त्री मातृकालाई राजीनामा दिन ४८ घण्टे अल्टिमेटम दियो जसलाई उनले अस्वीकार गरे ।
अन्ततः साउन ११ गते उनलाई तीन वर्षका लागि निलम्बन गरियो । यही घटनाको जगमा मातृकाले राष्ट्रिय प्रजा पार्टी गठन गरे तर पछि उनी पुनः कांग्रेसमै फर्किए ।
दोस्रो विभाजन २०५९ सालमा भयो जसको नेतृत्व शेरबहादुर देउवाले गरेका थिए ।
तत्कालीन समयमा संकटकाल थप्ने विषयमा देउवा र सभापति गिरिजाप्रसाद कोइरालाबीच तीव्र मतभेद भयो । पार्टीको निर्देशन विपरीत देउवाले प्रतिनिधि सभा विघटनको सिफारिस गरिदिएपछि कोइरालाले उनलाई साधारण सदस्यबाटै निष्कासन गरे । देउवाले पनि हार मानेनन् र उनले असार ५ मा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे ।
पछि कोइराला पक्षले नै आधिकारिकता पाएपछि देउवाको पार्टी छुट्टै अस्तित्वमा रह्यो र २०६४ सालमा मात्रै पुनः एकता भयो । अहिलेको तेस्रो विभाजनको पृष्ठभूमि भने अलि फरक र झनै पेचिलो छ जुन भदौ २०८२ को जेनजी आन्दोलनसँग जोडिन्छ ।
जेनजी आन्दोलनले राजनीतिमा नीतिगत र नेतृत्वगत परिवर्तनको माग गरेको थियो जसको मुख्य निशानामा देउवा र केपी ओली थिए ।
भदौ २४ मा देउवा र आरजु राणा बुढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमणमा परेपछि पार्टीभित्र नेतृत्व फेर्नुपर्ने दबाब झनै बढ्यो ।
यही जनआक्रोशलाई सम्बोधन गर्न महामन्त्रीद्वय गगन र विश्वप्रकाशले विशेष महाधिवेशनको माग गरे । तर, देउवाले कार्यबाहकको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएर पार्टीको कार्यकारी काम आफैंले गरिरहे । नेतृत्व हस्तान्तरण गर्न र महाधिवेशन बोलाउन उनले देखाएको अनिच्छा नै अहिलेको फुटको मुख्य कारण बन्यो ।
यसपटकको विभाजन केवल पदको लडाइ मात्र होइन यो त कांग्रेसलाई कुन दिशामा लैजाने भन्ने वैचारिक लडाइ पनि भएको नेताहरु बताइरहेका छन् ।
विशेष महाधिवेशनले पारित गरेका प्रस्तावहरूले कांग्रेसको पुरानो ढर्रालाई पूर्णतया बदल्ने लक्ष्य राखेको छ ।
पार्टीभित्र प्राइमरी निर्वाचनमार्फत नेतृत्व चयन गर्ने समानुपातिकमा एक पटक मात्र बस्न पाउने र सभापति वा प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने जस्ता एक्जिट पोलिसीका प्रस्तावहरूले देउवा समूहलाई सशंकित बनायो ।
नेतृत्वमा दशकौंदेखि कब्जा जमाएर बसेकाहरूका लागि यी प्रस्तावहरू आफ्नो राजनीतिक अन्त्य जस्तै थिए त्यसैले उनीहरूले संवादभन्दा कारबाहीको बाटो रोजे ।
महाधिवेशनको हलमा विश्वप्रकाश शर्माले देखाएको उदारता पनि यसपटक चर्चाको विषय बन्यो ।
आफूभन्दा जुनियर भए पनि गगन थापालाई भावी प्रधानमन्त्री र सभापतिको रूपमा स्वीकार्ने घोषणा गरेर उनले नेतृत्व हस्तान्तरणको नयाँ संस्कार सुरु गरे । तर देउवा पक्षले यसलाई केवल एउटा गुटको कोसिसको रूपमा मात्र बुझ्यो र कारबाहीको हतियार चलायो ।
कारबाही गर्दा विधानको धारा ३४ र ५० को हवाला दिइए पनि कसैलाई सफाइको मौका नदिइएको र स्पष्टीकरण समेत नसोधिएको भन्दै गगन थापाले यसलाई प्राइभेट कम्पनीको शैली भनेर टिप्पणी गरेका छन् ।
विधानको व्याख्या गर्ने अधिकारको दुरुपयोग गर्दै देउवा पक्षले अपर्झट निर्णय गरेको भन्दै आलोचना भइरहेको छ ।
अहिले कांग्रेसको आधिकारिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ ।
५६ प्रतिशतभन्दा बढी प्रतिनिधिको समर्थन रहेको दाबी गर्ने विशेष महाधिवेशन पक्ष र विधानको धारा टेकेर कारबाही गर्ने देउवा पक्ष दुवैले आयोगमा पत्र बुझाइसकेका छन् ।
निर्वाचनको मनोनयन दर्ता गर्ने मिति नजिकिदै गर्दा आयोगले कसलाई आधिकारिकता दिन्छ भन्ने कुराले नेपालको राजनीतिमा ठूलो प्रभाव पार्नेछ । आयोग स्रोतका अनुसार फागुन ६ गतेको मनोनयन प्रभावित नहुने गरी केही दिनभित्रै यो विवाद टुंगो लगाइनेछ ।
शेरबहादुर देउवाको हठ र परिवर्तन हुन अस्वीकार गर्ने प्रवृत्तिका कारण कांग्रेसले फेरि एकपटक विभाजनको तितो अनुभव भोग्नुपरेको छ ।
पहिलेका फुटहरू वैचारिक वा रणनीतिक थिए भने अहिलेको फुट पुस्तान्तरण र राजनीतिक संस्कारसंग जोडिएको छ । इतिहासले यो विभाजनलाई कसरी मूल्याङ्कन गर्ला त्यो त भविष्यले नै बताउला तर नेपाली कांग्रेस अब पुरानै ढर्रामा फर्कन नसक्ने गरी बदलिइसकेको संकेत विशेष महाधिवेशनले दिइसकेको छ ।
View : 117
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved