Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा पाँच वडा जितेको कांग्रेसमा दुईटामा खुम्चियो, बढी फाइदा माओवादीलाई

सातवटा वडामा भएको उपनिर्वाचनमा कांग्रेसले २, एमालेले २, माओवादीले २ र एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् । प्राप्त अन्तिम परिणाम अनुसार २०७९ मा चारवटा वडा जितेको कांग्रेस यसपटक दुईवटा वडामा खुम्चिएको छ ।
उद्घोष सम्वाददाता
१८ मंसिर २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका ६ वटा जिल्लाका सात स्थानीय तहमा सम्पन्न भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा माओवादी केन्द्रलाई फाइदा पुगेको छ । उपनिर्वाचन भएका सातवटा वडामा यसअघि कांग्रेसबाट पाँच जना वडाध्यक्ष निर्वाचित थिए ।

उपनिर्वाचनबाट कांग्रेसले यसअघि जितेको एउटा वडामा मात्रै यसपटक जित निकालेको छ भने एमालेबाट एउटा वडा खोस्न सफल भएको छ । तर कांग्रेसले उदयपुरमा दुईवटा वडा गुमाउँदा त्यहाँ माओवादीले जित निकालेको हो ।

कांग्रेसले जितेको उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा यसपटक माओवादीले बाजी मारेको छ । त्यहाँ नविन कुमार बान्तवा राई निर्वाचित भएका छन् । उदयपुरकै बेलका नगरपालिकाको वडा नम्बर ९ मा समेत माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । दुवै वडामा कांग्रेस तेस्रो स्थानमा पुगेको छ । एमाले भने दोस्रो भएको छ ।

त्यस्तै कांग्रेसले यसअघि जितेका मध्ये दुईवटा वडामा एमाले फर्किएको छ भने एमालेले एउटा वडा गुमाएको छ ।

उपनिर्वाचन भएको ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा अघिल्लो पटकको निर्वाचनमा ४ मतले पराजित भएकी एमालेकी कुमारी सावादेनले उपनिर्वाचनबाट कांग्रेससँग बदला लिएकी छन् । कांग्रेसका दिलप्रसाद वोखिमसँग पराजित भएकी सावादेनले उपनिर्वाचनमार्फत जित हाँसिल गरेकी हुन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्वि साउदेनलाई १०२ मतले हराएकी हुन् । सावादेनले ३५३ मत प्राप्त गरिन् । साउदेनले २५१ मत प्राप्त गरेका छन् ।

२०७९ मा वडाध्यक्ष जितेको कांग्रेस उपनिर्वाचनमा तेस्रो स्थानमा पुगेको छ । कांग्रेसका भीमकुमार लक्सम्बाले २१८ मत प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ७ मत प्राप्त गरेका छन् । 

सिरीजंघाका निर्वाचित वडाध्यक्ष बोखिमले वैदेशिक रोजगारीका लागि हङकङ पुगेर राजीनामा पठाएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेसले जितेको ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा पनि एमालेका उम्मेदवार निर्वाचित भएका छन् । तामाङले ३९९ मत पाएर विजयी भएको जनाइएको छ । प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् ।

रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याउँदा माओवादी केन्द्रका मानबहादुर सुनुवारले भने जम्मा २३ मत मात्रै पाएका छन् ।

मोलुङ–५ मा २०५४ यता वडाध्यक्षको सबै निर्वाचन कांग्रेसले जित्दै आएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो । यो वडा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारको वडा हो ।

यसअघि कांग्रेसले नै वडाध्यक्ष जितेको उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा नेकपा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई निर्वाचित भएका छन् । राई ९२३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले ३५९, नेकपा एसका निर्मला चौधरीले ३१२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले २०२, स्वतन्त्र उम्मेदवार बजरंगीकुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले ७ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको मोटरसाइकल दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा कांग्रेसले स्व. चुडाराजकै छोरा सञ्जीवलाई टिकट दिएर चुनाव लडाएको थियो ।

तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८ को वडाध्यक्षमा भने कांग्रेसले आफ्नो विरासत जोगाएको छ । यहाँ नगेन्द्र लिम्बू निर्वाचित भएका छन् । 

लिम्बू ४४० मत प्राप्त गर्दै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले बताए । लिम्बूका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर लिम्बूले ३६० मत प्राप्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर श्रीपालीले ४, स्वतन्त्र उम्मेदवार बसन्त लिम्बूले ४ र नेकपा एसका प्रेमबहादुर खड्काले २ मत प्राप्त गरेका छन् ।

२०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बूको २०८० चैत २९ मा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

यता, सुनसरीको गढी गाउँपालिका ६ को वडाध्यक्षमा भने नेपाली कांग्रेसका तेतर साहु निर्वाचित भएका छन् । यसअघि एमालेले जितेको यो वडामा कांग्रेसका साहु निर्वाचित भएका हुन् । साहुले ८१६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७९४ मत प्राप्त गरे । एमालेका सन्तु उराव भने ७७० मतका साथ तेस्रो बने । 

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका कबिताकुमारी उरावले ८७, राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले ३३, जनमत पार्टीका सिताराम यादवले ३०, समावेशी समाजवादी पार्टी नेपालका योगनारायण ऋषिदेवले १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी ऋषिदेवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बच्चालाल अरगरिया यादवले १० र स्वतन्त्र उम्मेदवार श्यामदेव महतोले ३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यहाँ यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष षडानन्द उराव ७१२ मत ल्याएर निर्वाचित भएका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो ।

यता एमालेले जितेको झापाको कन्काई नगरपालिका–६ मा भने कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । ओली ४९३ मत प्राप्त गर्दै निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत, नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरेका हुन् ।

२०७९ सालमा भएको निर्वाचनमा एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर निर्वाचित भएका थिए । उनको निधनपछि उपनिर्वाचन भएको हो ।

यता, सवैभन्दा पछिल्लो परिणाम आएको उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी बने । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गर्दै घिमिरे निर्वाचित भए ।

घिमिरेले कुल खसेको १ हजार ८८५ मतमा ५५९ मत प्राप्त गरेका छन् । खड्काले ५२५ मत ल्याएका हुन् । नेपाली कांग्रेसका नबिन बस्नेतले ४०४ मत प्राप्त गरे । जनता समाजवादी पार्टीका राजकुमार राईले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विकले ११३ मत प्राप्त गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद फुयालले २७ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेशनका सुरे तामाङले ५ मत प्राप्त गरे ।

View : 62

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved