विराटनगर । भारतको सीमावर्ती मोरङको दक्षिणी क्षेत्र मध्यरातमा चलायमान हुने गरेको छ । यतिबेला मध्यरातमा सीमा क्षेत्रमा तस्करी खुल्ला छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन र भन्सार कर्मचारीको समर्थन पाएर कारोबारीले दशैँको मुखमा भन्सार छलीको कारोबार बढाएकाले सीमावर्ती क्षेत्र राति ब्यस्त रहन्छ ।
रातको १२ बजेपछि ३ घण्टा सीमाका नाकाहरूमा भन्सार छलीका मालवस्तु बोक्ने टेम्पोको भिड हुन्छ । सबैभन्दा बढी भिड विराटनगर भन्सार नाकामा हुँदै आएको छ । भन्सार छलीका सामान बोक्न टेम्पोको प्रयोग हुँदै आएको छ ।
मोटरसाइकलकै गतिमा दौडने र गाउँका गल्ली भित्र पनि छिराउन सकिने भएकाले तस्करीका सामान ओसार्ने मारुती भ्यान अहिले बिस्थापित भएर टेम्पो चलायमान भएका छन् ।
यसअघि तस्करले सामान बोक्न मारुती भ्यानको प्रयोग गर्दै आएका थिए । हिजोआज सीमावर्ती क्षेत्रमा तस्करीका सामान बोक्ने टेम्पो चालक दिउँसो आराम गर्छन् र राति जाग्छन् । मानिस ओसारेको भन्दा १० गुणा बढी कपडा बोक्दा फाइदा हुने उनीहरू बताउँछन् ।
बिभिन्न नाकाबाट भन्सार छलीको कारोबार गर्न कारोबारीले रातिको समयका लागि प्रहरी र प्रशासनबाटै अनौपचारिक इजाजत पाएका छन् । नेपालमा भन्दा भारतमा सस्तो हुने र भन्सारमा राजश्व नतिर्दा हुने भएकाले यो दशैँमा भन्सार छलीको पेशा गर्नेहरूले कारोबार ब्यापक बनाएका छन् । ‘राति एक पटक कपडा ओसार्दा ५ हजार रुपैयाँ पाइन्छ, मान्छे बोक्न भन्दा बोर्डरमा सामान बोक्दा बढी फाइदा छ’ एक टेम्पो चालकले भने ।
स्रोतका अनुसार झापाका कपडाका ठुला कारोबारी सञ्जीव घोषले मोरङको नाका यस वर्ष सुरक्षित देखेर कपडाको कारोबार गर्न भारतीय नागरिक अशोक सहनीलाई खटाएका छन् ।
यस वर्ष जिल्लाका प्रहरी र प्रशासनका प्रमुखहरूले कारोबारीलाई सहज इजाजत दिएकाले सीमाको अबैध कारोबार बढेको बताइएको छ । भन्सार छलीको अबैध कारोबारका लागि पहिलो पंक्तिमा बस्ने सशस्त्र प्रहरीको पनि उत्तिकै समर्थन रहेको छ ।
भन्सारको मुल नाकाबाट अकवर मिया, सवनम खातुन, सुरेश यादव, राजकुमार रौनियार, बब्लु अग्रवालले कपडाको कारोबार गर्छन् । गुड्डु मियाले मटेरुवा नाकाबाट, गणेश साह, ओम साहले दक्षिण गेटबाट कपडा नेपाल भित्र्याउने काम गर्छन् । पशुपति कामतले आलु प्याजको कारोबार गर्छन् । उनीहरूको लगानीमा भरियाले रातभरी कपडा ओर्साछन् ।
प्रदेशको राजधानी विराटनगरबाटै रातभरी भन्सार छलीको संगठित कारोबार हुने गरेकाले राजश्व अनुसन्धान कार्यालयले पनि निगरानी गर्दै आएको छ ।
तस्करीका मालसामान नियन्त्रण गर्दै आएको अनुसन्धान कार्यालयले जनाएको छ । सुरक्षा निकायको प्रमुख ध्यान हुने भन्सार नाकाबाटै राति १२ देखि ३ बजेसम्मको अवधिमा अत्यधिक तस्करी हुने गरेकाले अन्य साना नाका खुल्ला नहुने कुरै भएन ।
विराटनगर पूर्वको नोचा नाकाबाट सुमन साहले कपडाको कारोबार बढाएका छन् भने नादिर मियाले चौपाया भारत पठाउँछन् । रंगेली नाकाबाट बिल्ला साहले कपडा र सुर्ती नेपाल भित्र्याउँछन् ।
सिक्टी नाकाबाट अरुवा मिया नाम गरेका ब्यक्तिले हार्डवेयरका सामान नेपालतर्फ ल्याउने काम गर्दै आएका छन् भने वरुण साह र गुगोली पण्डित नामका ब्यक्तिले किराना सामान यता ल्याउने गरेका छन् ।
बरडंगा नाकाबाट चिरिञ्जीवी खतिवडाले चिनी र खाद्यान्न ओसार्ने मानिस परिचालन गरेका छन् । बरडंगाबाट पर्वत साहले गाईगोरुको बथान रातदिन भारततर्फ लैजान्छन् ।
सीमाका हरेक नाकामा सशस्त्र प्रहरीको वीओपी रहेकाले त्यहाँ सशस्त्रको बाक्लो र नेपाल प्रहरीको पातलो उपस्थिति छ ।
सीमावर्ती क्षेत्रमा सुरक्षा कम भएको गुनासो आएपछि कडाइ गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिइएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए ।
View : 194
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved