Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
विचार

चतराधाम र कुम्भमेला

गोकुल अधिकारी
१३ चैत २०८०, मङ्गलवार

‘जो पुण्य, हमारे प्रयाग हरिद्वार, गंगा नहाने से होता है, वही पुण्य चतरा के कुम्भ मेले पर कोशी नहाने से मिलता है ।’

विक्रम सम्वत् २०६४ सालमा चतराधाममा सम्पन्न एक महिने कुम्भमेलाको कुनै एकदिन त्यहाँको विशाल पण्डालभित्र हज्जारौ भक्तजनहरूले भरिएको सभामा भारतको काशीबाट आमन्क्रित एक विद्वतजनबाट व्यत्त गरिएका वाणीहरू हुन् यी माथिका पङ्तिहरू ।

आजभन्दा सोह्र वर्ष अगाडि त्यो समयमा हामी सर्वसाधारण, क्यामरायुक्त स्मार्टफोनको अभ्यासबाट केही टाढै थियौं । हामीसँग रहेका सेलोफोनहरु सामान्यतय भिडियो रेकर्ड गर्न मिल्नेखालका गुणस्तरका हुँदैनथे । अर्थात् अहिलेजस्तो कसैले महत्वपूर्ण कुरा बोल्न लाग्दा सभामा उपस्थित सहभागीहरु  आफै मञ्चको नजिक पुगेर वा  आ–आफ्नै ठाऊाबाट वक्ता व्यत्तित्वका आवाज वा दृश्य रेकर्ड गर्दै तत्कालै सामाजिक सञ्जालमार्फत त्यसलाई अन्तर्राष्ट्रियकरण गरिहाल्ने अभ्यास राम्ररी भित्रिसकेकै थिएन । यूट्यूवमा आफै भिडियो बनाई सार्वजनिक गर्ने र त्यसलाई  हेर्ने अनि सब्सक्राइव गर्ने अभ्यासको आरम्भ भर्खर हुादै मात्र थियो । चतरामा सम्पन्न उक्त धर्मसभामा भारतबाट आमन्त्रित धर्माचार्यहरूले आफ्ना मन्तव्यका  क्रममा व्यत्त गरेका यस्ता मूल्यवान वाणीहरू रेकर्ड गर्दै गरेका कुनै टेलिभिजनका वा निजी प्रयोजनका क्यामराहरु पनि त्यस दिन त्यहाा देखिएनन् ।

नेपालको चतराधाममा भर्खर मात्र आरम्भ गरिएको  कुम्भमेलाको महत्वलाई जुरुक्क उचाली सनातन हिन्दुहरुले भरिएको भारतको विशाल भूभागलाई नै जागृत गर्नेखालका भारतीय शास्त्रवेत्ताका ती अमृत वाणीहरू अन्ततः चतरा बगरको बालुवामै विलिन भए, कोशीको पानीसागै बगेर गए, समाचारका पाना  र  सामाजिक सञ्जालभित्र यी मूल्यवान सन्देशहरुले प्रवेश पाउनै सकेनन् ।

पण्डालको छेउ किनारबाट कहीं कसैले वा आयोजकले उक्त प्रवचनलाई रेकर्ड गरेर राखेका पनि छैनन् होला । भए पनि सोह्र वर्ष पुराना फायल र फोल्डरहरु भेटिने र खुल्ने अवस्थामै नहुन पनि सक्छन् । आजभन्दा डेढ दशकअघिको त्यो समयमा भारतीय टेलिभिजनहरुमा आस्था र संस्कार नामका दुई धार्मिक च्यानलहरु करोडौ भारतवासी सनातनीहरुले नछुटाई हेर्ने गर्थे । शोध एवं अनुसन्धानबाट प्राप्त तथ्यलाई सम्बन्धित क्षेत्रका उच्च व्यक्तित्वहरुले यस्तै सभा समारोहमार्फत औपचारिकरुपमा अनुमोदन गरिदिएपछि अनि त्यसको प्रचारप्रसार राम्रोसँग हुन थालेपछि  कतिपय जलाशय, कुण्ड र नदीहरु लाखौ मान्छेलाई आकर्षित गर्ने पवित्र धाम बनेका छन्, खेर गइरहेका वनस्पतिहरु मूल्यवान औषधि बनेका छन् अनि खोला किनारका काला सेता वा प्रतिकात्मक आकृति भएका ढुंगाहरु भगवान बनेर घर वा मन्दिरमा पुजिने गरेका छन् ।

यी उदाहरणहरु त्यस्ता सम्पदाको महत्व जान्ने र बुझ्नेहरुले गरिदिएको प्रचार प्रसारकै परिणाम हो । काशीका विद्वानहरुबाट व्यक्त चतरा कुम्भको महत्वलाई उजागर गर्ने ती दिव्यवाणीहरुले त्यतिबेला चल्तीमा रहेका ती भारतीय धार्मिक च्यानलहरुमा प्रवेश पाउन सकेको भए अथवा भारतीय छापाहरुमा समाचार बन्न सकेको भए आागामी पूर्णकुम्भमा डेढ दुई करोड दर्शनार्थीहरु चतरासम्म ल्याइपुर्‍याउने  हाम्रा जगद्गुरुको सपना साकार पार्न निकै ठूलो योगदान पुग्न सक्थ्यो होला ।

चतराको सोही पावन भूमिमा आगामी चैत्र २७ देखि पूर्णकुम्भ लाग्दैछ अनि भारतका काशी, प्रयाग, बृन्दाबनलगायतका भूभागबाट पनि सन्त महन्त एवं विद्वतजनहरुको बाक्लो उपस्थिति हुनेछ र तिनका दिव्य सन्देशहरु सुन्न पाइने छ भन्ने कुरा सुनिदै गर्दा सोह्र वर्ष अगाडिको कुम्भमेलाको यो क्षण यतिबेला सर्लक्क आँखा अगाडि आइरहेछ ।

तीर्थभूमि नेपाल

विभिन्न शास्त्र र पुराणहरुमा उल्लेखित आफ्नै देशमा रहेका कतिपय तीर्थस्थलका महिमाबारे यथोचित व्याख्या विश्लेषण र प्रचार प्रसार हुन सकेको छैन । जसले गर्दा तीर्थाटनका लागि हाम्रा पाइलाहरु सीमापरीतर्फै मात्र लम्किरहे, वैदिक सनातन धर्मका अनुयायीहरुका लागि आस्थाका मठ मन्दिर, नदी र जलाशयहरु भारतीय भूभागमा मात्र छन् भन्ने कुरामा हामी केन्द्रित भैरह्यौ । फलस्वरुप देवकर्मदेखि पितृकर्मसम्मका तीर्थाटनका लागि हाम्रो गन्तव्य निर्विकल्परुपमा भारतीय भूभागमै केन्द्रित भयो र तीर्थयात्राका  लागि रेल चढेर भारतका विभिन्न भूभाग पुग्नु हाम्रो संस्कृति र परम्परा वन्नपुग्यो ।

श्राद्धकर्मका लागि पवित्र मानिने कोशी कोकाहाको संगम वा विष्णुपादुका र कागवेनीजस्ता महान तीर्थ आफ्नै आँगनमा रहेको हामीलाई पत्तै भएन,  सीमापारिको गया र त्योसँगै जोडिएको पुनपुन तीर्थ मात्र लामो समयसम्म हाम्रो गन्तव्य वनिरह्यो । आफ्नै मुलुकमा रहेको मुक्तिनाथसँग हामी बेखबर रह्यौ उत्तराखण्डको बद्रीनाथ मात्र हाम्रो तीर्थभूमि वनिरह्यो । केदारनाथको शिर भाग भक्तपुरको डोलेश्वरमा रहेको हामीले पत्तै पाएनौ शिरवाहेकको बाँकी भागको मात्र दर्शन गर्न ठेलमठेल गर्दै केदारनाथ पुगिरह्यौं ।

हामी विराटनगरवासीले पनि आफ्नो नगरलाई सधैं विराट राजाको राज्य रहेको भूभाग भनी जप्ने काम मात्र गरिरह्यौं । तर ती राजाको दरबारमा भगवान कृष्ण आएर वास वस्नुभएको अनि यहींको बाटो भएर द्वारकातर्फ प्रस्थान गर्नुभएको कुरा प्रष्टसँग उल्लेख भएको महाभारत पुराणको वैवाहिक पर्वको वहत्तरौ अध्याय वा उद्योग पर्वको प्रथम अध्याय पल्टाएर कहिले हेरेनौ र हेरे पनि त्यसको व्याख्या गर्न कहिले जाागर चलाएनौ अनि यही विराटनगरमा वस्ने भगवान कृष्णका हामी सारा उपासकहरु उहाँको पाउपरेको भूभाग जीवनमा एकपटक पुग्नैपर्छ भन्दै वृन्दावन र हस्तीनापुरको माटोतर्फै निरन्तर धाइरह्यौ ।

स्कन्ध पुराणको हिमाद्रीखण्डमा प्रष्टसँग उल्लेखित कौशिकी क्षेत्र अनि समुद्रमन्थन र कुम्भघडाको कथासँग जोडिएको आफ्नै भूभागको पौराणिक महत्वका बारेमा हामी बेखबर भैरह्यो अनि प्रयाग, हरिद्वार,नासिक र उज्जैनलाई मात्र कुम्भस्नानका चार गन्तव्य ठानिरह्यौ । उक्र पुराणभित्र कोशी लगायतका नेपाली भूभागको महिमागान गरिएको हिमवत्खण्ड पल्टाएर हेर्ने हामीलाई फुर्सदै भएन, भारतमा रहेका महानदीहरुको महिमागानमा मात्र सारा समय खर्चिरह्यौ ।

हिजोका दिनमा योगी नरहरीनाथजस्ता र आजका दिनमा जगदगुरु मोहनशरण देवाचार्यलगायतका केही धर्मगुरुहरु नेपालका विभिन्न भूभागमा पुगी त्यहाँका कुण्ड तलाउ मठ मन्दिर, पाटी पौवा आदिको महत्वबोध गराउने अभियानमा लागिरहनुभएको देखिन्छ । यस्ता केही प्रयत्नसँगै लामो समयसम्म गुमनाम अवस्थामा रहेका नेपालका धेरै तीर्थस्थलहरुको मुहार उघारिदै गएको छ । कोशी किनारमा लाग्ने चतरा कुम्भ पनि यही अभियानको सबैभन्दा चर्चित एवं महत्वपूर्ण पाटो हो ।

शब्दकोशमा कुम्भमेला

भनिन्छ शब्दकोशहरुमा उल्लेखित अर्थ वा परिभाषाले कुनै पनि चिजवस्तु वा मान्यतालाई चट्टानी स्वरुप प्रदान गर्दछन् ।  नेपालको चतराधाममा कुम्भमेलाको अभ्यास हुनथालेको दुई दशक भैसकेको छ अनि आगामी कुम्भसँगै यसका पााचवटा श्रृंखला सम्पन्न भैसक्नेछन् । यो अभ्यास विस्तारै सबैतिरबाट मान्यताप्राप्त विषय बन्दैगएको छ । तर हाम्रै देशको नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोशले कुम्भमेलाको अर्थ र परिभाषाभित्र अझै पनि चतराधामको नामलाई अटाउन सकेको देखिदैन, प्रयाग हरिद्वार र कुरुक्षेत्रको नाम मात्र उक्त शब्दकोशमा उल्लेख भएको देखिन्छ । स्मरणीय छ, यस शब्दकोशको २०७९ को संस्करणसम्म आइपुग्दा नेपालको चतरामा चारवटा कुम्भ सम्पन्न भैसकेको थियो अनि यस कुम्भको औचित्यका बारेमा शास्त्रीय तथ्य, प्रमाण र मान्यताहरु पनि छताछुल्ल भैसकेको थियो ।

अन्ततः  आगामी कुम्भमा नेपालका साथै भारतबाट बढीभन्दा बढी धर्मगुरुहरु, विभिन्न सम्प्रदायका आचार्यहरु र मठाधीशहरुलाई आमन्त्रण गरिनु आवश्यक छ । यस कुम्भले यस्ता गुणात्मक व्यक्तित्वहरुलाई भारतबाट बोलाएर जति धेरै संख्यामा चतराको माटोमा उतार्न सक्छ त्यसपछिका कुम्भहरुमा यहाँ आउनेहरुको संख्या उत्ति नै विस्तार हुनजानेछ । किनकि, चतराधामको कुम्भमेला पाँचौ श्रृङ्खलासम्म आइपुग्दा नेपालमै पनि टेलिभिजनका केही धार्मिक च्यानलहरु विस्तार भैसकेका छन् । सनातन धर्मसंस्कारलाई संरक्षण गर्न टेवा पुर्‍याउने यूट्यूव प्रसारणहरु पनि प्रशस्तै छन् र त्यसका श्रोता वा दर्शकहरु पनि लाखौ छन् । हाम्रा हातहातमा राम्रो दृश्याङ्कन गर्नसक्ने क्यामरा भएका सेलोफोनहरु छन् । चतरास्थित जगदगुरुपीठ भित्रको प्रचार एकाईं पनि सामाजिक सञ्जाललाई उपयोग गर्दै प्रचारप्रसारको काममा निकै दक्ष भैसकेको छ ।

कुम्भको धर्मसभामा भारतबाट आमन्त्रित र नेपालकै विद्वतजनबाट महत्वपूर्ण सन्देशहरु व्यक्त हुँदाहुँदै सामाजिक सञ्जालमार्फत सभास्थलबाटै जोकोहीले प्रत्यक्ष प्रसारण गर्न सक्ने अभ्यास सहज भैसकेको अवस्था छ । त्यसैले पनि भारतबाट आमन्त्रित धर्माचार्यहरुले कोशी किनारको बालुवामाथि उभिएर दिएका त्यस्ता मूल्यवान प्रवचन र अभिव्यक्तिहरु पहिलेझौ चतरा बगरकै धुलो वालुवामा विलिन हुनुपर्ने र कोशीको पानीसँग बगेर खेर जानुपर्ने अवस्था अहिले छैन ।

View : 422

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved