Biratnagar, Morang, Nepal
५ फागुन २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

एक नयाँ उद्यमको प्रयास

गोबरबाट बन्छन् दियोदेखि देउतासम्म

‘हामीले एउटा फरक कामको थालनी गरौं न भनेर गोबरमा हात हालेका हौं’
उद्‌घोष सम्वाददाता
१६ माघ २०८१, बुधवार

गोबरबाट बनेका विभिन्न सामग्रीहरू ।

विराटनगर । विराटनगर–८ का बालकृष्ण पोखरेल विराटनगरको डिग्री क्याम्पसमा जारी औद्योगिक मेलाका स्टलहरू अवलोकन गर्ने क्रममा एउटा स्टलमा भने निकै बेर रोकिए । उनी रोकिनुको कारण थियो, हेर्दा माटो वा काठले बनाइएका जस्ता देखिने सामग्री, तर गाईको गोबरले बनाइएका थिए । 

गोबरबाट बायोग्यास वा वर्मीकम्पोस्ट मल बनाइने गरेको थाहा पाएका उनले गाउँघरमा गोबरबाट गुइँठासम्म बनाएको देखेका थिए । तर उद्योग संगठन मोरङको आयोजनामा भइरहेको विराट एक्स्पोको स्टल नं. १४० मा भने पोखरेलले गोबरबाट बनेका दर्जनौ प्रकारका सामग्री देखे । 

हिन्दू धर्ममा गाईलाई गौमाता मान्छन् । त्यस्तै गाईको गोबर र गोमुत्र दुवै पवित्र मानिन्छ । हिन्दू धर्मावलम्बीको यही आस्था र आवश्यकतालाई बुझेर विराटनगर–५ की उद्यमी बेबिना दाहालले गोबरबाट विभिन्न सामग्री बनाएर बजारीकरण गरिरहेकी छन् । नवप्रवर्तक उद्यमीको रुपमा दाहालले गोबरबाट दियो, श्रीयन्त्र, जलपात्र, भगवानको पाउ, माला, मूर्तिलगायत दर्जनौ प्रकारकी सामान बनाएकी छिन् । यस्तो सामान गाईको गोबरबाट बनेका हुनाले धार्मिक रुपमा त्यसै शुद्ध हुने उनी बताउँछिन् । 

गोबरबाट बनेको भन्दैमा आफूहरूले बनाएको सामग्री प्याट्टै फुट्ने वा पानी पर्नासाथ गिलिक्क भई नहाल्ने दाहाल बताउँछिन् । गोबरबाट विभिन्न सामग्री बनाई त्यसको बजारीकरण गर्न उनले उन्नत गोठ प्रालि नामको कम्पनी नै स्थापना गरेकी छिन् । उनको कम्पनीमा उनीसहित अरु पाँच जनाले रोजगारी पनि पाइरहेका छन् । 

एउटा स्टार्टअप बिजनेसका रुपमा बेबिनालाई उनका बैंकर श्रीमान् निश्चल अधिकारीले पनि सघाइरहेका छन् । एक फरक खालको व्यवसायको रुपमा श्रीमान्–श्रीमती मिलेरै यो काम गरिरहेको अधिकारी बताउँछन् । ‘हामीले एउटा फरक कामको थालनी गरौं न भनेर गोबरमा हात हालेका हौं’ अधिकारीले भने । उनका अनुसार, जुनसुकै प्रकारका गाईको गोबरबाट भनेजस्तो सामग्री चाहिँ बन्दैन ।

गोबरको पाला, गोबरको मूर्ति जस्ता सामग्री बनाउन गोबर कसिलो प्रकारको हुनुपर्छ । यस्तो गोबर स्थानीय जातको गाईको मात्र हुन्छ । अझ भनौं खुला चरिचरणमा रमाएका गाईले मात्र कसिलो प्रकारको गोबर गोब्राउने गर्छन् । गोठमै बाँधेर दाना खुवाइएका जर्सी गाईको गोबर पातलो हुने भएकाले तिनबाट खासै सामग्री बन्दैनन् ।

‘हामी लोकल गाईको गोबर संकलन गर्छौ, र तिनैबाट विभिन्न प्रकारका सामग्री बनाउँछौं’ अधिकारी भन्छन्, ‘त्यसका लागि विराटनगर-५, डीपीएस स्कुल छेउमा गोबर संकलन केन्द्र बनाएका छौं ।’ संकलन गरिएको गोबरलाई थप कसिलो बनाउने र विभिन्न प्रकारको सा“चोमा राखेर सामग्री बनाउने गरिएको उनले बताए । उनीहरूले गोबरलाई धुलो बनाएर प्याकेजिङ पनि गरेका छन् ।

धुलो गोबरको प्याकेट उनीहरूले शहरी क्षेत्रका ग्राहकलाई लक्षित गरेर बनाएका हुन् । गोबरको धुलो पानीमा घोलेर लिपपोत गरे गोबरकै रङ र गोबरकै गन्ध दिने उनीहरूको भनाइ छ । ‘शहर बजारमा बस्नेहरूले पूजापाठ गर्नुपर्दा गोबरले लिपेर ठाउँ यसो शुद्ध बनाउँ न भन्दा गोबर खोज्न कहाँ जाने ?’ अधिकारी भन्छन्, ‘अब हाम्रो उन्नत गोठको धुलो गोबर घरमा राखिराख्ने, आवश्यक पर्नासाथ थोरै पानी हालेर लिपपोत गर्ने ।’

गोबरको धुलो लामो समयसम्म राख्दा पनि गुण वा गन्ध कायमै रहने भएकाले गंगाजल राखेझैं गोबरको धुलो पनि राख्न सकिने अधिकारी बताउँछन् ।

View : 605

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved