Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
वातावरण

वनमा पक्की संरचना बनाए कार्वाही गर्ने मन्त्री उप्रेतीको चेतावनी

२१ फागुन २०८०, सोमवार

झापा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या–पर्यटन विकासको नाममा सामुदायिक वनले पक्की संरचना बनाए त्यस्ता वन समूहलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । 

पूर्वको फेवातालको रुपमा बिकास गरी बनाइएको झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहअन्तरगत निचाझोडा सिमसार पर्या–पर्यटन क्षेक्रको अवलोकन गर्ने त्रममा आइतबार मन्त्री उप्रेतीले त्यस्तो चेतावनी दिएका हुन् ।

भौतिक संरचना पक्की हुँदा वनभित्र वन्यजन्तु र चराचुरुङ्गीलाई अनुकूल नहुने, स्वच्छ वातावरण र वनभित्रको प्राकृतिक सुन्दरता ओझेलमा पर्ने भएकाले  त्यस्ता संरचना निर्माण गर्न निरुत्साहित गरेको मन्त्री उप्रेतीको भनाइ थियो । त्यसबारे सबै जिल्लाका वन कार्यालयलाई सचेत गराइसकेको समेत मन्त्री उप्रेतीले बताए । उनले आफ्नो मातहतका वन समितिले निर्देशन पालना नगरेको प्रमाण भेटिए कार्वाही गरिने जानकारी दिए ।

वन परिसरभित्र निर्माण गरिसकेका पक्की संरचनाका बारेमा पछि  सोचौंला मन्त्री उप्रेतीले भने, तर– नयाँ पक्की संरचना चै बनाइनु हुँदैन, बनाउन दिइने छैन । 

वनमा आफ्नै काठ छ । काठबाट निर्माण गरिएका संरचना प्राकृतिक, पर्यावरणसहित वन्यजन्तुको जगेर्ना हुने प्रस्ट्याउँदै मन्त्री उप्रेतीले भने, ‘पक्की संरचना वनभित्र त्यसै असुहाउँदो, पर्यावरणीय दृष्टिकोणले पनि प्रकृतिकमैत्री हुँदैन । त्यसैले कोशी प्रदेश सरकारले वनभित्र पक्की संरचना निर्माणमा निरुत्साहित गर्न लागेको हो ।

सो अवसरमा हातेमालो सामुदायिक वन उपभोक्ता समूहअन्तरगतको निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रको बिकासका लागि समूहले मन्त्री उप्रेतीलाई २ करोड रकमको बजेट माग गर्दै पत्र हस्तान्तरण गरेको थियो । वन समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले मन्त्री उप्रेतीलाई उक्त बजेट मागपक्र हस्तान्तरण गरेका हुन्  । सो त्रममा मन्त्री उप्रेतिले तत्काल १ करोड बजेट दिन सकिने आश्वासन दिएका थिए । 

निचाझोडा सिमसारले पर्या–पर्यटन क्षेत्रमा हाल जलाशय निर्माण सुरु गरेको छ । कोशी प्रदेशको जलाधार बिकास ब्यवस्थापन इकाईको २५ लाख बजेटमा जलाशय निर्माण सुरु भएको हो । १ सय ४ मिटर लम्बाई, २७ मिटर चौडाई र १५ फुट अग्लो जलाशय निर्माणका लागि २ वटा स्कारभेटर प्रयोग गरिएको छ ।

उक्त जलाशय निर्माणले हातेमालो वनदेखि दक्षिणका कृषकलाई सिचाईको ब्यवस्थापन, स्थानीय छिमेकी वनभित्र आगलागी हुँदा प्रयोग गर्न सकिने अध्यक्ष सिग्देलले बताए ।

View : 97

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved