विराटनगर । मोरङको कटहरी–५ का दीपेन सरदारले दुई बिघा जमिनमा तुलसी खेती गर्नका लागि १० ट्रयाक्टर गोबर मल खरिद गरेर बारीमा राखेका छन् । जरा, पात र डाँठसहितको तुलसीको बोट प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री हुने भएपछि उनले पहिलो पटक नै ठूलो क्षेत्रफलमा खेतीको तयारी गरेका छन् ।
‘उन्नत जातको बीउ गाउँपालिकाले नै उपलब्ध गराउने अनि स्थानीय उद्योगले नै खरिद गर्ने भएकाले अरु खेती छाडेर तुलसी उत्पादनको तयारीमा लागेको छु,’ सरदारले भने ।
कटहरी गाउँपालिकाले ५ नम्बर वडाका किसानलाई लक्षित गरेर तुलसीको व्यावसायिक खेती गर्न बजेट नै ल्याएको थियो । खेती गर्न चाहनेका लागि बिहीबारबाट दुई दिने तालिम पनि चलाइएको छ ।
गाउँपालिका अध्यक्ष देवराज चौधरीका अनुसार कटहरी-५ मा रहेको गुरास हर्वास्युटीकल्स उद्योगले भारतबाट तुलसी खरिद गरी ल्याएर औषधि उत्पादन गर्दै आएकाले स्थानीय किसानलाई यसप्रति प्रेरित गर्न बजेट ल्याइएको हो । तुलसी खेतीका लागि पहिलो वर्ष गाउँपालिकाले ३ लाख २५ हजार रुपैंयाँ बजेट ल्याएर पहिलो चरणमा खेतीमा गर्ने तरिका सिकाउन तालिम सञ्चालन गरिएको छ ।
तालिममा कटहरी-५ का २५ र अरु वडाका गरी ३५ कृषक सहभागी छन् । सबैले तुलसीको खेती गर्न खेत तयार गरेका छन् ।
गाउँपालिकाले तालिमपछि खेती गर्न चाहनेलाई प्रति कट्ठा ३ हजार रुपैंयाँका दरले सहयोग गर्ने भएकाले किसान नयाँ खेती गर्न तयार भएको देखिएको छ । वर्षमा ३ देखि ४ पटकसम्म तुलसी उत्पादन गरेर बिक्री गर्न सकिने बताइएको छ ।
एक कट्ठामा एक पटकमा तीन क्विन्टलसम्म उत्पादन हुने अध्यक्ष चौधरीको दाबी छ । तीन क्विन्टल तुलसी स्थानीय उद्योगले ३३ हजार रुपैंयाँमा खरिद गर्न तयार छ । वर्षमा तीन पटक मात्रै उत्पादन भए ९९ हजार रुपैंयाँ एक कट्ठाले कमाई गर्ने स्थानीय किसान शंकर महतो बताउँछन् । तर, खेती सफल हुने र नहुनेमा स्थानीयको शंका रहेको उनको भनाइ छ ।
पालिकाले तुलसीको खेती गर्ने जति पनि किसानका लागि बीउ उपलब्ध गराउने भएको छ । परम्परागत कृषिले लाभ नदिएको पाएपछि यस खाले तयारी गरिएको पालिका अध्यक्ष चौधरी बताउँछन् ।
पहिलो वर्ष परीक्षणका लागि तुलसी खेतीमा लगानी गर्न सामान्य बजेट छुट्याइए पनि किसानलाई फाइदा भए बजेट बढाएर किसान र उत्पादन पनि वृद्धि गरिने उनको भनाइ छ ।
View : 128
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved