सत्तारोहणमा कांग्रेसको विलम्ब
विराटनगर । आइतबार दिनभरीमा मन्त्रीको नाम पठाउने भन्दै कोशीका नेताहरूलाई ढुक्क पारेको कांग्रेस केन्द्रले प्रदेश तहका पदाधिकारीहरूलाई फेरि एक पटक झुक्याएको छ । शनिबार मात्रै केन्द्रका शीर्ष नेताहरूले आइतबार दिनभरीमा मन्त्रीहरूको नाम पठाउने सन्देश प्रदेशमा पठाएका थिए ।
प्रदेशका नेताहरू आइतबार दिनभरी केन्द्रबाट नाम आउने प्रतिक्षामा थिए । तर, साँझ अबेरसम्म पनि केन्द्रबाट नाम नआएपछि कोशी संसदीय दलका बहुसंख्यक पदाधिकारीहरू ‘आफूहरूलाई केन्द्रले फेरि झुक्याएको’ बताइरहेका थिए ।
आइतबार दिनभरी पनि आजै साँझसम्ममा नाम आउँछ भन्दै निश्चित गरिरहेका दलका नेता उद्धव थापादेखि उपनेता हिमाल कार्कीसम्म साँझ हुँदै गएपछि सञ्चारमाध्यमको सम्पर्कबाट टाढिदै गए । ‘उहाँ एकदमै तनावमा हुनुहुन्छ’, दलका नेता थापा निकट एक सांसदले आइतबार साँझ भने ‘नाम आउने कुरामा आशावादी उहाँले साँझसम्म नाम नआएपछि केन्द्रका नेताहरूले फेरि झुक्याएको बताइरहनुभएको छ ।’
त्यसो त साउन ११ मा माओवादीले कोशी सरकार छाडेयता कांग्रेस प्रदेशका नेताहरू भुक्किएको यो पहिलो पटक भने होइन । उनीहरूलाई केन्द्रले बारम्बार नाम आउने मितिमा ढाँटिरहेको थियो ।
साउन १४ गते सोमबार साँझसम्ममा मन्त्रीको नाम टुंगो लाग्छ भनेर केन्द्रीय सदस्य भीम पराजुलीदेखि दलका नेता थापासम्मले सार्वजनिक अभिव्यक्ति दिएकै थिए । त्यसपछि पनि कहिले साउन २० त कहिले साउन अन्तिम, त्यसपछि साउन पहिलो साता र १३ गते भन्दाभन्दै नेताहरूले आइतबारको सीमा दिएका थिए । त्यही अन्तिम भनिएको मितिमा पनि नाम नआउँदा प्रदेशका नेताहरू जिल्लिएको उनीहरू नै बताउँछन् ।
कोशी सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाउने सवालमा गल्ती केन्द्रले गरिरहेको तर त्यसको मार आफूहरूले भोग्नुपरेको भन्दै कांग्रेस प्रदेशका नेताहरू आक्रोशित पनि हुन थालेका छन् । ‘राजनीतिक दल र सरकारसँग आम चासो जोडिएको हुन्छ, सोहीअनुसारको जवाफ हामीले पनि दिनुपर्छ’, कांग्रेस कोशी प्रदेश समितिका एक नेताले भने ‘प्रदेश तहको समितिलाई कठपुतली बनाएको केन्द्रले हामी नेताहरूलाई पनि मुखै देखाउन असहज हुने बनाइदिसक्यो । यो हदको वेवास्ता र अनिर्णय गलत छ ।’
प्रदेश तहका नेताहरूले भोगिरहेको यो असहजताबारे पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि जानकार छन् । उनले उद्घोषसँग स्वीकारे ‘मन्त्रीको नाम फाइनल नहुँदा लाजैमर्दो भइसकेको छ । तर, विभिन्न कारणले अल्झेको यो विषय चाँडै टुंगो लाग्छ ।’ शनिबार मात्रै उद्घोषसँग कुरा गर्दै संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङले ‘केन्द्रले आइतबार दिनभरीमा नाम पठाउने सन्देश प्रदेशमा पठाएको’ बताएका थिए ।
आइतबार साँझ सोही विषयमा कुरा गर्न उपनेता कार्कीलाई सम्पर्क गर्दा उनी सम्पर्कमै आउन चाहेनन् । प्रमुख सचेतक तामाङले चाहिँ केन्द्रले पठाएको सन्देश नै आफूहरूले प्रदेशमा प्रवाह गरेको र नाम नआएपछि आएन भनेको उल्लेख गरे ।
‘सबैलाई थाहा छ, मन्त्रीको नाम केन्द्रले टुंगो लगाउने हो, नाम टुंगिने कुरा आएकै कारण हामीले त्यही कुरा प्रदेश तहमा भनेका थियौं’, उनले उद्घोषसँग भने ‘आइतबार पनि नाम आएन । सायद केन्द्रमा छलफल भइरहेको होला ।’ कोशीका प्रमुख सचेतक तामाङले केन्द्रमा छलफल चलिरहेको बताइरहँदा कांग्रेसमा भने गुटैपिच्छे फरक दाबी आइरहेको छ ।
कोशीका देउवा पक्षका नेताहरूले आइतबार नै नाम टुंगो लागिसक्ने तयारी गरेको तर शेखर कोइराला पक्षले नाम नै नदिएको दाबी गरेको छ । ‘हामी त आजै नाम फाइनल हुनेमा ढुक्क थियौं तर शेखर दाइले आफ्नो पक्षको नाम नै दिनुभएन भन्ने खबर सभापति देउवा निवासबाट आयो’, देउवा पक्षबाट मन्त्री हुने दौडमा रहेका एक सांसदले भने ‘हिजोसम्म एक मन्त्री र एक राज्यमन्त्रीमा मानेको कुरा आएको थियो ।
तर, आज फेरि उहाँले दुईटा मन्त्रालय नदिए नामै दिन्नँ भन्नुभयो भने खबर आयो । केही बुझ्नै सकिएन ।’ आइतबार प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएपनि कोशी प्रदेश सरकार पुनर्गठनबारे के कुरा भयो त्यो सार्वजनिक भएको छैन ।
देउवा पक्षको यस्तो दाबीलाई कोइराला पक्षले भने इन्कार गरेको छ । कोशीमा कोइराला पक्षका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी सभापतिले अहिलेसम्म कोइराला पक्षलाई नामै नमागेको दाबी गरेका छन् । ‘कोशीमा शेखर पक्षले यो शर्त अघि सार्यो, त्यो शर्त अघि सार्यो भन्दै सुरुदेखि नै हामीलाई बदनाम गर्ने प्रयास भइरहेको छ’, कार्कीले भने ‘वास्तवमा हामीसँग अहिलेसम्म कसैले नाम मागेको छैन । मागेको केही मिनेटमै हामी नाम दिन तयार छौं ।’
संस्थापन पक्षका नेताहरूले यसअघि शेखर पक्षसँग कुरा मिलिसकेको बताएका थिए । तर, अहिले शेखरले दुई मन्त्रालयको दाबी नछाडेको भनिरहेका छन् । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले त कोशीमा कांग्रेसले पाउने मन्त्रालय संख्या नै यकिन भइनसकेको बताए । ‘हामीले कोशीमा पाउने मन्त्रालय संख्याबारे टुंगो लाग्नै बाँकी छ’, विश्वकर्माले भने ‘त्यही भएर पनि ढिला भएको हो ।’
मुख्यमन्त्री हिक्मत कार्की र दलका नेता उद्धव थापाले काठमाडौंमा बसेर चार–चार मन्त्रालय बाँडेको विषयलाई उनले ‘त्यो बाहिर आएको कुरा हो, त्यस्तो सहमति नभएको’ भनेर दाबी गरे । तर, मुख्यमन्त्री कार्की र नेता थापाले आफूहरूले चार–चार मन्त्रालय बाँडेको भनेर यसअघि नै सार्वजनिक रुपमा बोलिसकेका छन् ।
यतिबेला आएर कांग्रेसका नेताहरू किन फरक कुरा गरिरहेका छन् ? के यसका पछि कुनै फरक राजनीतिक कारण छ ? कांग्रेसभित्रैको एउटा पक्षले आशंका प्रकट गर्दै भनेको छ ‘कुनै बेला एमालेसँग सहकार्यको प्रस्ताव गर्ने शेखर पक्षले मन्त्रीको नाम दिन आनाकानी गर्नु, यहीबेला सरकारविरुद्ध सोही पक्षका नेता केदार कार्कीले अनशन थाल्ने घोषणा गर्नुले शंका उब्जाएको छ ।’ संस्थापन पक्षका ती नेताले शेखर कोइरालाको पछिल्लो सिंगापुर यात्राले आशंका थपेको उल्लेख गर्दै थपे ‘यहीबेला मन्त्रीको नाम दिन ढिला किन भइरहेको छ, यहीबेला केदार कार्कीले अनशन किन घोषणा गरेका छन् यी कुराले दालमे कुछ काला छ कि भन्ने शंका जन्माएको छ । हेरौं केही दिनमा यो विषयबारे पनि थाहा होला नै ।’
View : 177
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved