विराटनगर । के नेताहरूले कुनै गल्ती गर्दैनन् ? जबकि गल्ती गर्नु मानवीय स्वभाव हो भन्ने कुरा सामान्य जीवनदेखि दर्शनसम्म सर्वस्वीकृत मान्यता छ । मान्छे त के भगवानले पनि गल्ती गर्छन् भनिन्छ ।
जब यही मान्छे सत्ता, शक्ति र पदमा पुग्छ तब ऊ मानौं गल्तीभन्दा माथि पुगेझैं व्यवहार गर्न थाल्छ । यही कारण राजनीतिक नेताहरूप्रति एउटा स्वाभाविक प्रश्न उठ्छ के नेताहरूले कुनै गल्ती गर्दैनन् ? यदि गर्छन् भने किन माफी माग्दैनन् ?
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दुई दिनअघि अनलाइनखबरलाई दिएको झण्डै दुई घण्टाको अन्तर्वार्ता सुनेँ । त्यसअघि सोही अनलाइनखबरलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि लामो अन्तर्वार्ता दिएका थिए ।
मिडियाकर्मी भएकाले राजनीतिक दलका शीर्ष नेताहरूका अभिव्यक्ति हेर्नु, पढ्नु सामान्य अभ्यास हो । समय र सुविधाअनुसार कहिले पढिन्छ, कहिले सुनिन्छ ।
यसै क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अन्तर्वार्ता र सार्वजनिक वक्तव्यहरू झनै बढी हेर्न र पढ्न पुगेको छु । ओली अरू नेताभन्दा अलि बढी बोल्ने, अलि बढी खुल्ने नेता हुन् ।
उखान–टुक्का, व्यङ्ग्य र आत्मविश्वास उनका भाषणका मुख्य विशेषता हुन् । उनका भाषणका अन्य आयामहरू पनि छन्, तर ती उल्लेख गर्दा पूर्वाग्रहको आरोप लाग्ला कि भन्ने मलाई डर छ ।
केपी शर्मा ओलीप्रति मेरो कुनै व्यक्तिगत जानीदुश्मनी छैन । तर यदि कसैले पूर्वाग्रही भएको आरोप लगाउँछ भने यति चाहिँ भन्दा अन्यथा नहोला कि ‘ओली आलोचना सुन्न नसक्ने, हठ त्याग्न नसक्ने र सिर्जनाभन्दा ध्वंसको राजनीति गर्न रुचाउने नेता हुन्’ भन्ने बुझाइ मेरो सुरुदेखिकै हो ।
यो मेरो मनोगत आरोप मात्र होइन । उनका सार्वजनिक अभिव्यक्ति र व्यवहारले पटक–पटक यसै गरेको पाउँछु ।
ओलीले आफ्ना भाषण र सार्वजनिक अभिव्यक्तिमा गल्तीको पश्चात्ताप गरेको उदाहरण म खासै पाउँदिनँ । उनीबाट गल्ती भएको स्वीकारोक्ति सुनिनु आठौं, नवौं प्रकारको आश्चर्य लाग्छ भने अपेक्षा गर्नु भनेको समयको बर्बादी हो भन्ने लाग्छ ।
जबकि भगवानका पनि गल्ती हुन्छन् भनिन्छ । ओली ठूलो दलका ठूलै नेता होलान्, तर उनी पनि मान्छे त हुन् नि । के उनीबाट कहिल्यै गल्ती हुँदैन र ? आखिर उनी किन आफूबाट गल्ती भयो भनेर कहिले भन्दैनन् ? हुन त आम मानिससरह नेताहरूलाई गल्ती गर्न कमै छुट हुन्छ ।
ओलीले गल्ती स्वीकार गरुन् वा नगरुन् त्यसको साइनो सम्बन्ध गगन र प्रचण्डसँग के छ ? सामन्यतया राजनीतिक दलका जोसुकै नेताहरू हत्तपत्त गल्ती स्वीकार गरी हाल्दैनन् । तर के अनन्तकालसम्मै गल्ती स्वीकार्दैनन् त ? के सबै नेतामा यस प्रकारको आम प्रवृत्ति विद्यमान छ ?
त्यस्तो होइन । ओलीबाहेक अन्य नेताहरूले आफ्नो भाषण वा अन्तर्वार्ताका कुनै सन्दर्भमा गल्ती स्वीकार गरेको पाउ“छु । तर, ओलीमात्रै यस्ता पात्र हुन् जसले जीवनमा कहिले गल्ती गर्दैनन्, नगरेपछि गल्ती भयो भनेर भन्नै पर्दैन । उनलाई गल्ती स्वीकार गर्ने कुनै झन्झट नै छैन ।
अनलाइनखबरको अन्तर्वार्तामा कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले विभिन्न प्रश्नमा आफ्नो गल्ती स्वीकारेका छन् ।
उनले पार्टीका तर्फबाट भएका गल्ती, आफ्ना तर्फबाट भएका गल्तीलाई सहजै आत्मासात् गरेका छन् । त्यसअघि प्रचण्डले पनि भए गरेका गल्तीहरूलाई सहजै स्वीकारेका छन् । तर ओली ? नो एब्युज नो एक्स्युज ।
सायद ओलीका लागि गल्ती स्वीकार गर्नु भनेको उनका लागि मरेतुल्य जीवन हो । बरु ओली गल्ती भएकै अवस्थामा पनि उनी आफ्नो वाक्पटुता र तर्कजाल प्रयोग गरेर त्यसमा अनेकौं लेप लगाउने प्रयासमा समय खर्च गर्छन् । जहाँ एउटा गल्ती ढाकछोप गर्दा अरु गल्तीहरू जन्मिन्छन् भन्ने उनी भेउ पाउँदैनन् ।
पछिल्लो समय भदौ २३ मा भएको घटनालाई लिएर उनले विभिन्न कोणबाट स्पष्टीकरण दिंदै आएका छन् । तर भदौ २४ अगाडि सारेर भदौ २३ गते आफ्नो तर्फबाट केही गल्ती भएको छैन भनिरहेका छन् ।
झुक्किएरै भएपनि ओलीले गल्ती भएछ भन्लान् भन्नु छैन । बरु उल्टो कतै ‘गल्ती गरेँ’ भन्ने शब्द उच्चारण गरिन्छ कि भनेर ओली होशियार छन् कि जस्तो लाग्छ ।
ओलीभन्दा निकै कम उमेरका गगनकुमार थापा नेपाली राजनीतिमा नया“ पुस्ताका एउटा उदाउँदा नेता हुन् । ओली, प्रचण्ड र अन्य नेताको तुलनामा गगन अहिले राजनीति सिकिरहेका छन् भन्नुपर्ने हो ।
उमेर नै थोरै भएकाले यिनले खासै गल्ती गर्ने मौका नपाएको हुनुपर्ने हो । तर यिनै थापाले आफ्ना भाषण र अन्तर्वार्तामा खुलेरै आत्मालोचना गरेको भेटिन्छ । गल्ती गरिएछ भनेको सुनिन्छ । उनले अन्तर्वार्ताका क्रममा कांग्रेस सरकारमा रहँदा जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् ।
‘टुरिस्ट उम्मेदवार’ का सन्दर्भमा सोधिएको प्रश्नमा थापाले ‘त्यो बेलाको मेरो प्रतिक्रिया आवेगपूर्ण र अलि व्यक्तिगत पनि थियो, त्यसलाई म स्वीकार गर्छु’ भनेका छन् ।
उनले सरकारमा हुँदा सबै कुरा ठीक गर्न नसकेको, जनताले अपेक्षा गरेको गति दिन नसकेको भन्दै त्यसका लागि ‘म नागरिकसँग क्षमा चाहन्छु’ भनेर अन्तर्वार्तामा भनेका छन् ।
‘हामी पनि चुक्यौं, हामीले गल्ती गर्यौं, मैले गल्ती गरेँ’ भन्ने वाक्य प्रयोग गर्न उनी हिच्किचाएका छैनन् । थापाको यस्तो स्वीकारोक्तिले व्यक्तिगत विनम्रता त प्रकट भएकै छ, यसबाट राजनीतिक जवाफदेहिता र लोकतान्त्रिक संस्कार पनि प्रदर्शन भएको छ ।
यस्तै सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रिया, संविधान निर्माणदेखि सत्ता सञ्चालनसम्म विवादको केन्द्रमा रहेका प्रचण्डले पनि आफ्ना गल्ती हाकाहाकी स्वीकार गरेको पाउँछु । जे कुरा हो नागरिकलाई खुलस्त भन्नुपर्छ भन्ने यिनको भनाइ पाउँछु ।
उनले पछिल्ला वर्षहरूमा आफ्ना गल्तीहरू सार्वजनिक रूपमा स्वीकार गरेका धेरै उदाहरण भेटिन्छन् । सरकार सञ्चालनका क्रममा भएका कमजोरी र कतिपय राजनीतिक निर्णयका विषयमा पनि उनले आत्मालोचना गरेका छन् ।
हुन त नेपाली राजनीतिमा नेताहरूबाट ‘गल्ती भयो’ भन्नु आफैमा दुर्लभ अभ्यास हो । तर, राजनीतिमा गल्तीको स्वीकारोक्ति पाइँदै पाइँदैन भन्नु पनि अर्को गल्ती हो । गल्ती हुन्छ । त्यसलाई स्वीकार गर्नुपर्छ । प्रचण्ड र गगनले स्वीकार गरेका छन् । यो कुनै ठूलो आँट वा साहस होइन ।
केपी शर्मा ओलीको शैली भने कहिले पनि गल्ती नस्वीकार्ने खालको बनेर आएको छ । सायद उनी अर्कै प्रकारको धातु वा रसायनले बनेका छन् ।
ओलीका सार्वजनिक अभिव्यक्तिहरूमा आत्मविश्वास प्रबल छ, तर आत्मालोचना शून्य छ । जबकि कम्युनिष्टहरू आफ्नो सांगठनिक प्रणालीमा आलोचना, आत्मआलोचनालाई अभिन्न अंश ठान्छन् । तर ओली यसको ठिक विपरीत छन् ।
संसद विघटन, संवैधानिक विवाद, महामारी व्यवस्थापनका कमजोरी, बाढीपहिरो जस्ता गम्भीर विषयमा भएको कमजोरीमा उनले माफी मागेको कतै भेटिदैन । बरु आलोचना स्वीकार्नुको साटो उनमा प्रतिवाद, व्यङ्ग्य र आक्रोश नै बढी देखिन्छ ।
मानौं ओली कहिल्यै गल्ती नै गर्दैनन् । उनी कुनै पनि विषयमा माफी माग्दैनन् । ओलीको यो राजनीतिक बटमलाइन हो कि उनको व्यक्तिगत स्वभाव ? मनोवैज्ञानिक सिग्मन्ड फ्रायडका अनुसार गल्ती स्वीकार गर्नु अहंकारीका लागि पराजयजस्तै हुन्छ । सायद ओलीमा यसैको प्रभाव परेको हुन सक्छ ।
सारमा भन्नुपर्दा कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र प्रचण्डका अभिव्यक्तिमा देखिने माफी संस्कार नेपाली राजनीतिका लागि सकारात्मक संकेत हुन् । समय लाग्ला, यस्तो संस्कारले आमनागरिकमा नेताप्रति विश्वास घट्ने होइन बरु बढ्दै जान्छ ।
गल्ती स्वीकार्ने नेता कमजोर हुँदैनन्, बरु दीर्घकालमा विश्वसनीय बन्छन् । ‘मबाट गल्ती भयो’ भन्न सक्ने नेता नै जनताको नजिक हुन्छ । जनतालाई सत्य बताउनु, गल्ती हुँदा माफी माग्नु, विनम्र हुनु नै असल नेता हुनु हो । न कि सत्तालाई अन्तिम सत्य ठानेर झुट, फरेब, छलछाम गर्नु हो । गल्ती हु“दा पनि कहिल्यै माफी नमाग्नु हो ।
View : 929
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved