सुकरात (तिहार) उज्यालोको पर्व, असत्य माथि सत्यको विजयको प्रतीक हो र नेपालमा व्यापक रूपमा मनाइने प्रमुख राष्ट्रिय चाड हो । तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । तिहार (दीपावली) वा सुखशान्ति वा सुखरात्रीलाई देशका विभिन्न क्षेत्रमा उत्सवको रूपमा पाँच दिनसम्म मनाइन्छ ।
सुखरात थारू समुदायको महान चाड हो । उनीहरू बोलीचालीको भाषामा सुखरातलाई सुकरात भन्ने गरेका छन् । तर खासमा यो पर्व भनेको सुखको रात हो । सुखको रात भएकोले नै सुखरात भनिएको हो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । जुन माटाको बत्ती, पीठोबाट बनाइएका दियो र मैनबत्ती प्रयोग गरी मनाइन्छ । यस पर्वलाई सुखरात किन भनिएको हो त Û भन्ने सन्दर्भमा यसका विभिन्न भनाइहरू छन् ।
पौराणिक समयका वैज्ञानिक विश्वकर्माको यमराज र यमुना नामका नाति नातिना थिए । विश्वकर्माले नै रावणको लंका र श्रीकृष्णको द्वारिका र इन्दप्रस्थ निर्माण गरेका थिए । विश्वकर्माका तीन जना छोरीहरू थिए । रिद्धि, सिद्धि र सम्झना । रिद्धि, सिद्धिको विवाह शिवपार्वतीका छोरा गणेशसँग भएको थियो । अत्यन्त सुन्दरी सम्झनाको हात माग्न भने सूर्य भगवान आएको थिए । सूर्य भगवान आएको बेला तेज प्रकाशले सम्झनाको आँखा नै अन्धो बनाई दियो । पाहुना आएको बेला पाहुनालाई सत्कार गर्नु पर्ने ठाउँमा आँखा बन्द गरेकोमा रिसाएका सूर्यले सम्झनालाई श्राप दिए– कि तिम्रो यस्तो छोराको जन्म हुनेछ जुन सम्पूर्ण मानिसहरूको लागि मृत्युको कारण बन्नेछ । तर सम्झनाले अनादर नगरेको बरू सूर्यको तेज प्रकाशको कारणले आँखा बन्द गर्नु परेको सुनाइन् ।
त्यसपछि खुशी भएका सूर्यदेवले सम्झना जस्तै सुन्दर र ठूलो हृदय भएकी छोरीको जन्म हुने बरदान दिए । यस प्रकार छोराको रूपमा यमराज र छोरीको रूपमा यमुनाको जन्म भयो । सम्पूर्ण मानिसहरूको मृत्युको जिम्मा लिएका यमलोकमा रहेका यमलाई आफ्नो बहिनी यमुनालाई भेट्ने कहिल्यै फूर्सद भएन ।
नदीको रूपमा धारण गरेकी बहिनी यमुनाले दूतको रूपमा कागलाई पठाए । यमराज भैंसी चढेर आएको यमलाई देखेर यमुना भयंकर खुशी भइन् र भव्य स्वागत, सत्कार गरिन् । यमले आफ्नो बहिनीको घरमा अझ केही दिन बस्नु परेको खबर गर्न दूतको रूपमा कुकुरलाई यमलोकमा पठाए ।
त्यसै गरिकन देवी लक्ष्मीलाई पनि यमराजसँग भेट्नु पर्ने थियो । र उनी आफ्नो बहिनी कहाँ बसेको खबर पाइन् । आफू यमसँग भेट्न चाहेको सन्देश पठाउन उनी दूतको रूपमा गाईलाई पठाइन् । लक्ष्मी आउने खबरले यमुनाले लक्ष्मी र गाईलाई पनि भव्य स्वागत गरिन् ।
यमराजले यमलोक जाने सुनाएपछि यमुना मानिनन् । अन्तमा उनी यमलाई टीका लगाई बिदा गरिन् । खुशी भएका यमले बहिनी यमुनालाई बरदान माग्न आग्रह गरे । यमुना जसको भाइ बिरामी परेको थियो उसको लामो र स्वस्थ जीवनको लागि प्रार्थना गरे । जब मृत्युका देवता यमले आफ्नो भाइलाई आफ्नो साथमा लिन आए, उनले आफ्नो भाइको पूजा गर्न केही पटक बिन्ती गरिन् । यसरी तिहारको पाँच दिनलाई ‘यमपञ्चक’ भनिन्छ अर्थात यमराजको बहिनीको घरमा पाँच दिनको बसाइलाई सुखरातको रूपमा पनि जनाउँछ ।
हिन्दु पौराणिक मुख्य कथाहरू मध्येमा, दीपावली भगवान राम, उनकी पत्नी सीता र भाइ लक्ष्मण १४ वर्षको निर्वासन पछि आफ्नो मातृभूमि फर्केको दिन हो । दानव राजा रावणलाई परास्त गरेका रामको लागि गाउँलेहरूले बाटोमा दीप जलाइ खुशियाली मनाए ।
सत्यगुगको कुरा हो पृथ्वीमा बली राजा बडो प्रतापी र दानी थियो । उनको प्रतापी देखेर इन्द्र भगवान पनि डराएका थिए । राजा बली यमलोकको राजा ५ दिन बिदामा बसेकाले भगवान बिष्णुले राजा बलीलाई यस ३ लोकमा ५ दिन शासन गर्न बरदान दिएका थिए । भगवान बिष्णुले बालक ब्राहमणको रूप धारण गरी भिक्षा लिन ३ पाइला जमिन मागेका थिए । बली दानी थिए । उनी विराटरूप धारण गरेका ब्राह्मण बालकलाई एक पाइला पृथ्वी, दोस्रो पाइला आकाश र तेस्रो पाइला बलीको ठाउँको राख्दा बलीलाई पाताल पुर्याइ दिएका थिए । राजा बलीले पृथ्वीमा बर्षमा एक पटक कार्तिक त्रयोदशीदेखि ३ दिनसम्मसम्म राज गर्न अन्तिम पटक बरदान मागेको सम्झनामा तिहार मनाउने र तिहार मनाउने दीपावली गर्ने चलन आएको जनविश्वास रही आएको छ ।
हिन्दू पौराणिक कथामा अर्को तिहारको कथा छ । भगवान कृष्णले राक्षस नरकासुरलाई परास्त गरेर आफ्नो राज्यका मानिसहरूलाई मुक्त गरका थिए । उनले दानवको वध गरेपछि भगवान कृष्णले यसलाई उत्सवको दिन घोषणा गरे ।
पर्वको पहिलो दिनलाई काग तिहार भनिन्छ । कागलाई यमको मृत्युदूतको रूपमा लिइन्छ । बहिनी यमुनाले यमलाई भेट्न आवश्यक थियो र उनले सन्देश पठाउन पहिलो दूतको रूपमा काग पठाएकी किम्वदन्ती छ ।
भगवान धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ र हिन्दू पौराणिक मान्यता अनुसार यस पर्वमा उनको भक्ति र आराधनाले स्वास्थ्य लाभ प्रदान गर्छ । शास्त्रमा उल्लेखित कथा अनुसार कार्तिक कृष्ण क्रयोदशीका दिन समुद्र मन्थनका त्रममा भगवान धन्वन्तरी हातमा अमृतको भाँडो लिएर प्रकट भएका थिए । भगवान धन्वन्तरी विष्णुको अवतार मानिन्छ । विश्वमा चिकित्सा विज्ञानको विस्तार र प्रसारको लागि मात्र भगवान विष्णुले धन्वन्तरीको अवतार लिएका थिए । धनतेरस पर्व भगवान धन्वन्तरीको दर्शनको सम्झनामा मनाइन्छ ।
तिहारको दोस्रो दिन कुकुरलाई यमराजको वाहन मान्ने, हरेक पल घरको रक्षा गर्ने र विश्वासिलो जनावरको रूपमा पूजा गर्छन् । यमराजले आफ्नो बहिनी यमुनाको घरमा थप समय बस्नु पर्ने भएको हुनाले सन्देश पठाउन कुकुरलाई दूत बनाएर पठाएको जनविश्वास छ । यस दिनलाई भगवान श्रीकृष्णले नरकासुर राक्षसलाई मारेर बन्धक बनाइएका महिलाहलाई उद्धार गरेका हुनाले नरक चतुर्दशी पनि मानिन्छ ।
तिहारको तेस्रो दिनलाई लक्ष्मी पूजा भनिन्छ । यमराज आफ्नो बहिनी यमुनाको घरमा बसेको खबर लक्ष्मीले जानकारी पाएका थिइन् । यमराजसँग भेटघाट गर्न सन्देश बाहकको रूपमा गाईलाई पठाएको हुनाले गाई र लक्ष्मीको पूजाआजाको शुरूवात भएको जनविश्वास छ ।
थारूहरू यस लक्ष्मी पूजाको दिन गाईको सिङमा तेल लगाई दिने गर्छन् र गाईलाई दिन मिठो मिठो खानेकुरा नुन र घाँसको रूपमा काँचो धानको सिङ्गो बोट खानको लागि पान सुपारीले निम्तो दिने चलन छ ।
बेलुका राति हाँकीउँका खेल्ने गर्दछन् । यसको अर्थ हुन्छ, धान बालीमा कुनै पनि किसिमको रोग व्याधि नलागोस् । राम्रो फलोस् फूलोस् भनि कामना पनि गर्ने गर्दछन् । हाँकिउँका भनेको सन्ठीको मुठो बनाउँछन् । सन्ठीको मुठोलाई देवाडी (एक प्रकारको खर)ले बाँधेको हुन्छ । त्यही सन्ठीको मुठोमा बेलुका आगो लगाई आ–आफ्नो बालीनालीको वरिपरि घुम्दै राम्रो फसलको कामना गर्दछन् ।
दौडदै, उफ्रदै आवाज पनि निकाल्दै गर्दछन् । त्यो आवाज भनेको ‘हांकिउँका रे Û छोट बोड सैर हो Û हमर धान सयर हो सयर हो’ भनेको धान बाली राम्रो होस् भनि कामना गर्दछन् । सन्ठीको मुठो अर्थात हाँकिउँका जलि सकेपछि अन्तिममा बचेको मुठो एकै ठाउँमा भेला पारी आगो लगाई दिन्छन् । हाकिउँकाबाट बालीमा लाग्ने कीरा जलेर मर्दछ । र कुनै किसिमको रोग लाग्न दिंदैन भन्ने जनविश्वास छ ।
यस दिन विभिन्न मिठाई, ऐना, काइयो, तेल, सिन्दुर, पान, सुपारी, फूल चढाएर पूजाआजा गर्दछन् । रातको समयमा धनको स्वर्गर्यी प्रकृति लक्ष्मीले सफलता र समृद्धिलाई स्वागत गर्न प्रवेशद्वार र झ्यालहरूमा पीठोबाट बनेको बक्ती दियो वा मैनबत्ती बालेर कृतज्ञता व्यत्त गर्दछन् ।
यस दिनलाई थारूहरू पखेव भन्दछन् । पखेव भन्नाले ओखलमा काँचो धानको मुठो, पान, सुपारी, बेसार, पिपरा एकै ठाउँमा मिसाई पखेव बनाउँदछन् । यो भनेको गोरूलाई दिने एक किसिमको खानाको परिकार हो । पखेवलाई जडिबुटीको रूपमा पनि हेरिन्छ । बिशेषगरी बिभिन्न जडिबुटी मिश्रित गाई गोरूलाई खुवाउने चलन छ । किनकि गोरूलाई अन्नको दाता मान्दछन् । बर्षभरी हलो जोति अन्नपानी भरिपूर्ण गरिदिने दाताको रूपमा मानिन्छ ।
त्यति मात्र नभई गोरूलाई उपयोगी र विश्वासयोग्य जनावरका रूपमा हेरिन्छ । खेत जोत्न र गाडाहरू तान्न गोरूको प्रयोग गरिन्छ र यसलाई भगवान शिवको वाहनको रूपमा पनि चिनिन्छ । यस दिन बिहानै उनीहरू हलो, जुवा, झ्याल, ढोका, कोदालो, ओखल, मुसली खुर्पी, हँसियालगायत अन्य कृषि जन्य सामग्रीको धोइ पखाली आँगनमा रहेको लितपोत गरिएको देवता घरमा राख्ने गर्दछन् । देवता घरमा राखिएका सामग्रीहरूमा बगिया, तेल, चामलको पिठो, सिन्दुर, लगाई पूजापाठ गर्दछन् ।
थारू लेखक रामसागर चौधरीको अनुसार चोखो व्यक्तिले गोठमा गोवर्द्धनको पूजा गर्दछन् । गोठमा धानकै मुठो वा गोबर बाट गोही पनि बनाउँछन् । सो गोहीलाई घिरौलाको फूल, दुवो, अण्डा, पिठो, धान र रक्सी चढाएर पूजा गर्दछन् । पूजा पाठ गरी सकेपछि केटाकेटीहरूले २ वटै गोहीलाई लठ्ठीले हिर्काएर मार्दछन् कि गोहीले किसानले उब्जाएको बालीमा कहिल्यै हानी नगरोस् ।
धानको मुठोबाट भकारी बनाउँदछन् । उक्त भकारीमा बासी भात राख्छन् । बर्षभरी पुग्ने अन्नबाली धान सधै झै भरिभराव रहोस् । हलोजन्य सामग्रीको आदर सत्कार स्वरूप बेलुका पूजापाठ गर्दछन् ।
मृत्युका देवता यमराज आफ्नी बहिनी, सुन्दर प्रकृति भएका यमुनाकहाँ गई टीका लगाएका थिए । र तिहारमा मृत्युका राजा यमराज आफ्नी बहिनीकहाँ गएर त्यहाँ पाँच दिन बसेको भन्ने किम्वदन्ती छ । उनको बहिनीले उनलाई हार्दिक स्वागत गरे र उनको शान्ति, प्रगति र दीर्घायुको कामना गरे । त्यसैले तिहारमा दिदीबहिनीले दाजुभाइको पूजा गर्नुअघि यमराजको पूजा गर्छन् । मृत्युका राजाको आराधना गरे दाजुभाइको आयु लामो हुने जनविश्वास छ ।
कृष्णले नरकासुर राक्षसलाई बध गरिसके पछि आफ्नी बहिनी सुभद्रा कहाँ गएका थिए, उनलाई बहिनीले मिठाई र फूलले न्यानो स्वागत गरे । उनले कृष्णको निधारमा टीका लगाइ दिइन् ।
थारुहरूमा जमजितियाका दिन दाजुभाइ बहिनीको घरमा बोलाइ आदर, सत्कार गर्ने चलन थियो भने तमजितियाको दिन छोरी माइत जाने चलन थियो । तर खासमा थारूहरूको जनजिब्रोमा यमको ठाउँमा जम भनेर उच्चारण गर्दछन् । द्वितीयाको ठाउँमा जितिया भनेर भन्ने गर्दछन अर्थात यमद्वितीयाको ठाउँमा जमजितिया र यमतृतीयाको ठाउँमा तमजितिया भनी बोल्ने गर्दछन् ।
खासमा द्वितीया र तृतीया तिथिमा यमराजलाई बहिनी यमुनाले भव्य स्वागत गरेको टीका लगाएको क्षण र रात हो । यस दिनसम्म यमराज आफ्नो बहिनी कहाँ बसेको हुनाले थारूहरू यसलाई एउटा उत्सवको रूपमा छोरी माइत गई आशीर्वाद लिने परम्परा रही आएको छ ।
धन्यवाद
(यो लेखमा लेखिएका कुराहरूप्रति स्वयम् लेखक नै जिम्मेवार हुनुहुन्छ । –सं)
View : 328
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved