Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

समकालिन साहित्य थोरै आरोह, धेरै अवरोह

साहित्य जागृतिको पाठशाला र चिन्तनको चौतारी पनि हो । साहित्यकार सो पाठशालाको शिक्षक हो । शिक्षकको चिन्तन रूपान्तरित भएन भने उसले शिक्षार्थीलाई नैतिक धरातलयुक्त चिन्तनले दीक्षित गर्न सक्दैन । तर हिजोआज राजनीति भन्दा पाँच गुणा विकृति साहित्यमा मौलाउँदै गएको छ । वरिष्ठदेखि कनिष्ठसम्मको चिन्तनको धरातल खिया लाग्दै गरेको देखिन्छ । मञ्च लम्पटता विशेषता जस्तै बनेको देखिन्छ ।
मणि दाहाल
१६ मंसिर २०८२, मङ्गलवार

साहित्य सामाजिक दर्पण हो । साहित्यकारहरू दर्पणवाहक हुन् । सचेतनता तथा शिक्षाप्रद प्रेरणाका अनेकौ स्रोत मध्ये साहित्य पनि एक स्रोत भएकोले नै साहित्यलाई सामाजिक दर्पण भनिएको हो ।

समाजको उन्नति, अवनति, गतिशील र प्रगतिशील जस्ता सवालहरूमा साहित्यको  महत्वपूर्ण भूमिका हुन्छ । लोक बोली तथा जनजीविकाको यथार्थ चित्रण बिनाको सिर्जनाले लोकको मन जित्न सक्दैन । 

अर्को कुरा साहित्यलाई सामाजिक दर्पण र साहित्यकारलाई दर्पणवाहक भनिरहदा साहित्यको गुण, साहित्यकारको चेतनास्तर  तथा कलमले सिर्जित लेख रचनाको स्तरियता तथा त्यसले जागृत गराउने समाजिक प्रेरणालाई भने बेवास्ता गर्न सकिदैन । यसलाई बेवास्ता गरियो भने साहित्य आत्मसन्तुष्टि मात्र बन्छ, तर जीवन बन्न सक्दैन । 

कलमले संसार हल्लाएको छ । गलत पक्षहरूलाई कलमले भत्काएको छ । सामाजिक विकृति र विसंगतिहरूलाई कलमको आवाजले ध्वस्त बनाएर असल समाजको निर्माण गर्न सहयोग  पुर्‍याएको छ ।

बन्दुकको उन्मादलाई पराजित गरेको छ । तर के आजका सबै साहित्य सामाजिक दर्पण छन् त ? कलमवाजहरू चेतनाका वाहक बनेका छन त ? आजको कलमले इतिहासको निरन्तरतामा ध्यान दिएको छ त ? यस्ता सवालहरू भने समीक्षाकै बिषय बनेका छन् । 

आर्थिक क्षेत्रहरू तहसनहस भएको वर्तमान अवस्थामा साहित्य क्षेत्र चौगुणा फस्टाएको छ । कृति प्रकाशन र विमोचनको भेल नै चलेको छ । साहित्य सम्बन्धि अनेकौ संस्थाहरूको संख्यात्मक बृद्धिले च्याउ सरी खुलेका राजनीतिक दललाई पाँच हात पछि पारेको छ ।

साहित्य सम्बन्धि कार्यक्रमको चापले भ्याइ नभ्याइको अवस्था पनि त्यतिकै छ । सिर्जनाको क्षेत्रमा यो खालको उत्साह अत्यन्तै सकारात्मक पक्ष हो । तर दुःखका साथ भन्नु पर्दा जुन तवरमा संङ्ख्यात्मक बृद्धि भएको छ त्यसको तुलनामा गुणात्मकता भने अत्यन्तै कम देखिन्छ ।  


कृति प्रकाशन मात्र महत्वपूर्ण सवाल हुँदैै हैन । महत्वपूर्ण सवाल भनेको प्रकाशित कृतिले समाजलाई दिने चेतना हो । सहज र सरल भाषको कलात्मक प्रस्तुतिमार्फत मन छुने जनआवाज हो ।  कृतिले जनजीब्रोलाई छुन सकेन र समाजको यथार्थ चित्रण गर्न सकेन भने दर्जनौ कृति नै किन नहुन् त्यस्ता कृतिले कृतिकारलाई आत्म सन्तुष्टिसम्म देला । 

अनि वरिष्ठ, महावरिष्ठ लगायतका अनेकौ फुँदा गाँस्न पनि सहयोग नै  पुर्‍याउला । नराम्रा मध्येका राम्रा छान्नै पर्ने बाध्यात्मकता र बोल्नेको चामल बिक्ने मनुवादी परिवेशले सम्मानको भागिदार पनि बनाउला । तर अर्थ न बर्थका भजमन्ते कृतिले समाजमा भने कुनै सन्देश दिन सक्दैन भन्ने सवालमा कृतिकारहरूको ध्यान अत्यन्तै कम देखिन्छ । 

सर्जकहरू समाजका मार्गदर्शक हुन । कला, साहित्य साधना लगायतका अनेकौं लेखनीले नैतिक आचरण युक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निवाह गर्छ । कलम स्वतन्त्र र स्वाभिमानको प्रतीक हो ।

कलम रूपान्तरणको अस्त्र पनि हो  । कलमवाजहरू रूपान्तरणका सेना हुन् । तर कलमवाजहरूको चिन्तनको चौतारीमा नै खिया लाग्यो भने त्यस अवस्थाको सिर्जनाले समाजलाई जागरूक बनाउन सक्दैन । त्यस्ता कृतिले समाजलाई सही गन्तव्यको निर्देश पनि गर्दैन । असल तथा नैतिक शिक्षा बिनाको कृतिले समाजलाई समय अनुकूल रूपान्तरणको मार्ग दिन सक्दैन ।

तर हिजोआज अधिकांश साहित्यिक कृतिहरू प्रेरणामूलक तथा सन्देशमूलक बन्न सकिरहेको देखिदैन । सिर्जनाको क्षेत्रमा मौलाउँदै गएको यो बन्धकता र स्वयं सर्जकले नै नबुझ्ने सिर्जनाले पाठकलाई कस्तो सन्देश देला ?

साहित्य आशाको सकारात्मक सन्देश अवश्य हो । तर आशावादको नाममा नकारात्मक पक्षलाई आँखा चिम्लन मिल्दिैन । निरपेक्ष सकारात्मक भजनवाद र अवसरवाद हो भने निरपेक्ष नकारात्मक कुण्ठापूर्ण पूर्वाग्रह हो । त्यसकारण साहित्यले सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई पर्गेल्न सक्नु पर्छ । नकारात्मकताले  सकारात्मकतालाई अभिप्रेरित गर्छ ।

सकारत्मकताले हौसला प्रदान गर्छ । असल सिर्जनाले नकारात्मक पक्षको दोहोलो उतारेर सकारात्मक उन्मूख गराउन सक्नु पर्छ । सकारात्मकतालाई हौसला प्रदान गर्न सक्नु पर्छ । त्यसकारण कलमवाज आग्रही र पूवाग्रही दुवै प्रवृति  मुक्त यथार्थवादी बन्न सक्नु पर्छ । 

साहित्य जागृतिको पाठशाला र चिन्तनको चौतारी पनि हो । साहित्यकार सो पाठशालाको शिक्षक हो । शिक्षकको चिन्तन रूपान्तरित भएन भने उसले शिक्षार्थीलाई नैतिक धरातलयुक्त चिन्तनले दीक्षित गर्न सक्दैन । तर हिजोआज राजनीति भन्दा पाँच गुणा विकृति साहित्यमा मौलाउँदै गएको छ । वरिष्ठदेखि कनिष्ठसम्मको चिन्तनको धरातल खिया लाग्दै गरेको देखिन्छ । मञ्च लम्पटता विशेषता जस्तै बनेको देखिन्छ । 

पठन संस्कृति भन्दा चाकरी संस्कृतिको बाहुल्यताले घर जमाउँदै गएको छ । कार्यक्रमहरू अत्यन्तै भद्दापनको दलदलमा फस्दै गएका छन् ।  भद्दा कर्यक्रमले सहभागीहरू निदाउनु पर्ने कुरा सामान्य बनेको छ । 

आतिथ्यता नपाएमा कार्यक्रममा बस्नै नसक्ने मनोरोग ग्रस्तता उतिकै छ । अथिति, विशेष अतिथि, महाअतिथि लगायतका अनेकौ उपनामका चाकरवादी फुँदाले पुरातन समाजको दाशतालाई बिर्साउन थालेको छ ।  बौद्धिक कहालीने क्षेत्रको यस्तो गति भएपछि साहित्यको गति कस्तो होला ? सर्जकहरूले ध्यान नदिने ? 

अग्रजको सम्मान गर्नु पर्छ । इतिहासको अपमानले सभ्य समाज निर्माण हुन सक्दैन । असभ्य समाजमा अग्रगमन सम्भव हुँदैन । तर ओठेभक्ति अनि मञ्चासिन गराउँदैमा सम्मान हुन्छ भन्ने बुझाई बौद्धिक अपाङ्गतावादी बुझाइ हो । मान सम्मान भन्ने कुरा आत्मगत भावनाले अभिव्यक्त गर्ने सवाल हो । 

ज्ञान, सीप, सिर्जना, दक्षता, असलपन र इमान जस्ता कुराहरूको अध्ययन, अन्वेषण र अनुकरण हो । तर समकालिन साहित्यिक संस्थाहरूको यस्ता सवालमा निरपेक्ष देखिन्छन् । मानको खातिर मान दिनै पर्ने जडसुत्रवादी सोचले ओतप्रोत भएको देखिन्छ ।  
  
डिग्रीका उपाधि र ओहोदालाई मात्र सम्मानका कडी मान्न सकिदैन । ओहोदा र उपाधि भन्ने कुरा व्यक्तिगत तथा पेशागत निर्वाहमा साधन मात्र हुन् । मान सम्मान भन्ने कुरा अनुकरणयोग्य गुण र विज्ञताका सवाल हुन् । अर्को कुरा आयोजकका निम्तालुहरू सबै अतिथि हुन् । कार्यक्रमको अध्यक्ष र प्रमुख अथिति राखेर अन्यलाई उद्घोषकले शब्द सम्मानका साथ यथास्थानमा राख्दा के हुन्छ ? 

गरिमा घट्छ र ? जो जसलाई वक्ता राख्नु पर्ने हो उनीहरूलाई यथास्थानबाटै मन्तव्यको लागि बोलाउँदा हुँदै न र ? अवश्य हुन्छ । तर अन्य क्षेत्र जस्तै साहित्यको क्षेत्रले पनि यस्ता नवोदित सवालमा संवेदनशीलता देखाएको पाइदैन । 

मनुवादी चिन्तनको अवशेष समकालिन साहित्यको अर्को समस्या हो । अधिकांश कार्यक्रममा आयोजक नै अतिथि बनेको देखिन्छ । अध्यक्षता गर्ने व्यक्ति र कार्यक्रम सञ्चालक बाहेका आयोजक संस्थाका सबै पदाधिकारी तथा सदस्यहरू कार्यक्रम अवधिभर सहयोगी मात्र हुन् । 

आयोजक अथिति बन्ने कुरा लाजमर्दो सवाल हो । आयेजक कतै अतिथि हुन्छ ? अतिथि मनोरोग सामन्तवादकै अंश हैन र ? झनसारो हिजोआज प्रमुख अथितिपछि विशेष अतिथि राख्नै पर्ने नयाँ ढर्राको शुरूवात भएको छ । प्रमुख अथिति राखे पछि विशेष अथिति किन चाहियो ? बिशेष भनेको प्रमुख भन्दा माथि हैन र ? 

प्रमुखपछि विशेष अथिति राख्नु भनेको प्रमुख अपमान हैन र ? साहित्यको क्षेत्र नै शव्दार्थको ख्याल नगरी प्रचलनको मात्र पछि लाग्ने ? यस्तो अवस्थाको भाषामा डुबेको सर्जक कसरी दर्पण बन्न सक्छ ? आजको चिन्ताको सवाल यही हो ।

View : 326

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved