Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
वातावरण

१० करोड लगानीमा प्राङ्गारिक मल उद्योग स्थापना, दैनिक आठ टनसम्म मल उत्पादन हुने

उद्घोष सम्वाददाता
२९ पुष २०८०, आइतवार

विराटनगर । जीवन विकास समाजले प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ । मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँगामा १० बिघा क्षेत्रफलमा बायोग्यास उद्योग स्थापना गरेर त्यहाँबाट जीवन विकास प्राङ्गारिक मलको व्यवसायिक उत्पादन सुरु गरेको हो । 

ग्यास तथा मल उद्योगको समाजका संस्थापक अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल र कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

उद्योगबाट प्राङ्गारिक मलको उत्पादनसँगै रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियानको समेत सुरुवात गरेको घोषणा गरिएको थियो । समाजले १० करोड लागतमा स्थापना गरेको उद्योगबाट दैनिक आठ टनसम्म प्राङ्गारिक मल उत्पादन हुने जनाइएको छ । त्यसैगरी १५० सिलिन्डर बायोग्यास पनि उत्पादन गर्ने क्षमता रहेको जनाइएको छ । 

उद्योगको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य मण्डलले नेपालमा रासायनिक मलको अभाव र छिटो उत्पादनका नाममा कतिपय बालीमा अत्यधिक प्रयोगले कृषि उत्पादनमा दीर्घकालिन असर परेको र माटोको उर्वाराशक्ति समेत नास भएको बताए । उद्योग स्थापनाले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको समस्यालाई सम्बोधन गर्न ठूलो मद्दत पुग्ने बताए । 

‘यो वर्ष आठ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ, चार लाख टन बाहिरबाट ल्याउँदा ३३ अर्ब खर्च भइसक्यो’ उनले भने, ‘यसको दीर्घकालिक समाधान सोचिएन भने एक दिन किसानसँग पैसा हुन्छ, तर खाद्यान्न विना बस्नुपर्ने अवस्था आउन सक्छ ।’ 

किसानले अब युरिया डीएपी जस्ता रासायनिक मलको विकल्पको रुपमा प्राङ्गारिक मल प्रयोग बढाउँदै जानुपर्ने बताए ।

कोशी प्रदेश सांसद गयानन्द मण्डलले राज्यले किसानलाई प्राङ्गारिक मलको प्रयोगमा सहयोग गर्नुपर्ने बताए । उनले रासायनिक मलबाट मुक्त हुन प्राङ्गारिक मलको प्रयोग आवश्यक रहेको बताए । 

उद्योगलाई बायोग्यासभन्दा मल उत्पादनमा केन्द्रित गरिएको उद्योगका प्रमुख उपेन्द्रकुमार मण्डलले बताए । उनका अनुसार ४० टन कच्चा पदार्थको प्रयोगबाट ८ टन प्राङ्गारिक मल र १५० सिलिन्डर बायोग्यास उत्पादन हुने जानकारी दिए ।

उद्योगले तीन हजार घनमिटरको डाइजेष्ट प्लान्ट निर्माण गरेको छ । त्यसैबाट प्राङ्गारिक प्राङ्गारिक मलसँगै बायोग्यास पनि उत्पादन भइरहेको छ । त्यसरी उत्पादन भएको बायोग्यास विराटनगरका दुई डेरीले प्रयोग गर्दै आएको जनाइएको छ । 

मण्डलका अनुसार हाल दैनिक ६ किलो दरका ३० सिलिन्डर ग्यास उत्पादन हुने गरेको छ । खुद कार्बन उत्सर्जन कम गर्ने अभियान अन्तरगत उत्पादन सुरु गरेको बायोग्यास एलपीजी ग्यास भन्दा सस्तो रहेको दाबी उद्योगको छ ।
जीवन विकास डेरी उद्योगका प्रमुख विजय मण्डलले बायोग्यासको प्रयोगले उत्पादन लागत कम गरेको जानकारी दिए ।

View : 165

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved