सिद्धान्त र व्यवहारको द्वन्द्व
लोकतन्त्र जीवन पद्धति हो । राज्य लोकतान्त्रिक छ, र केही असहमतिहरूका बाबजुद विधि–विधानहरू लोकतान्त्रिक मूल्यमै आधारित छन् । सैद्धान्तिक रूपमा राजनीतिक दलहरू पनि लोकतन्त्रप्रति प्रतिबद्ध नै छन् । तर, व्यवहार भने लोकतान्त्रिक देखिंदैन । सिद्धान्त र व्यवहारमा ठूलो असन्तुलन छ । अरूलाई सिकाउने तर आफू नसिक्ने यो प्रवृत्ति एक प्रकारको मनोरोगजस्तै बनेको छ । यसको कारण के होला त ?
सामाजिक चेतना र व्यवहारको निर्धारक
प्रचलित मूल्य, मान्यता, सोच र दृष्टिकोणले नै सामाजिक आचरण निर्धारण गर्छ, जसले मानवीय व्यवहारको निर्माण गर्छ । समाजको चरित्रकै आधारमा सामाजिक रहनसहन र जनजीविकाको तौरतरिका निर्धारित हुन्छ । सफलता–असफलता वा अग्रगमन–पश्चगमन भन्ने कुरा सामाजिक दृष्टिकोणमा निर्भर गर्छ, र दृष्टिकोणको निर्माण चेतनाले गर्छ ।
समाजको चेतनास्तर अग्रगमनकारी या प्रगतिशील छ भने राजनीतिले उन्नत मार्ग लिन्छ । तर, चेतना पुरातनवादी या यथास्थितिवादी छ भने शासन प्रणाली पनि सोही आधारको हुन्छ । राजकीय विधिहरू जतिसुकै आकर्षक भए पनि, तिनको कार्यान्वयन सामाजिक चेतनामा भर पर्छ ।
मनुवादको नैतिक पाठशाला र आजको राजनीति
मानवीय गुणको प्रथम निर्धारक तत्व सामाजिक दीक्षान्त र परिवार भएकोले नै समाजलाई ‘पहिलो पाठशाला’ भनिएको हो । जन्मकालदेखि नै परिवारबाट पाएको वातावरणले चेतनाको विकास हुन्छ ।
विडम्बना ! हाम्रो सामाजिक चेतनाले समग्रमा नैतिक आचरण विकास गराउन सकेको छैन । कविला समाज हुँदै विकसित सामन्तवादी पाठशालाले सामन्तहरूको हित अनुकूल शिक्षाले दीक्षित ग-यो र मनुवाद नैतिक शिक्षा बन्यो । यो मनुवादी चिन्तनले विगतदेखि वर्तमानसम्म समाजलाई गाँजेको छ ।
त्यस्तो मनुवादी चेतनामा हुर्किएको समाज र सोही समाजबाट उदाएको नेतृत्वले राजनीतिलाई कस्तो दिशानिर्देश गर्ला ?
मनुवादी चिन्तनको परिणाम : यो चिन्तनले इमानदारलाई अभागी र बेइमानलाई भाग्यमानी देख्छ । श्रम गर्नेलाई हेला गर्छ र श्रम चुस्नेलाई पूजा गर्छ । स्रोत खोज्दैन, दान खोज्छ । अपारदर्शी आयका दातालाई महान् समाजसेवी ठान्छ र तिनीहरूबाट पुरस्कार थाप्न मरिहत्ते गर्छ । ठूलाको गल्ती देख्दैन, सानाको गल्तीलाई तिलको पहाड बनाउँछ ।
रैती प्रवृत्ति र सत्ता स्वार्थको दुष्चक्र
हाम्रो समाजले नीति र विधि माग्दैन, व्यक्तिगत आकांक्षा माग्छ । छोराछोरीलाई जागिर माग्छ, तर सबैले जागिर पाउने अवस्थाको विधि माग्दैन । छोराछोरीलाई ‘मालदार’ ठाउँमा सरुवा माग्छ, तर जागिरेलाई इमानदार बनाउने नीति माग्दैन । जनताको यस्तो मनोविज्ञान भएपछि जनताको बीचबाट बनेको नेता कस्तो होला ? अनि, नेताले भ्रष्ट, तस्कर, गुण्डा नाइके र माफियाका सरदारसँग मित नलाएर कोसँग लाउने ? उसले चुनाव जित्न बोरामा पैसा कोच्नु पर्दैन र ?
ठाउँ पायो भने समाजको हर कोही मान्छे नीतिभ्रष्ट र पथभ्रष्ट भएर उदाउनु समाजको संस्कृति बनेको छ । कम्बल ओढेर घ्यू खाने प्रवृत्ति सामान्य बनेको छ । जनताको प्रवृत्ति पटक–पटकको व्यवस्था परिवर्तनपछि पनि ‘रैती’ भन्दा माथि उक्लन सकेको छैन । यसको मूल कारक सामाजिक चेतना नै हो ।
रूपान्तरणको अपरिहार्यता
तीस वर्षदेखि रूपान्तरणका कुराहरू हुँदै आएका छन्, तर सामाजिक चिन्तन रूपान्तरित हुन सकेको छैन । समाज सांस्कृतिक विचलनको भासमा डुबेको छ । आयातित संस्कृतिले मौलिकतालाई ध्वस्त बनाउ“दैछ ।
राजनीतिक दलहरू सामाजिक चिन्तनलाई प्रगतिशील रूपान्तरणको जग बसाउन असफल बनेका छन् । जातीय तथा वर्गीय विभेदको अन्त्य कानुनमा मात्र सीमित छ । आर्थिक स्रोत–साधनमाथि सीमित वर्गको वर्चस्व यथावत् छ । भोटको राजनीति र सत्ताको लम्पटताले गर्दा दलहरू उही सोच र मान्यताको लयमा नाच्नु उनीहरूको दिनचर्या बनेको छ ।
दलहरू नै यो अवस्थामा गुज्रेपछि आमूल परिवर्तन कसरी सम्भव होला ? आम क्षेत्रको रूपान्तरण बिना राष्ट्र कसरी समृद्धिको मार्गमा लम्कन्छ ?
राजनीतिक दलहरूले अग्रगमनको नारा लगाए पनि र समाजवादको दौडमा लागेको देखाए पनि, समाजमा गहिरो गरी जमेर बसेको मनुवादी, सामन्तवादी चेतना (मूल्य–मान्यता) ले गर्दा उनीहरूको व्यवहार लोकतान्त्रिक बन्न सकेको छैन । जबसम्म सामाजिक चेतना रूपान्तरित हुँदैन, तबसम्म मुलुकले सही राजनीतिक गन्तव्य भेट्टाउन सक्दैन ।
अन्तिम प्रश्न : ‘हामी मालिक र हाम्रा प्रतिनिधि सेवक हुन्’ भन्ने चेतना जनतामा जागृत हुनु आवश्यक छ । यसपछि मात्र नेताहरू स्वेच्छाचारी बन्न सक्दैनन्, भ्रष्टाचार शून्य सहनशीलतामा परिणत हुन्छ र सुशासनको जग मजबुत हुन्छ ।
View : 432
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved