विराटनगर : कोशी प्रदेशमा प्रत्येक कृषक परिवारको नाममा दुई कित्ता जग्गा रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ को प्रतिवेदन अनुसार कोशी प्रदेशमा ७ लाख ८६ हजार १०८ कृषक परिवार रहेकोमा उनीहरूले ५ लाख ३२ हजार ९३७ हेक्टर जग्गामा कृषि कार्य गर्दै आएको पाइएको हो ।
कोशी प्रदेशका कृषि परिवारको नाममा जम्मा १७ लाख १९ हजार ६९२ वटा कित्ता जग्गा रहेको जनाइएको छ । जस अनुसार प्रति कृषक परिवार कित्ता संख्या २ दशमलव २ वटा रहेको कृषि गणनाले देखाएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
त्यसैगरी मोरङ जिल्लामा २ लाख ८९ हजार ०१४ कित्ता जग्गा कृषक परिवारको नाममा रहेको र प्रति परिवार कित्ता संख्या २ वटाका दरले पर्ने देखिएको हो । मोरङमा १ लाख ४५ हजार ३१८ कृषक परिवारले ९८ हजार २३३ हेक्टर जग्गामा कृषि कार्य गर्दै आएको कृषि गणनाको तथ्यांकमा उल्लेख रहेको तथ्यांक कार्यालय मोरङका निर्देशक सुवास अधिकारीले जानकारी दिए ।
कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवार रहेको र उनीहरूले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको पाइएको छ ।
अघिल्लो कृषिगणना २०६८ को तथ्यांक अनुसार भने नेपालमा ३८ लाख ३१ हजार ९३ कृषक परिवार रहेको जनाइएको थियो । उनीहरूले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेको पाइएको थियो ।
यो तथ्यांकले नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको देखाएको हो । अघिल्लो कृषि गणनाले कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । त्यसैगरी कोशी प्रदेशमा ६६ प्रतिशत र मोरङ जिल्लामा ५३ दशमलव ४ प्रतिशत कृषक परिवार रहेको २०७८ को कृषि गणनाको प्रतिवेदनमा उल्लेख छ ।
कृषि गणना अनुसार कोशी प्रदेशमा ५३ दशमलव ५ कृषि योग्य जमिन सिंचित क्षेत्र रहेको देखाएको छ । जसमध्ये मोरङमा मात्रै ८२ दशमलव ८ कृषि योग्य जग्गामा सिंचाइ सुविधा रहेको निर्देशक अधिकारीले बताए ।
त्यसैगरी कोशी प्रदेशमा धान, मकै, गहुँ बालीको क्षेत्रफल घटेको तर तरकारी र माछा पालनको क्षेत्रफल बढेको जनाइएको छ । कोशी प्रदेशमा एउटा जग्गामा लगाउने बालीको सघनता १ दशमलव ९१ प्रतिशत रहेको जनाइएको छ । यो संख्या २०४८ सालमा १ दशमलव ७८ रहेको कृषि गणनाको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले विसं २०१८ सालदेखि हरेक दश–दश वर्षमा कृषि गणना गर्दै आएको छ । कार्यालयले पछिल्लो पटक २०७८ चैत्र १ गतेदेखि देशका ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्यांक संकलन गरेर त्यसको प्रतिवेदन सार्वजनिक गरेको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायले तीनै तहका सरकारहरूलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यसहित कृषि गणना सम्पन्न भएर त्यसको प्रतिवेदनहरू प्रदेशगत रूपमा सार्वजनिक गर्न सुरू गरिएको बताए । उनले विगतमा जिल्लास्तरसम्मको कृषि तथ्यांक मात्रै प्रकाशन गर्दै आएकोमा यसपटकदेखि ७५३ वटै पालिकाको पालिकागत कृषि तथ्यांक संकलन गरी प्रकाशन गरिएको जानकारी दिए ।
कार्यालयले देशभरका ३ लाख ३० हजार ११२ वटा कृषक परिवारहरू छनोट गरी कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छीसम्वन्धी विस्तृत विवरण संकलन गरेको जनाइएको छ । त्यसका लागि ५ हजार १५० गणक, १ हजार ३५० सुपरिवेक्षक तथा ७७ कृषि गणना अधिकृतहरूसहित करिव ७ हजार २०० कर्मचारीहरू परिचालित भएको जनाइएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेशको समृद्धिको योजना निर्माणमा कृषि सम्बन्धी तथ्यांकको उपलब्धताले ठूलो सहयोग पुग्ने बताए । उनले बजेट निर्माणमा समेत कृषि गणनाका महत्वपूर्ण तथ्यांकहरूको आवश्यक रहने गरेको भन्दै त्यो आवश्यकता पूरा भएको जानकारी दिए ।
View : 123
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved