Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विश्व उपेक्षित उष्णप्रदेशीय रोग, बिरामी आफैंबाट उपेक्षित बन्दै

जुनु भट्टराई
१६ माघ २०८०, मङ्गलवार

विराटनगर । मंगलबार विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि हरेक बर्ष जनवरी ३० मा बिभिन्न कार्यक्रम गरी सो दिवस मनाइदै आएको छ ।

उपेक्षित रोग भन्नाले सामान्यतः सबै तहबाट बेवास्ता गरिएका रोगको रुपमा चिनिदै आएको छ । बेवास्ता भनेपछि कसैको पनि महत्वमा नपरेको र चासो निकै कम दिइएका रोगहरू पर्दछन्  । त्यस्ता उष्ण प्रदेशीय रोगको रोकथाम सरकारसँगै बिरामी आफैबाट पनि उपेक्षित बन्ने गरेको कारण यस्ता रोगको निवारण नेपालमा ठुलो चुनौतीको रुपमा देखिएको विज्ञहरु बताउँछन् ।

बिज्ञहरुका अनुसार उपेक्षित रोगहरु प्राय गरिबी र पिछडिएका समुदायमा बढी देखिने गरेको पाइन्छ । गर्मी ठाउँमा रहेका सीमान्तकृत समुदायमा धेरै असर गर्ने यो रोगले बर्सेनि झन्डै २ लाख मानिसको मृत्यु हुने गरेको छ भने १९ लाख मानिसमा विभिन्न अपाङ्तासँग सम्बन्धित समस्या देखिने गरेको छ ।

विश्व स्वास्थ्य संगठनल २० प्रकारका रोगलाई उपेक्षित रोगहरुको सुचीमा राखेको छ । जसमा कीटजन्य विभिन्न रोग जस्तैः डेंगु, औलो, स्क्रबटाइफस, कालाजार, चिकनगुनियालगायत पर्छन् । यस्तै, रेबिज, खस्रे रोग, बुरुली अल्सर, कुष्ठरोग, स्लीपिङ सिकनेस, हैजा, हात्तीपाइले, माटोबाट सर्ने जुका, झाडापखाला, सर्पदंश, लुतोलगायत २० प्रकारका रोग उपेक्षित रोगहरूको सूचीमा छन् ।

विश्व स्वास्थ्य संगठनले यी रोगहरुलाई उपेक्षित उष्णप्रदेशीय रोगहरुको सूचीमा राखेपनि नेपालमा भने १० प्रकारका  रोगहरु उपेक्षित उष्णप्रदेशिय रोगको सूचीमा  छन् । नेपालमा पाइने उष्णप्रदेशीय रोगहरुमा नेपालको सन्दर्भमा कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेंगु, रेबिज, सर्पदंश, जुका, नाम्ले जुका, लुतो जस्ता रोगहरू समस्याको रूपमा  छन् ।

उपेक्षित उष्ण प्रदेशीय रोग र कोशी प्रदेशको अवस्था

वेवास्ता गरिएका र गर्मी हुने ठाउँमा देखिने उपेक्षित उष्ण प्रदेशीयमा पर्ने दश रोगमध्ये कोशी प्रदेशमा कुष्ठरोग, जुका तथा लुतो लगायतका रोगको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण देखिएको स्वास्थ्यका विज्ञहरु बताउँछन् ।

सन् २०२० सम्ममा निवारण गर्ने भनिए पनि अझै जनस्वास्थ्य समस्याका रुपमा  छन् । सरकारले सन् २०२० सम्म उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई निवारण गर्ने प्रतिवद्धता गरे पनि हालसम्म पूरा हुन नसकेको विश्व स्वास्थ्य संगठनका कोशी प्रदेशका संयोजक रन्दिप कुमार बताउँछन्  ।

स्वास्थ्य निर्देशनालयका अनुसार कोशी प्रदेशमा कुष्ठ रोगका बिरामीको संख्या प्रत्येक वर्ष बढ्दो क्रममा  छ । आर्थिक वर्ष २०७८–७९ मा ३ सय ४५ जना कुष्ठ रोगका बिरामी भेटिएका थिए ।  आर्थिक वर्ष २०७९–८० मा ४ सय ७१ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् ।

पछिल्ला केही बर्षको तथ्यांकलाई हेर्दा कुष्ठरोगसँगै कोशी प्रदेशका धेरैजसो मानिसहरुमा जुका र लुतोको समस्या रहेको पाइएको छ । पछिल्लो केही बर्षयता देशभर फैलिएको डेंगुबाट कोशी प्रदेशमा मात्र २०८० साउनदेखि माघ ६ गतेसम्म माक्र ३८ हजार २ सय ७३ संत्रमित भेटिएका थिए । हात्तीपाइले रोगको निवारण कार्यक्रम भने कोशी प्रदेशमा प्रभावकारी देखिएको छ । केही दिनअघि मात्र मोरडमा पनि १२ वर्षपछि हात्तीपाइले रोग निवारण भएपछि अब १४ जिल्लामध्ये झापा जिल्लामात्र हात्तीपाइले निवारण हुन बाँकी   छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत उपेक्षित उष्णप्रदेशीय रोग निवारणका लागि प्रत्येक रोगहरुको लक्ष्य राखेर सोही अनुसार रणनीतिक कार्ययोजना बनाएर काम भइरहेको बताउँछन् । कालाजार, डेंगु, रेबिज लगायतका रोग निवारणका लागि सरकारले बजेटको व्यवस्था गरेको, औषधि खरिद गरेको, निशुल्क औषधि वितरणदेखि परीक्षण हुने भएकाले यी रोगहरुलाई नेपालको सन्दर्भमा उपेक्षित रोगहरुको स्थिति सुधारोन्मुख रहेको बताउँछन् ।

डब्लूएचओ कोशी प्रदेशका संयोजक रन्दिपकुमार सरकारले उष्णप्रदेशीय रोगलाई नसर्ने रोगलाई जस्तै प्राथमिकता दिनुपर्ने बताउँछन् । उपेक्षित भनिएका यी रोगहरु निवारणका लागि सरकारले सञ्चालन गरेका कार्यक्रमहरु पर्याप्त नभएको उनले बताए ।

View : 172

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved