Biratnagar, Morang, Nepal
२ मंसिर २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विवादित गिरीको प्रशासनलाई चुनौती, ‘तपाईंहरूको पनि सम्पत्ति छानबिन होस्’

उद्‌घोष संवाददाता
१ मंसिर २०८३, मङ्गलवार

Advertisement

विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा बयानका लागि उपस्थित हुन प्रहरीले घरमै सूचना टाँसेपछि विराटनगरका अभिषेक गिरीले मोरङका सुरक्षा अधिकारीलाई नै चुनौती दिएका छन् । 

विराटनगर बाहिर रहेका गिरीले फेसबुकमा भिडियो सार्वजनिक गर्दै आफूलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । 

उनले आफू १५ गतेभित्र नेपाल फर्किएर बयान दिने घोषणा गर्दै अनुसन्धानमा संलग्न अधिकारीहरूको समेत सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । 

गिरीले आफू अनुसन्धानबाट भाग्न नखोजेको र प्रहरीको पत्रअनुसार बयान दिन तयार रहेको बताएका छन् । घरायसी प्रयोजनका लागि उपचार गराउन बाहिर रहेको उल्लेख गर्दै उनले १५ गतेभित्र नेपाल फर्किने र अनुसन्धानमा सहयोग गर्ने बताएका हुन्  । 

‘म नआउने भन्ने कुरै छैन । मेरो घरपरिवार सबै नेपालमै छन् । अहिले घरायसी केही कुराको उपचार गराउन बाहिर आएको हुँ । १५ गतेभित्र नेपाल आएर बयान दिन्छु,’ उनले भिडियोमा भनेका छन् ।

प्रहरीले आफ्नो घरमा सूचना टाँसेपछि सार्वजनिक भएको भिडियोमा गिरीले अनुसन्धानमा संलग्न अधिकारीहरूमाथि आक्रोश पोखेका छन्  । 

आफूलाई पटक–पटक विभिन्न मुद्दामा फसाउने प्रयास भइरहेको दाबी गर्दै उनले अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

‘अब म चुप लागेर बस्नेवाला छैन । आफ्नो कुरा राख्नेवाला छु र मलाई कुन ठाउँमा उभिनुपर्छ, म त्यो ठाउँमा उभिन तयार छु,’ उनले भनेका छन्  । 

उनले मोरङको प्रशासन र प्रहरीको कामकारबाहीमाथि पनि प्रश्न उठाएका छन्  । जिल्लामा तस्करी, मानवीय क्षति र अन्य गम्भीर घटनाहरू भइरहँदा नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी काम गर्न नसकेको तर आफ्नो विषयमा भने बढी सक्रियता देखाएको उनको आरोप छ ।

‘प्रशासनमा छु भनेर घमण्ड नगर्नुस् । भोलि तपाईँलाई पनि पर्छ, तपाईँको पनि सम्पत्ति छानबिन गर्नुप¥यो नि । तपाईँले कति भ्रष्टाचार गर्नुभएको होला, कति केके छ, हामीलाई पनि त्यसको ज्ञान छ,’ गिरीले भिडियोमा भनेका छन् ।

गिरीले केही महिनाअघि आफ्नो घरमा प्रहरीले खानतलासी गर्दा नगद, सुन तथा गरगहना लगेको तर अहिलेसम्म फिर्ता नगरेको आरोप पनि लगाएका छन् । ती रकम तथा सम्पत्तिको स्रोत खुल्ने बैंक कारोबार र कम्पनीका कागजात आफूसँग सुरक्षित रहेको उनको दाबी छ ।

‘घरमा खानतलासी गर्दा उहाँहरूले हातहतियार तथा खरखजानासम्बन्धी मुद्दाका लागि भन्दै आउनुभएको थियो । तर केही पनि भेटिएन । त्यसपछि घरमा भएको नगद पैसा र सुनका गरगहना पनि लिएर जानुभयो  ।

पैसाको स्रोत बैंक र कम्पनीबाट आएको भन्ने सबै कागज हुँदाहुँदै अहिलेसम्म फिर्ता गर्नुभएको छैन,’ उनले भनेका छन्  । 

आफ्नो राजनीतिक करिअर समाप्त पार्ने उद्देश्यले योजनाबद्ध रूपमा अनुसन्धान अघि बढाइएको गिरीको आरोप छ । सामाजिक काम गर्दै जाँदा लोकप्रिय भएको देखेर आफूलाई असफल बनाउन खोजिएको उनको दाबी छ ।

उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा यसअघि विशेष अदालत, सर्वोच्च अदालत र पूर्ण इजलासबाट सफाइ पाइसकेको दाबीसमेत गरेका छन् । 

गिरीले आफूलाई यसअघि आपराधिक लाभसम्बन्धी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिएको तर मुद्दा चल्न नसकेको दाबी गरेका छन्  । विभिन्न प्रकरणमा आफूलाई ४० देखि ४५ दिनसम्म हिरासतमा राखिएको उनको भनाइ छ  । 

गिरीविरुद्धको पछिल्लो अनुसन्धान मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको आरोपसँग जोडिएको छ । 

प्रहरी अनुसन्धानमा उनले कारागारभित्र आफ्नो प्रभाव र सञ्जाल बनाएर कैदीबन्दीले पाउने सेवा तथा सुविधासँग सम्बन्धित रकम आफू र निकट व्यक्तिमार्फत असुल्ने गरेको पाइएको दाबी गरिएको छ  । 

यही प्रकरणमा आर्थिक कारोबारसँग जोडिएका व्यक्ति र घटनामाथि समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

अनुसन्धान संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणतर्फ विस्तार भएपछि प्रहरीले गिरीलाई बयानका लागि उपस्थित हुन पत्राचार गरेको थियो । 

यसअघि मोरङ प्रहरीले गिरीलाई बयानका लागि उपस्थित हुन भन्दै कात्तिक १९ गते हुलाकमार्फत पत्र पठाएको थियो । पत्र प्राप्त भएको सात दिनभित्र आवश्यक कागजात तथा प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको थियो  । 

तर उनी उपस्थित नभएपछि शुक्रबार प्रहरी टोली विराटनगर–८ मधुमारास्थित उनको घर पुगेको थियो । घरभित्रबाट ढोका नखुलेपछि प्रहरीले घरको गेटमै सूचना टाँसेर फर्किएको थियो ।

प्रहरी निरीक्षक लेखनाथ दाहालले हस्ताक्षर गरेको सूचनामा सात दिनभित्र बयानका लागि उपस्थित नभए आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ । 

गिरी पहिलोपटक गत असार १३ गते पक्राउ परेका थिए ।

हुलाकी सडकअन्तर्गत मोरङको कटहरी खण्ड निर्माणको ठेक्का पाएको हेटौंडास्थित श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक शुभाष श्रेष्ठले कम्पनी कब्जा गरेको, चलअचल सम्पत्ति नियन्त्रणमा लिएको तथा बिक्री गरेर आर्थिक क्षति पुर्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका थिए ।

त्यसपछि सीआईबीले असार २३ गते विराटनगरबाट गिरीलाई पक्राउ गरी काठमाडौं लगेको थियो । सो प्रकरणमा श्रेष्ठसँग मेलमिलाप भएपछि उनी विराटनगर फर्किएका थिए । 

त्यसलगत्तै साउन २१ गते मोरङ प्रहरीले उनलाई अर्को लेनदेनसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो । सो मुद्दामा पनि पक्षहरूबीच मेलमिलाप भएपछि उनी हिरासतमुक्त भएका थिए  ।

तर मोरङ कारागारका कैदीबन्दीबाट रकम असुली गरेको भनिएको प्रकरणमा भने प्रहरीले अनुसन्धान जारी राखेको छ  ।

गिरीले अहिलेको अनुसन्धानमा आफूले कानुनी प्रक्रिया पूरा गर्ने र बयान दिन तयार रहेको बताएका छन्  । 

तर अनुसन्धानका नाममा आफूलाई दुःख दिने, धम्क्याउने र सार्वजनिक रूपमा बदनाम गर्ने काम भए त्यसविरुद्ध कानुनी उपचार खोज्ने उनको चेतावनी छ । 

‘मलाई कुन बेला बयान गर्नुपर्छ, अदालतमा जानुपर्छ या कहाँ जानुपर्छ भन्ने आफ्नो कानुनी अधिकार थाहा छ । म त्यसका लागि तयार छु,’ उनले भनेका छन् ।

View : 78

२ मंसिर २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved