Biratnagar, Morang, Nepal
१५ असार २०८१, शनिवार
+977 21 450305, 515728, 578305
विचार

विराटनगरमा बाढीको चुनौती र बच्ने उपायहरू

अच्युतम बराल
७ जेठ २०८१, सोमवार

नेपालको पूर्वी तराई क्षेत्रको जीवन्त शहर विराटनगरका लागि बारम्बार समस्या भइरहेको छ बाढी ।  प्राकृतिक प्रकोपहरूले दैनिक जीवनमा बाधा पुर्‍याउने मात्र होइन, भवनहरू र स्थानीय अर्थव्यवस्थामा समेत ठूलो क्षति पुर्‍याउने गरेको छ  । वर्षायाममा पानी पर्न थालेपछि हरेक वर्ष वर्षाको पानीको कारण बाढी आउनु र त्यसको समाधान हुन नसक्नुले स्थिति थप गम्भीर चुनौती बन्दै गएको छ ।

हालैका वर्षहरूमा, विराटनगरले धेरै विनाशकारी बाढीहरू सहेको छ । २०७४ साल साउन २८ गतेको बाढीले विराटनगरलाई पूरै डुवाएको थियो । यति मात्र होइन २०७८ कात्तिक १ मा परेको हिउँदे वर्षाले समेत विराटनगर विमानस्थल डुबेर उडानसमेत स्थगित भएको थियो ।  सामान्यतया जुन देखि सेप्टेम्बर ( जेठ मध्यदेखिदेखि भदौसम्म चल्ने मनसुनले तराई क्षेत्रमा तीव्र वर्षा हुने गर्छ । 

अगस्ट २०१७  र अक्टोबर २०२१ ( २८ साउन २०७४ र १ कात्तिक २०७८) मा आएका बाढीहरूले ल्याएको व्यापक क्षति यहाँका मानिसहरूको मनमा ताजै छ । यस अवधिमा, विराटनगर विमानस्थल कयौं दिन बन्द हुनुपरेको थियो । घर, व्यापार, खेतिपाती र महत्त्वपूर्ण पूर्वाधारहरूमा यस्ता बाढीहरूको आर्थिक प्रभाव उच्च हुने गर्दछ ।

विराटनगर बाढीको जोखिममा पर्नुको मुख्य कारण शहरको समतल भू–बनोट हो । तराईका तल्लो मैदानहरूसम्म बग्दै आउने पानी जम्मा भएर धेरै क्षेत्रहरू डुबानमा पर्दछन् जसलाई    अंग्रेजीमा ‘ˆलड्प्लेन’ (बाढीको जोखिम हुने मैदान) भनिन्छ । सरकारले त्यस्ता क्षेत्रहरूको पहिचान गरी तोकिएको बाढीग्रस्त हुने मैदानभित्र विकासलाई सीमित गर्नुपर्छ । यी क्षेत्रहरू लक्षित विशिष्ट नियमहरू र अनुमति आवश्यकताहरूको अधीनमा ल्याइनु पर्छ । संरचना निर्माणका उचाइ र प्रकारहरूमा सीमितता सहितको मापदण्ड अपनाइनु पर्छ ।

बाढीको जोखिमका मैदानहरू पहिचान गर्ने प्रक्रियालाई जोनिङ (क्षेत्र पहिचान) भनिन्छ जुन शहरी विकासको एक महत्त्वपूर्ण भाग हो । जोनिङले आवासीय, व्यावसायिक, पार्क, र कृषि जस्ता विशिष्ट  उद्देश्यका लागि तोकिएका विभिन्न क्षेत्रहरू पहिचान र सुनिश्चित गर्दै समाजमा जग्गाको प्रयोगलाई नियमन र व्यवस्थापन गर्न मद्दत गर्दछ । तर, शहरको विस्तार पहिल्यै जोनिङ नगरी भएको छ र धेरै बस्तीहरू पहिलेदेखि नै गहिरो सतहका जोखिमयुक्त मैदानमा अवस्थित छन् । अधिकांश मानिसहरू यी समस्याका मूल कारणको बारेमा अनभिज्ञ छन् र बाढीलाई भोग्नै पर्ने दैवी प्रकोप मान्ने गर्दछन् । 

उचित शहरी योजना र जनचेतनाले बाढी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ । वर्षा आफैंमा प्राकृतिक प्रक्रिया हो तर बाढी भगवानको दुष्कार्य हुँदै होइन । यो मानवबाट प्राप्त अनियोजित विकासको परिणाम हो । प्राचीन समयदेखि मानव बस्ती नदी र तालको छेउमा हुने गरेको पाइन्छ । खानेपानी, कृषि, यातायात र व्यापारको लागि पानीको उपलब्धता हुने भएकोले मानव बस्ती र शहरहरूको विकास भयो । यद्यपि, मानव बस्तीको पानीसँगको यो निकटताले गर्दा अविरल वर्षाका कारण पानीको सतह बढ्दा तिनै बस्ती र शहरहरू बाढीको जोखिममा पर्ने गरेको देखिन्छ  । 

आधुनिक समयमा हामीसँग पानी आपूर्ति र ढल निकासको उपाय सहितको पूर्वाधार छ जसले गर्दा नदीको किनारमा बस्नु पर्ने आवश्यकतालाई हटाएको छ । अहिले हामीलाई साँच्चै आवश्यकता भनेको नदीको निकटता होइन, बरू सावधानीपूर्वक शहरी योजना र भूमि प्रयोग सम्बन्धी ठोस नीतिहरू आवश्यक छन् । अहिले हामी बाढीको जोखिमयुक्त क्षेत्र पहिचान गरेर उपयुक्त ‘जोनिङ’ नियमहरू लागू गरेर हाम्रा गाउँ र शहरहरूमा बाढीको प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सक्छौं ।

बाढीको जोखिम न्यूनीकरण गर्ने उपायको अर्को पक्ष भनेको बाढीका प्रकारहरूबारे मानिसहरूमा चेतना फैलाउनु हो । यी वैज्ञानिक भिन्नताहरू जनमानसले बुझ्न आवश्यक छ । इन्जिनियर र जलविद्हरू (हाइड्रोलोजिष्ट) अक्सर ‘१००–वर्ष–बाढी’ र ‘५०–वर्ष–बाढी’ लाई सन्दर्भ राखेर कुरा गर्छन् । यी आवधिक अध्ययनहरूबाट कुनै पनि वर्षमा हुन सक्ने बाढीको सम्भावनाको संकेत पाउन सकिन्छ । ‘१००–वर्ष–बाढी’ को अर्थ बाढी आउने एक वर्षमा एक प्रतिशत सम्भाव्यता छ भन्ने हुन्छ र ‘५०–वर्षीय बाढी’ भन्नाले बाढीको सम्भावना एक वर्षमा दुई प्रतिशत छ भन्ने हुन्छ । यद्यपि, वास्तविकता यो हो कि यी विनाशकारी बाढीहरू प्रत्येक वर्ष वा वर्षमा धेरै पटक आउन सक्छन् । 

यदि कुनै घरधनी ३० वर्षको अवधिको लागि ‘१००–वर्ष–बाढी’ को जोखिमयुक्त मैदानमा एउटै स्थानमा बस्छ भने त्यो तीस वर्षको अवधिमा त्यहाँ बाढी आउन सक्ने सम्भावना २६ प्रतिशत छ । यी अवधारणाहरूबाट हामी सम्बन्धित जोखिमलाई राम्रोसँग बुझ्न सक्छौं । 

अब हामीले थप विनाश रोक्नको लागि तुरून्तै कदम चाल्न आवश्यक छ । शहरको विस्तारमा बाढीको मापदण्डलाई ध्यानमा राखी सावधानीपूर्वक योजनाबद्ध जोनिङ गर्नुपर्छ । बाढी मैदानमा घरहरू बनाउन अनुमति दिनु हुँदैन । यस्ता क्षेत्रहरूलाई विशेष नियमहरू र अनुमति आवश्यकताहरूको अधीनमा राखिनु पर्छ । उचित योजना, सही जोनिङ, सुधारिएको जल निकासी फ्रणाली र बाढी बारेको चेतनामूलक कार्यक्रमहरू गर्दै जाने कार्य इत्यादि सबै आवश्यक छ । सहकार्य गर्दै हामी बाढीको विनाशकारी शत्तिबाट घरहरू, व्यवसायहरू र जीवनको सुरक्षा गर्न सक्छौं । बाढीको खतराविरूद्ध आफ्नो भविष्य सुरक्षित गर्ने दिशातिर विराटनगरले निर्णायक रूपले काम गर्ने बेला आएको छ ।

(लेखक अमेरिकास्थित माइकल बेकर इन्टरनेशनल  लुजियानाका जलस्रोत इञ्जिनियर हुन् ।)

View : 264

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved