राजनीतिशास्त्रको सामान्य मान्यता हो कि नाजीवादी शासकीय शैलीबाट उत्पन्न राजनीतिक तरलताको अवस्थामा सामान्य घटनाक्रमले पनि असामान्य पराकम्पन ल्याउँछ । यो मान्यताको प्रभावले वर्तमान राजनीतिलाई गरमागरम बनाएको छ । कमरेड विद्या भण्डारीको सक्रिय राजनीतिक पुनरागमनको घोषणा सामान्य र नितान्त व्यक्तिगत थियो, तर यसको राजनीतिक पराकम्पन भने असामान्य बन्यो । यो पराकम्पनबाट उत्पन्न उत्साह र निरुत्साहको जुहारी, अनि पुनरागमन ‘ठीक’ या ’बेठीक’ को बहसले एमाले इतरका शक्तिहरूलाई झस्काएको छ भने एमाले पंक्तिलाई पक्ष–विपक्षमा विभाजित गरेको छ ।
विद्या भण्डारीको पुनरागमन : अवसर कि चुनौती ?
जहाँसम्म विद्या कमरेडको एमालेमा पुनरागमनको सवाल छ, उहाँलाई एमालेले जुन स्थानमा पु¥यायो, सो स्थानको कार्यकाल पूरा गरी राजकीय सुविधा त्यागका साथ मातृ पार्टीमा फर्कन खोज्नु सकारात्मक पक्ष हो । यो एमालेका लागि स्वर्णिम अवसर र बृहत्तर वाम गठबन्धनका लागि सम्भावना पनि हो । तर, विचारशून्यताको चंगुलमा भासिएको ‘ओलीपन्थी प्रालि’ यसलाई मान्न तयार देखिंदैन । यो लेख तयार पार्दासम्म उहाँलाई छेकबार गर्न अनेक बहानाबाजीमा तानाबुना बुनिरहेको देखिन्छ ।
हुन त एमालेका वर्तमान तहगत संगठनका सञ्जालहरूमा सैद्धान्तिक शून्यताले घर जमाएको छ । घोर अवसरवाद र अनेकौं नाममा डामिएका दागहरूले पार्टी संगठनमा कब्जा जमाएका छन् । त्यो अराजनीतिक भीडले एमालेलाई सिद्धान्तबाट विचलित र कार्यभारबाट पथविमुख गराउ“दै घोर दक्षिणपन्थी अवसरवादको दलदलमा फसाएको छ । राजकीय तथा पार्टीगत अन्तरजीवन पथभ्रष्टताको आहालमा डुबेर नीतिगत तहको माथिदेखि तलसम्मका संगठनका जिम्मेवारहरू दलाल नोकरशाही वर्गका मुन्सीजस्ता बनेका छन् । पार्टी कार्यालयहरू अपराध संरक्षण केन्द्रजस्ता भएका छन् ।
के कमरेड विद्या यस्तो जमातको घेराबाट मुक्त बन्न सक्नुहोला ? घेरामुक्त बनेर घेरा तोड्न सक्दा डुब्न लागेको जहाजलाई अवतरण गराउने सम्भावना टरेको छैन । तर यथास्थितिकै ‘लर्बरिएको’ भीडलाई पुनर्गठन गर्न नसक्ने हो भने उहा“को पुनरागमनले मात्र जहाज डुब्नबाट बच्ने सम्भावना देखिंदैन ।
बज्रस्वा“ठहरूको बन्धनमा राजनीति
राज्य होस् वा राजनीतिक दल, बज्रस्वाँठहरूको बागडोरले राजनीतिलाई ‘बा“दरको हातमा नरिवल’ को अवस्थामा पु¥याउँछ । अराजकता, अपराध र अपारदर्शिता सामान्य बन्छ । राजनीति सीमित घरवालाको खेलौना बन्छ, शासकहरू नव–महाराजको अवतारमा उदाउँछन् । राजनीतिक दलहरू गन्तव्यहीन बन्छन्, विधि, विधान, सामूहिकता अनि निष्ठा र नैतिकता समाप्त हुन्छ । जनता रैती अनि कार्यकर्ता दास ठहरिन्छन् ।
संवैधानिक निकायहरू शासकका खेलौना बन्छन्, जनसरोकारी निकायमा आसीनहरू इमान शून्यताले परिभूषित हुन्छन् । आदेश सिद्धान्त बन्छ, मतिभ्रष्टता मूल कार्यभार बन्छ । नन्दी, भृंगी, भूत, प्रेत, पिशाच र प्रथम गणहरूको एकल साम्राज्यले जनतालाई भ्रमको कणिकाले भुल्याइरहन्छन् । वर्तमान एमाले यस्तो बज्रस्वा“ठ जमातको एउटा ज्वलन्त उदाहरण हो ।
एमाले स्वरूपमा सर्वशक्तिमान् जस्तो देखिए पनि सारमा सुनिएर मोटाएको छ । नेतृत्वले ‘जबज’ (जनताको बहुदलीय जनवाद) लाई ठगी खाने भा“डो बनाएको छ । पुष्पलाल, मनमोहन र मदन भण्डारी भित्तामा मात्र सीमित छन् । वामपन्थको सामान्य मूल्य समेतलाई धोती लगाएको छ । ‘हामपन्थ’ को जमात शीर्ष नेतृत्वका काखमा छ । योग्यता, क्षमता, निष्ठा, निरन्तरता र ऐतिहासिकता जस्ता राजनीतिका आधारभूत सवालहरू खोपीको देवता बनेका छन् । व्यक्तिवादले सामूहिकतालाई तहसनहस बनाएको छ । ‘भीडदेखि भीडसम्म’ अनि ‘चुनावदेखि चुनावसम्म’ को कार्यनीति जबजको मूल मर्म बनेको छ । जसरी भए पनि सत्तामा जानु र सत्ताको आडमा भ्रष्टाचार गर्नु कार्यभार बनेको छ ।
संकटमा कम्युनिष्ट मूल्यमान्यता
समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवाद पुस्तकका ठेली र मञ्चका भाषणमा सीमित बनेका छन् । बहुदलीय जनवादलाई धनवाद र डनवादको सङ्गमस्थल बनाइएको छ । वर्गीय चिन्तन धरासायी बनेको छ । उल्लिखित विषमतालाई चिर्न एमालेको अन्तरजीवनमा आमूल परिवर्तनको जरुरत छ, जुन नेतृत्व परिवर्तन बिना सम्भव छैन ।
कम्युनिस्ट आवरणमा गैर–कम्युनिस्ट चिन्तनले सादा जीवन, उच्च विचार अनि कठोर सङ्घर्षको न्यूनतम मूल्य शून्यतामा झारेको छ । नेतृत्व वर्ग सामाजिक तथा सांस्कृतिक विचलनको वाहक बनेर जनतालाई विकृत आहालमा पौडी खेलाउँदा समाज विकृत संस्कृतिको शिकार बनेको छ । ठूला होटलको ककटेल भोजमा प्रमुख अतिथि बन्नु नेतृत्वको दिनचर्या बनेको छ ।
पटकौं राजकीय नेतृत्वमा पुग्दा पनि राजा महेन्द्रको पालामा विधेयक बनेर वीरेन्द्रले कानुनको रूपमा ल्याएको सामाजिक सुधार तथा व्यवहार ऐनको समेत पालना गर्न सकिरहेका छैनन् । विवाह, चुडाकर्म जस्ता सामाजिक व्यवहारहरू सामान्य जनताले थाम्न नसक्ने भएका छन् । नेतादेखि कार्यकर्तासम्म धार्मिक अतिवादको भङ्गालोमा फसेका छन् । यस्तो विषमताको घडीमा विद्या कमरेडको सुदर्शनचक्रले काम गर्ला या नगर्ला, त्यो समयले बताउला । तर वर्तमान नेतृत्वको विस्थापनमा विद्याको जेहाद सकारात्मक छ ।
श्रमजीवी जनताका सपनाहरू सपनामै सीमित भएका छन् । निष्ठावान्हरू टाउको उठाउन सक्ने अवस्थामा छैनन् । बौद्धिक आवरणको अवसरपरस्त शिक्षित दासताले वैचारिक विचलनलाई मलजल गरिरहेको छ । एनजीओ तथा आईएनजीओको खेतीवाल तथा फाउन्डेसन र सहकारी नामका माफियाहरूले पार्टीको अन्तरजीवनलाई दुर्गन्धित बनाएका छन् । आन्तरिक जनवाद तहसनहस अवस्थामा छ । रायमाझी पथ मीनभवनको अवतारमा उदाएको छ । पार्टी वैचारिक तथा नैतिकवान कार्यकर्ताको सङ्गम नबनेर अपराध मानसिकताले ग्रस्त भीड बनेको छ । रूपान्तरणका आयामहरू छताछुल्ल भएका छन् ।
यो परिवेशमा एमालेका निष्ठावान् विद्रोही चेतहरूले विद्या कमरेडलाई नेतृत्वमा पु¥याए भने पनि अन्तरजीवनमा आमूल रूपान्तरण त्यति सहज छैन । तर न्यूनतम राजनीतिक संस्कारसम्मको विकास भयो भने पनि त्यसलाई सकारात्मक नै मान्नुपर्छ ।
एमाले सकिने या सुध्रिने दोसा“धमा छ । तर अपवित्र पञ्चामृतले सेचित वर्तमान नेतृत्व अपवित्रहरूको घेराबाट मुक्त हुन सक्ने अवस्थामै छैन । उसले चाहेर पनि सुध्रन सक्दैन । सुधारको आवाजलाई डनवादको पञ्जाले किचेको छ । तर पनि एमालेमा निष्ठावान्हरूको खडेरी भैसकेको छैन । एमालेलाई राष्ट्रिय राजनीतिमा मूलप्रवाहीकरण गराउने समर्थक तथा शुभेच्छुकहरूको जमात पनि ठूलै छ ।
पार्टीको खातिर जीवनका सारा बैंसहरू तथा जवानीका उल्लासहरू तिलाञ्जली दिएर दुःखैदुःखमा बा“चिरहेका लाखौंलाख जमात पनि जीवितै छन् । नेतृत्वका सारा मतिभ्रष्टतालाई आम माफी दिएर पटकौंसम्म सुधारको अवसर दिने जनताको पनि कमी छैन । तर वर्तमान नेतृत्वले सबै अवसरहरूलाई ‘बा“दरको हातमा नरिवल’ बनाएर जनतालाई आजित तुल्याएको छ ।
जनताले आशालाग्दो केटो ठानेको एमाले यतिखेर जेठाजु बनेको छ । जेठाजुसँग विवाह पनि हुन सक्दैन । प्रेमको प्रतीकलाई माया पनि मार्न सकिंदैन । जनता दोसाँधमा छन् । यो दोसाँधलाई तोडेर पार्टीलाई साविक क्रान्तिकारी धारमा बदल्ने संकल्पका साथ विद्या कमरेड आउने हो भने अत्यन्तै स्वागतयोग्य पक्ष हो । फगत नेतृत्वको भोक मात्र हो भने चाहिं आउनु नआउनुको कुनै अर्थ छैन ।
View : 671
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved