Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

‘केन्द्राध्यक्ष र निरीक्षककै कारण एसईई अमर्यादित’

‘परीक्षामा अनियमितता गर्नेलाई फौजदारी अपराधको कसुरमा सजाय हुन्छ । यो भन्दा ठूलो सजाय के हुन्छ ? तर पनि अनियमितता भैरहेको छ ।’
उद्घोष सम्वाददाता
३० फागुन २०८०, बुधवार

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा केन्द्राध्यक्ष र कक्षा निरीक्षकहरुकै मिलोमतोको कारण मर्यादित हुन नसकेको सरोकारवालाहरुले दावी गरेका छन् । शिक्षा विकास तथा समन्वय एकाईं मोरङका प्रमुख टंकप्रसाद गौतमले परीक्षा रहेको विद्यालयका केन्द्राध्यक्ष र कक्षामा बसेका निरीक्षकको मिलोमतोकै कारण परीक्षा अनियमितता हुने गरेको बताए ।

प्रमुख गौतमले गत वर्ष मोरङमा एसईई परीक्षामा अमर्यादित कार्य गर्ने पाँच परीक्षा केन्द्रलाई कार्वाही स्वरुप दुई वर्षका लागि खारेज गरिएको बताए ।  एकैदिन चार सय दुई नक्कली परीक्षार्थी पक्राउ परेका जनाउँदै केन्द्राध्यक्ष र कक्षा निरीक्षकको मिलेमतो बिना सो कार्य कसरी हुन सक्छ भनेर प्रति प्रश्न गरे ।

परीक्षामा अनियमितता गर्नेलाई फौजदारी अपराधको सजाय हुने बताउँदै उनले भने, ‘परीक्षामा अनियमितता गर्नेलाई फौजदारी अपराधको कसुरमा सजाय हुन्छ । यो भन्दा ठूलो सजाय के हुन्छ ? तर पनि अनियमितता भैरहेको छ ।’ 

एजुकेशन हेल्पलाइन विराटनगरको आयोजना, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश विराटनगरको समन्वय एवम् मनकामना, ग्लोबल एकेडेमी विद्यालयको सहकार्यमा भएको मर्यादित परीक्षा सबैको सरोकार विषयमा भएको अन्तरक्रियामा बोल्दै परीक्षा मर्यादित बनाउन जिम्मेवार व्यक्तिहरु अझै जिम्मेवार हुनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा परीक्षा समन्वय समिति मोरङका अध्यक्ष एवम् मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मर्यादित परीक्षाका लागि शिक्षक, अभिभावक, पाठ्यक्रम सबैको भूमिका समन्वयकारी हुनुपर्ने बताए । 

राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश विराटनगरका प्रमुख जीवन गड्तौलाले मर्यादित परीक्षाका लागि कक्षा १ देखि नै पढ्नु पर्छ भनेर विद्यार्थीलाई सिकाउनु पर्ने बताए ।

एसईई र कक्षा १२ को परीक्षा केन्द्रित गरेर मर्यादित परीक्षा गर्ने प्रयास गर्नु निरर्थक हुने स्पष्ट पारे । पछिल्लो समयमा परीक्षाहलमा परीक्षार्थीसँग ‘कार्वन कपि’ मा उत्तर पाउनुले केन्द्राध्यक्ष र निरीक्षकविना त्यस्तो काम हुनै नसक्न उनले जिकिर गरे । 

सामाजिक विकास मन्त्रालय शिक्षा शाखाका प्रमुख गोपाल दाहालले विद्यार्थीको मूल्याङ्कनमा शिक्षकलाई सम्पूर्ण जिम्मेवारी प्रदान गर्नु पर्नेमा जोड दिए ।

सो अवसरमा आदर्श मावि विराटनगरका प्राचार्य सन्तोष पोखरेलले परीक्षामा अनियमियता गरेका भनिएका केन्द्रहरु कार्वाहीमा पर्नुका सट्टा पुरस्कृत हुने गरेको गुनासो गरे । अनियमितता गरेका केन्द्रहरुमा खुल्ला हुनाले विद्यार्थी धेरै पास भए अनि उनीहरु नै पुरस्कृत भएको उनको आरोप थियो । 

सत्यनारायण मावि विराटनगरका प्राचार्य पुरुषोत्तम गुरागाईंले शिक्षकलाई मर्यादित परीक्षाका लागि तालिम, विद्यार्थीलाई पढ्नका लागि उत्प्रेरणाका साथै अभिभावकबाट चासो अनि सुपरीवेक्षण र अनुगमन व्यवस्थित भएमा मर्यादित परीक्षा हुन सक्ने बताए । मिल्स माविका प्राचार्य विन्दु लावतीले एसईई आयो भन्दै बढी होहल्ला गर्दा विद्यार्थीमा त्रास बढी हुने गरेको र त्यसले परीक्षालाई आतंकित र अमर्यादित बनाउन बल पुर्‍याएको बताए । 

डिग्री क्याम्पस विराटनगरका प्राडा टुनराज भट्टराईले शिक्षालाई समय सापेक्ष बनाएर लैजानु पर्नेमा जोड दिंदै परीक्षाको  पद्धतिमा पनि परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

सो अवसरमा सगरमाथा स्कुल विराटनगरका प्राचार्य त्रिलोचन गौतम, एभरेष्ट स्कुलका सहप्राचार्य टीएन भण्डारी, विद्यार्थी पारस श्रेष्ठ, पत्रकार सुशीला पाठक, अशोक लामा, नारायण ढकाल, सावित्रि पराजुली लगायतले एसईई र कक्षा १२ को परीक्षा मर्यादित बनाउन जोड दिएका थिए । 

यही चैत १५ गतेदेखि हुने एसईई परीक्षा र बैशाख १४ गते देखि हुने कक्षा १२ को परीक्षालाई लक्षित गरी सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको आयोजक एजुकेशन हेल्पलाइनका अध्यक्ष राजेन्द्र ढकालले बताए ।

View : 431

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved