आर्थिक, सामाजिक, सांस्कृतिक तथा साहित्यिक लगायत अनेकौँ सवालका बहसले बजार पाएको धेरै भयो ।
उल्लेखित सवालका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट आउने रकम मिलानले पनि व्यावसायिकता हासिल गरेकै छ । राजनीतिक दल लगायत सरकारी तथा गैरसरकारी निकायहरू बहसमै केन्द्रित देखिन्छन् ।
साहित्यिक बहसले राजनीतिक बहसलाई उछिनेको छ । तर, यति भएर पनि कार्यक्रमको परिष्करणमा कतै बहस देखिन्न । अर्थात्, कार्यक्रमको प्रचलित शैलीको पुनर्मूल्याङ्कन र सुधारमा भने उदासीनता देखिन्छ । यसै सवालमा केही उल्लेख गरौँ ।
अन्य क्षेत्र जस्तै कार्यक्रमको क्षेत्रमा देखिने ढोंगी प्रवृत्तिले परिवर्तनको बहसलाई गिज्याएको छ । पट्यारलाग्दा कार्यक्रमले निदाउनुपर्ने यथार्थताले सबैलाई सताएको छ ।
औपचारिकवादी अपसंस्कृति तथा दासताउन्मुख कार्यक्रमिक रूपरेखामा सुधारभन्दा अझै बिगारतर्फ जाँदैछ । अनेकौँ उपनामका चाकरपूर्ण फुँदाका पुरातनवादी औपचारिकताले आधुनिक नकाबको असभ्यता दर्शाएको छ ।
आतिथ्यता नपाउँदा अपमान सम्झने मानसिकताले गर्दा कतिपय अवस्थामा सहभागीभन्दा अतिथि बढी हुने कुरा सामान्य बनेको छ । सरल, सहज तथा छरितो कार्यक्रमको अभाव सबैमा खड्किएको छ । तर, परिष्करणमा भने कसैको मुख खुलेको देखिँदैन ।
मानको खातिर मान दिनैपर्ने चिन्तन अपाङ्गतावादी चिन्तन हो । यसले अधिकांशलाई प्रियतावादको रङ्गीन आत्मरतिमा दौडाएको छ । सीमित व्यक्तिका लागि दर्शाइने ओठेभक्तिले असीमित सहभागीको आत्मसम्मानमा चोट पुग्ने सवालमा कार्यक्रम आयोजकले सामान्य ज्ञानसमेत राखेको पाइन्न । यस्तो आत्मरतिपूर्ण भद्दापनले हर क्षेत्रलाई अन्धाधुन्ध नक्कलवादी बनाएर भद्दापन र ढर्रापनतर्फ अग्रसर गराएको छ । विकासवादको यो अत्यन्तै खतरनाक लक्षण हो ।
ठालुवाद सामन्तवादी मनोविज्ञान हो । यो मनोविज्ञानले मान खोज्छ, सम्मान गर्दैन । दायित्व खोज्छ, वहन गर्दैन । रूपान्तरणका गफ हाँक्छ, तर आफू रूपान्तरित हुँदैन । प्रगतिशीलताको ढ्वाङ फुक्छ, तर सामन्तवादी सोचबाट मुक्त बन्दैन । सुधार खोज्छ, सुध्रिँदैन । यस्तै खाले ठालु मानसिकताले सबै क्षेत्रका कार्यक्रमलाई अत्यन्तै भद्दा बनाउँदै आएको छ ।
उपाधि, सम्मान र ओहोदा आपसका फरक सवाल हुन् । डाक्टर व्यक्तिगत उपाधि हो, तर सम्मानको कडी होइन । डिग्री शैक्षिक प्रमाण हो, तर बौद्धिकताको कडी होइन ।
उपाधि तथा ओहोदा भनेका व्यक्तिगत जीवन निर्वाहका साधनहरू हुन् । अनि सम्मान भन्ने कुरा असल इमानदारी र कर्तव्यपालको अनुकरणयोग्य सवाल हो । त्यसकारण उपाधिले मात्र मान्छे सम्मानित हुन्छ भन्ने मान्यता गलत हो ।
सामाजिक उत्तरदायित्वको वहनपूर्ण व्यवहार नै सम्मानको कडी हो, जसले दूरगामी महत्व राख्न सकोस् । जसले सादा जीवन, उच्च विचार तथा कठोर संघर्षको अनुसरण तथा सम्मान गर्न सकोस् । तर, हामी साक्षरसमेत नबनेका 'शिक्षित' भनाउँदाहरूले कार्यक्रम र आतिथ्यतालाई अत्यन्तै सस्तो बनाउँदै आएका छौँ । हामी आफूलाई जान्ने बुज्रुक ठान्छौँ, तर वास्तवमा जान्दै जान्दैनौँ । नजानेको कुरा सिक्न हाम्रो बुज्रुकपनले दिँदैन । हाम्रो यस्तै मदमत्तताले समाजलाई 'ढोल न ढ्याङ्ग्रोको काठे झाँक्री' जस्तो बनाएको छ ।
आत्मगत भावनाको अनुभूतिपूर्ण अनुकरण नै सम्मान हो । व्यक्तिको इमान, असलपन तथा योगदानको अध्ययन, अनुसन्धान र अनुकरण गर्दा मात्र साँचो अर्थमा सम्मान ठहर्छ । अग्रभागमा आसन गराउनुलाई नै सम्मान ठान्ने कुरा पुरातनवादी सोच हो । यो सोचले ओठेभक्ति मात्र दर्शाउँछ, तर भावनात्मक सम्मान गर्दैन ।
अग्रजको सम्मान नगर्नु इतिहासप्रतिको अन्याय हो । इतिहासको अपमानले सभ्य समाज बनाउन सकिन्न । सभ्य समाजबिना समाजलाई अग्रगतिमा लैजान सकिँदैन । तर, मञ्चासीन गराउँदैमा मात्र सम्मान ठहर्दैन । सहभागी महलमै आसन गराएर पनि सम्मान दर्शाउन सकिन्छ । तर, हाम्रो सामन्तवादी मानसिकताले यस्तो संस्कारको विकास गर्न सकेन ।
आजकालका कार्यक्रमिक शैलीले आधुनिक दासताको झल्को दिन्छ । अतिथिको लर्कोले रूपान्तरणको आडम्बररूपी घुम्टोलाई उदाङ्गो बनाएको आभास दिन्छ । यस्तो खाले हाम्रो बज्रस्वाँठेपनले कार्यक्रमको महत्वलाई छायामा पारेको छ, तर हामीले महसुस गर्न सकेका छैनौँ । परिष्करणको भावना जागृत गराउन सकेका छैनौँ, बरु अमूल्य समयको बर्बाद गरिरहेका छौँ ।
निम्तोमा गएका सबै सहभागी अतिथि हुन् । अनुहारका आधारमा अनावश्यक फुँदा जोडेर मञ्चासीन गराउने प्रचलन भद्दा प्रचलन हो । यो आमन्त्रित सहभागीको अपमान हो ।
कार्यक्रममा कार्यक्रमका अध्यक्ष अनि प्रमुख अतिथि राखेर अन्यलाई उद्घोषकले शब्द–सम्मानका साथ यथास्थानमा आशन गराउँदा हुन्छ ।
सहभागीमध्येबाट आयोजकले तोकेका वक्तालाई यथास्थानबाटै मन्तव्यका लागि मञ्चमा बोलाउँदा हुन्छ । विकसित देशमा यो प्रचलन छ । तर, हामी नराम्रा पक्षको नक्कल गर्छौँ, राम्राको अनुसरण गर्दैनौँ । यो नै हाम्रो बौद्धिक पछौटेपनको कारक हो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष र सञ्चालकबाहेक अन्य पदाधिकारी तथा सदस्यहरू कार्यक्रम अवधिभरका सहयोगी हुन् । तर, आजकाल आयोजक जति सबै अतिथि देखिन्छन् । यस्तो प्रचलन न त गतिशील हो, न त प्रगतिशील नै । तर, सभ्य तथा शिक्षित नकाबको हाम्रो अघोषित बज्रस्वाँठ प्रवृत्तिले राम्रा पक्षको थालनी गर्न सिकेन ।
कलम स्वाभिमानको प्रतीक हो, स्वतन्त्रताको औजार हो, रूपान्तरणको अस्त्र हो । कलमबाजहरू रूपान्तरणका सेना हुन् । जीवन र जनजीविकाका असहज पक्षमा जेहाद छेड्नु कलमबाजको दायित्व हो । तर, आज कलम नै यथास्थितिमा बन्धक छ । कलममा भिड छ, गुण छैन ।
दृष्टान्त छ, दूरदृष्टि छैन । ढ्वाङ छ, ढङ्ग छैन । चिन्ता छ, चिन्तन छैन । उही पुरातन भद्दापनको मदमत्तता साहित्यको विशेषता बनेर यस क्षेत्रको विकृतिले राजनीतिलाई समेत उछिनेको छ । तर, यस क्षेत्रले अझैसम्म सुधारको सङ्केत देखाएको छैन ।
राजनीति राज्यको मार्ग हो । दलहरू मार्गलम्बी हुन् र राजनीतिकर्मी पहरेदार हुन् । मार्गलम्बी तथा पहरेदारले अग्रगमनकारी सोच र व्यवहार दर्शाउनुपर्छ ।
यथास्थितिको बाँसुरी बजाएर समाजलाई अग्रगति दिन सकिन्न । रूपान्तरणका लागि पूर्वाधार विकासको पहिलो खुड्किलो पार गर्ने काम अग्रगमनकारीकै हो । तर, दलहरू प्रारम्भिक चरणमै रूपान्तरित छैनन् । कार्यक्रमिक भद्दापन उराठलाग्दो छ ।
सबैले अतिथि बन्नैपर्ने र अतिथि नपाए कार्यक्रममै नजाने मनोरोगले समाज व्याप्त छ । राजनीतिकै हालत यस्तो भएपछि अन्य क्षेत्रको हालत कस्तो होला ?
सामन्तवाद परास्त भयो, तर सामन्तवादी चिन्तन यथावत् छ । यही चिन्तनले कार्यक्रमहरूलाई गिजोलेको छ । यस्तै गिजलोपनले प्रमुख अतिथिपछि विशेष अतिथि, महाअतिथि लगायतका चाकरपूर्ण ढर्राको विकास गराएको छ ।
'प्रमुख अतिथिपछिको विशेष' भन्ने पदले कुनै अर्थ राख्दैन भन्ने सामान्य ज्ञानसमेत आयोजकमा पाइँदैन ।
'विशेष' को अर्थ प्रमुखभन्दा माथि हुन्छ । प्रमुख अतिथिपछि राखिने विशेष अतिथिले प्रमुखको अस्तित्व समाप्त पारेर उल्टै विशेष अतिथिलाई नै लज्जाबोध गराउँछ । तर, हामीले शब्दार्थसमेतलाई विकृत बनाउँदैछौँ ।
यस्ता सामान्य कुरामा समेत रूपान्तरित नहुने हामीले अरूको रूपान्तरण खोजेर हुन्छ ? त्यसकारण अरूपान्तरित घुम्टो ओढेर गरिने रूपान्तरणको बहस 'पिसाबको न्यानो' मात्र हो ।
View : 123
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved