Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

के हो घर बीमालेख

राजेश सरदार थारू
१ पुष २०८०, आइतवार

विश्वको सबैभन्दा शक्तिशाली भूकम्पीय क्षेत्रमध्ये एक नेपालमा भूकम्पको लामो इतिहास छ । नेपाल भूइँंचालो जोखिम मुलुकको रूपमा रहेको छ । विगतदेखि वर्तमानसम्मको घटनाक्रम हेर्ने हो भने भूइँंचालोबाट हजारौं नेपालीले ज्यान गुमाएका छन् । 

विक्रम सम्वत १३१२ मा गएको ७.८ रेक्टर स्केलको महाभूकम्पबाट तत्कालिन राजा अभय मल्लकोसमेत ज्यान गएको थियो । काठमाडौंको तत्कालीन जनसंख्याको एक तिहाइलाई सखाप पार्‍यो । त्यस यता यस भौगोलिक क्षेत्र नेपालमा हरेक शताब्दीमा कम्तीमा एउटा ठूलो भूकम्प गएको छ ।

यस्ता विनाशकारी भूइँंचालोबाट हजारौं मानिसले ज्यान गुमाउनुको साथै ठूलो संख्यामा पनि घरबार ध्वस्त भई घरबारबिहीन भएका कुरा बिर्सनै नसक्ने इतिहास छ । 

घरबारबिहीन भएको बेलामा सरकारको मुख ताक्नु पर्ने अवस्था आउँछ र यस्तो अवस्थामा सरकारको एक्लो प्रयाशबाट सम्भव पनि हुँदैन र सरकारले अन्य स्वदेशी संघ–संस्था तथा अन्तर्राष्टिय समुदाय र संघ–संस्थाको मुख ताक्न पुगदछन् । यस्तो बिषम परिस्थितमा सरकारी प्रशासनले पीडितको माग पूरा नगर्न सक्दछन् । 

त्यसकारण जनताको जीउ, ज्यान तथा धनजनको सुरक्षाको निमित्त घर बीमा गर्नु आवश्यक छ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति तथा घर बीमा सम्बन्धमा सम्पत्ति निर्देशन २०८० जारी गरेको छ । रू १ करोडसम्मको घर बीमा गर्दा प्रति हजारमा ०.५ पैसाको दर कायम गरिएको छ भने १ करोड भन्दा माथि २ करोड सम्मको घर बीमांक रकममा प्रति हजार १ं.५० पैसा कायम गरेको छ । जस्तो कि १ करोडसम्मको घरको बीमा गर्दा ०.५ पैसाको दरले गणना गर्दा भ्याट बाहेकको रकम रू ५ हजार हुन आउँछ । गणना गर्ने तरिका हेर्ने हो भने बीमांक रकम १,००,००,००० लाई ०.५ पैसाले गुणन गर्दा रू ५,००० हुन आउँछ ।

प्रश्न उठ्न सक्छ कि घर बीमा के हो र यसले कस्तो किसिमको आर्थिक लाभ र सुरक्षा प्रदान गर्न सक्तछ । त जानौं घर बीमा के हो । बसोबासका लागि प्रयोग गरिने घर तथा घर परिसरभित्र रहेको सामान तथा सम्पत्तिको क्षतिविरूद्ध बीमा गर्नका लागि बीमितले पूरा बीमा शुल्क भुक्तानी गरेको द्विपक्षीय करारको रूपमा घर बीमालेख जारी गरिन्छ । 

‘घर’ भन्नाले स्थायी रूपले वसोवास गरिने गैर व्यवसायिक वा गैर व्यापारिक प्रयोजनको लागि निर्मित बीमितको बीमायोग्य हित रहेको आवासीय भवन वा अपार्टमेन्ट तथा त्यसमा रहेको चल–अचल सम्पत्तिसमेत सम्झिनु पर्छ र सो शब्दले आवासीय प्रयोजनको लागि भाडामा दिइएको भवन वा अपार्टमेन्ट समेतलाई जनाउँछ साथै, अपार्टमेन्टको हकमा बीमितको बीमायोग्य हित रहेको अपार्टमेन्टको समानुपातिक रूपले हुन आउने साझा क्षेत्रलाईसमेत घर बीमाले देहायको कारणबाट बीमा गरिएको भवन वा भवनमा रहेको सम्पत्तिको क्षति भएमा सोको क्षतिपूर्ति दिनेछ । 

अग्निका कारण क्षति : अग्निको कारणले भएको क्षति । 

हावाहुरीका कारण क्षति : हावा, हुरी वतास, आँधिबेहरी वा तुफान, चक्रबात वा भुमरी, बायुमणडलीय उथलपथुलको कारणबाट भएको क्षति पर्दछन् । 

पानीजन्य क्षति : असिना, हिउँ वा हिमआँधी, बाढी, जलमग्न, डुवान, पाइप, ट्याङ्की, बाँध, पोखरी, स्प्रिङ्कल, ढल वा पानीको निकास वा अन्य कुनै बस्तु थुनिएर वा त्यसको निकास बन्द भएर वा त्यसबाट बढी भएर, चुहिएर वा फुटिएर भएको क्षति । 

भूमिजन्य क्षति : भूइँचालो वा कुनै विस्फोट भई जमिन हल्लिएको कारणले भएको क्षति । 

खस्ने वा भासिने जन्य क्षति : पहिरो वा भूस्खलन, ढुंगा खस्ने, हिलो वा लेदो बग्ने, जमिन, ढिस्को, माटो, बालुवा, रोडा, ढुंगा खस्ने वा भासिने, किनार, बाटो, भूइँ, सडक खस्ने वा भासिने कारणले भएको क्षति । चट्याङ्जन्य क्षति ः चट्याङको कारणले भएको क्षति ।

विस्फोटन जन्य क्षति : एक्सप्लोजन, इम्प्लोजनको कारणले भएको क्षति आकासीय सामग्रीजन्य क्षति ः हवाई या, रकेट, आकाशमा उडने बस्तु, आकाशीय पिण्ड, अपरिचित बस्तु, आकाशबाट अकस्मात आउने कुनै पनि यन्त्र, उपकरण वा बस्तु, उड्ने बस्तुको उच्च आवाजको कारणले भएको क्षति ।

धक्का दिएर, छोएर, लडेर वा लागेर हुने क्षति : सवारी साधन, रेल, जनावर वा अन्य चलायमान बस्तुले धक्का दिएर भएको क्षति, रूख, विरूवा, खम्बा, तार, सामान, यन्त्र उपकरण वा अन्य बाह्य बस्तुले धक्का दिएर, छोएर भएको क्षति, अन्य घर वा भौतिक संरचनाले धक्का दिएर, छोएर, लडेर, लागेर भएको क्षति ।

स्वजलन : आन्तरिक जलन वा आफैं बलेको कारणले भएको क्षति ।

हुलदङ्गा, आंतकवाद जन्य क्षति : हुलदङ्गा, हडताल, रिसइवीपूर्ण कार्य, आतंकवाद तथा विध्वंशात्मक क्रियाकलाप, प्रतिघात (स्यावोटेज) को कारणले भएको क्षति । अन्य क्षतिमा क्षेप्यास्त्र परीक्षणबाट भएको क्षति पर्दछन् । 
त्यसैगरी बीमकले बीमितलाई अतिरिक्त सुविधा पनि उपलब्ध गराएको छ ।

१. सर्भेयर फी : मूल्यांकन रकमको ३ प्रतिशत नबढने गरी भुक्तानी प्रदान गर्नेछ । 

२. क्षतिग्रस्त सम्पत्तिको भग्नावशेष हटाउन १० लाख रूपैयाँ वा मूल्यांकन रकमको १० प्रतिशत जुन कम हुन्छ सोही बराबरको रकम उपलब्ध गराउने छ । 

३. क) बीमितको परिवारलाई बढीमा ५ जना सदस्यलाई घर परिसरभित्र भएको दुर्घटनाबाट मत्यृु भएमा वा दुबैहात वा खुट्टा काटिई अलग भएमा वा दुबै आँखाको दृष्य नफर्किने गरी पूर्ण रूपमा क्षति भएमा प्रति व्यक्ति जनही ७ लाख प्रदान गरिनेछ । 

३. ख) एउटा हातको नाडी वा खुट्टाको गोली गाँठो वा सो भन्दा माथिको भाग काटिन गई अलग भएमा प्रतिब्यक्ति प्रति हात वा प्रति खुट्टा रू तीन लाख

३. ग) हात वा खुट्टाको बुढीऔंला काट्न गएमा प्रतिब्यक्ति प्रति बुढीऔंला १ लाख ।

३. घ) हात वा खुट्टाको अन्य कुनै औंला काटिएमा प्रतिब्यक्ति प्रति औला रू. ५० हजार ।

३. ङ) अन्य अंगको क्ष्ति भएमा चिकित्सकको सिफारिस अनुसार समानुपातिक हिसाबले हुन आउने रकम बीमितलाई प्रदान गरिनेछ भने,

४. चोरी, लुटपाट वा डकैति क्षतिमा : घर वा घर परिसरमा चोरी, लुटपाट वा डकैती वा सोको प्रयासस्वरूप भएको क्षतिको बीमकले क्षतिपूर्ति प्रदान गर्नेछ ।

दावी सम्बन्धी प्रक्रिया :

यस बीमालेखले रक्षावरण गरेको जोखिमहरूका कारणबाट बीमितको भवन, आवास वा सो भित्र रहेको सामानको हानि नोक्सानी भएमा आफैले वा सदस्य संस्थामार्फत देहायका कागजातहरू सहित निर्धारित समय भित्र बीमक वा बीमकका प्रतिनिधि समक्ष निवेदन पेस गरिसक्नु पर्दछ ।

दावी प्रक्रियमको लागि आवश्यक कागजातहरू पनि यथाशक्य चाडै नै निर्धारित समयभित्र बुझाउन सके बीमा दावी भुक्तानीमा सहजता हुन्छ । पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन (आवश्यकता अनुसार), सम्बन्धित पालिका, वडाबाट क्षतिको प्रमाणपत्र, मुचुल्का, लालपूर्जा प्रतिलिपि, निर्माण सम्पन्न कागज, नक्साको प्रतिलिपि, प्रहरी अधिकारी, दमकल, तथा मौसम विभागका रिपोर्टहरू, घर मूल्यांकन रिपोर्ट, हानी–नोक्सानीको विस्तृत अनुमान उचितसँग मर्मत लागतसहित मापन, गणना जहाँ लागू हुन्छ । 

हानी–नोक्सानीका केही तस्वीर, भिडियोहरू यस प्रकार समयमा नै आफ्नो घर सम्पत्तिको बीमा गराउन सके भविष्यमा दुर्घटनाको कारणले हुने सम्भावित आर्थिक क्षतिबाट बँच्न सकिन्छ । यसको लागि सरोकारबाला पक्ष, सरकारले बीमाको प्रचारप्रसारमा जोड दिंदै आम जनमानिससँग हातेमालो गरी एक आपसमा सहयोग र सहकार्य गर्न सके भविष्यमा हुने भवितब्य दुर्घटनाबाट सरकारी प्रशासनको पनि आर्थिक कम हुने र आम जन मानिस पनि सरकार माथिको आर्थिक परनिर्भरता घट्न जान्छ । 

(बिजिनेश इन्स्योरेन्सः १४ मार्च २०१७) को रिपोर्ट अनुसार अप्रिल २५ को भूकम्पलाई सन् २०१५ को सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोपका रूपमा पहिचान गर्दै निर्जीवन बीमा कम्पनीहरूले १३ अर्ब रूपैयाँभन्दा बढीको भुक्तानीसहित झण्डै १७ हजार बीमा दाबीहरू समाधान गरेका छन् ।

त्यसकारण घरबीमा लेखले प्राकृतिक प्रकोपबाट र विपत्ति र बीमा शर्तको आधारमा हुने क्षतिको कभरेज प्रदान गर्दछ । यसले घर, सम्पत्ति पुनर्स्थापना वा पुनर्निर्माणमा मद्दत गर्न सक्छ । अप्रत्याशित क्षति वा नोक्सानको आर्थिक बोझलाई कम गर्छ । घर धनिलाई उनीहरूको सम्पत्तिमा हुने दुर्घटना वा चोटपटकबाट उत्पन्न हुने कानूनी दायित्वहरू विरूद्ध सुरक्षा प्रदान गर्दछ । घरधनीमा आर्थिक तनाव कम गरी मर्मत वा पुनर्निर्माणको लागि खर्चहरू कभर गर्न मद्दत गर्न सक्छ । 

नेपालको भौगोलिक स्थिति र प्राकृतिक प्रकोपबाट निम्त्याउने सम्भावित जोखिमहरूलाई ध्यानमा राखी, अप्रत्याशित घटनाहरूको सवालमा सवैले आˆनो सम्पत्ति र आर्थिक सुरक्षा गर्न घर बीमा गर्नु जरूरी देखिन्छ ।

View : 56

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved