योग शरीर र आात्मालाई स्वस्थ राख्नका निम्ति गरिने अभ्यास र साधना हो भन्ने बुझाइ आम जनमानसमा फैलिदै गएको छ । यसमा सत्यता पनि छ । हो हामीले अभ्यास गर्दै आएका आसन प्राणायाम तथा सूक्ष्म र वाह्य व्यायामहरूले शरीरलाई बलियो र लचिलो बनाउँछन् , मनलाई शान्त र एकाग्र बन्न मद्दत गर्दछन् । जीवनलाई विषादमुक्त, आत्मविश्वासी र सहज बनाउँछन् । तर शारीरिक तन्दरुस्ती, सहजता र मानसिक शान्तिको अनुभूति मात्र होइन, योगको लक्ष्य समाधिमार्फत मुक्ति वा मोक्षसम्म जोडिएको छ । योगका पनि हठ, राज, भक्ति, ज्ञान, कर्म आदि प्रकार छन् ।
योग पूर्वीय षड्दर्शन सांख्य, मिमांस, वैशेषिक, योग, न्याय र वेदान्त मध्येको एउटा महत्वपूर्ण दर्शन हो । अष्टाङ्ग योगमार्फत मनको चञ्चलता (चित्तवृत्ति)को निरोध गर्दै दुःखमोचन वा मोक्ष प्राप्ति यसको मुख्य दार्शनिक दृष्टि हो । यहाँ चित्त भनेको चेतनालाई व्यक्त गर्ने माध्यम हो । योगको उद्देश्य अष्टाङ्ग योगमार्फत आत्मालाई परम आत्मा, प्रकृतिसँग जोड्नु पनि हो ।
योगको लक्ष्य योगी अथवा मुक्तिसम्मको रहे पनि हाल अधिकतम रूपमा शरीर, मन र वचनको शुद्घिका लागि योगको उपयोग हुँदै आएको छ । पूर्वीय वाङमयलाई नै स्रोतका आधारमा लिंदा यसको प्रादुर्भावको इतिहास भगवान् शङ्करसम्म पुगेको बताइन्छ ।
गीता ,ऋग्वेद,उपनिषद, पुराण आदिमा यसको चर्चा भएबाट यो प्राचीन विधा , दर्शन हो भन्ने बुझिन्छ । तर पनि आचार्य पतञ्जलिले सूत्रीकरण गरेर योगसुत्रको निर्माण गरेका र सो पछि योग व्यावहारिक र वैज्ञानिक धरातलमा उभिएको एवम् समग्र मानवहितका निम्ति प्रयोग हुन थालेकोले यी नै योगदर्शन, योगका प्रवर्तक मानिन्छन् ।
हाल आएर हरिद्वारमा रहेर योगी गुरु रामदेव र आचार्य बालकृष्णले योगपीठ, विभिन्न शिविरहरू, साधनाकेन्द्रहरू आदिका माध्यमबाट योगलाई मानवीय मूल्य मान्यता जीवन र आध्यात्मिक चिन्तनसँग जोड्दै विश्वप्यापीकरण गरिरहेका छन् । यसको प्रभाव अन्यत्रजस्तै मोरङमा पनि लामो समयदेखि नै पर्दै आएको छ ।
मोरङमा मोरङ जिल्लास्तरीय पतञ्जलि योग समिति छ र जिल्लाका सबै गाउँ, नगर, महानगरपालिकाहरूकाहरूमा तीन स्तरका योग समितिहरू क्रियाशील रहेको बताइन्छ । यसै सन्दर्भमा विराटनगरममा योगको मर्म मुताविक मानिसको शारीरिक ,मानसिक र आत्मिक एकताका निम्ति सक्रिय रूपमा योग गतिविधि गर्दै गराउँदै आएको पतञ्जलि योग महानगरसमिति विराटनगरले हालसालै आफ्ना गतिविधिहरूको अभिखलेखन समेत रहने गरी विराटनगर योग दर्पण प्रकाशन गरेको छ ।
विराटनगर योग दर्पणको शुभकामना खण्ड
विराटनगर योग दर्पण पतञ्जलि योग महानगर समिति विराटनगरको प्रकाशन हो । यसकोे प्रकाशन साउन २०८२मा भएको देखिन्छ । विराटनगर प्रवेशद्वार र योगात्मा विम्बित हुुने आवरण पृष्ठको आकर्षक साजसज्जा रहेको यो कृतिको आरम्भमा योगी रामदेव र आचार्य बालकृष्णको तस्वीर राखेर पतञ्जलि योगपीठप्रति गुरु सम्मान गरिएको छ ।
कुल १९७ पृष्ठभित्र विषयवस्तु राखिएको यो प्रकाशनको शुभकामना खण्ड पनि निकै बोझिलो देखिन्छ । यसमा विराटनगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रदेशसभा सदस्य भीम पराजुली, कोशी प्रदेश योग समिति महामन्त्री लक्ष्मी काफ्ले, कोशी प्रदेश योग समिति सचिव शोभा कोइरालालगायत १५ जनाको शु्भकामना मन्तव्य छ । साथै समिति पदाधिारीहरूको विवरण ,वडा संयोजकहरूको विवरण र महानगरपालिकाभित्र सञ्चालित योगसाधना केन्द्र र त्यसका प्रमुखहरूको विवरण पनि यस खण्डमा छ ।
विराटनगर योग दर्पणको विषयवस्तु खण्ड
यसको अर्को विशेष र मुख्य खण्ड विषयवस्तु खण्ड हो । कुल १९७ पृष्ठमा विस्तारित यस खण्डमा विविध विषय र विषयवस्तुहरू समाविष्ट छन् ।
यस खण्डको प्रथम उपखण्डमा सुरेस भट्टराई, शिल्पा प्याकुरेल, हरिप्रसाद भट्टराई, माधव अधिकारी, मुकेश सिंह, बद्री पोखरेल, विजय खतिवडा, दामोदर पोखरेल, भागनारायण शाह, चक्र लुइ“टेल, वेनीगोपाल मुन्दडा, लक्ष्मी घिमिरे, भवानी घिमिरे, दुर्गा पौडेल खतिवडा, डीबी वस्नेत, मोहनप्रसाद पाण्डे, माया भट्टराई, जुना नेपाल, गंगा भट्ट पाण्डे, प्रह्लादप्रसाद दंगाल, हेम खतिवडा, ऋषि खतिवडा र ओमप्रकाश प्रसाईंका गरी कुल २४ जना लेखकहरूका २५ वटा लामा छोटा लेखहरू समाविष्ट छन् ।
एउटा योगसम्बन्धी कविता र बा“की छ आयामका हिसावले लेखहरू लघु र मध्यम आकारका देखिन्छन् । अधिकांश लेखहरू योगको महत्वलाई उजागर गर्ने प्रकृतिका र संस्मरणात्मक छन् । केही लेखहरू विराटनगरमा योगको गतिविधिको इतिहास खोतल्दै आएका छन् भने केही सोधमूलक प्रकृतिका अध्ययन सामग्री बनेर पनि आएका छन् ।
शिल्पा प्याकुरेल, दामोदर पोखरेल, हरिप्रसाद भट्टराई, भवानीप्रसाद घिमिरे, भागनारायण शाह, दुर्गा पौडेल, वेनीगोपाल मुन्दडा, मोहन पाण्डे, माया भट्टराई, जुना नेपाल, प्रह्लादप्रसाद दङ्गाल, हेमप्रसाद खतिवडा आदिका लेखहरू लेखकका संस्मरण र योग अनुभूति बोकेर आएका छन् ।
त्यस्तै सुरेस भट्टराई, वेनीगोपाल मुन्दडा आदिका लेखले विराटनगरमा योगको विकासको इतिहासलाई उत्खननको प्रयत्न पनि गरेका छन् । मुकेशकुमार सिंह ,बद्री पोखरेल, चक्र लुइटेल लक्ष्मी घिमिरे, लक्ष्मी रेग्मी, डीबी बस्नेत, गङ्गा भट्ट पाण्डे आदिका लेखहरू योगको महत्व र फाइदाहरूलाई उजागर गर्दै आएका छन् । कतिपय त अनुभूतिसहित पनि आएका छन् ।
विजय खतिवडाको ‘योगभूमिको पुनर्जागरण’ र माधव अधिकारीको ‘योगको इतिहास नेपालमा’ शीर्षकका लेखहरू सोधमूलक, अध्ययनमूलक प्रकृतिका लेखका रूपमा आएका छन् । त्यस्तै माधव अधिकारीको अर्को लेख ‘चेतना विकास र योगी आचरणको मार्ग’ योग दर्शनका तात्तिवक मान्यता र अष्टाङ्ग योगको चिनारी लिएर प्रस्तुत छ । यी दुबैजनाका लेखहरू तथ्यका नजिक रहेर लेखिएका देखिन्छन् तापनि तथ्यसिद्घका निम्ति यी लेखहरूमा स्रोत र सन्दर्भ सामग्रीको उल्लेखको अभाव छ ।
यसरी यो खण्डांश लेखकहरूको अनुभूति, विचार र अध्ययन विश्लेषणको खण्डका रूपमा देखिन्छ । कतिपय लेख कविताहरूले परिपक्वता खोजीरहेका देखिन्छन् । विषयको गहिराइ र विविधतालाई समेत ध्यान दिएर लेखहरू छनोट र समावेश गर्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने विचार यो कृति पढ्दा पाठकमा आयो भने यसलाई अन्यथा मान्न सकिंदैन ।
लेखहरू भन्दा छि लगभग १२० पृष्ठमा पतञ्जलि महानगर समितिका २०७४ सालदेखि ०८२ सालसम्म भएका योग गतिविधिहरूका तस्वीरहरू राखिएका छन् । जसमा योग शिविरहरूका योगअभ्यास तथा साधनाका, योग दिवस मनाउँदाका, प्रशिक्षक ,सह–योग शिक्षकका तालीमका, विशेष सम्मानका, यात्रा भ्रमणका तस्वीरहरू आदि छन् । यी प्रत्येक सन्दर्भका तस्वीरहरू आफै बोलिरहेछन् जस्तो लाग्छ र यिनले पनि सिंगो लेखको जस्तै अभिव्यक्ति दिइरहेका छन्,सूचना र सन्देश दिइरहेका छन् । यिनलाई जो सुकै पाठकले सजिलेै पढ्न बुझ्न सक्छन् ।
तस्वीरका सामग्रीहरु अलि बोझिलोजस्तो देखिए पनि वृद्घवृद्घा र अशिक्षित वर्गका निम्ति भने अध्ययन र सूचना र योग उत्प्रेरणाका राम्रा सामग्री बनेका छन् । यहींनेर ०६२ देखि हालसम्मका जिल्ला र महिला अध्यक्षहरूको पनि महत्वका साथ विवरण दिइएको छ ।
यो भागमा समय समयमा खासगरी उद्घोष पत्रिकामा प्रकाशित पतञ्जलि योग समितिका योग गतिविधि सम्बन्धी समाचार र योग सान्दर्भिक विचार, लेख रचना आदिलाई छाया“चित्र गरी समावेश गरिएको छ ।
अन्तिम भागमा पतञ्जलि योग समिति विराटनगरद्वारा सम्पन्न प्रशिक्षणमार्फत उत्पादित योग शिक्षकहरू, विभिन्न साधना केन्द्रद्वारा दीक्षित योग शिक्षकहरूका अतिरिक्त बाल संस्कार योग शिविर, उप–योग प्रशिक्षक सहयोग शिक्षक प्रशिक्षणबाट उत्पादित योग जनशक्तिहरूको नामनामेसी विवरणहरू छन् । यसमा २०७४ सालदेखि २०८२ सम्मकै विवरण समावेश छ ।
यसरी पतञ्जलि योग समिति विराटनगरको यो प्रकाशन यो संस्थाका गतिविधहरूको लेख , चित्र, तस्वीर र विवरणहरूमार्फत संस्थागत योगदानलाई अभिलेखीकरण गर्दै ‘विराटनगर योग दर्पण’ शीर्षकलाई सार्थक बनाउने गरी आएको छ ।
प्राप्तिहरू
कृतिमा प्रस्तुत भएका लेख, शुभकामना ,चित्राङ्कित अभिलेख , संलग्न तस्वीरहरूले यो कृति पतञ्जलि योग समिति विराटनगरको एउटा महत्वपूर्ण ऐतिहासिक आवधिक दस्तावेजका रुपमा आएको छ । यसले पतञ्जलि योग समिति विराटनगरको प्रकाशक समितिलाई दर्विलो र गर्विलो गरी योग अभियानको प्रवाहभित्र पेश गरेको छ ।
यो प्रकाशन गरेर महानगर समितिले योगसँग जोडिएका समस्त अग्रजहरूप्रति सम्मान गरेका छ भने आउँदो पुस्ताका निम्ति मार्गदर्शन गरेको छ । यसले वर्तमान पुस्तालाई योगतर्फ आकर्षणका निम्ति उत्प्रेरकको काम गरेको छ भने क्रियाशील साधक ,पदाधिकारी र प्रशिक्षकहरूको आतमसम्मानमा बढोत्तरी गरेको छ ।
योगले शरीरमा उर्जा थप्छ भनेझै यसले सम्वद्घ सबैमा उर्जा थपेको छ । यो कृति स्वयम्ले योगको अक्षर ,अङ्क र तस्वीरका माध्यमबाट पाठकलाई प्रशिक्षित र शिक्षित र दीक्षित गराइरहेको छ । यसमा इतिहास, अग्रजको सम्मान छ ; सहयोगी र शुभेच्छुकहरूको गुणगान पनि छ ।
सीमा तथा सुझावहरू
सामग्रीहरूको छनोट र व्यवस्थापनको प्रकृति हेर्दा यो प्रकाशन अलि हतारमा भएजस्तो देखिन्छ । अझै खारिएका र स्तरीय रचनाहरू भइदिएको भए ,समाविष्ट कतिपय रचनाहरू आयामका दृष्टिले लेख सुहाउँदा आकारर शैलीमा भएका भए विषयवस्तुहरूलाई अलि वैज्ञानिक तवरले खण्ड उपखण्डहरूमा सजाउन पाएको भए पक्कै पनि यो प्रकाशन अझै स्तरीय हुनेथियो । कतिपय लेखहरू उपयोगी र अध्ययनलायक हुँदाहुदै पनि स्रोत र सन्दर्भ सामग्रीहरू नहनुले भावी अध्येता खोजकर्ताहरूलाई आधिकारिक दृष्टान्तका रुपमा लिन असजिलो भएको छ ।
शुभकामनाहरू अलि बढी राख्नु पर्ने बाध्यताले पुस्तक थोरै भद्दा बनाएको छ । प्रकाशकमा फोटाहरूमार्फत गतिविधि प्रतिविम्वित गराउने लोभ अलि बढी देखिएको छ । विषयवस्तु खण्डलाई लेख रचना उपखण्ड, तस्वीर उपखण्ड, पत्रिकामा योग गतिविधि र विवरण उपखण्डजस्ता भिन्नभिन्न उपखण्डमा विभाजन गरेर राख्न पनि सकिएको भए कृति अलि व्यवस्थित हुन्थ्यो कि भन्ने लागेको छ ।
योगको फाइदा ,परिचय आदिका निम्ति गीत, कविता, गजलजस्ता साहित्यका विधाहरूलाई थप उपयोग गर्न सकिएको भए कृति अझै थप पठनीय र संप्रेषणीय हुन सक्थ्यो जस्तो लागेको छ ।
निश्कर्ष आज योग समाजको जीवनशैली बन्ने क्रममा छ । योगलाई अपनाउनेहरूको संख्या बढ्दै गइरहेको छ । यस्तो अवस्थामा योगको विकास प्रचारप्रसार र साधनामा समर्पित पतञ्जलि योग समिति विराटनगरले भावनात्मक र विवरणत्मक रूपमा समस्त योगकर्मी, साधकहरूलाई यो प्रकाशनमार्फत जोडेको छ ।
संस्थाले एउटा अनुकरणीय र ऐतिहासिक काम गरेको छ । केही सीमाहरूका बाबजुद कृति पठनीय र संग्रहणीय छ ।
योग साधना र योगजीवन पद्घतिका अनुयायीहरूका निम्ति त यो झन् उपयोगी बनेको छ । कृतिले विराटनगरका योग सम्बन्धी संस्थाहरूको अपनत्वको वातावरण बनाएको छ । यो दर्पण विराटनगरको मात्र होइन योगका सन्दर्भमा सबै सबैको सम्पत्ति भएको छ ।
साधक, योगी गुरुहरू र आम जनमानसका लागि यो एउटा सुन्दर उत्प्रेरक सामग्री बन्न पुगेको छ । यो अन्य सामाजिक संस्था र अभियानहरूका निम्ति पनि उदाहरणीय, अनुकरणीय कर्म बनेको छ । यो कृति विराटनगरमा योग विकासको इतिहासको एउटा साक्षी त बनेको नै छ यसका अतिरिक्त यो कृतिले परोक्ष रुपमा योगको अतीत र सिङ्गो इतिहासलाई पनि छोएको छ ।
यसका सामग्रीहरू योगका सम्बन्धमा हुने अध्ययन र खोजहरूका निम्ति सहयोगी बन्न सक्छन् । यसमा स्रंलग्न कतिपय लेखहरूले प्रसंगवस हामीलाई वैदिककालसम्म पु¥याएका छन् । यसले योगमा विराटनगर, मोरङ ,नेपाल, हरिद्वार हुँदै ऋषिमुनि कालसम्म छोएको छ । यसले योगको भूत र वर्तमानको विम्ब दिएको छ ।
कृतिले धेरथोर भविष्यमा हुने योग गतिविधिको पनि नजानिदो गरी प्रक्षेपण गरेको छ । यो योग दर्शनलाई जीवनदृष्टि मान्ने जो सुकैले यसमा अवश्य गर्व बोध गर्नेछन् । योग हामी सबैको क्लेशमुक्ति र चित्त शुद्धिको माध्यम बनोस् । कृति पाठक अध्येताका निम्ति संस्थाको एउटा अमूल्य उपहारका रूपमा आएको छ । यस्तो महत्वपूर्ण कृति प्रकाशनको निम्ति कृतिगत सफलताको कामनासहित प्रकाशक पतञ्जलि योग समिति विराटनगरलाई हार्दिक बधाई ।
View : 526
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved