Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कुपोषित बालबालिकाका लागि सहयोगी बन्दै पोषण पुनर्स्थापना गृह

जुनु भट्टराई
२२ पुष २०८०, आइतवार

विराटनगर । सरकारले बाल मृत्युदर घटाउन कुपोषित बालबालिकाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको पोषण कार्यक्रम केही अस्पतालमा प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत कोशी अस्पतालको पोषण पुनर्स्थापना केन्द्र सयौं बालबालिकाको लागि सहयोगी बन्दै गएको हो ।

१० बेड क्षमताको उक्त गृहले मोरङ, सुनसरी, झापा, धनकुटा, सिरहा, सोलुखुम्बुलगायत जिल्लाहरूबाट आएका एक सयभन्दा बढी कुपोषित बालबालिकाहरूलाई बर्सेनि पोषण सम्बन्धी सेवा दिदै आएको छ । केन्द्रबाट वर्षमा ८० देखि ९० जना बालबालिकाले सेवा पाएका छन् ।

बालबालिकालाई पोषणको अवस्था सुधारेर घर पठाउँदै आएको कोशी अस्पताल पोषण पुनर्स्थापना केन्द्रकी इन्चार्ज रेजिना राईले जानकारी दिइन् । उनका अनुसार सो गृहबाट हालसम्म एक हजार सात सय ५५ जना कुपोषित बालबालिकाहरू पोषण अवस्था सुधार भएर घर फर्किसकेका छन् ।   

विपन्न परिवारका मात्र नभइ हुनेखाने परिवारकै बालबालिकासमेत कुपोषण भएर यहाँ आउने गरेको केन्द्रकी इन्चार्ज राईले बताइन्  ‘कडा कुपोषणका कारण परिवारले आसै मारिसकेका बालबालिकलाई समेत स्वस्थ बनाएर घर पठाउन सकेका छौं,’ उनले भनिन् ।

पुनर्स्थापना केन्द्रको मापदण्डअनुसार यदि कोही शीघ्र कुपोषण भएका बालबालिकाहरू अस्पतालमा उपचारका लागि आएमा अभिभावकसँग परामर्श लिई त्यो बच्चालाई तुरुन्त भर्ना गरी उपचार सुरु गरिने अस्पतालकी पेडियाट्रिक विभागकी नर्सिड इन्चार्ज चन्द्रकला सापकोटा बताउँछिन् । प्रदेशभरिबाट आएका ‘सिभियर कुपोषण’को मारमा रहेका बालबालिकालाई भर्ना गरेर निःशुल्क सेवा दिने गरेको उनले  जानकारी दिइन् । 

‘पोषणको समस्या खान नपाएर मात्र हुँदैन, भएको खानेकुरा सही तरिकाले खान र खुवाउन नजानेर पनि कुपोषणको समस्या देखिन्छ,’ चन्द्रकला भन्छिन्, ‘यहाँ मिक्स सोसाइटी छ, त्यसकारण सम्पन्न र विपन्न वर्गका परिवारका बालबालिकाहरू पनि कुपोषणको समस्या लिएर आउने गरेका छन् ।’ 

भर्ना भएर पोषण सेवा लिँदै आएका बच्चाहरूका बारेमा बोर्डमा लेखिएको प्रगति देखाउँदै उनले भनिन्, ‘भित्री रोगकै कारण कुपोषणको समस्या देखिएको भए फरक कुरा नत्र यहाँ भर्ना भएका जो कोही पनि राम्रोसँग सुधार भएरै गएका छन् ।’

गरिबी, खाद्य असुरक्षा, चेतनाको कमीका साथै धेरैले व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन सक्दैनन् । हरिया सागपात र पहेँला फलफूल खान जान्दैनन् । माछामासु, अन्डा खान सक्ने अवस्था हुँदैन । यस्तै यावत कारणबाट कुपोषण हुने गरेको उनको भनाइ छ । यस्तै सम्पन्न परिवारमा पनि जंकफुड खाने बच्चाहरूको पेट भरिने तर पोषणको समस्या भने यथावत हुने सापकोटाको भनाइ छ ।

केन्द्रका अनुसार कुपोषणको समस्या भएका बालबालिकालाई पोषण पुनर्स्थापना गृहमा राख्नुअघि अस्पतालका बालरोग विशेषज्ञद्वारा जाँच गरी उनीहरूको तौल र उचाइको आधारमा बच्चामा कुन प्रकारको कुपोषण भन्ने जाँच गरिन्छ । यदि कुनै बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएमा तत्काल भर्ना गराएर बालबालिकालाई पोषण सम्बन्धी सेवा सुरु गरिन्छ । 

इन्चार्ज राईका अनुसार पोषण गृहमा कुपोषित बच्चासँगै बच्चाको आमा तथा परिवारका कोही एक सदस्य अनिवार्य बस्नुपर्छ । गृहमा एक महिनासम्म बच्चालाई पोषिलो खानेकुरा खुवाइन्छ ।

सो अवधिमा गृहमा आवासीय रुपमा बस्ने आमा तथा अभिभावकलाई पोषिलो खानेकुरा बारे जानकारी दिनुका साथै स्थानीय स्तरमा खाद्यन्न उत्पादनको तौरतरिकासहित खाने तरिका पनि सिकाइन्छ । बालबालिका र अभिभावकले गृहमा यी सबै सेवा निःशुल्क पाउँछन् । ‘हामी उहाँहरूकै घरमा भएका खानेकुराहरू पकाएर खुवाउँछौ, तर तरिका फरक,’ इन्चार्ज राई भन्छिन्, ‘बच्चासँगै आमा पनि बस्ने भएकाले घर फर्किएपछि भान्छामा पाक्ने खानेकुराको पोषणतत्व कसरी कायम राख्ने, के के खुवाउने, कसरी खुवाउने जस्ता विषय सिकाएर पठाउने गरेका छौं ।’

उनका अनुसार पुनर्स्थापना गृहमा कोही बच्चा अढाइ महिनासम्म बसेर सुधार भएपछि घर फर्किएका छन् भने कोही १५ देखि २० दिनमै सुधारपछि फर्किएका छन् । अस्पतालका निर्देशक चन्द्रभान झा कुपोषित बालबालिकाको उपचारसँगै पोषण पुनर्स्थापना गृहले बाल मृत्युदर घटाउन ठूलो सहयोग गरेको बताउँछन् । ‘यस्ता गृहले बच्चाको जीवन बचाउनुका साथै ती बालबालिकाको स्वास्थ्यमा समेत सुधार ल्याइरहेको छ,’ झा भन्छन् ।

नेपालमा कुपोषणको दर घट्दै गएको र स्वस्थ बच्चा हुर्कंदै गएको पुष्टि जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले पनि देखाएको छ । जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण, २०२२ को  तथ्यांकले देखाएअनुसार कुपोषणका कारण बालबालिकामा हुने पुड्कोपनको समस्या घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षअघि पुड्कोपनको दर ३६ प्रतिशत थियो ।

डब्लुएचओका अनुसार बच्चा जन्मदा साढे २ देखि ३ केजीसम्मको तौललाई सामान्य मानिन्छ । बच्चाको उमेर ५ देखि ६ महिनासम्म पुग्दा जन्मदाको तौलभन्दा दोब्बर र वर्षदिनमा तेब्बर हुनुपर्छ । त्यसपछि दोस्रो वर्षमा बच्चाको तौल साढे २ केजी थप हुनुपर्छ ।

डब्लुएचओका अनुसार सामान्यतया बच्चा जन्मिदा औसत ५० सेन्टिमिटर उचाइको हुन्छ । त्यसपछि पहिलो वर्षमा २५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यसैगरी, दोस्रो वर्षमा १२.५ सेन्टिमिटर उचाइ थपिनुपर्छ । यस हिसाबमा हेर्दा २ वर्षको उमेरसम्ममा बच्चाको उचाइ औसतमा ८७.५ सेन्टिमिटर हुनुपर्छ ।

बच्चाको उचाइ २ वर्षको उमेरमा जति हुन्छ, युवा अवस्थामा ठिक त्यसको दोब्बर हुनुपर्छ । अर्थात् युवा अवस्थामा औसतमा मानिसको उचाइ एक मिटर ७५ सेन्टिमिटर हुनुपर्छ ।

View : 212

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved