अपाङ्गता भएका व्यक्तिहरूको ३४ औं अन्तर्राष्ट्रिय दिवस
प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर ३ तारिखका दिन विश्वभर मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज नेपालका विभिन्न शहरहरूसँगै विराटनगरमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घले यस वर्षको अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका लागि घोषणा गरेको नारा 'अपाङ्गता समावेशी समाजलाई प्रोत्साहन गर्दै सामाजिक प्रगतिलाई अग्रसर बनाऔं' रहेको छ।
यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण, उनीहरूको जीवनस्तरमा सुधार, र समाजका हरेक क्षेत्रमा उनीहरूको समान सहभागिताको महत्त्वमाथि जोड दिन्छ।
यो नारा केवल शब्द होइन, समाजलाई समावेशी बनाउनुपर्ने गहिरो आह्वान हो । कुनै पनि समूहलाई बाहिर राखेर विकास सम्भव हुँदैन, बरु सबैलाई समान अवसर दिएर मात्र समाज समृद्ध हुन्छ ।
नेपालमा शारीरिक अपाङ्गताको अवस्था
राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा करिब ६ लाख (कुल जनसंख्याको २.२प्रतिशत ) अपाङ्गता भएका व्यक्तिहरू छन् । जसमध्ये ३७.१प्रतिशत शारीरिक अपाङ्गता भएकाले करिब २ लाख २२ हजार भन्दा बढी व्यक्तिहरू शारीरिक अपाङ्गता भएका छन् ।
सहायक उपकरण (जस्तैः ह्वीलचेयर) र कृत्रिम हातखुट्टा (प्रोस्थेसिस) प्रयोगकर्ताको ठ्याक्कै तथ्याङ्क उपलब्ध नभए पनि विभिन्न संस्थाहरू (एचआरडीसी, लिब्बकियर नेपाल, सीवीआर विराटनगर, राष्ट्रिय अपाङ्ग कोषलगायत) ले हजारौं व्यक्तिलाई यस्ता उपकरण प्रदान गर्दै आएका छन् ।
तर, यो संख्या कुल मागको तुलनामा अझै कम छ, विशेषगरी ग्रामीण क्षेत्रमा पहुँच कठिन भएकाले प्रयोगकर्ताको संख्या सीमित देखिन्छ ।
कोशी प्रदेशमा शारीरिक अपाङ्गताको चुनौती
राष्ट्रिय जनगणना २०७८ अनुसार, कोशी प्रदेशमा अपाङ्गता दर करिब २.३७प्रतिशत छ, जहाँ १ लाख १७ हजार ४ सय ६३ जना अपाङ्गता भएका व्यक्तिहरूमध्ये ३७.१ प्रतिशत अर्थात् करिब ४३ हजार ५ सय ७९ जना शारीरिक अपाङ्गता भएका छन् ।
सामुदायिक पुनर्स्थापना केन्द्र (सीबीआर) विराटनगरको तथ्याङ्क अनुसार, तीमध्ये ४० प्रतिशत (करिब १७,४३२ जना) लाई सहायक सामग्री आवश्यक पर्छ ।
यसमा करिब ६,१०१ जना (७० प्रतिशत) लाई सहायक उपकरण र करिब २,६१५ जना (३० प्रतिशत ) लाई कृत्रिम हातखुट्टा चाहिन्छ । तर, विभिन्न संघसंस्थाबाट वार्षिक रूपमा मात्रै ७५० जना (१२ प्रतिशत) ले सहायक उपकरण र १११ जना (४ प्रतिशत) ले कृत्रिम हातखुट्टा प्राप्त गर्दै आएका छन् ।
गमनशीलता (मोविलिटी) को महत्व : गमनशीलता व्यक्तिको स्वतन्त्रता, आत्मनिर्भरता र जीवनस्तरसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । यसले व्यक्तिलाई शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन सक्षम बनाउँछ ।
यसको अभावले शारीरिक मात्र होइन, मानसिक र सामाजिक बाधा पनि सिर्जना गर्छ, जसले जीवनको गुणस्तर घटाउँछ । अपाङ्गता भएका व्यक्तिहरूका लागि गमनशीलता पुनर्स्थापना सेवाहरू र सहायक प्रविधि (जस्तैः ह्वीलचेयर, कृत्रिम अङ्ग) अत्यावश्यक छ ।
सहायक सामग्रीको पहुँचमा देखिएको ठूलो अन्तर
नेपालमा सहायक सामग्रीको पहुँचमा देखिएको ठूलो अन्तरका मुख्य कारणहरू निम्न छन्–
नतिजा स्वरूप, हजारौं अपाङ्गता भएका व्यक्तिहरू आवश्यक उपकरण बिना जीवन बिताइरहेका छन्, जसले उनीहरूको शिक्षा, रोजगारी, र सामाजिक सहभागितामा गम्भीर असर पारिरहेको छ ।
ग्रामीण क्षेत्रमा सेवा विस्तारका लागि उपाय
नेपालमा सहायक उपकरण तथा कृत्रिम हातखुट्टा सेवाको पहुँच अझै चुनौतीपूर्ण छ । यसको समाधानका लागि निम्न उपायहरू आवश्यक छन्,
मोबाइल क्लिनिक र पहुँच कार्यक्रम : दुर्गम गाउँहरूमा सेवा विस्तार गर्न मोबाइल क्लिनिक तथा लक्षित कार्यक्रम सञ्चालन गर्ने ।
स्थानीय स्वास्थ्यकर्मीलाई तालिम : स्थानीय स्वास्थ्यकर्मीलाई सहायक उपकरण तथा पुनस्र्थापनासम्बन्धी आधारभूत तालिम दिने ।
सरकारी सहुलियत : सरकारी सहयोगमार्फत उपकरण निःशुल्क वा सुलभ दरमा उपलब्ध गराउने व्यवस्था मिलाउने ।
साझेदारी : राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्रबीच सहकार्य बढाउने ।
तथ्याङ्क र नीति : सहायक उपकरण प्रयोगकर्ताको तथ्याङ्क सङ्कलनलाई प्रभावकारी बनाउने र प्रमाणमा आधारित नीति निर्माण गर्ने ।
निष्कर्षमा यस वर्षको अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको नाराले हामीलाई सम्झाउँछ—सामाजिक प्रगति केवल आर्थिक वृद्धिमा मात्र होइन, विविधतालाई अङ्गाल्ने र मानव अधिकारलाई सम्मान गर्ने समावेशी समाजमा निहित हुन्छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि गमनशीलता अत्यन्तै महत्त्वपूर्ण छ । यसका लागि दक्ष जनशक्तिको उत्पादन, ग्रामीण क्षेत्रमा सेवाको पहुँच विस्तार, र आर्थिक अवरोध हटाउनु अपरिहार्य छ ।
प्रमाणमा आधारित नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र हजारौं अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, रोजगारी र सामाजिक सहभागितामा समान अवसर दिन सकिन्छ र देशको सामाजिक प्रगति सुनिश्चित गर्न सकिन्छ ।
(अम्बिका शर्मा शर्मा प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट हुन् ।)
View : 338
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved