विराटनगर । भारतको पुरीस्थित विश्वप्रसिद्ध जगन्नाथ मन्दिरको रत्नभण्डारमा राखिएका रत्न तथा अलङ्कारहरूको गणना ४६ वर्षपछि सोमवार (१४ जुलाई) देखि थालिएको छ । यस्तो गणना पछिल्लो पटक सन् १९७८ मा भएको थियो । बीचमा सन् १९८२ को डिसेम्बर अनि सन् १९८५ को जुलाईमा पनि उक्त रत्नभण्डार खोलिएको थियो । तर त्यो बेला आभूषण गणनाका निम्ति नभई श्री जगन्नाथका लागि आवश्यक केही आभूषण झिक्न र मर्मत गर्न भण्डार खोलिएको थियो ।
निर्धारित शुभ साइतअनुसार सोमवार दिउँसो ठीक १ बजेर २८ मिनेटमा ११ सदस्यीय टोली सबै आवश्यक उपकरण लिएर भण्डारभित्र प्रवेश गरेको थियो । सो टोलीमा ओडिशा उच्च अदालतका पूर्वन्यायाधीश विश्वनाथ रथको नेतृत्वमा अन्य प्रतिनिधि छन् ।
साँझ करिब ५ बजे टोली बाहिर निस्किएपछि श्री जगन्नाथ मन्दिरका मुख्य प्रशासक डा अरविन्द पाढीले पत्रकारहरूलाई सोमवार केवल बाहिरी रत्नभण्डारमा रहेका आभूषणहरूलाई मन्दिरको भित्र बनाइएको अस्थायी ’स्ट्रङ रूम’मा लगिएको, तिनमा सील लगाइएको र त्यसको साँचो जिल्ला प्रशासनलाई दिइएको बताए ।
डा अरविन्द पाढीले जिल्ला कोषागारमा रहेको साँचोले भित्री रत्नभण्डारमा लगाइएको तीनवटा ताल्चा खोल्ने कोसिस गरिएको तर सफल नभएको बताए । त्यसपछि राज्य सरकारको नियमानुसार मन्दिर प्रशासनले ताल्चा फोडेका थिए ।
त्यहाँभित्र कैयन् सन्दुक तथा दराजहरू भेटिएको तर समय धेरै बितिसकेकाले तिनलाई भने नखोलिएको उनले बताए । डा पाढी भन्छन्, सोमवार महाप्रभुको ‘बाहुडा यात्रा’ छ । त्यसैले हामी राज्य सरकारसँग छलफल गरेर भित्री रत्नभण्डार खोल्न र त्यहाँ रहेका सबै आभूषणलाई अस्थायी ‘स्ट्रङ रूम’ मा लैजान अर्को एक दिन लगाउँछौं ।
भित्री रत्नभण्डारमा सबैभन्दा मूल्यवान् आभूषण राखिन्छ भने बाहिरी रत्नभण्डारमा केवल रथ यात्रा वा अरू महत्वपूर्ण अवसरमा प्रयोगमा ल्याइने आभूषण राखिन्छन् । भित्री रत्नभण्डारका सबै आभूषणलाई सारेर तिनको मर्मत गरिने छ । मुख्य प्रशासक पाढीले रत्नभण्डारको संरचनाको सुरक्षा सर्वोपरि महत्वको भएको बताए ।
उनका अनुसार भारतीय पुरातत्त्व सर्वेक्षण (एएसआई)ले भित्री रत्नभण्डारको मर्मत गरेपछि मात्र अस्थायी ‘स्ट्रङ रूम’मा राखिएका आभूषणलाई फेरि भित्र ल्याइने छ र दोहोर्याएर तिनको गणना गरिने छ । गणना प्रक्रिया कहिलेसम्म जारी रहने छ भन्नेबारे चाहिं उनले कुनै यकिन मिति नतोकिएको बताए । अहिलेभन्दा झन्डै ४६ वर्षअघि सो प्रक्रिया १३ मे १९७८ मा सुरु भएर ७० दिनपछि २३ जुलाईमा सकिएको थियो ।
तर पनि त्यो प्रक्रिया सम्पूर्ण रूपले सम्पन्न हुन सकेको थिएन किनभने गणनाका लागि तिरुपति मन्दिरसहित बाहिरबाट बोलाइएका अलङ्कार विशेषज्ञहरूले पनि रत्नभण्डारमा रहेका कैयन् आभूषणको सही आकलन गर्न सकेका थिएनन्् । तर जति आभूषणको पहिचान र गणना गरियो, ती कम चकित पार्ने खालका थिएनन् ।
रत्नभण्डारमा कुल ७४७ प्रकारका आभूषण भेटिएका थिए । तीमध्ये १२,८३३ तोला सुनका गहना तथा २२,१५३ तोला चाँदीका गहना थिए । तिनका अतिरिक्त कैयन् हीरा, जुहारतका बहुमूल्य आभूषण थिए । ती आभूषण बितेका कैयौं शताब्दीहरूमा या त प्रभु जगन्नाथका भक्त राजामहाराजाहरूले दानस्वरूप चढाएका थिए या त ओडिशाका राजघरानाले अन्य राज्यसाग युद्धमा जित्दा ल्याएर चढाएका थिए ।
यी बहुमूल्य रत्नआभूषण लुट्नका लागि १५औं देखि १८औं शताब्दीका बीच मन्दिरमाथि कम्तीमा १५ पटक आक्रमण भएका थिए । अन्तिम पटक बङ्गालका तत्कालीन सेनाफति मोहम्मद तकी खानले सन् १७३१ मा आक्रमण गरेका थिए । ती आत्रमणहरूमा कैयन् बहुमूल्य अलङ्कार लुटिए । तर पनि रत्नभण्डारमा गरिएको कडा सुरक्षा बन्दोबस्तका कारण धेरै हीराजुहारत सुरक्षित रहन सके ।
मन्दिरको रत्नभण्डारमा रहेका हीरा, मोती, सुन तथा अन्य बहुमूल्य रत्नजडित आभूषणको मूल्य सयौं करोड रुपैयाँ बराबर रहेको ठानिन्छ । जानकारहरूका अनुसार डिजिटल प्रविधिका कारण सायद यस पटक गणनामा धेरै समय लाग्ने छैन । कार्यका लागि बनाइएको टोलीका प्रमुख तथा न्यायाधीश विश्वनाथ रथका अनुसार सबै आभूषणको गणनाका साथै तिनको मानक निर्क्योल गरिने छ र तिनको डिजिटल सूची बनाइने छ । अनि त्यसलाई सन् १९७८ को अभिलेखसँग तुलना गरेर सबै आभूषण छन् कि छैनन् भनेर जाँचिने छ ।
राज्य सरकारले श्री मन्दिर ऐन १९६० बमोजिम मन्दिर प्रबन्धको जिम्मेवारी आफ्नै काँधमा लिएको छ । त्योभन्दा पहिले सो जिम्मेवारी पुरीका गजपति महाराजको हुने गर्थ्यो । उक्त कानुनमा प्रत्येक तीन वर्षमा रत्नभण्डार खोल्ने र त्यहाँ जम्मा भएका आभूषणहरूको विवरण सूचीकृत गर्ने प्रावधान छ । तर किन बितेको ४६ वर्षमा कुनै सरकारले भण्डार खोल्न पहल नगरेको भन्ने प्रश्नको जबाफ कसैसँग छैन । केही किम्वदन्ती र अन्धविश्वास सायद यसका कारण हुन सक्छन् ।
कतिपय सेवकहरूका अनुसार रत्नभण्डारभित्र विषालु सर्प छन्, जसले ती आभूषणको सुरक्षा गर्छन् । सन् १९७८मा अन्तिम पटक रत्न भण्डार खोलेको केही महिनापछि तत्कालीन जनता पार्टीको सरकार ढलेको घटनालाई कैयन् नेताहरूले उक्त भण्डारसँग जोडेर हेर्न थाले । यसै कारण त्यसयता बनेका सरकारहरूले यसको पहल नलिएको हुन सक्छ । हुन त सन् २०१८ मा तत्कालीन नवीन पटनायक सरकारले रत्नभण्डार खोल्ने पहल गरेको थियो । तर त्यतिखेर अलङ्कारहरूको गणना वा अभिलेख बनाउन नभई भण्डारको संरचना जाँचबुझ गर्ने उद्देश्य राखिएको थियो । सन् २०१८ मा एएसआईले रत्नभण्डारको संरचना नाजुक हालतमा रहेको बताएको थियो ।
ओडिशा उच्च अदालको निर्देशनमा सन् २०१८ मा राज्य सरकारले रत्नभण्डारको स्थिति बुझ्न एक टोली बनाएको थियो । तर ऊसँग रहेको साँचोबाट भित्री रत्नभण्डारको ताल्चा खोल्न नसकिएपछि टोलीले बाहिरबाटै संरचनाको अवस्था बुझेको थियो।
त्यसयता यो मामिला उच्च अदालतमा पुगेको थियो । सन् २०२३ को मार्चमा उच्च अदालतको आदेश बमोजिम तत्कालीन पटनायक सरकारले संरचनाको मर्मत तथा आभूषण गणनाको लागि एउटा समिति बनाएको थियो । तर त्यसपश्चात् भएको निर्वाचनपछि ओडिशामा मोहन माझीको नेतृत्वमा बनेको नयाँ राज्य सरकारले उक्त समिति विघटन गरेर पूर्वन्यायाधीश विश्वनाथ रथको अध्यक्षतामा नयाँ समिति बनायो ।
ओडिशामा हालै सम्पन्न राज्य विधानसभाको चुनावमा रत्नभण्डारको हराएको साँचो एक प्रमुख मुद्दा बन्न पुग्यो । प्रचारप्रसारका समयमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै भारतीय जनता पार्टीका नेताहरूले लगभग हरेक चुनावी सभामा यो मुद्दा उठाएर नवीन पटनायक सरकारलाई निसाना बनाएका थिए ।
आफ्नो चुनावी वाचाअनुरूप भाजपाको नेतृत्व रहेको राज्य सरकारले रत्नभण्डार खोलिदिएको छ । तर सन् १९७८ मा सूचीकृत गरिएको अभिलेख बमोजिम आभूषण सुरक्षित छन् कि छैनन् भन्ने प्रश्नको जवाफ आउन बाँकी छ । -एजेन्सी
View : 142
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved