Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पूर्वी तराईमा दशैं भित्र्याउने सन्थाल नृत्य

उद्‌घोष संवाददाता
१२ असोज २०८२, आइतवार

विराटनगर । जब गाउँघरमा लिङ्गे पिङ मच्चिन थाल्छ, लाग्छ दशैं भित्रियो । बेला यस्तो पनि थियो, जब गाउँघरमा कमेरो माटोले घरका भित्ताहरु पोतिन्थे लाग्थ्यो, दशैं भित्रियो । जब हाटबजार पुगेर नयाँ लुगा र खाद्यान्नको जोहो सुरु हुन्थ्यो लाग्थ्यो दशैं भित्रियो । 

समय बद्लियो, मानिसका जीवनशैली बद्लिए । लिङ्गे पिङ हराउँदै गए । कमेरा दल्नुपर्ने घरहरु क्रमशः क्रंकिटमा बद्लिए ।  

आयस्रोत बढेपछि नयाँ कपडाका लागि दशैं कुर्नु परेन । हाटबजार पनि क्रमशः पातलिंदै गए । यस्ता धेरै चलनहरु हराउँदै गएका बेला पनि पूर्वी तराईमा दशैंसँग जोडिएको एउटा प्राचीन परम्परा भने कायमै छ । 

झापा र मोरङमा बसोबास गर्ने सन्थाल समुदायले प्रदर्शन गर्ने दसाइँ नृत्य (सन्थाल नृत्य) ले घरघरै दशैं भित्रेको संकेत मात्रै गर्दैन, एउटा प्राचीन परम्पराले निरन्तरतासमेत पाउँछ ।  

जब दशैंको फूलपाती लाग्छ सन्थाल समुदायका पुरूषहरू अरू बेलाभन्दा व्यस्त हुन्छन् । वर्षभरी आ–आफ्नो काममा व्यस्त रहने उनीहरूलाई फूलपातीदेखि पाँच दिन घरैघरै पुगेर नाच्ने व्यस्तताले छोप्छ । 

एकै पोशाकमा सजिएका पुरूषहरू लहरै उभिएर घरी अघि र पछि गर्दै बाजाको तालमा नाचिरहँदा दक्षिण अमेरिकी नृत्य ‘साम्वा’ को झल्को आउँछ । 

शरदको घाममा तर्तरी पसिना चुहाउँदै उनीहरू घरघरै पुगेर दशैं सुरू भएको संकेत दिन्छन् । 

यसको तयारी पूरा भइसकेको सो समुदायका व्यक्तिहरु बताउँछन् । दशैंको सातौं दिन अर्थात फूलपातीदेखि टीकाको भोलिपल्टसम्म नाच्ने ‘दशैं नाँच’ घरैघरै छिरेर तिहारको देउसी शैलीमा नाचिन्छ । 

‘पाँच दिनसम्म हामी घरैघरै नाँच देखाउँदै हिंड्छौं’, मेचीनगर १५ का बुधराम हेमरमले भने  ‘हाम्रो पुर्खाले सुरू गरेको चलन अनुसार हामी दशैं नाँच नाच्दै हिंड्छौं । यसपालि पनि हिंड्दैछौं ।’ 

उनका अनुसार दशैंमा उनीहरूलाई विभिन्न मन्दिरहरूबाट बोलावट हुन्छ । त्यहाँ गएर यही जातीय नृत्य देखाउँछन् । 

यसबाहेक विभिन्न राजनीतिक दलहरूको आमसभामा पनि  झाँकी प्रदर्शनका लागि उनीहरूलाई बोलाउने गरिन्छ ।

सन्थाल नृत्यको मुख्य विशेषता भन्नु नै लहर मिलाएर एकै शैलीमा आकर्षक नाँच प्रदर्शन गर्नु हो । 

तीन जना अगुवामध्ये एक जनाले ढोल बोकेका हुन्छन् । शिरमा मयुरको प्वाँख जडेको गजुर ठड्याएका हुन्छन् । 

उस्तै पोशाकमा सजिएका अर्को एक जनाको हातमा ‘ड्रम’ हुन्छ भने कसैले मुरली बोकेका हुन्छन् । बाजा बजाउँदै झण्डै शैलीमा नाँच्ने उनीहरूलाई नगद, चामलसहितको दक्षिणा दिने चलन छ ।

‘त्यसरी प्राप्त दक्षिणा हामी सामूहिक काममा लगाउँछौं’ बुधरामले भने, ‘समाजमा चाहिने सामग्री जोड्न, हाम्रो सामूहिक पूजा गर्नमा उपयोग गर्छौं ।’

सन्थाल समुदायको बसोबास रहेको क्षेत्रका अन्य समुदायका बासिन्दाहरू सन्थाल नाचले दशैंको रमाइलो बढाउने बताउँछन् । 

रंगीन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाइ, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा नाचिने यो नाच पूर्वी तराईको एउटा मुख्य सँंस्कृतिक आकर्षण पनि हो ।

सन्थालहरूको बसोबास नेपाल, भारत, बंगलादेशमा पनि छ । 

सरल, मिलनसार र मेहनती स्वभावका उनीहरू प्रायः फुसको छाना भएका एकतले झुप्रा घरहरू भएको झुरूप्प बाक्लै बस्तीमा बस्छन् ।

धेरैजसो लिसैलो माटोको लिउनले चिल्लो देखिने घरमा बस्ने उनीहरुको घर आँगनमा बाबरी पूmलको बोट हुन अर्को विशेषता हो । घर छेउछाउ बडहर, कदम र बयरका रूख विरुवा उनीहरूले लगाउने गरेका छन् । 

सन्थाल समुदाय आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएको समुदायका रूपमा चिनिन्छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा सन्थाल समुदायको कूल जनसंख्या ५७ हजार ३०१ छ ।

View : 303

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved