Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा डेंगुबाट ११ सय ७३ संक्रमित

जुनु भट्टराई
३१ भदौ २०८१, सोमवार

विराटनगर । देशका विभिन्न भागमा तीब्र गतिमा बढ्दै गएको डेंगुको संक्रमण कोशी प्रदेशमा पनि बढ्दै गएको पाइएको छ । कोशी प्रदेशमा साउन यता दुई महिनाको अवधिमा १ हजार १ सय ७३ जनामा डेंगुको संक्रमण देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा डेंगु संक्रमण बढी देखिएको छ । निर्देशनालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी मोरडमा ५ सय ३३ जना नयाँ डेंगु संक्रमित भेटिएका छन् । 

त्यसैगरि दोस्रोमा सुनसरीमा १ सय ५५ र झापामा १ सय २८ जना जना डेंगु संक्रमित भेटिएका छन् । पछिल्ला दिनहरूमा कोशी प्रदेशका पहाडी जिल्लाहरू संखुवासभा, धनकुटा, भोजपुर, उदयपुर, पाँचथरलगायतका जिल्लाहरूमा फनि डेंगुको संक्रमण बढ्दो त्रममा देखिन थालेको छ । साउन यता डेंगु संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

गत वर्ष कोशी प्रदेशमा ३८ हजार ३ सय ८४ मानिसहरू डेंगुबाट संक्रमित भएका थिए । सुनसरी जिल्लामा मात्रै २० हजार भन्दा बढी संक्रमित भएका थिए भने गत वर्ष डेंगु संक्रमणका कारण कोशी प्रदेशमा १८ जनाले ज्यान गुमाएका थिए । 

स्वास्थ निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले देशभरमा फैलिदै गएको डेंगु संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले तीब्र रूपमा काम गरिरहेको बताए । उनले डेंगु नियन्त्रणका लागि हरेक जिल्लाका स्वास्थ्य प्रमुखहरूसँग त्यहाँको बस्तुस्थिति बुझेर जाँच गर्ने र संक्रमणका विषयमा स्थानीय स्तरमा वकालत गर्ने कार्यर् गरिरहेको बताउँदै हरेक पालिका र स्थानीय तहसँग समन्वय गरेर लामखुट्टे ‘खोज र नष्ट गर’ भन्ने अभियान चलाइएको बताए ।

यसवर्ष हामीले सुरूवाती अवस्थामै बढी केशहरू देखिएका र देखिने सम्भावना भएका ठाउँमा अवस्था हेरेर खोज र नष्ट गर्ने अभियान चलाउन परिपत्र गरिसकेका छौं, निर्देशक बस्नेतले भने, ‘गत वर्ष डेंगु नियन्त्रणका लागि बनेका पालिकास्तरका समितिहरूलाई यसवर्ष पनि पुनः सक्रिय बनाउन भनेका छौ, उहाँहरू संक्रमणका बारेमा पूर्ण जानकार भएकाले अभियान प्रभावकारी बन्नेमा बिश्वस्त छौं ।’ 

त्यसबाहेक प्रदेश आपूर्ति ब्यवस्थापन केन्द्र कोशी प्रदेशमा केही किट स्टकमा भएको बताउँदै थप किटको आवश्यक परिहालेमा आपतकालीन बजेटको पनि ब्यवस्था गरेकाले आत्तिनुपर्ने अवस्था भने नरहेको जानकरी दिए । 

डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । विशेषगरी विहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने भएकाले उक्त समयमा बढी सतर्कता अपनाउन बिज्ञहरूले सुझाव दिएका छन् । यसको संक्रमणबाट बच्न घरवरिपरि सफा राख्न र पानी जम्न नदिन चिकित्सकले सुझाएका छन् ।

View : 231

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved