Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

२० औं वार्षिकोत्सव विशेष

विराटनगरको सामुदायिक शिक्षाको बिगत र वर्तमान

प्रा. कृष्ण पोखरेल
२ भदौ २०८१, आइतवार

Advertisement

आज विराटनगर सबै तह र विधाका शिक्षाको ‘हब’ बनेको छ । के कला, के बाणिज्य÷ब्यवस्थापन, के विज्ञान, के कृषि, के इञ्जिनियरिङ्ग, के चिकित्सा विज्ञान, के कम्युटर शिक्षा सबै क्षेत्रमा उच्च तह सम्मको शिक्षा प्राप्तगर्ने विकल्प उपलब्ध छ । देश भित्रका मात्र नाइँ, विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु पनि रोज्ने सुविधा छ । आज यहाँ सामुदायिक-सरकारी देखि संस्थागत- निजी क्षेत्रका, आम जनताको साबगाँसले भ्याउने देखि ‘स्टार’ सुविधाका फुर्मासीयुक्त शैक्षिक संस्थाहरु उपलब्ध छन् ।

हो, अभाव छ भने ‘अर्न एण्ड लर्न’ को सुविधाको । तर यो अवस्था सम्म आइपुग्न  चालिएका प्रारम्भिक पाइलाहरु कस्ता थिए ? र के कस्ता शैक्षिक संस्थाहरु र शिक्षाप्रेमीहरुको प्रयासको जगमा उभिएर विराटनगर यहाँसम्म आइपुगेका हो ? वस्तुतः यिनकै  उत्खनन गर्नु  यो आलेखको मकसद हो । त्यसो गर्दा विद्यालय शिक्षा र उच्च शिक्षा गरी दुइ खण्डमा बाँडेर चर्चा गर्नु सान्दर्भिक हुनेछ । विद्यालय शिक्षाको कुरा गर्दा आदर्श विद्यालय र उच्च शिक्षाको कुरा गर्दा मोरङ कलेजलाई केन्द्रविन्दु बनाएर चर्चा गरिनेछ ।

क.आदर्श विद्यालयः

आदर्श विद्यालय काठमाडौं पछि कै सबैभन्दा पुरानो विद्यालय मध्ये एक हो । यसको स्थापनाका नायक कृष्णप्रसाद कोइराला हुन् । उनकै सोच र पहलकमीमा यसले प्रारम्भमा   भारतको बिहार राज्य अन्तर्गत टेढीमा र पछि उनी निर्वासनबाट स्वदेश फर्के पछि वि.सं १९८६मा विराटनगरको उनको आफ्नै घरमा  निरन्तरता पायो । आज यो जहाँ छ त्यहाँ भने  बि.स १९९१÷०९२ सालमा तत्कालिन राणा प्रधानमन्त्री जुद्ध सम्शेर मोरङमा दौडाहा आउँदा उनै कृष्णप्रसाद कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको अनुरोधमा सरकार भवन निर्माण र सञ्चालनको खर्च समेत दिन तयार भयो । भवनका लागि जग्गा सूर्यनारायण श्रेष्ठ र रामलाल गोल्छाले उपलब्ध गराए । त्यसबेला विद्यालयको नाम फेरेर  जुद्ध  इङ्गलिस हाइस्कूल राखियो (नारायणप्रसाद श्रेष्ठःस्मारिका२०७६ः आदर्श विद्यालय) ।

२००७ सालको क्रान्ति पछि राणा प्रधानमन्त्रीको नाम हटाएर पुनः आदर्श विद्यालय राखियो । शुरु शुरुमा एस.एल.सी.को परीक्षा दिन भारतको बाटो गरी बीरगञ्ज पुग्नु पर्थ्यो (राधाप्रसाद घिमिरेःआदर्श विद्यालय स्मारिकाः २०७४ ) । शुरुमा यस विद्यालयका प्रधानाध्यपक रघुनन्दनलाल दास थिए भने पछि त्यस ठाउँमा उग्रनारायण दास आए । म पढ्दाताका श्याम झा यसका प्रधानाध्यापक थिए । विद्यालयको शैक्षिक कार्यक्रमको सञ्चालनमा प्रधानाध्यापकहरुको भूमिका भएझैं त्यसको व्यवस्थापनमा सञ्चालक समितिको महत्वपूर्ण भूमिका हुन्थ्यो । यो विद्यालयको ब्यवस्थापनको जिम्मा प्रारम्भमा संस्थापकको नाताले कृष्णप्रसाद कोइरालाले लिए पनि उनी पुनः राजनीतिक कोपभाजनमा परेपछि रामचन्द्र अधिकारी, अनन्तराम देवकोटा, चन्द्रिकाप्रसाद लोहनी र प्रतापनीति शर्मा जस्ता मूर्धन्य समाजसेवी–शिक्षाप्रेमीले लिएका थिए ।

म २०१५ सालमा आदर्श विद्यालयमा कक्षा ७ मा भर्ना हुँदा सम्म विराटनगर यो मात्रै हाइस्कूल थियो । अहिले सामुदायिक विद्यालय मध्ये मुलुककै श्रेष्ठ विद्यालयमा गनिने यो विद्यालय उबेला पनि आस पासका सबै मिडिल स्कूलमा कक्षा ६÷७ पढेका विद्यार्थीहरु त्यसभन्दा माथिल्लो शिक्षा पाउन यसै विद्यालयमा आउनु पर्थ्यो । म पढ्दा पनि यो विद्यालयको पढाइको स्तर उच्च कोटिको थियो भन्ने कुरा यसैबाट थाहा हुन्छ कि बि.सं.२०१८ को एस.एल. सी.मा यसै विद्यालयका विद्यार्थी चन्द्रमान महर्जन ‘बोर्ड सेकेण्ड’ भएका थिए ।

ख.आदर्श बालिका विद्यालयः

प्रारम्भमा नारी जागृति स्कूल नामाकरण भए पनि २०१२ सालमा यो आदर्श बालिका विद्यालय बन्यो । मैले थाहा पाउँदा यो स्कूल रङ्गेली रोडको   ऋषिकेश कोइराला (हरिबाबू)को घरमा थियो । पछि मात्र यो आजको स्थानमा आएको हो । यो विद्यालयले लामो समय सम्म पश्चिम बंगालबाट आएकी रेणुका चटर्जी जस्ती कुशल प्रधानाध्यापिकाको नेतृत्व पायो भने सञ्चालक समितिको सचिबको रुपमा पं शोभाचन्द्र खनालको नेतृत्व पायो । यो पनि कुनै बेला नेपालका स्तरीय सामुदायिक विद्यालयमा पथ्र्यो । यस विद्यालयकी विद्यार्थी नुपूर बनर्जी वि.स २०१७ को एस.एल.सी.मा ‘बोर्ड सेकेण्ड’ भएकी थिइन् ।

ग.विराटनगरका अन्य विद्यालयहरुः

शिक्षा प्रेमी र सहृदयी ब्यापारीहरुको पहलमा विराटनगरमा ठाउँ ठाउँमा विद्यालय खुले ।  सत्यनारायण हाइ स्कूल मूलतः विराटनगरका ब्यापारी समुदायको पहलकदमीमा खुलेको थियो । यसमा लामो समयसम्म श्रीबल्लभ लखौटियाले सचिब भइ सेवा गरेका थिए । जनता हाइ स्कूलको शैक्षिक नेतृत्व प्रारम्भमा कृष्णप्रसाद भट्टले लिएका थिए भने पछि  यसले लामो समय सम्म कृष्णप्रसाद भगतको प्रधानाध्यापकत्व पायो । सञ्चालनक समिति सचिबमा भने पालै पालो लक्ष्मी भक्तराज नेपाली र शारदाभक्त श्रेष्ट रहे । सरस्वती हाइ स्कूलमा श्यामकृष्ण गौतमले प्रधानाध्यापक भइ लामो समय सम्म सेवा गरे भने भौतिक सुविधा उपलब्ध गराउनेमा दधिराम कोइरालाको विशेष योगदान रह्यो भने सचिबको जिम्मेवारी ऋषिकेश कोइराला र नारायण प्रसाद कोइराला लिए ।

गोग्राहा हाइस्कूलको भौतिक रब्यवस्थापकीय नेतृत्व विश्व पटवारीले लिएका थिए भने त्यसमा शैक्षिक नेतृत्व भने उदितनारायण झा रभोलाप्रसाद सापकोटाले प्रदान गरे । जहाँ सम्म महेन्द्र विद्यालयको कुरा छ त्यसको शैक्षिक नेतृत्व सर्वप्रथम देवीप्रसाद काफ्लेले लिए भने उनी पछि मोतीप्रसाद ढकाल आए । लामो समय सम्म यसको शैक्षिक नेतृत्व विष्णु बरालको काँधमा आयो । स्थापनासँगै सञ्चालनको नेतृत्व भने जनकमान सिंह राजभण्डारीले सम्हालेका थिए । राधाकृष्ण स्कूलको स्थापनामा शंकरप्रसाद गौतम र रत्नकुमारगौतम(बच्चूबावू) को विशेष योगदान थियो भने शैक्षिक नेतृत्व विष्णुदेव लाल कर्णले बहन गरेका थिए । मिलमा काम गर्नेहरुका छोराछोरीलाई लक्षित गरी २००७ सालमा मिल्स एरियामा खुलेको मिल्स स्कूल समय क्रममा हाइस्कूल बन्यो । त्यस स्कूलमा लामो समय जवाहर रोक्काले प्रधानाध्यापकका रुपमा नेतृत्व दिए । 

तर यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने २०१८ साल सम्म यी मध्ये अधिकांश मिडिल स्कूल मात्र थिए र यहाँका विद्यार्थीहरु सात-आठ कक्षा पढ्न आदर्श विद्यालय नै आउनु पर्थ्यो । विस्तारै यी हाइस्कुलमा स्तरोन्नति भए र माध्यमिक शिक्षाको बागडोर सम्हाल्न सक्षम भए ।

घ. तीन वर्षमा एस. एल.सी. गराउने विद्यालयहरुः

उमेर खाएका तर पढाइमा पछि परेकाहरुलाई लक्षित गरी विराटनगरमा तीन वर्षमा एस.एल.सी गराउने विद्यालयहरु खुले । तिनमा अग्रणी थियो अहिले बनस्खण्डी मन्दिरको उत्तर पट्टि नर्सिङ्ग क्याम्पस भएको ठाउँमा  आफ्नै भवनमा २०१४ सालमा खुलेको– राष्ट्रिय विद्यालय । त्यस्तै  जनता प्रौढ रात्री पाठशालाको नाममा जनता स्कूलको भवनमा अर्को विद्यालय खुल्यो । तर यो धेरै दिन चलेन । पछि सरस्वती स्कूलको भवनमा महेन्द्र रात्री स्कूल खुल्यो । तीन वर्षमा एस. एल.सी. गराउने यी विद्यालयहरुले विद्या आर्जनका लागि  पहाडबाट ढिलो मधेश झरेका, यो वा उ कारणले उमेर घर्केका र काम गरी साँझ विहान पढ्न चाहनेहरुलाई ठूलो मद्दत गरे । यी मध्ये महेन्द्र रात्री स्कूल आज पनि विराट निम्न माध्यमिक विद्यालयको भवनमा सञ्चालित छ र खाँचो परेकाहरुलाई सेवा दिइरहेको छ । 

ङ. प्राथमिक विद्यालयहरुको लर्कोः

पञ्चायत ब्यवस्था शुरु भएको केही समय पछि पहिले शंकर गौतम र पछि कृष्णबहादुर थापा प्रधानपञ्च भएका बेला तिर २०१९÷०२० सालमा विराटनगर नगरपञ्चायतले   विद्यालय नभएका विभिन्न वडाहरुमा कक्षा पाँचसम्म पढाउने निशुल्क प्राथमिक पाठशालाहरु खोल्यो । विराटनगरमा बस्ती विकास हुँदै गए पछि शिक्षण संस्थाहरु नभएका बस्तीहरुलाई लक्षित गरी त्यस्ता विद्यालयहरु खोलिएका थिए ।  त्यसरी खोलिएका प्राथमिक पाठशालाहरु मध्ये पोखरिया र जनपथ   विद्यालयहरु यतिबेला हाइस्कूल बनेका छन् । पोखरिया माध्यमिक विद्यालय त यतिबेला नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय मध्ये एक बनेको पर्छ ।

च. मोरङ कलेजः

आज महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसका नामबाट चर्चित यो संस्थाको स्थापना  मोरङ्ग इण्टरमिडिएट कलेजका रुपमा  वि.सं. २०१२ साल साउन १५ गते स्थापना भएको हो । यसका अग्रणी अभियन्ता रामचन्द्र अधिकारी थिए । पहिलो वर्ष कला र अर्को वर्ष यसमा वाणिज्य विषयको पढाइ थालियो । आफ्नै कलेजबाट उत्तीर्णहरुलाई लक्षित गरी २०१४ साल र पन्ध्र सालमा क्रमशः बि.ए. र बि.कमको पढाई थालियो । यसको सञ्चालन आदर्श विद्यालयको भवनमा रात्रीकालीन कार्यक्रमका रुपमा भयो अनि संस्थापक प्रिन्सिपल नारायणप्रसाद अर्जेल र भाइस प्रिन्सिपल गोपालप्रसाद शर्मा बने । जग्गा र  भवन निर्माणको जोहो तत्कालिन मोरङ्ग(हालको मोरङ्ग र सुनसरी) जिल्लाको मालपोतमा तीन वर्षका लागि विगाहामा एक रुपियाँका दरले विगहट्टी उठाएर गरियो । यसबारे सरकारसँग स्वीकृति लिने बेलामा तत्कालीन बडाहाकिम तारकबहादुर शाहले आइ.एस्सी. तहको विज्ञान शिक्षा पनि थप्नुपर्ने शर्त राखे ।

सरकारको स्वीकृति पाए पछि उठेको रकमले नै अहिले क्याम्पस रहेको स्थानमा रु ४४ हजारमा बाइस विगाहा जग्गा किनियो र त्यही जग्गामा कलेज भवनको शिलान्यास उनै बडाहाकिम तारक बहादुर शाहले गरे  (मोरङको चार दशकः लक्ष्मण शास्त्रीको अप्रकाशित आत्मवृत्तान्त) । यसरी जनस्तरबाट उठेको पैसाबाट बनेको भव्य भवनमा २०१९ साल कात्तिक ३० गते देखि आई.एस्सी.को पठन–पाठन प्रारम्भ भयो र त्यसैबेला देखि आदर्श विद्यालयबाट मोरङ कलेज आफ्नो नवनिर्मित भवनमा सर्यो । २०२२ सालमा विराटनगरमा परीक्षाकेन्द्र नहुँदासम्म फाइनल परीक्षा दिन काठमाडौं जानुपर्थ्यो ।

मोरङ्गका शिक्षाप्रेमीहरु यत्तिकैमा सन्तुष्ट भएनन् । उनीहरु यो कलेजलाई मुलुककै  दोस्रो विश्वविद्यालयको रुपमा विकास गर्न चाहन्थे । यसका लागि उनीहरुले आइ.एस्सी एगृकल्चर, वि.एस्सी., बि.एल.र एम.ए.का केही शैक्षिक कार्यक्रमको माग त गरे नै प्रस्तावित महेन्द्र विश्वविद्यालयका लागि मोरङ कलेजको नाम अगाडि महेन्द्र थप्ने, पुरानो हवाइफिल्डको जग्गा प्राप्त गर्ने, थप १६० विगाहा जग्गा अधिग्रहण गर्ने र मोरङ उच्च शिक्षा ट्रष्ट खडा गरी यस जिल्लाबाट निकासी हुने वस्तुमा कर उठाएर विश्वविद्यालयका लागि आवश्यक पर्ने खर्चको जोहो गर्ने विषयमा राजासमक्ष विन्तीपत्र चढाए । यो कार्यमा अग्रसरता लिनेमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, ब्रि.ज. भूपालमान सिंह कार्की, चैतुलाल चौधरी, ज्ञानचन सरदारका अतिरिक्त उद्योगी–ब्यवसायीहरु रामलाल गोल्छा, कालुराम अग्रवाल,मदनलाल अग्रवाल, जुद्धबहादुर श्रेष्ट, नवरङ्गलाल लोहियाको नाम प्रमुख रुपमा आउँछ (पूर्वाञ्चल विश्वविद्यालयको ऐतिहासिक पृष्ठभूमिः पूर्वाञ्चल विश्वविद्यालय) ।

यही पहलकदमीको प्रतिफलका रुपमा २०२३ सालमा  कलेजको नाम महेन्द्र मोरङ्ग कलेज राखियो, बि.एस्सी. र बि.एल खोलियो र मोरङ्ग उच्च शिक्षा विकास ट्रष्टको स्थापना भई रानी नाकाबाट विदेश निकासी हुने निश्चित वस्तुहरुमा कर उठाउन पनि थालियो । रोचक कुरा त के छ भने राजा महेन्द्रको आदेश अनुसार प्रधानमन्त्रीले लेखेको पत्रमा मोरङ कलेज र पुरानो हवाई फिल्डमा प्रस्तावित विश्वविद्यालयका नाममा प्राप्त जग्गाको आसपासमा पर्ने लगभग १६० विगाहा जग्गा अधिग्रहणका लागि किस्तावन्दीमा रकम निकाशा दिने बचन पनि दिइयो । कलेजमा थप्ने शैक्षिक कार्यक्रमका लागि त्रिभुवन विश्वविद्यालयसँग सहजीकरण गर्ने कुरा पनि भयो ।

तर २०२८ सालमा नयाँ शिक्षा योजना लागू भए पछि यी सबै प्रयाशहरु शून्यमा झरे । शिक्षा विकासमा त्यतिखेर सम्म देशै भरि भएका सबै जन–पहल र तिनका माध्यमबाट बनेका विद्यालय महाविद्यालयहरु राष्ट्रियकरण मात्र भएनन् हिजोका स्थानीय शिक्षाप्रेमीहरुलाई आफ्नै शिक्षण संस्थाहरुमा प्रवेश निषेध गरियो । त्यस पछि २०३० सालमा नयाँ शिक्षाको प्रभाव स्वरुप  महेन्द्र मोरङ कलेज अब क्याम्पस भयो र त्यसमा विराटनगरमै २०२४ सालमा प्रतापनिधि शर्मा र विश्वराज पाण्डेको सक्रीयतामा खुलेको आदर्श रात्री महाविद्यालय  गभियो र क्याम्पसको नाम महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस बनाइयो ।

२०३३ सालमा  ब्यवस्थापनको डीन अफिस विराटनगरमा सरे पछि यहाँको शैक्षिक वातावरणमा केही हलचल आयो । त्यसबेलाका डीन उपेन्द्रबहादुर प्रधानाङ्गकै पहलकदमीमा यस क्याम्पसमा क्रमशः ब्यवस्थापन र अर्थशास्त्रको स्नातकोत्तर कार्यक्रम सञ्चालनमा आयो । उनकै सक्रीयतामा पुरानो हवाइफिल्डमा प्रस्तावित विश्वविद्यालयका नाममा रहेको जग्गामा नयाँ भवन बन्यो र स्नातकोत्तर कार्यक्रम त्यहाँ सारियो । त्यही कार्यक्रम पछि स्नातकोत्तर क्याम्पस बन्यो र त्यहाँ  विज्ञान तिरका गणित,वनस्पतिशास्त्र र प्राणीशास्त्र र मानविकी तिरका राजनीतिशास्त्र, इतिहास,संस्कृति, समाजशास्त्र÷मानवशास्त्र, ग्रामीण विकास,अंग्रेजी जस्ता विषयका स्नातकोत्तर कार्यक्रमहरु थपिंदै गए ।

हुन त स्नातकोत्तर क्याम्पसमा मात्र होइन महेन्द्र मोरङ क्याम्पसमा पनि यतिबेला  व्यवस्थापन, जनप्रशासन, भौतिकशास्त्र, रशायनशास्त्र र अंग्रेजी विषयका स्नातकोत्तर कार्यक्रम सञ्चालित छन् (क्याम्पसको बेवसाइट) । यी दुवै क्याम्पसमा विद्यावारिधि गर्ने सम्मको ब्यवस्था छ ।

छ. जनस्तरका क्याम्पसहरुः

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको चाप थाम्न नसके पछि जनस्तरबाट क्याम्पस खोल्नपाउने नीति पुनः प्रारम्भ भयो । त्यसैको फलस्वरुप विराटनगरमा केही नयाँ क्याम्पसहरु खुले । आदर्श विद्यालयको भवनमा  आदर्श रात्री क्याम्पस, आदर्श बालिका विद्यालयको भवनमा आदर्श कन्या क्याम्पस र जनता हाइस्कूलको भवनमा जनता कानुन क्याम्पस खुले । त्यस्तै शिक्षकहरु कै पहलमा विराट साइन्स क्याम्पस खुल्यो । यी मध्ये आदर्श रात्री क्याम्पस त्यसै हरायो । तर आफ्नै जग्गा र भवन भएका कन्या क्याम्पस र  जनता कानुन क्याम्पस पूर्वाञ्चल पूर्वाञ्चल विश्वविद्यालयमा र विराट साइन्स क्याम्पस मनमोहन प्राविधिक विश्वविद्यालयमा स्वेच्छाले गाभिए ।

ज.पूर्वाञ्चल विश्वविद्यालयः

पञ्चायत काल भरि पूर्वाञ्चलमा विश्वविद्यालय खोल्ने दमित चाहनाले २०४६को जनआन्दोलन पछि वाणी पायो । २०४८ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालाई एलिट क्लवमा गरिएको स्वागत कार्यक्रममा  उनले आफ्नो सरकारले पूर्वाञ्चलमा मेडिकल कलेज र विश्वविद्यालय खोल्ने योजना बनाएको र यी मध्ये एउटा विराटनगरमा र अर्को धरानमा हुने बताए । विराटनगरियाहरुहरुले  विश्वविद्यालय तर्फ चाहना देखाएको बुझे पछि प्रधानमन्त्री कै पहलमा पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० जारी भयो र यसले आफ्नो कार्यारम्भ २०५२ साल साउन १ गते विराटनगरबाटै गर्यो (पूर्वाञ्चल विश्वविद्यालयको ऐतिहासिक पृष्ठभूमि) ।

विराटनगरलाई केन्द्रविन्दु बनाएर खुलेको यो विश्वविद्यालय विराटनगर मै भएका त्रिभुवन विश्विद्यालयका स्नातकोत्तर स्तरका कार्यक्रमहरुलाई ऐनमा ब्यवस्था भए पनि   लिन तयार भएन र बेग्लै क्याम्पसहरु खोल्न अग्रसर भयो । यतिबेला यो विश्वविद्यालयको केन्द्रीय कार्यालन मोरङको गोठगाउँमा छ र यसका कानुन, ब्यवस्थापन, इञ्जिनियरिङ्ग, चिकित्सशास्त्र, कृषि इत्यादिका आङ्गिक क्याम्पसहरु त्यहाँ र विराटनगरमा समेत सञ्चालित छन् । विश्वविद्यालय भएकाले यसका सबैभन्दा बढी सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रमहरु काठमाडौंमा छन् ।

निष्कर्षमा यही भन्न सकिन्छ कि शिक्षाप्रतिको प्रेम र ज्ञानको भोकले सामाजिक अभियन्ताहरुले आदर्श विद्यालय र मोरङ्ग इण्टर मिडिएट कलेजबाट प्रारम्भ गरेको  जनस्तरको शैक्षिक अभियान आज विशाल बटबृक्ष भएको छ र यसका हाँगाबिंगा दिगदिगन्त सम्म फैलिएका छन् । अझ यसमा संस्थागत-निजीस्तरका शिक्षण संस्थाहरु समावेश छैनन् ।

View : 177

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved