Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
विचार

विचार

अराजक विद्यार्थी नेतृत्व

८ असार २०८१, शनिवार

प्रेमकुमार साह

Advertisement

हामी  किन जान्छौं विश्वविद्यालय ? राजनीति मात्र गर्न वा आफ्नो समग्र विकासका निम्ति जान्छौं ? नेपालका  विश्वविद्यालयहरू राजनीतिको अखडा हो, यसमा कुनै दुई मत छैन । विश्वका ठुल्ठुला क्रान्तिहरू विश्वविद्यालयबाट सुरू भएका छन् र यस क्रान्तिहरूले विश्वमा ठुल्ठुला परिवर्तनहरू पनि गर्न सफल भएको छ । विश्वविद्यालयको विशेषता नै यही हो ।

एक समय थियो जब विद्यार्थीले हतियार बोकेर सडकमा निस्कनु परेको थियो, परिवर्तनको लागि । नेपालमा जति पनि परिवर्तन भएका छन्, ती सबै परिवर्तनमा विद्यार्थीहरुले अहम् भूमिका निर्वाह गरेका छन् ।  इतिहासले यसको मूल्याङ्कन पनि त्यसै अनुरूप गरेको छ । तर यो भनिरहँदा, आजका विश्वविद्यालयका विद्यार्थीहरू हिंसात्मक आन्दोलनमा उत्रिनु मुर्खता शिवाय केही होइन । समय परिवर्तन भएको छ । समयको माग अनुसार विद्यार्थीहरूहरले पनि आफ्नो विरोधको स्वरूप परिवर्तन गर्नु पर्छ ।  हिजोको माग थियो होला हिंसात्मक आन्दोलन तर आज हाम्रो माग टेबलमा वार्ताको माध्यमबाट पनि पूरा गर्न सक्छौं । 

राजनीति दलहरुको खुल्ला हस्तक्षेपले नै नेपालका विश्वविद्यालयहरुले आफ्नो साख गुमाउँदै गएको छ । यसमा हाम्रो पनि दोष छ, हामी पनि विश्वविद्यालयमा राजनीति हस्तक्षेपको खुलेर विरोध गर्न सकेनौं । किनभने हामी सबै कुनै न कुनै दलमा आस्था राख्छौं । विश्वविद्यालयमा हुने प्रधानध्यापक नियुक्तिदेखि लिएर सहायकस्तरको कर्मचारी नियुक्तसम्म राजनीति भागबण्डा हुन्छ । भौतिक निर्माण कार्यदेखि विश्वविद्यालयको शैक्षिकस्तर अभिवृद्धि गर्ने नाममा पनि राजनीति हस्तक्षेप हुन्छ । 

विश्वविद्यालय भनेको विद्यार्थीहरुको शैक्षिक योग्यता मात्र नभएर उसको समग्र पक्षको वृहत्तर विकास गर्ने थलो हो । यसैको लागि राज्यले अर्बौं रुपैयाँ लगानी गरेको हुन्छ । विद्यार्थीहरू राजनीतिक चेतना वृद्धि गर्न, राजनीति बुझ्न, राजनीतिक प्रक्रिया कसरी सञ्चालन हुन्छ, कस्तो राजनीति गर्ने , विश्व राजनीति, विश्वको आर्थिक अवस्था बुझ्न, देशमा मात्र नभएर विश्वका ताजा घटनाहरूतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । सिकाउने थलो हो, विश्वविद्यालय, तर बिडम्बना नेपालका विश्वविद्यालयहरूमा विद्यार्थी नेताहरूको नाममा राजनीतिक पार्टीहरूको गुण्डाहरू मात्र छन् । 

यसो भनिरह“दा थुप्रै विद्यार्थी नेताहरू आहात होलान् तर वास्तविकता यहीं नै हो । मैले आफ्नो विश्वविद्यालयको शैक्षिक जीवनको एउटा चरण पार गरिसक्दा, म भन्दा धेरै बर्ष अगाडि विश्वविद्यालय भर्ना भएका विद्यार्थी, अहिले पनि विद्यार्थी नेताको रूपमा त्यहीं छ ।

स्नातक तह शैक्षिक कार्यक्रम जम्मा चार वर्षको हुन्छ, तर विद्यार्थी नेताहरूको १० वर्षसम्म त्यहीं रमाइ रहन्छन् । तिनीहरूको काम भनेको पार्टीको माथिल्लो आदेशको पालना गर्ने, विमानस्थलमा नै नेताहरुको स्वागत गर्न पुग्ने, नेताहरुको लागि भिड जम्मा गर्ने, विरोधको नाममा सार्वजनिक सम्पत्ति माथि धावा बोल्ने आदि काम गर्ने हो । यति भनिरह“दा विद्यार्थी राजनितिले खराब काम मात्र गर्छ भनेको होइन । थुप्रै राम्रो कामहरु पनि गरेका छन् । 

अब जाऔं एक क्षण पूर्वको मुख्य र नेपालको परिवर्तनमा अहम् भूमिका निर्वाह गरेको विश्वविद्यालय महेन्द्र मोरङ बहुमुखी क्याम्पस र डिग्री क्याम्पसको विद्यार्थी राजनीतिमा । पछिल्लो समयमा यस क्याम्पसका नेताहरूले थुप्रै राम्रो कामहरु गरेका छन् । उदाहरणका लागि केही महिना पहिला विराटनगरमा नर्सिङ अध्ययरत एक छात्रामाथि होस्टल संचालिकाले गरेको अभद्र व्यवहारले विराटनगरलगायत देशकै ध्यान आकर्षण गरेको थियो । त्यस घटनामा जुन प्रकारले विद्यार्थी संगठनहरूद्वारा पीडितको न्यायको लागि संघर्ष गरिएको थियो , त्यो तारिफयोग्य थियो र छ । 

यसो भनिरहँदा २०८१ जेठ २७ गते आइतबारका दिन  विद्यार्थीहरूले सार्वजनिक सम्पत्तिमाथि जुन धावा बोलियो, यो निन्दनीय कार्य हो,  यसको विरोध उच्च राजनीतिक स्तरबाटै हुनु पथ्र्याे तर अहिलेसम्म भएकै छैन । घटनाको प्रारम्भ कहाँबाट भयो भने, रंगेलीको निजी विद्यालयहरू चर्को शुल्क लियो रे । केही विद्यार्थी नेताहरुले आफ्नो राजनीतिक छवि चम्काउन बेला बेलामा यस्ता निन्दनीय कार्यहरू गर्ने गर्छ ।

निजी विद्यालयहरू नाफा कमाउने उद्देश्यका साथ स्थापना भएका हुन्छन् । उनीहरुको आफ्नै सञ्चालन खर्च हुन्छ, ठुलो पुँजी लगानी गरिएको हुन्छ, राज्यलाई कर तिरेको हुन्छ, र त्यहीं गुणस्तर शिक्षा पनि प्रदान गर्ने गर्छ । निजी विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई जबर्जस्ती भर्न गराएका हँुदैनन् । निजी विद्यालयहरू बढी शुल्क लियो भने  त्यसलाई कारबाही गर्न ऐन, कानुन र तालुक निकाय छ । प्रक्रिया छ । रंगेली नगरपालिकाको मेयरको कार्यकक्षमा जुन प्रकारको कार्य गरिएको छ, त्यो दण्डनीय छ । विद्यार्थी नेताको नाममा अराजक गतिविधि गर्ने छुट कसैलाई छैन, यहाँसम्म असली विद्यार्थीलाई पनि छैन ।  बारम्बार यस्ता घटनाहरु कस्को संरक्षण र सम्बद्र्धनमा हुने गर्छ ? 

गत वर्ष (२०८० असोज ३ गते )मात्र विराटनगरकै डिग्री क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रकको गाडीलाई आगो लगाई जलाइयो  । कलेजमा प्रशासन र विद्यार्थीबीच सामान्य मतभेद हुँदैमा यस्तोे अराजक गतिविधि उत्रिने विद्यार्थी हुनै सक्दैन । त्यो घटनाको दोषीहरू प्रहरीले पत्ता लगाई सक्दा पनि राजनीति दबाबमा परेर क्याम्पस प्रशासनले मुद्दा फिर्ता गर्नु परेको थियो । त्यसैको उपज हो, यो ताजा घटना, जहाँ उग्र विद्यर्थीहरूको समूहले महेन्द्र मोरङ बहुमुखी क्याम्पस अगाडि प्रदेश योजना आयोगको उपाध्यक्ष चढ्ने गाडीमा गरिएको आगजनी र अन्य गाडीहरु माथि ढुंगामुढा ।

यी तत्वहरूलाई थाहा छ, हामीले जतिसुकै अराजकता सिर्जना गरे पनि हुन्छ, किनभने हाम्रो संरक्षण गर्नेहरु माथि छन् । उनीहरूले हामीलाई केही हुन दिंदैनन् । हामी विद्यार्थी हौं, हाम्रो संगठन छ । हामीलाई राजनीति संरक्षण प्राप्त छ । हाम्रो महान् विगत छ, जहाँ राज्य पनि विद्यार्थीको अगाडि नतमस्तक हुनु परेको छ । हामी गल्ती गर्यौं भन्दै थुन्ने, धरपकड गर्ने, मुद्दा चलाउने, यो राज्यको यत्रो शाहस । कि यो प्रशासनलाई थाहा छैन कि राज्य चलाउनेहरु नै हाम्रो संरक्षक हो भनेर ?  

विद्यार्थी नेताहरूले विद्यार्थीको हकहितको लागि काम गर्ने हो । निजी विद्यालयहरू बढी शुल्क लियो भने होइन, हाम्रो सार्वजनिक विद्यालयहरूको स्तर किन खस्किंदै गैरहेको छ, यसलाई सुधार गर्न के गर्नु पर्छ ?  तपाईं विश्वविद्यालयको विद्यार्थी हुनुहुन्छ, तपाईं यो समाजको एउटा बौद्धिक व्यक्तित्व हो, तपाईंले समस्या देखाएर , आफ्नो राजनीतिक छबि चम्काउन होइन, त्यसको समाधानको लागि कार्ययोजना बनाएर पहल गर्ने हो । 

किन आज समाजमा निजी विद्यालयहरूको जालो फैलिंदै छन् ? किन राज्यको अर्बौं रुपैयाँ लगानी रहेको सार्वजनिक विद्यालयहरुमाथि अभिभावक र विद्यार्थीको विश्वास छैन ?  विद्यार्थी नेताहरूले यस्ता विषयहरु उठाएर टेबल वार्ता गरेर समस्याको समाधानका गर्ने हो । आगजनी, तोडफोड गर्ने होइन । राजनीति संरक्षणको आडमा गरिएको अपराध पनि अपराध नै हो । जुन गाडी तपाईंले जलाएर ध्वस्त पार्नु भयो, त्यो गाडी पनि तपाईं हाम्रै पैसाले किनिएको गाडी हो । हामी हाम्रो आफ्नै सम्पत्ति नोक्सान गरेर, कस्तो विरोध प्रदर्शन गर्दैछौं । 

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको विरोधको शैली रचनात्मक हुनु पर्छ । विरोधले कसैको केही क्षति नगरी, हामी हाम्रो माग पूरा गराउन सक्नुपर्छ, तब न हामी विश्वविद्यालयको विद्यार्थी । विश्वविद्यालयको विद्यार्थीहरु समाज, राज्य र विश्वको बौद्धिक सम्पत्तिको हो । हामीलाई अराजक हुन् छुट छैन । कुनै पनि मानवीय सभ्यता कस्तो थियो, त्यो समाज,  राज्य, देश कस्तो थियो हेर्न, पहिला हामी त्यहा“को विश्वविद्यालय र विद्यार्थी कस्तो थियौं भनेर हेर्ने गर्छौं । विश्वविद्यालय र विद्यार्थी जति सिर्जनशील हुन्छ, त्यो समाज र देशको विकास त्यति नै छिटो हुन्छ ।

 विश्वविद्यालयमा राजनीति हुन्छ र पर्छ, यो अनिवार्य हो । किनभने यहींबाट हो राज्य सञ्चालकहरु निस्कने । हामीलाई कस्तो राज्य सञ्चालकहरु चाहिएको छ ? समन्वय , सहकार्य र वार्ताको माध्यमबाट समस्याको हल गर्ने कि अराजक गतिविधि गरेर झन समस्यालाई बढवा दिने नेतृत्व ? 

हाम्रो नेतृत्व किन यति कमजोर ? गलतलाई गलत भन्न हामी किन डराउँछौ ? किन हाम्रो राजनीतिक दलहरु खुलेर यस्ता घटनाहरूको विरोध गर्दैनन् ? राजनीति दलहरुलाई डर होला आज यी घटनाहरूको संरक्षण गरिएन  भने, भोलि विमानस्थलमा को आउला स्वागत गर्न, कस्ले मेरा लागि भीड जम्मा गर्ला, कस्ले मेरो होमा हो मिलाउने, मैले जे भने पनि गडड ताली बजाउने । हो म बुझ्छु, राजनीतिक दल र नेताहरुमा यस्ता डरहरु धेरै छन्  तर नागरिक समाजहरू पनि किन विरोध गरिरहेका छैनन् ? नागरिक समाजलाई के को डर ? 

राजनीतिदलहरू सुध्रिन जरूरी छ, यसको सुरूवात विश्वविद्यालयका विद्यार्थीहरू नेताहरुबाट हुन जरूरी छ । आज जसरी हाम्रो स्कुलिङ हुन्छ, भोलि हामी त्यस्तै हुन्छौं ।  विश्वविद्यालय प्रज्ञा थलो हो, यसको हरेक कार्यमा प्रज्ञान्ता झल्किनु पर्छ । विद्यार्थीहरु रचनात्मक हुन जरुरी छ, समय परिवर्तन भएको छ, सधैं गाडी जलाएर, टायर बालेर, तोडफोड गरेर, सार्वजनिक सम्पत्तिमाथि धावा बोलेर मात्र समस्याको समाधानका खोज्ने होइन । टेबल, वार्ता, रचनात्मक विरोधशैली अपनाएर पनि समस्याको समाधान गर्न सकिन्छ ।   किनकि यो पङ्तीकार  स्वयं विश्वविद्यालय विद्यार्थी हो । 

premkumarsah518@gmail.com

View : 441

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved