Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
विचार

निचोरिएको निष्ठा, उतर्सिएको भीड र चाउरिएका जनता

समृद्धि, सुशासन, सामाजिक न्याय जस्ता अग्रगमनका सवालहरू पश्चिम, दक्षिण तथा उत्तरको स्वार्थ मिश्रित खिच्रो बनेको छ । राजनीतिमा निष्ठा रोएको छ, स्वार्थलम्पट सीमित भीड हा“सेको छ । अनि जनताको चाउरिएको मुहार हर सवालमा कर बुझाउन र पा“च वर्षमा मतदान केन्द्र धाउन आतुर छ ।
मणि दाहाल
१६ असार २०८२, सोमवार

हाम्रो वर्तमान परिदृश्य गोलचक्करभित्र बन्धक छ । लोकतन्त्रको चिरहरण गर्दै आन्दोलनका उपलब्धिहरूलाई पहु“चवाला वर्गको परेडस्थलमा रूपान्तरण गरिएको छ । जनताका अधिकारहरू संकुचनमा छन् । लोकतान्त्रिक गणतन्त्र लक्का जवान भइसक्दा पनि जनसंख्याको दुई तिहाइ हिस्साले त्यसको वास्तविक अनुभूति गर्न पाइरहेको छैन । जनतालाई कर तथा मतका साधनमा मात्र सीमित गरेर, तिनीहरूको ढाडमा टेकेर टाउकामा प्रहार गर्ने दलीय शीर्षस्थहरूको ‘भष्मासुर प्रवृत्ति’ ले जनजीविकालाई क्रमशः संकुचनको अवस्थामा पु¥याएको छ ।

नेतृत्वको देवत्वकरण र दलहरूको विचलन
आज नीतिको भन्दा नेताको देवत्वकरण गर्ने प्रचलन हावी छ । नेतृत्वमा हावी भष्मासुर प्रवृत्तिलाई महान् उपलब्धि ठानेर जयकारको विवेकशून्य दासताको बा“सुरी फुक्न माहिर स्वार्थलम्पट सञ्जाल राजनीतिमा व्याप्त छ । जसबाट दलहरूप्रति जन–नकारात्मकता अराजकता उन्मुख बन्दै छ । तर, यो अवस्थालाई स्वीकार गरेर यसको वस्तुनिष्ठ समीक्षा गर्न र सुध्रिएर जान नीतिगत तहमा आसिन भष्मासुर प्रवृत्ति तयार छैन । साथै, दासताको झोलाले बन्धक वर्तमान दलीय तहगत सञ्जालमा त्यसअनुसारको चेतना विकास भएको पनि पाइ“दैन ।

आदर्श राजनीतिको परिकल्पना र आजको यथार्थ
निष्ठापूर्ण राजनीतिको जगले राज्यलाई सुमार्गमा डोर्‍ याउँछ । राजनीतिक दलहरू “सिद्धान्तबाट निर्देशित हुन्छन् । राजनीति अगाडि र जनता राजनीतिको पछाडि हुन्छन् । राजनेताहरू आस्थाका केन्द्रबिन्दुमा रहन्छन्, राजनीति समाजसेवा बन्छ र राजनीतिज्ञहरू समाजसेवी हुन्छन् । समाज नैतिकवान र इमानको पुजारी बन्छ, मिडिया इमानको प्रचारक हुन्छ । भ्रष्ट, तस्कर, गुण्डा नायक तथा बेइमान र ठगहरूले शिर ठाडो पार्न सक्दैनन् । त्यस्ता अवाञ्छित तत्वहरूलाई मिडियाले कुनै स्थान दिंदैन । सामाजिक अपराधी कहलिएका त्यस्ता अपवित्र घृणित पात्रहरूको बास राजनीतिक दलहरूमा नभएर जेलको कालो कोठरीमा हुन्छ । 

राजनीति केवल राजनीतिको लागि मात्र नभएर जीवनको लागि हुन्छ । तर, हामीले राजनीतिभित्र त्यो आदर्शको जग बसाउन सकेनौं, बरु बसेका जगहरू पनि भत्काउ“दै गयौं । आखिर यो भद्रगोलताको कारक के हो त ? निष्ठा, नैतिकता तथा बलिदानको जगमा विकसित आजको राजनीतिलाई कालो बादलले किन ढाक्यो त ? यस बारेमा जानकार हुनु जरुरी छ ।

बलिदानको मूल्य र वर्तमानको पीडा
आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा छौं । यो युग स्थापनाको क्रममा हाम्रा र हामीजस्ता लाखौंको जीवन र जवानी बर्बाद भएका छन् । निरंकुशताको कालो बादल चिर्ने क्रममा हजारौंले जीवनकै आहुति दिएका छन् । निष्ठा, नैतिकता, सिद्धान्त र अनुशासनपूर्ण आन्दोलनको ज्वारमा होमिंदा हाम्रा घर व्यवहार तहसनहस भएका छन् । आजसम्म दुःखकै जीवनमा बा“चेका छौं, कतिपयको परिवार विखण्डनको अवस्थामा छ । विगतदेखि वर्तमानसम्म हामीले व्यक्तिगत सुख सयललाई परवाह गरेनौँ, आफ्नो लागि केही मागेनौं ।

हामी उच्च प्रशासकको कुर्सीमा आसिन भएर मोजमस्ती तथा शासकीय आलिसान जीवन जिउने क्षमता नभएर राजनीतिमा होमिएका थिएनौं । उच्च प्रशासक बन्ने क्षमता हामीमा पनि थियो । प्राडाको बिल्ला भिर्ने क्षमता पनि नभएको होइन । हामी पनि आईएनजीओ तथा एनजीओका अब्बल व्यापारी बन्न सक्ने थियौं । शिक्षा तथा स्वास्थ्यका उम्दा व्यापारी बन्ने थियौं, शहरका मुख्य भागमा आलिसान महल बन्ने थिए । विश्लेषक तथा बुद्धिजीवीको उपमा टा“सेर राजधानीको केन्द्रभागदेखि मोफसलसम्मका मिडियाका अग्रपंक्तिमा छाउन हामी पनि सक्ने थियौं । विद्वत्ता र विज्ञताको फोस्रो रवाफमा आजको स्वार्थपूर्ण राजनीति प्रदत्त राज्य दोहनको अवसर चुम्ने क्षमता हामीमा पनि थियो । हामी पनि आजको कपटपूर्ण राजनीतिको केन्द्र भागमा रहन सक्थ्यौं ।

हाम्रो एक मात्र ध्येय निरंकुश पारिवारिक शासन सत्ताको अन्त्य तथा गणतान्त्रिक शासन प्रणालीको स्थापना बन्यो । गणतन्त्रको जगमा जनवाद र जनजीविकाको संस्थागत विकास नै हाम्रो लक्ष्य बन्यो । सुशासन, सामाजिक न्यायसहितको समृद्ध देश तथा सुखी जनता हाम्रो संकल्प बन्यो । निष्ठा, नैतिकता र इमानपूर्ण, अनुशासित अनि प्रगतिशील समाजसहितको नया“ नेपाल हाम्रो कामना बन्यो । पथभ्रष्ट तथा बेइमानहरू समाजको अग्रभागमा छाएर उनीहरू नै समाजमा सम्मानित हुने कुप्रथाको अन्त्य हाम्रो अठोट बन्यो । यसैको खातिर हाम्रा व्यक्तिगत सबै चाहनाहरू गौण बने, हामीले अवसरलाई तिलाञ्जली दियौं ।

आदर्शहरूको रोदन र अपराधीकरण

दुःखका साथ भन्नुपर्छ, आज निष्ठा, नैतिकता, इमान, आदर्श रोइरहेको छ । ’सादा जीवन उच्च विचार’ तथा कठोर संघर्षको नैतिक मूल्य एकादेशको दन्त्यकथा भएको छ । विगत कालरात्रिको अन्धकारसँग मुकाबिला गर्ने निष्ठावानहरू आज सडक छाप भएका छन् । उनीहरू सामाजिक तथा राजनीतिक रूपमा गुमनामको जीवन बिताउ“दै छन् ।

 ब्रह्मा, विष्णु तथा महेशको अवतारसरह पूज्य तथा स्वतन्त्रताका अग्रदूत मानिएका दलीय शीर्षस्थहरू विचारशून्य भीडप्रेमी बनेर सोही भीडले भरिपूर्ण आहालमा डुबुल्की मार्न पुगेका छन् । सिद्धान्तबाट विचलित आजको दलीय सत्ता स्वार्थको फोहोरी खेल र विगतको पञ्च, राणा, पाण्डे, थापा, चौतारिया लगायतका भारदारहरूको सत्ता लम्पटतामा कुनै अन्तर पाउन सकिएको छैन । राजनीतिमा अपराधले घर जमाएर अपराधीहरूमध्येका कम अपराधी छान्नु जनताको बाध्यता बनेको छ ।

भीडतन्त्रको नियति र कुशासनको चपेटा
राजनीतिक दलहरू भीडले भरिपूर्ण छन् । सोही भीडको सहारामा दलीय फूलीवालाले निर्वाचन जित्दै पनि आएका छन् । केन्द्रदेखि गाउ“सम्मका सिंहदरबारहरूको सत्ता स्वाद चाख्दै आएका पनि छन् । भीडले जनतालाई बतासे सपना बा“डेर पटकौंसम्म झुलाउ“दै आएको पनि छ । तर, त्यो भीडमा न अनुशासन छ, न सिद्धान्त छ, न नीति छ, न नैतिकता छ, न इमानदारिता तथा कर्तव्यपालनता नै । सो भीडमा छ भने केवल भ्रष्टाचार, राज्य दोहन तथा माफिया–प्रेमिल चेतना र सेवाको मुखुण्डा लगाएको विकसित शासकीय शैली मात्र ।
प्रगतिशील सामाजिक चेतना नैतिकताको मूल आधार हो । सामाजिक तथा सांस्कृतिक क्रान्तिबिना प्रगतिशील चेतनाको विकास गर्न सकिंदैन ।

राजनीतिक आन्दोलनले जनतालाई अधिकार दियो, कर्तव्य दिलाउन सकेन । सामन्तवादको जगमा विकसित पथभ्रष्ट चेतना दीक्षित समाजले आजका दिनसम्म पनि ठीक–बेठीक छुट्ट्याउन नसक्दा समाज पथभ्रष्ट जमातको घेरामा प¥यो । नेतृत्व सो जमातको घेरा बाहिर जान नसक्दा केन्द्रदेखि गाउ“का सिंहदरबारका नव–महाराजको जीवनशैली विगतका सामन्ती राजा–महाराजभन्दा फरक हुन सकेन । गाउ“गाउ“मा पुर्याएको सिंहदरबारले टोलटोलमा भ्रष्टाचार छिरायो । जनप्रतिनिधि र टोले गुण्डामा भिन्नता पाउन सकिएन । कुशासन र भ्रष्टाचारले समाजमा आसन जमायो ।

लोकतन्त्रको रामनामीमा भीडतन्त्र

आज लोकतन्त्रको रामनामीमा भीडतन्त्रले घर जमाएको छ । राजनीति मालिकहरूको मिलन केन्द्रजस्तो भएको छ । मालिकको सेवामा तल्लीन नन्दीभृङ्गी अवतारका नव–दासहरूले प्रगतिशीलता र गतिशीलता दुवैलाई बन्धक बनाएका छन् । 
समृद्धि, सुशासन, सामाजिक न्याय जस्ता अग्रगमनका सवालहरू पश्चिम, दक्षिण तथा उत्तरको स्वार्थ मिश्रित खिच्रो बनेको छ । राजनीतिमा निष्ठा रोएको छ, स्वार्थलम्पट सीमित भीड हा“सेको छ । अनि जनताको चाउरिएको मुहार हर सवालमा कर बुझाउन र पा“च वर्षमा मतदान केन्द्र धाउन आतुर छ ।

View : 405

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved