राज्यको भूमिकामा प्रश्नचिह्न
डा राजेन्द्र कोजूले आफ्नो पुस्तक ‘मुटुको कथा’ मा रक्सीको विषयलाई सामाजिक र स्वास्थ्य दुवै दृष्टिकोणबाट गहिरो विश्लेषण गर्नुभएको छ । उहाँले हाम्रो बहुसांस्कृतिक समाजमा रक्सीको स्थान र त्यसले पारेको नकारात्मक असरबारे निकै मार्मिक तरिकाले व्याख्या गर्नुभएको छ ।
डा. कोजूको भनाइअनुसार, केही जातिमा नभई नहुने र केहीमा भने छुनै नहुने मान्यता भए तापनि हिजोआज रक्सी एउटा सामाजिक अनिवार्यता जस्तो बनेको छ । भोजभतेर होस् वा खुसियाली, यहा“सम्म कि दुखमा पनि रक्सी नै प्रयोगमा आएको देखिन्छ । यसरी रक्सीको बढ्दो प्रयोगले व्यक्ति, परिवार र समाजलाई नै नकारात्मक असर पारिरहेको छ ।
रक्सीले मानव शरीरमा पार्ने असर : डा कोजूको दृष्टिकोण
डा कोजूले रक्सीले मानव शरीरमा पार्ने असरबारे विशेषगरी मुटुको सन्दर्भमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार, रक्सीले मुटुको मांसपेशीलाई कमजोर बनाउँछ, जसले गर्दा मुटुले राम्ररी रक्त सञ्चार गर्न सक्दैन । यसले गर्दा शरीरका अन्य अंगहरूमा रगतको आपूर्ति कम हुन्छ र मुटुसम्बन्धी विभिन्न रोग लाग्ने जोखिम बढ्छ । रक्सीको नियमित सेवनले रक्तचाप पनि बढाउँछ, जसले गर्दा हृदयघात र पक्षघातको सम्भावना बढ्छ । यति मात्र नभई, रक्सीले मुटुको चाललाई समेत अनियमित बनाउन सक्छ ।
मुटुबाहेक, रक्सीले शरीरका अन्य महत्त्वपूर्ण अंगहरूमा पनि गम्भीर असर पार्छ । रक्सीमा भएको अल्कोहललाई पचाउने मुख्य जिम्मा कलेजोको हुन्छ । अत्यधिक रक्सी सेवनले कलेजो सुन्निने, कलेजोमा बोसो जम्मा हुने (फ्याटी लिभर) र अन्ततः कलेजोको कडारोग लिभर सिरोसिस जस्तो प्राणघातक रोग लाग्न सक्छ ।
त्यसैगरी, रक्सीले मस्तिष्कको कार्यक्षमतामा नकारात्मक असर पु¥याउछ, जसले गर्दा निर्णय गर्ने क्षमता, सम्झना शक्ति र शारीरिक समन्वय कमजोर हुन्छ । युवा पुस्तामा देखिएको रक्सी र चुरोटको लतलाई उहा“ले ’विकराल अवस्था’ को रूपमा चित्रण गर्नुभएको छ, जसले उनीहरूको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।
समाजमा बढ्दो अराजकता र राज्यको भूमिका
डा. कोजूले रक्सीको दुरुपयोगले समाजमा निम्त्याएको विकराल अवस्थालाई पनि औंल्याउनुभएको छ । भोजभतेरदेखि दुःखको घडीसम्म रक्सीको प्रयोगले सामाजिक अशान्ती बढाएको छ । कतिपय अवस्थामा गैरकानुनी तरिकाले आर्जन गरिएको धन पनि रक्सीमा नै खर्च भएको देखिन्छ ।
हालै नेपालमा चलेको जेनजीको आन्दोलनमा समेत ठूला नेताको घरमा महंगो रक्सी भेटिएको समाचारले देशको ढुकुटी पनि कतै रक्सीको प्रयोगमै लटपटिएको भान भएको उहा“को भनाइ छ । यसरी, रक्सीले व्यक्तिलाई मात्र होइन, समाज र देशलाई पनि नकारात्मक असर पारिरहेको छ ।
यो समस्यालाई नियन्त्रण गर्नका लागि स्थानीय निकाय र राज्य दुवैको महत्त्वपूर्ण भूमिका हुन सक्छ । रक्सीको उत्पादन, बिक्री–वितरण र उपभोगमा कडा कानुन बनाउनु आवश्यक छ । सरकारले निश्चित स्थान, समय र उमेरका व्यक्तिलाई मात्र रक्सी बिक्री गर्न पाउने नियम लागू गर्न सक्छ ।
साथै, रक्सीमा लाग्ने कर बढाएर यसलाई महंगो बनाउन सकिन्छ, जसले उपभोगमा कमी ल्याउन सक्छ । यसबाहेक, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित जनचेतना कार्यक्रमहरू सञ्चालन गरेर रक्सीले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जानकारी दिन सकिन्छ ।
छिमेकी र विकसित देशका अभ्यासहरू
रक्सी नियन्त्रणको सन्दर्भमा छिमेकी देश भारतमा र विकसित देशहरूमा विभिन्न अभ्यासहरू छन् । भारतमा केही राज्यले पूर्ण मदिरा निषेध लागू गरेका छन्, जस्तैः बिहार र गुजरात । अन्य राज्यहरूमा भने बिक्रीमा नियन्त्रण गर्ने विभिन्न नियमहरू छन् ।
त्यसैगरी, अमेरिका र युरोपका धेरैजसो विकसित देशहरूमा रक्सी किन्न र उपभोग गर्नका लागि उमेर सीमा तोकिएको छ (जस्तै : १८ वा २१ वर्ष) । यसका साथै, रक्सीको विज्ञापनमाथि पनि कडा नियम लगाइएको हुन्छ ताकि युवाहरूलाई आकर्षित गर्न नसकियोस् । यी उपायहरूले रक्सीको दुरुपयोगलाई नियन्त्रण गर्न सहयोग पुर्याएका छन् ।
अन्तमा, डा. राजेन्द्र कोजूको लेखोटले यो देखाउँछ कि रक्सीको समस्या केवल व्यक्तिगत स्वास्थ्यको मात्र होइन, यो एक सामाजिक र राष्ट्रिय समस्या पनि हो । यसलाई नियन्त्रण गर्न राज्यले कडा नियम बनाउनुका साथै सामाजिक जनचेतना र नागरिकको सहभागिता पनि उत्तिकै आवश्यक छ । किनकि, रक्सीले केवल मुटु मात्र होइन धेरैको घर तथा समाजलाईनै बिगारी रहेको छ । अहिलेको अन्तरिम सरकारले यसबारेमा पनि सोचेर कार्य गर्नुपर्ने देखिन्छ ।
View : 362
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved