Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

वैदिक धर्म र संस्कार –२

हिन्दु धर्मका शाश्वत स्तम्भहरू

गीतालाई हिन्दु संस्कृतिको महत्त्वपूर्ण दार्शनिक, प्रयोगमूलक र कर्मयोग सिकाउने अद्वितीय कृति मानिएको छ । हिन्दु संस्कृति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ‘रामायण’ र ‘महाभारत’ जस्ता महाकाव्यहरूले वैदिक युगदेखि २००० वर्ष अघिको समयसम्मको वैदिक यात्रालाई पुष्टि गर्ने कार्य गरेका छन् ।
डा सुशील अधिकारी
८ असार २०८२, आइतवार

ऋग्वेद र अन्य वैदिक साहित्यहरूको रचनाकालका सम्बन्धमा विद्वानहरूबीच आ–आफ्नो प्रकारको व्याख्या–विश्लेषण रहेको पाइन्छ । यद्यपि, यी ग्रन्थहरू र तिनमा आधारित साहित्यहरूले हिन्दु धर्म र संस्कृतिको मूल जग बसाएका छन् । यस लेखमा वैदिक ग्रन्थका विभिन्न महत्त्वपूर्ण अङ्गहरू, तिनको संरचना, विषयवस्तु र हिन्दु जीवनशैलीमा तिनको प्रभावबारे चर्चा गरिएको छ ।

उपनिषद्  : ज्ञानकाण्डको गहनता
वैदिक ग्रन्थका अत्यन्त महत्त्वपूर्ण अङ्गका रूपमा उपनिषद्हरूलाई वेदका आरण्यक भागका परिच्छेद मानिन्छन् । वेदको ज्ञानकाण्ड, उपासना काण्ड र कर्मकाण्डमध्ये उपनिषद्हरू ज्ञानकाण्डस“ग सम्बन्धित छन् र यिनले आत्मज्ञान तथा ब्रह्मज्ञानको मार्ग देखाउँछन् । यस्ता उपनिषद्हरूको सङ्ख्या २५० जति मानिएता पनि प्रायः १०८ उपनिषद्हरूको चर्चा वा उल्लेख पाइएको छ ।

प्रत्येक वेदका उपनिषद्हरू पनि फरक–फरक सङ्ख्यामा रहेका छन् : ऋग्वेदका १०, यजुर्वेदका ५१, सामवेदका १६ र अथर्ववेदका ३१ उपनिषद् मानिएका छन् । विषयवस्तुका दृष्टिले वेदान्त, साङ्ख्य, योग, वैष्णव, शैव, शाक्त सिद्धान्तहरू लगायत अन्य कतिपय विषयहरू उपनिषद्हरूमा समावेश गरिएको पाइन्छ ।
उपवेद : व्यावहारिक ज्ञानका आधार
वैदिक आर्यहरूको संस्कृति निर्माणमा महत्वपूर्ण स्थान ओगट्ने वैदिक ग्रन्थ ‘वेद’ का एक–एक उपवेद पनि छन्, जसले वर्तमान समयमा हिन्दु संस्कृति अवलम्बन गर्ने मानव समुदायलाई निश्चित परिपाटीमा व्यवस्थित गर्न मद्दत गरेको छ । यी उपवेदहरूले जीवनका व्यावहारिक पक्षहरूमाथि गहिरो प्रकाश पारेका छन् ।

आयुर्वेद (ऋग्वेदको उपवेद) : यस ग्रन्थमा चिकित्सासम्बन्धी विषयहरूको चर्चा गरिएको छ, जस्तै  शल्यचिकित्सा, विषचिकित्सा आदि । यसका साथै यस ग्रन्थमा रसायनशास्त्र, खनिजविज्ञान, वनस्पति विज्ञान, आयुर्विज्ञानका बारेमा पनि चर्चा गरिएको छ । आचार्य अश्विनीकुमार, जीवन, धनवन्तरी, माधव, वाणभट्ट, सुश्रुत, लोलिम्बराज, पतञ्जलि आदि यसका प्रमुख आचार्यहरू मानिन्छन् ।

धनुर्वेद (यजुर्वेदको उपवेद) : यो वेदमा युद्धसम्बन्धी विषयहरूको व्याख्या वा विवरण दिइएको छ । यसमा अनेक प्रकारका शस्त्र–अस्त्र चलाउन आवश्यक कुशलता र क्षमताका सन्दर्भमा विशेष गुण र सीपको उल्लेख छ । द्रोणाचार्य, विश्वामित्र, पर्शुराम, कश्यपाचार्य, जमदग्नि आदि शस्त्र–अस्त्र निर्माणका आचार्यहरूमध्ये धेरैको चर्चा महाभारतमा पाइन्छ ।

गन्धर्ववेद (सामवेदको उपवेद) : गीत र गायनसम्बन्धी उल्लेख गरिएको यस उपवेदमा गायन र सङ्गीतस“ग सम्बन्धित अनेक अङ्गहरू (पक्षहरू) माथि प्रकाश पारिएको छ । यसै गरी सङ्गीतमा प्रयोग हुने वाद्ययन्त्रहरूका बारेमा पनि यसमा उल्लेख पाइन्छ । गीत र सङ्गीतका साथै नृत्यका बारेमा पनि उल्लेख रहेको छ । तुम्बरु, शंकर, नारद, विश्वावसु, शिलालि, भरत आदि यसका प्रसिद्ध आचार्यहरू थिए । वैदिककालीन आर्य जीवनशैलीका महत्त्वपूर्ण पक्षका रूपमा रहेको सङ्गीत विधाका विविध पक्षहरूका बारेमा यस उपवेदले महत्त्वपूर्ण जानकारी दिएको छ ।

महाकाव्य  : धर्म, संस्कृति र इतिहासका स्रोत
ऋग्वेद र अन्य वेदहरू लगायत यिनै ग्रन्थहरूबाट निर्मित अन्य साहित्यिक ग्रन्थका अलावा हिन्दु धर्म संस्कृतिका महत्त्वपूर्ण द्वितीय स्रोतहरूमा ‘रामायण’ र ‘महाभारत’ जस्ता महाकाव्य पनि रहेका छन् । रामायणलाई जेठो ग्रन्थ मानिएको छ भने महाभारतलाई रामायण पछिको ग्रन्थ मानिएको छ ।

रामायण : रामायणले आफूभन्दा अघि र पछिको समयको समेत जानकारी उपलब्ध गराएकाले यसलाई वैदिक सभ्यता र संस्कृति निर्माणका दृष्टिले महत्त्वपूर्ण ग्रन्थ मानिएको छ । यो महाकाव्यले जीवन–जगत्का बारेमा हिन्दु दृष्टिकोण र टिप्पणीलाई प्रस्तुत गरेको छ । हिन्दु सामाजिक सङ्गठन र धर्मलगायत आचरणको जानकारी उपलब्ध गराउने यो महाकाव्यलाई हिन्दु जगतमा अत्यन्त लोकप्रिय अमर कृतिका रूपमा लिइन्छ । स्वामी विवेकानन्द रामायण र महाभारत महाकाव्यलाई आर्यहरूको जीवन र चेतनाका लागि विश्वज्ञानकोशका रूपमा मान्दछन् । 

रामायण महाकाव्यलाई २५०० वर्ष अघितिरको रचना मानिएको छ भने यसमा २४ हजार श्लोक र ७ (सात) काण्डहरू (भाग)  छन् । केही विद्वानहरूका अनुसार रामायणको दोस्रोदेखि छैटौं काण्डसम्मको रचना २५०० वर्षपूर्व तिर गरिएको र बाँकी भाग पछि जोडिएको हो (जसमा रामलाई विष्णुको अवतार बताइएको पहिलो र सातौं काण्ड २२०० वर्षपूर्व तिर थपिएको उल्लेख छ ।)

महाभारत : ‘हिन्दु’ शब्दले सम्बोधित विशाल मानव संस्कृतिका बारेमा जानकारी दिने अर्को महाकाव्य ‘महाभारत’ हो । २४सय वर्ष अघिदेखि १६०० वर्ष अघिसम्ममा लेखिएर पूरा भएको मानिएको यो ग्रन्थले हिन्दु संस्कृतिका विभिन्न अवयवहरूको जानकारी दिन्छ । यस ग्रन्थले हिन्दु संस्कृतिभित्रका सामाजिक मान्यता एवम् आस्था, विश्वास, आदर्श, ग्रहण र त्याग गर्नु पर्ने विषयवस्तु लगायत धर्म र राजनीतिका

बारेमा विस्तृत रूपमा जानकारी दिएको छ । लामो कालखण्डमा लेखिएको कारणले यसले तत्कालीन समयको सामाजिक इतिहासको विस्तृत विवरण दिएको छ ।

प्रारम्भमा महाभारतको नाम ‘जय’ थियो, जसमा कौरवमाथि पाण्डवको विजय वर्णन थियो, जसलाई महर्षि व्यासले आफ्नो शिष्य वैशम्पायनलाई सुनाएका थिए । वैशम्पायनले यो कथालाई अर्जुनका नाति जनमेजयलाई सुनाउँदा यसको नाम ‘भारत’ थियो । त्यस समयमा यसमा २४,००० श्लोक थिए । पछि यसमा विभिन्न प्रसङ्ग र कथाहरू जोडेर यस ग्रन्थको नाम ‘महाभारत’ राखियो, जसमा हाल १ लाख श्लोकहरू रहेको बताइन्छ । 

हिन्दु धर्मावलम्बीहरूको सामाजिक, धार्मिक र राजनीतिक विषयहरूमाथिको प्रभावशाली यस ग्रन्थलाई धार्मिक ग्रन्थकै रूपमा लिइन्छ, भगवद्गीता पनि महाभारतकै अंशका रूपमा रहेको छ । हिन्दु वा वैदिक धर्मको व्याख्यामा यस ग्रन्थको महत्वपूर्ण योगदान रहेको छ, जसकारण यसलाई हिन्दु संस्कृतिको निर्देश ग्रन्थको रूपमा लिइन्छ र ‘वेद’ कै श्रेणीमा राख्ने गरिएको छ । यो ग्रन्थको विशाल आकार र यसमा समावेश विषयवस्तुका कारण यसलाई सम्पूर्ण हिन्दु संस्कृतिको आधिकारिक दस्तावेज मानिएको छ ।

प्राचीन कालखण्ड (दुई हजार वर्षपूर्व) को लामो समयावधिमा लेखिइ सकिएकाले महाभारत महाकाव्यमा जीवन र जगतका समस्त विषयवस्तुहरू समेटिएका छन् । यसमा सङ्ग्रहीत विषयवस्तु ऋग्वैदिक कालदेखि २४ सय वर्षअघिसम्मका रहेका कारण हिन्दु संस्कृति निर्माणमा यो ग्रन्थ आधिकारिक रूपमा रह“दै हिन्दु जगतमा उपस्थित महŒवपूर्ण ग्रन्थको स्थान ओगट्न सफल भएको छ । यो ग्रन्थको महŒव यसको विशालताका साथै यसैको अंशको रूपमा रहेको श्रीमद्भगवद्गीता अर्थात् गीताका कारणले पनि ओजपूर्ण रहेको छ ।

 गीतालाई हिन्दु संस्कृतिको महत्त्वपूर्ण दार्शनिक, प्रयोगमूलक र कर्मयोग सिकाउने अद्वितीय कृति मानिएको छ । हिन्दु संस्कृति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ‘रामायण’ र ‘महाभारत’ जस्ता महाकाव्यहरूले वैदिक युगदेखि २००० वर्ष अघिको समयसम्मको वैदिक यात्रालाई पुष्टि गर्ने कार्य गरेका छन् । यी महाकाव्यहरूले आर्य जातिले भारतवर्षमा प्रवेश गरी निर्माण गरेको सभ्यताको अवस्थालाई चित्रित गर्ने कार्य गरेका छन् ।

सूत्र साहित्य : संक्षिप्ततामा ज्ञानको भण्डार
हिन्दु धर्म र संस्कृति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न ग्रन्थहरूमा सूत्र साहित्यहरू पनि उल्लेखनीय  छन् । रामायण र महाभारत लगायतका महाकाव्यहरू पछि हिन्दु सामाजिक सङ्गठनका विभिन्न पक्षहरूको बारेमा जानकारी दिने यस्ता सूत्र साहित्यहरूमा कम शब्दमा धेरै जानकारी प्रदान गर्ने प्रयास भएको बताइन्छ । 

सूत्र साहित्यका विषयवस्तु ६ वटा छन्  : कल्प (कर्मकाण्ड), शिक्षा (शब्द उच्चारणको विवेचना), व्याकरण, निरुक्त (शब्दको व्युत्पत्ति), छन्द र ज्योतिष । यी सबै सूत्र साहित्यहरूका विषयवस्तुको उद्देश्य अघिल्ला धार्मिक ग्रन्थहरूको व्याख्या, रक्षा र उचित प्रकारको उपयोग गर्नु रहेको छ ।

यस्ता सूत्र साहित्यहरूमा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण ‘यास्क’ नामक ऋषिद्वारा रचित ‘निरुक्त’, पाणिनीद्वारा रचित व्याकरण ‘अष्टाध्यायी’ र ‘कल्पसूत्र’ छन् । कल्पसूत्र तीन प्रकारका  छन् ः श्रोतसूत्र (यसमा महायज्ञका बारेमा वर्णन गरिएको छ), गृह्यसूत्रहरू (व्यक्तिगत र घरेलु दायित्व, कर्तव्य, यज्ञ र कर्मकाण्ड आदिको बारेमा व्याख्या गरिएको छ), र धर्मसूत्र (धर्मसूत्रलाई धर्मशास्त्र वा स्मृति पनि भनिन्छ ।) 
धर्मसूत्रहरूले खासगरी हिन्दुहरूको सामाजिक दायित्व र कर्तव्यका बारेमा व्याख्या गरेका छन् । यिनीहरूले हिन्दु संस्कृति पालना गर्ने मानव समुदायको अधिकार, कर्तव्य, नियम, दायित्व, चलन, व्यवहार, वर्णाश्रम व्यवस्था, संस्कार, उत्तराधिकारी नियम, शौच, सूतक, पातक आदि हिन्दुहरूको परम्परागत आचार–व्यवहार आदिको व्याख्या प्रस्तुत गरेका छन् ।

धर्मसूत्रहरूमा नारद, मनु, गौतम, बौधायन, आपस्तम्ब, वशिष्ठ, याज्ञवल्क्य, हारिति, विष्णु, हिरण्यकेसी, बैखानस आदि महत्त्वपूर्ण मानिन्छन् ।

वेदाङ्गका रूपमा रहेका सूत्र साहित्यहरूलाई पनि वैदिक वा हिन्दु संस्कृतिका मूल स्रोतको रूपमा लिइने गरिएको छ । श्रोतसूत्र, गृह्यसूत्र र धर्मसूत्रमा विभाजित यी वेदाङ्का उपभागहरूको अध्ययन पनि महत्त्वपूर्ण छ, जसको अध्ययनविना वैदिक संस्कृतिको जानकारी अपूरो हुन जान्छ ।

वैदिक धर्म र त्यसका विधिविधानमा आबद्ध भएर निर्मित हिन्दु संस्कृतिका परिपालकहरूका लागि सूत्र साहित्य निर्देशक ग्रन्थका रूपमा मानिएको छ । हिन्दु जीवनपद्धतिका विविध पक्षहरूमाथि प्रकाश पारिएको कारणले यिनीहरूलाई व्यावहारिक ज्ञानको स्रोतका रूपमा लिइने गरिन्छ ।

हिन्दु संस्कृतिभित्रका मानव समुदायले व्यक्तिगत जीवनका विभिन्न अवस्था र कर्मकाण्डहरूको व्याख्या, विश्लेषण, उपादेयता, आवश्यकता र महत्त्व आदिको बारेमा यस्ता साहित्यहरूले जानकारी दिएकाले हिन्दु संस्कृतिको सम्पन्नता र सर्वोच्चताको पुष्टि भएको छ । साथै हिन्दु समाज र सङ्गठनलाई व्यवस्थित गर्ने रूपमा यी सूत्र साहित्यहरूको भूमिका महत्त्वपूर्ण रहेको छ ।                                                   (डा अधिकारी महेन्द्र मोरङ क्याम्पस विराटनगरका सहायक क्याम्पस प्रमुख हुन् ।) 

View : 459

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved