विराटनगर । धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन शाह दुई शहरका दुई स्वतन्त्र मेयर । उनीहरु दुवैले आइतबार एकै दिन पदबाट बिदाइ लिए । यी दुईको बिदाइ दृश्य भने दुई ध्रुवजस्तै फरक भयो ।
आफ्नो ४६ महिने कार्यकालभरी अन्य जनप्रतिनिधिस“ग बेमेलयुक्त सम्बन्धमा रहेका हर्क साम्पाङले हार्दिक रुपमा बिदाइ लिए । तर, आफ्नै मतदातासमेत नभेट्ने भनेर आलोचित काठमाडौंका बालेन शाहले भने राजीनामा पनि वारेसमार्फत पठाए । उनको बिदाइका लागि फूलमाला लिएर बसेका उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधि र कर्मचारी उनलाई पर्खेको पख्र्यै भए ।
धरान उपमहानगरपालिकाको परिसर आइतबार भावुक देखिन्थ्यो । ४६ महिना लगातार विवाद, तर्क–वितर्क र असहमतिको बीच काम गरेका मेयर हर्क साम्पाङ पदबाट बिदा लिंदै थिए ।
उनीस“ग असहमत हुनेहरू पनि थिए, आलोचकहरू पनि थिए । तर बिदाइको क्षणमा त्यो सबै भुलिए जस्तो देखिन्थ्यो ।
उपमेयर अइन्द्रविक्रम वेघालाई राजीनामा बुझाउँदै, मायाको चिनो ग्रहण गर्दै, हात जोडेर आभार प्रकट गर्दै हर्क साम्पाङ बिदा भए ।
‘कहिलेकाहीं छुच्चो भएँ होला’ भन्दै उनले आफ्नै कमजोरी स्वीकार गरे । त्यो स्वीकारोक्ति नै धरानको बिदाइलाई हार्दिक बनाउने मुख्य तत्त्व बन्यो ।
रोचक त के थियो भने—उनीसँग सधैं भिड्ने मानिने धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई पनि त्यही दिन बिदा भए ।
सुनसरी–१ मा हर्ककै विरुद्ध चुनाव लड्न लागेका भट्टराई र साम्पाङले एकअर्कालाई शुभकामना दिए । लामो समयको राजनीतिक तनाव बिदाइको क्षणमा मानवीय हाँसोमा बदलियो ।
धरानमा हर्क साम्पाङले छोडेको छाप विवादभन्दा पनि श्रम अभियान, खानेपानी र सामाजिक परिचालनसँग गाँसिएको छ ।
आलोचना, प्रश्न र असहमति हुँदाहुँदै पनि उनले आर्थिक अनियमितता र सुविधा भोगको आरोप खेपेनन् । त्यसैले बिदाइमा धरानले उनलाई अभियन्ता मेयरकै रूपमा सम्झियो—कडा तर इमान्दार ।
आइतबार नै काठमाडौं महानगरपालिकामा भने फरक कथा लेखियो । ६१ हजारभन्दा बढी मत ल्याएर काठमाडौंको मेयर जितेका बालेन्द्र शाहको बिदाइ खल्लो बन्न पुग्यो ।
उपमेयर, कर्मचारी र वडाध्यक्षहरू फूलमाला र खादासहित कार्यालयमा प्रतीक्षामा थिए । दिनभर फोन संवाद त भयो, तर मेयर कार्यालय आएनन् ।
अन्ततः वारेसमार्फत राजीनामा पत्र आइपुग्यो । कुनै सम्बोधन थिएन, कुनै सामूहिक बिदाइ थिएन, कुनै आत्मीय संवाद पनि भएन ।
राजीनामा दिएलगत्तै बालेन महानगर होइन, पार्टी कार्यालय पुगे । त्यहाँ घण्टी बज्यो, स्वागत भयो, नयाँ राजनीतिक अध्याय सुरु भयो । तर महानगरको प्रांगणमा भने एउटा खालीपन बाँकी रह्यो—मेयर बिदा त भए, तर आउँदै नआइ, उपस्थित नै नभई ।
बालेनको शैली सधैं बेग्लै र फरक रहँदै आएको छ । त्यो फरकपनले उनलाई लोकप्रिय बनायो । तर बिदाइको क्षणमा त्यही शैलीले दूरी सिर्जना ग¥यो ।
धरानमा हर्क साम्पाङ बिदा हुँदा आलोचक र समर्थक एकै ठाउँ उभिए । काठमाडौंमा बालेन शाह बिदा हुँदा त्यस्तो दृश्य देखिएन ।
View : 202
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved