विराटनगर । लगभग जितिसकेको खेल गुमाउँदै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सुरुआत हारबाट गरेको छ । मंगलबार वेस्ट इन्डिजका विष्फोटक अलराउण्डर आन्द्रे रसेल क्रिजमा रहँदासम्म विराटनगर किंग्सको जितको सम्भावना बलियो देखिएको थियो ।
१७ बलमा ३३ रन बनाउँदै रसेलले चितवन राइनोजविरुद्धको खेलमा विराटनगरलाई जितको नजिक पुर्याएका थिए । तर, उनी आउट भएपछि सम्हालिन नसकेको विराटनगरले अन्तिम २३ बलमा पाँच विकेट गुमायो ।
जितका लागि आवश्यक रन बनाउन नसक्दा एनपीएलको तेस्रो संस्करणमा विराटनगरले पहिलो खेलमै हार बेहोर्नुपरेको हो । चितवनले विराटनगरलाई ८ रनले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो ।
खेलको अन्तिम चरणमा लगातार विकेट गुमाउनु विराटनगरको हारको निर्णायक कारण बन्यो । एक समय लक्ष्य पछ्याउने क्रममा राम्रो अवस्थामा रहेको टोली रसेलको विकेटपछि दबाबमा पर्यो । चितवनका कमलसिंह ऐरी र रिजन ढकालले विराटनगरको ब्याटिङ क्रमलाई धराशायी बनाउँदै जित सुनिश्चित गरेका थिए । कमलले चार विकेट लिए भने रिजनले दुई विकेट हात पारे ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि खेलको अन्तिम समयमा टोलीले गरेका गल्तीलाई हारको मुख्य कारण मानेका छन् । उनका अनुसार पहिलो इनिङ्सदेखि दोस्रो इनिङ्सको १६ ओभरसम्म खेल विराटनगरको नियन्त्रणमा थियो । तर, अन्तिम समयमा लगातार विकेट गुमाउनु र हतारमा गलत सट खेल्नु टोलीका लागि महँगो पर्यो ।
‘पहिलो इनिङ्सदेखि दोस्रो इनिङ्सको १६ ओभरसम्म खेल हाम्रो नियन्त्रणमा थियो । तर, अन्तिम समयमा लगातार विकेट गुमायौँ । हतारमा गलत सट खेल्यौँ, जसले गर्दा खेल हाम्रो हातबाट गयो,’ सन्दीपले खेलपछि भने ।
टसपछि पहिले ब्याटिङ गरेको चितवनले डेविड मलान र देव खनालको साझेदारीमा राम्रो सुरुआत गरेको थियो । यी दुईले पहिलो विकेटका लागि ५८ रन जोडे ।
आठौँ ओभरको अन्तिम बलमा चरिथ असलंकाले देवलाई लोकेश बमबाट स्टम्पिङ गराएपछि चितवनले पहिलो विकेट गुमाएको थियो ।
देवले १५ बलमा १२ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अर्जुन साउद तीन रनमै आउट भए । उनलाई एन्जेलो म्याथ्युजले पवेलियन फर्काएका थिए ।
त्यसपछि मलान र रवि बोपाराबीचको साझेदारी लामो समय टिक्न सकेन । ११ रन थपिँदा मलान पनि आउट भए ।
चितवनको ब्याटिङलाई मलानले सम्हालेका थिए । उनले विराटनगरका बलरको सामना गर्दै ७० रन बनाए । पाँच चौका र पाँच छक्का प्रहार गरेका मलानलाई आन्द्रे रसेलले बोल्ड गरे ।
मलान आउट हुँदा चितवनको स्कोर ९० रन पुगेको थियो । मलानको विकेटपछि पनि चितवनले रन जोड्ने क्रम रोकेन । कप्तानको जिम्मेवारी पाएका रवि बोपारा अविजित रहेर २६ बलमा ३२ रन बनाए । डान माउस्लीले २९ रनको योगदान गरे । उनीहरूको ब्याटिङको मद्दतमा चितवनले २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनायो ।
विराटनगरका लागि बलिङमा म्याथ्युज प्रभावकारी देखिए । उनले चितवनको ब्याटिङलाई नियन्त्रणमा राख्न महत्वपूर्ण भूमिका खेले । रसेलले एक विकेट लिए भने चरिथ असलंकाले पनि एक विकेट हात पारे । कप्तान सन्दीपले चार ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
१५८ रनको लक्ष्य पछ्याएको विराटनगरले आक्रामक सुरुआत गरेको थियो । ओपनर लोकेश बमले १४ बलमा २६ रन बनाउँदै टोलीलाई तीव्र गतिमा अघि बढाएका उनी आउट भए ।
उनलाई रन्जित कुमारले आउट गरे । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । त्यसपछि चरिथ असलंकाले पनि आठ रनमै विकेट गुमाएपछि विराटनगरले सुरुआती लय कायम राख्न सकेन ।
असलंकालाई डान माउस्लीले आउट गरेका थिए ।
त्यसपछि इमरान शेखले ब्याटिङ सम्हाले । उनले ३१ बलमा ३९ रन बनाए । इमरानले विराटनगरलाई लक्ष्यतर्फ अघि बढाइरहेका बेला मौसम ढकालले उनको विकेट लिए ।
विवेक यादवको हातबाट क्याच गराउँदै मौसमले इमरानसँगको साझेदारी तोडे । बशिर अहमदले पनि क्रिजमा लामो समय बिताउन सकेनन् ।
१३ बलमा १३ रन बनाएका उनलाई कमलसिंह ऐरीले बोल्ड गरे । यो विकेटसँगै विराटनगर दबाबमा पर्न थाल्यो ।
मध्यक्रमका ब्याटर आउट भए पनि विराटनगरसँग जितको सम्भावना बाँकी थियो । लक्ष्य धेरै टाढा थिएन र क्रिजमा रसेलजस्ता आक्रामक ब्याटर थिए । उनले आफ्नो परिचयअनुसार नै आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई खेलमा फर्काउने प्रयास गरे । रसेल क्रिजमा आएपछि विराटनगरको ब्याटिङले गति लियो ।
उनले चितवनका बलरमाथि आक्रमण गर्दै लगातार बाउन्ड्री प्रहार गरे । विशेषगरी १५औँ र १६औँ ओभरमा उनको ब्याटिङले विराटनगरका समर्थकमा जितको आशा जगाएको थियो ।
रसेलले १७ बलमा ३३ रन बनाए । उनको इनिङ्समा एक चौका र चार छक्का समावेश थिए ।
कम बलमा धेरै रन जोड्ने उनको क्षमताले विराटनगरलाई लक्ष्य नजिक पुर्याएको थियो । तर, यही चरणमा चितवनका कमलसिंह ऐरीले महत्वपूर्ण सफलता हात पारे । रसेललाई क्याचआउट गराउँदै उनले विराटनगरको जितको सम्भावनामा ठूलो धक्का पुर्याए ।
रसेल आउट भएपछि विराटनगरको तल्लो क्रमले जिम्मेवारी सम्हाल्न सकेन ।
कमलले त्यसपछि एन्जेलो म्याथ्युजलाई १४ रनमा आउट गरे । क्रिजमा आएका रुपेश सिंह पनि पहिलो बलमै उनको सिकार बने ।
लगातार विकेट गुमेपछि विराटनगरले आवश्यक रन बनाउने गति कायम राख्न सकेन । कमलको बलिङले विराटनगरको मध्यक्रम र तल्लो क्रमलाई दबाबमा पारेको थियो ।
चार विकेट लिएका उनी चितवनको जितका मुख्य आधार बने । रिजन ढकालले पनि महत्वपूर्ण समयमा विकेट लिँदै विराटनगरलाई खेलमा फर्कने अवसर दिएनन् ।
खेलको अन्तिम चरणमा विराटनगरलाई जितका लागि १० बलमा १६ रन आवश्यक थियो । हातमा दुई विकेट मात्र बाँकी थिए । त्यसअघि नै रसेलसहित महत्वपूर्ण ब्याटर आउट भइसकेका थिए ।
रिजन ढकालले प्रतिशलाई गोल्डेन डकमा आउट गरेपछि खेल थप रोमाञ्चक बन्यो । त्यसपछि विराटनगरका लागि जितको जिम्मेवारी तल्लो क्रमका ब्याटरमा आयो । सन्दीप लामिछाने पनि ब्याटिङमा टिक्न सकेनन् ।
रिजनले उनलाई बोल्ड गरेपछि विराटनगरको अवस्था झन् कठिन बन्यो । देव खनालले नरेन साउदको क्याच लिन नसक्दा विराटनगरले केही राहत पाएको थियो । तर, त्यो अवसरलाई टोलीले उपयोग गर्न सकेन ।
अन्तिम दुई बल बाँकी हुँदा टम टेलरले सुभम रन्जनेलाई बोल्ड गरेपछि विराटनगरको इनिङ्स १४९ रनमा टुंगियो ।
चितवनले रोमाञ्चक खेलमा आठ रनको जित निकाल्दै प्रतियोगितामा पहिलो दुई अंक सुरक्षित गर्यो । विराटनगर भने राम्रो सुरुआत र रसेलको आक्रामक ब्याटिङका बाबजुद अंकविहीन बन्यो ।
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved