विराटनगर । बाढीपहिरो तथा चट्याङ जस्ता मनसुनी विपद्ले सधैं सताउने कोशी प्रदेश हिमताल विष्फोटले निम्त्याउन सक्ने भयानक जोखिमको पनि उच्च खतरामा छ ।
यसअघिका विभिन्न वैज्ञानिक अनुसन्धानबाट देखिएको हिमताल विष्फोटको जोखिम टार्न अहिलेसम्म कुनै पहल नभएका कारण पनि कोशी प्रदेश यो डरलाग्दो प्राकृतिक विपद्बाट जुनसुकै बेला सताइन सक्ने जोखिममा छ ।
कोशीको हिमाली क्षेत्रमा रहेका ४० भन्दा बढी हिमतालहरू विष्फोटको उच्च जोखिममा रहेको र यसले कोशीको हिमाल, पहाड र तराई सबैतिर उस्तै जोखिम निम्त्याउने खतरा रहेको छ ।
हिमताल विष्फोटकै कारण गत वर्ष साउन ३२ को अपरान्हमा कोशी प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको सुन्दर पर्यटन केन्द्र थामे बजार एकैछिनमा उराठलाग्दो बगरमा परिणत भयो ।
हवाइ दूरीका अनुसार थामेभन्दा नौ किलोमिटर पश्चिमोत्तर दिशामा रहेका पा“चमध्ये दुईटा हिमताल विष्फोटको घटनाले थामेको सुन्दर स्वरूपलाई एकैछिनमा ध्वस्त पारेको थियो ।
यो विकराल विपद् थामेमा मात्रै थामिएर रहने अवस्था छैन ।
पूर्व–पश्चिम वारपार फैलिएको नेपालको हिमाली क्षेत्रमा रहेका पुराना र नयाँसमेत बनिरहेका यस्ता धेरै हिमतालहरू छन् । जो जुनसुकै बेला विष्फोट हुने उच्च जोखिममा छन् ।
सबैभन्दा डरलाग्दो तथ्य त के छ भने जुनसुकै बेला विष्फोट हुने खतरामा रहेका बहुसंख्यक हिमताल कोशी प्रदेशकै हिमाली क्षेत्रमा छन् ।
विपद् क्षेत्रका विज्ञहरूका अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै फैलिएको हिमाली क्षेत्रमा साढे तीन हजारभन्दा बढी संख्यामा सानाठूला हिमतालहरू छन् ।
विसं २०७६ सालमा भएको एक अध्ययन अनुसार नेपाल र तिब्बती सीमा क्षेत्रमा कूल ३ हजार ६ सय २४ वटा हिमतालहरू छन् । ती मध्ये ४७ वटा हिमतालहरू जुनसुकै बेला विष्फोट हुने खतरामा छन् ।
‘इसिमोड (अन्तर्राष्ट्रिय सघन पर्वतीय विकास केन्द्र) ले अरू केही सरोकारवालहरूसँगको सहकार्यमा हिमतालबारे सन् २०१९ मा एउटा विस्तृत अध्ययन गरेको थियो’ कोशी प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिका विज्ञ सदस्य रामकुमार दाहालले भने ‘त्यो अध्ययनको निष्कर्ष अनुसार नेपालका हिमाली जिल्लामा रहेकामध्ये ४७ वटा हिमताल जुनसुकै बेला विष्फोट हुने उच्च जोखिममा रहेका छन् ।’
कोशी प्रदेश सरकारको स्थापनाकालदेखि नै कोशीमा विज्ञका रूपमा सरकारसँग जोडिएर काम गरिरहेका रामकुमार दाहालका भनाइ अनुसार भने नेपालभरी नै हिमताल विष्फोटको जोखिम उच्च छ । त्यसमध्ये पनि सबैभन्दा धेरै जोखिम कोशी प्रदेशमा देखिन्छ ।
हिमतालहरू लामो समयदेखि जमेर बसेका हुन्छन् । त्यसक्रममा केही सुकेर जान्छन् भने केही नयाँ पनि थपिनसक्ने हुन्छ ।
‘पहिलेका धेरै हिमतालहरू सुक्दै गएका पनि हुनसक्छन् । तलतल हिउँको मात्रा सकिँदै जाँदा माथि नयाँ तालहरू बन्दै गएको हुनसक्छ’, दाहालले भने ‘अहिले जति हिमताल छन्, पहिले त्यतिधेरै संख्यामा थिएनन् । पोहोर विष्फोट भएका साना तालहरू हुन् । यदि ठूलो तालहरू विष्फोट भएको भए क्षति झनै ठूलो हुनसक्थ्यो ।’
कोशी प्रदेशमा तीन वटा हिमाली जिल्लाहरू छन्, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङ । यी तीन वटै जिल्लाको शीरमा ठ्याक्कै कति हिमताल छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन ।
विपद् क्षेत्रमै अध्ययन र काम गरिरहेका दाहालहरू जस्तै विज्ञहरूसँग पनि छैन । त्यसैले यसबारे पुरानै अध्ययनका आधारमा निर्भर रहनु पर्ने अवस्था छ ।
हिमतालहरू कुनै पनि नदीको जलाधार क्षेत्रमा हुन्छन् । जस अनुसार कोशीका हिमाली नदीहरूको जलाधार क्षेत्रमा सबैभन्दा धेरै जोखिमयुक्त हिमतालहरू रहेको अध्ययनले देखाएको छ ।
‘सुनकोशी नदीको जलाधार क्षेत्रमा सबैभन्दा धेरै जोखिममा रहेका २१ हिमतालहरू छन्, गत वर्ष सोलुमा विष्फोट भएका दुई ताल यही जलाधार क्षेत्रका हुन्’, दाहालले भने ‘तमोर नदीको जलाधार क्षेत्रमा ४ वटा जोखिमयुक्त हिमताल छन् भने अरूण नदीको जलाधार क्षेत्रमा १७ वटा हिमतालहरू उच्च जोखिममा रहेको २०१९ को अध्ययनले देखाएको थियो ।’
यसरी जुनसुकै बेला विष्फोट हुने खतरामा रहेका कूल ४७ मध्ये ४२ वटा हिमताल कोशी नदीको जलाधार क्षेत्रमा मात्रै रहेको देखिन्छ । संखुवासभाको शीरमा रहेको वरूण हिमताल यो जलाधार क्षेत्रको सबैभन्दा ठूलो र खतरामा रहेको हिमताल हो ।
दुई किलोमिटर लम्बाई र डेढ किलोमिटर चौडाइमा फैलिएको यसको गहिराइ अहिलेसम्म नाप्नै नसकिएको दाहालको भनाइ छ ।
ज्यादै जोखिममा रहेको भनिएका ४७ मध्ये बाँकी ३ वटा हिमताल गण्डकी नदीको जलाधार क्षेत्रमा र २ वटा कर्णाली नदीको जलाधार क्षेत्रमा छन् ।
गत वर्ष नाम्चे बजारमा १२ डिग्री सेल्सियस तापक्रम पुग्दा ठूलो हल्लाखल्ला भएको थियो ।
‘तापक्रम तीव्र रूपमा बढेकै कारणले हिमताल फुटेको हो अरू मानवीय कुनै कारणले होइन’ त्यसबेला विज्ञहरूले भनेका थिए ।
विज्ञहरूका अनुसार तापक्रम अधिक रूपमा बढ्ने बैशाखदेखि असोजसम्मको अवधिमा हिमतालहरू विष्फोट हुने जोखिम उच्च हुन्छ ।
‘जाडोमा हिमाली क्षेत्रलाई नै केन्द्रविन्दू बनाएर भूकम्प गयो भने बेग्लै कुरा नत्र जाडोमा हिमताल फुट्दैन’ दाहालले भने ‘जाडोमा हिमपहिरो खस्नसक्छ । तर, हिमताल भने गर्मीमा मात्रै विष्फोट हुने हो । गर्र्मीमा तीव्र हिमस्खलन हुन्छ, हिउँ पग्लिन्छन् । हिउँ पग्लेपछि ठूला हिमताल बन्छन् ।’
यसरी गर्र्मीमा हिमताल बन्ने क्रम जसरी बढ्छ, त्यसलाई रोकेर–छेकेर राखेको तल्लो भागमा चाप अधिक हुन थाल्छ । ‘अत्यधिक चाप धान्न तल्लो भागले नसकेपछि विष्फोट हुन्छ । हिउँले माटो पक्रेपछि त्यो ज्यादै खुकुलो हुने र फुट्ने प्रक्रिया झनै तीव्र हुने दाहालले जानकारी दिए ।
नेपालमा अहिलेसम्म २६ वटा हिमताल फुटेको अभिलेख छ । ‘हामीले यसअघिका घटनाबाट पाठ सिकेर पर्याप्त अध्ययन, अनुसन्धान र पूर्व तयारी गर्नुपथ्र्यो’ उनले भने ‘अहिलेसम्म गर्न सकिएन । तर, थामे घटना ठूलो पाठ बन्नसक्छ । तत्कालै जोखिम अध्ययन र न्यूनीकरणमा लाग्नुको विकल्प छैन ।’
बाह्रै महिना हिउँको साम्राज्य फैलिने हिमाली क्षेत्रमा रहेका साना र कतिपय ठूला हिमतालहरूलाई मानवीय प्रयासले जोखिमरहित बनाउन सकिने विज्ञहरू बताउँछन् ।
‘हिमतालहरूको जोखिम मानवीय प्रयासले टार्न सकिन्छ । च्छो रोल्पा यस्तै एउटा प्रमाण हो’ दाहालले थपे ‘नेपाली सेनाले साइफन लगाएर त्यहाँको पानी बाहिर पठायो । हुन त उच्च पर्वतीय क्षेत्रमा यस्तो काम गर्न धेरै जोखिम छ । तर, यही चुनौतीपूर्ण काम गर्न चाहिं सकिन्छ ।’
उनका अनुसार अहिले जाम भएर बसेको ताललाई विस्तारै खोलेर त्यहाँ जमेको पानीलाई बाहिर पठाउन सकिन्छ । उनका अनुसार हिउँमा काम गर्नुपर्ने भएकाले जाडो याममा गर्न सकिन्न । काम गर्ने भए यही बेलामा गर्नुपर्छ ।
तालबाट निरन्तर सानो पानी बाहिर पठाउँदै जाने ताकि त्यहाँ जम्मा भएर रहन नपाओस् । अति महंगो र चुनौतीपूर्ण यो काम गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।
नेपालका विपद् विज्ञसमेत रहेका राष्ट्रिय विपद् न्यूनकीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेल भन्छन् ‘दक्षिण एसियामै हेर्ने हो भने पहिलोपटक तामाकोशीमाथिको च्छोरोल्पा र सोलुखुम्बुकै इम्जा हिमतालको जोखिम कम गरेको राम्रो अनुभव हामीसँग छ’, उनले भने ‘हाम्रो अनुभवबाट प्रभावित भएर भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले यसबारे बारम्बार अनुभव सोधेको थियो ।’
उनका अनुसार एउटै हिमतालको जोखिम न्यूनीकरण गर्न २० देखि ५० लाख डलर खर्च हुन्छ ।
हिमतालको आकार, भूअवस्थिति हेरेर कति खर्च लाग्छ अनुमान गर्न सकिने उनले बताए । ‘हामीसँग भएको स्रोत मात्र अपुग हुन्छ । हिमतालको जोखिम जलवायु परिवर्तनसँग जोडिएर आएको छ ।
हिमतालहरूको जोखिम न्यूनीकरण गर्ने, उपकरण राखेर ट्रयाकिङ गर्ने र निरन्तर नियमन गर्न सकेमात्र यस्ता विपत्तिबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ ।’
View : 910
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved