Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
प्रविधि

शिक्षादीपमा ‘रकेट उडाएर’ खगोल विज्ञान कार्यशाला शुरु

उद्घोष सम्वाददाता
२७ मंसिर २०८०, बुधवार

विराटनगर । रकेट र स्याटेलाइट निर्माण तथा अन्तरिक्ष विज्ञानलाई प्रयोगात्मक रुपमा अघि बढाउने उद्देश्यले विराटनगरको शिक्षादीप कलेजमा ६ दिने कार्यशाला सुरु भएको छ । कलेजका विद्यार्थीहरूले तयार पारेको रकेट उडाउनुका साथै हवाइजहाज उडाउने शीपबारे जानकारी गराएर कार्यशालाको उद्घाटन गरिएको थियो ।

कार्यशालाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले काठमाडौंपछि विराटनगर पनि शैक्षिक हब बनेको बताए । उनले कोशी प्रदेशसहित मधेस प्रदेशबाट समेत विराटनगरमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूको संख्या बृद्धि भएको बताए । 

शिक्षा क्षेत्रमा विराटनगरमा लगानी बढिरहेकोले निजी विद्यालय तथा कलेजहरूलाई अब उत्कृष्ट शिक्षा प्रदान गर्नुपर्ने दायित्व बढेको बताए । खगोल विज्ञानसम्बन्धी कार्यशालाले कलेजमा अध्ययनरत विद्यार्थीहरूको ज्ञान र सिकाइ बृद्धि गर्नेमा उनले विश्वास व्यक्त गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइरालाले कार्यशालामा सवै संकायका विद्यार्थीलाई सामेल गराउन सुझाव दिए । उनले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र शिक्षालयलाई जोड्ने काममा खगोल विज्ञानसम्बन्धी कार्यशाला निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

खगोल विज्ञानको क्षेत्रमा काम गर्दै आएको काठमाडौंस्थित द स्क्वाड अफ चेन्ज मेकर्ससँगको सहकार्यमा शिक्षादीपले कार्यशाला आयोजना गरेको जनाइएको छ ।

उक्त संस्थाका अध्यक्ष सुशीलदेव भट्टराईले कलेजमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले कार्यशालाको समापनपश्चात एउटा एरोप्लेन, रकेट र एउटा स्याटेलाइट बनाउने जानकारी दिए । तालिमका क्रममा सहभागी हुने विद्यार्थीलाई ब्राम्हाण्डको बारेमा गहिरो जानकारी गराइने जनाइएको छ । 

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले यसअघिसम्म उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुग्नुपर्ने अवस्थाको अन्त्य भइसकेको बताए । उनले शिक्षादीप कलेजले हिम्मतका साथ कार्यशाला आयोजना गरेर विज्ञान संकायको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुर्‍याएको बताए ।

कोशी प्रदेशसभा सदस्य एवं कलेजका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा आयोजित कार्यशाला उद्घाटन कार्यक्रममा विद्यार्थीहरू स्तुति कर्ण र सिम्रिका तिम्सिनाले खगोल विज्ञानसम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

View : 46

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved