समाज अन्तरनिर्भरता, समन्वय र मानवीय सामुहिक बसोबासको व्यवहारिक र भावनात्मक अभ्यास हो । समाजले संस्कृति, परम्परा, धर्म जस्ता तत्वहरु समेट्ने गरेको पाइन्छ । खासमा मानवता र अनुशासनका लागि समेटिएको हो । यही दुईको समष्टिगत स्वरुपलाई सभ्यता भनिन्छ ।
सामाजिक सञ्जालहरुले डिजिटल संसारमा छोटो समयमै प्रभावकारी स्थान ओगट्न सफल भएको छ । यसले नयाँ पिंढीलाई अलग–अलग क्षेत्र तथा प्रसंगसँग आफूलाई जोड्न सहायतासमेत प्रदान ग¥यो । युट्युवको सहायताले पूर्वप्राथमिक विद्यालयका विद्यार्थी (बच्चा) ले कविता कंठस्थ गरिरहेका छन् । ‘एनिमेशन भिडियो’ र युरोपेली राष्ट्रका खेलौना, खानेकुरा र हावभाव समेत सहजै स्वीकारेका छन् । प्रविधिको यो जादुले हामी मख्ख परेका छौं साथै प्रविधिमाथि अनावश्यक रुपमा निर्भर पनि भएका छौं ।
जर्नल अफ हेल्थ प्रोमोशनमा ‘यौन सञ्चार र व्यवहार’ शीर्षकमा प्रकाशित एक अनुसन्धान लेख अनुसार नेपालमा सन् १९९५ मा ५० जनाभन्दा पनि कम इन्टरनेट प्रयोगकर्ता थिए । जबकि सन् २०२१ मा यो संख्या ह्वातै बढेर कुल जनसंख्याको ३८ प्रतिशत अर्थात् १ करोड १० लाख हुन पुग्यो । यसमा पनि कुल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा लगभग आधा प्रयोगकर्ता १५ बर्षदेखि २४ बर्ष उमेर समूहका युवा वर्गको पहुँच छ ।
सामाजिक सञ्जाल यौनजन्य कुप्रवृत्तिको द्योतक हो भन्न खोजेको पक्कै पनि होइन, तर नयाँ पुस्तामा तीव्र रुपमा बदलिदो स्वभाव र मान्यताको एक प्रमुख कारक पक्का पनि हो । अस्वस्थ र अव्यावहारिक प्रेमसम्बन्धसँग मेलखाने पटकथा र नाटकमा बनेका छोटो भिडियोहरुले युवाहरुमा एक अपरिपक्व प्रेम सम्बन्धको लालसा जन्म दिन्छ । अन्तरवैयक्तिक गुणस्तर बृद्धि गर्नु भन्दा पनि बाह्य सुन्दरताको महत्त्व बढी दिन थालिएको छ । यी कारणले गर्दा व्यक्ति विशेषलाई मात्र नभएर नेपाली समाज र सँस्कृतिको भविष्य जोखिममा पर्न थालेको देखिन्छ ।
झन् इन्टरनेटको सहज उपलब्धता र स्मार्ट फोनहरुसम्म सहज पहुँचले प्रत्येक घडीमा निगरानी गर्न अति कठिन बनेको छ । यस प्रकार प्रविधिको अविरल प्रवाहलाई रोक्न नसके पनि यसका हानिकारक पक्षबाट सन्तानलाई जोगाउन पक्कै सकिन्छ ।
एक अध्ययनको अनुसार बच्चालाई थोरैमा पनि १५ वर्षको उमेरसम्म मोबाइल र यस्ता स्मार्ट ग्याजेटहरुबाट जोगाउन सकिन्छ ।
अहिले हेरिएको मोबाइल र यस्ता स्मार्ट ग्याजेटहरुको दुष्प्रभाव स्वरुप बच्चामा छिटै जिस्किने, चिढचिढापन, जिद्दीपन, छिटै रिसाउने, कुरा नमान्ने, छिटै भावनात्मक भएर एकान्तमा रुने जस्ता मनोवैज्ञानिक समस्याहरुमा धेरै हदसम्म कमि ल्याउन सकिन्छ ।
बच्चाहरुले मोबाइल, ट्याबबाट हेरेर सिक्नु भन्दा पनि आफैले गरेर सिक्ने सिर्जनशील स्वभाव देखाउँछन् । सामाजिक सञ्जाल अहिले सूचना तथा सञ्चारको प्रमुख आधारसमेत हो । यसलाई समुचित उपयोग गरी सामाजिक विकासको प्रयोगमा ल्याइनु पर्छ ।
अर्को सबभन्दा महत्वपूर्ण र खासै चर्चाबाट पन्छिन खोजिएको विषय हो यौनशिक्षा र यसबाट प्राप्त हुने यौन जागरुकता । यो लाजको विषय हो भनी मान्यता हाम्रा पूर्वी केही राष्ट्रहरुमा खास गरी नेपाली समाजमा रहेको देखिएको छ । जबकी यौन सभ्य र स्वस्थ सामाजिक अभ्यासको आधार पनि हो ।
प्राचीन समयमा गुरुकुल सभ्यता अन्तरगत यौनशिक्षा पूर्ण वैज्ञानिक तवरले कामशास्त्र अन्तरगत पनि पढाइन्थ्यो । यौनशिक्षा यौनजन्य क्रियाकलापसम्मको ज्ञानमा सीमित नरही यौनजन्य अंग र तिनका काम, हेरचाह साथै यस्ले मनोवैज्ञानिक र हर्मोन सन्तुलनमा पार्ने प्रत्यक्ष र परोक्ष प्रभाव आदिको समष्टिगत ज्ञान दिने हुनु पर्दछ । यसमा औपचारिक तथा अनौपचारिक शिक्षाको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
वैज्ञानिक रिसर्चमा ‘नेपालमा वर्तमान किशोरावस्था यौन शिक्षा एक दृष्टिकोण’ शीर्षकमा प्रकाशित एक अनुसन्धान लेखका आधारमा नेपालमा मात्र १६–४० वर्ष उमेर समूहमा कुल जनसंख्याको ४० प्रतिशत तथा १० देखि १९ वर्ष उमेर समूहमा २३.६ प्रतिशत किशोरकिशोरीहरुको छ, जसलाई बढी यौन शिक्षाको जरुरत छ । उक्त अनुसन्धानकै आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा १७ प्रतिशत किशोरीहरु १५–१९ वर्षकै कलिलो उमेरमा आमा बन्छिन् । किन होला त यस्तो भन्दाखेरि नवयुवायुवतिहरुमा यौन जागरुकतामुलक अभिभावकीय तथा विद्यालयस्तरीय प्रयास पूर्ण नभएर हो ।
सामान्यतया १२–१३ वर्ष उमेर पुग्दैमा केटीहरुको रजस्वला चक्र प्रारम्भ हुने गर्छ । तिनका र साथै केटाकेटीहरुमा किशोरावस्थामा शुरु हुने शारीरिक र मानसिक विकास र परिवर्तनको पनि शुरुवात हुन्छ जसलाई हामी अंग्रेजीमा ‘टीन एज’ पनि भन्छौ । यो अवस्था स्वास्थ्य तथा विज्ञानका दृष्टिकोणले पनि अत्यन्त संवेदनशील र हेरचाहको समय हो जहाँ बच्चालाई किशोरावस्थाका लक्षण र यौनशिक्षाको उपयुक्त ज्ञान नितान्त आवश्यक ठानिएको छ ।
नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले निर्माण गरेको विद्यालयस्तरीय विषयवस्तु र पाठ्यक्रममा स्वास्थ्य शिक्षा समावेश रहेता पनि सतही स्तरमा यसले विद्यार्थी वर्गमा चेतनाको स्तर बढाउन खासै प्रभावकारी भूमिका निर्वाह गरेको भेटिएको छैन । यसै सन्दर्भमा अनुसन्धान गर्र्दै जाँदा अनौपचारिक रुपमा विद्यार्थी भाइ–बहिनीहरुबाट नै अलि असहज र लाजको विषय भएको हुनाले कक्षाकोठामै खासै यौन शिक्षाको बारेमा खुलेर चेतनामुलक पठनपाठन हुन नसकेको गुनासो पाइन्छ । परिणाम स्वरुप २१ वर्षको उमेर पुग्दा पनि उनीहरु अधिंकाशमा यौन शिक्षा र व्यवहारिक चेतनाको विकास हुन नसकेको देखिएको छ ।
यौनशिक्षा आजको पुस्ताको शैक्षिक आवश्यकता पनि हो । जसमा सबभन्दा महत्वर्पुूा भूमिका परिवार, तत्पश्चात शैक्षिक संस्था र शिक्षक–शिक्षिकाको हुने गर्छ । यदि हामीले आफ्नो सन्तानसँग खुलेर यस सन्दर्भमा कुरा गरिएन, बाहिरका तत्वले गर्लान् भनेर ढुक्क भएमा उनीहरुले सत्य र व्यावहारिक जानकारी नपाउन सक्छन् । अनि बाहिरकाले कुनै ज्ञान दिए पनि उनीहरुमा अभिभावकीय नियन्त्रण रहन जा“दैन । त्यसले यस ज्ञानलाई सहज, सरल र प्रभावकारी बनाउनै पर्दछ ।
बच्चाको पहिलो विद्यालय घर हो, जहाँबाट निर्वाध रुपमा उचित समयमा यौनशिक्षा र जागरुकता प्रदान गरिनुपर्छ । उदाहरणको रुपमा, किशोर वा युवावस्थाका केटाकेटीहरुको कुनै सभामा एउटा बन्द बाकसलाई चुपचाप राखियो भने घण्टौसम्म सबैको ध्यान र चासो भैरहन्छ । तर त्यहि बाकसलाई खोलेर सबैको सामु राखियो भने केही क्षणमा नै त्यसप्रतिको चासो र जिज्ञासा समाप्त भएर जान्छ ।
ठीक यसै प्रकार यौनशिक्षालाई नकारात्मक सोच र लाजका विषय मानेर जत्ति ढाकछोप गरिन्छ भने यो उत्तिकै अनियन्त्रित रुचिको विषय बन्दै जान्छ । विद्यालयस्तरीय शिक्षामा कक्षा ८ देखि नै सामान्यतया शारीरिरक शिक्षा अन्तर्गत किशोरावस्थाका लक्षणजस्ता विषयवस्तु पढाइ हुँदा पनि यति मात्रले यौन जागरुकता आउँछ भन्ने छैन । कतिपय विद्यालयहरुमा प्राविधिक शिक्षा दिने र अन्य कारणले पनि कक्षा ९ र १० तिर खासै शारीरिक शिक्षा अध्ययन अध्याापन नै भएको पाइदैन ।
अहिलेको आवश्यकता भनेको बच्चालाई प्रारम्भिक कक्षामै सभ्य र असभ्य स्पर्श के हो । नानीहरुलाई बस्ने, झुक्ने, उभिने सभ्य र सुरक्षित तरिका बारे तालिम दिइनुपर्छ । किशोरावस्थामा पुगेका केटाकेटीहरुसँग अभिभावकका साथै शैक्षिक संस्थाले स्पष्ट र खुलेर ज्ञानमुलक शिक्षा दिनु पर्छ । यौनजन्य कुराकानी हाम्रो नेपाली समाज र संस्कृतिमा लाज र मर्यादाको विषय पनि हुने भएको हुनाले यस्ता भावनालाई ठेस नपुग्ने गरी बालबच्चा र किशोरकिशारीलाई उचित तरिकाले शिक्षा दिइनु पर्छ ।
यौनजागरुकतामुलक शिक्षामा किशोरकिशोरी तथा नवयुवा–युवतीहरुलाई किशोरावस्थामा हुने शारीरिक परिवर्तनहरुको जानकारी दिनु पर्छ । केटाको आवाज अलि धोत्रो हुँदै जाने, केटा–केटीहरुमा प्रजनन अंग विकसित हुने र सो अंग वरिपरि रौं आउने, केटीहरुको मासिकचक्र (रजस्वला) शुरु हुने, केटीहरुको स्तन बढ्ने, केटाहरुमा जुँगा–दाह्री पलाउने, विपरितलिङ्गी प्रतिको आकर्षण बढ्ने लगायतका प्रारम्भिक शारीरिक र मानसिक परिवर्तनको बारे शिक्षा दिनु पर्छ । यौन क्रियाकलाप के हो ? यसको सही उमेर र अपनाउनुपने सावधानीको पनि चर्चा हुनु आजको यौन जागरुकताको माग रहेको देखिन्छ ।
अर्थशास्त्रले यौनलाई पनि आधुनिक दुष्टिकोणभित्र आधारभूत आवश्यकताभित्र नै राखेको छ । युवाहरुमा वीर्यको निर्माण प्रक्रिया र युवतीहरुमा सन्तान उत्पत्तिमा यस्को महत्वपूर्ण भूमिका साथै संसर्ग गर्ने स्वस्थ र अनुशाषित उमेर र तरिकाको ज्ञानात्मक जानकारी नरहेकै खण्डमा युवा असुरक्षित संसर्गमा पर्छन् ।
यस्तै युवतीहरुमा प्रजनन् अंगको संरचना, गर्भधारणको उचित उमेर आदिको पनि जानकारी समयमै दिइनुपर्छ । धेरै शिक्षित युवती समेतमा तिनका यौनाङ्गको संरचना र कार्य थाहा नभएको हुनसक्छ जबकि यी धेरै नै आधारभूत यौन शिक्षाभित्र पर्न जान्छ । आधुनिकताको आडमा किशोरावस्थामै संसर्गमा आउनु बच्चाको न शैक्षिक लक्ष्यको हितमा हुन्छ न त नेपाली संस्कृति र मान्यताभित्र पर्न जान्छ ।
नेपाल सरकारले अश्लिल वेवसाइटहरु दुरसञ्चार निर्देशिकाअनुसार नेपालको सीमाभित्र निषेधित गरेता पनि यो पूर्णरुपेण निषेधित हुन सकेको छैन । जसले गर्दा कलिलो उमेर समूहका केटाकेटीहरुलाई खासै यौनजागरुकता नहुने भएता पनि जिज्ञासाबस त्यस्ता अश्लिल वेवसाइटहरुभित्र छिरेमा सजिलै बहकिने सम्भावना हुन्छ । सरकारले पनि त्यस्ता वेवसाइटहरु प्रतिबन्धित गर्नुको साथै युवाहरुको शैक्षिक संस्कारमै यौनजन्य जागरुकता र सजगता स्थापित गर्नसके बढी प्रभावकारी हुने देखिन्छ ।
यौन जागरुकता कै अभावमा किशोरकिशोरी तथा युवायुवतीहरुले विज्ञान, प्रविधि, व्यवस्थापन, उद्यमशीलता र देशको अर्थ, शिक्षा, राजनीति आदिमा सिर्जनशीलता तथा नवप्रवर्तन गर्ने बेलामा सामाजिक सञ्जालका रिल्स, भिडियोमा मख्ख परिराख्ने, विपरित लिङ्गप्रतिको आकर्षणले असामाजिक क्रियाकलाप गर्ने र पछि कलिलो उमेरमा नै आमा, बाबु बन्नेजस्ता अव्यवहारिक क्रियाकलापमा फस्न सक्छन् ।
यौन जागरुकतामुलक शिक्षाले युवा वर्गलाई यौन भनेको सामान्य कुरा रहेको र यो समग्र जीवन नभई जीवनको एक अति लघु अंश मात्र रहेको बोध गराउँछ । यसले युवाहरुमा यौन सम्वन्धी गलत व्यवहारमा कमी ल्याउँछ । यौनसम्वन्धी शिक्षाले युवाहरु अप्राकृतिक क्रियाकलाप र दुव्र्यसनबाट मुक्त हुन गई बौद्धिक विकासतिर अग्रसर हुन सक्छन् । एकाग्रतामा बृद्धि भई सही कार्यका लागि अग्रसर हुन जान्छन् । शुभम् ।
( दिपेश कर्ण मधेश विश्वविद्यालय, वीरगञ्जका उपप्राध्यापक तथा परीक्षा व्यवस्थापन शाखा प्रमुख एवम् पूर्वाञ्चल विश्वविद्यालयमा व्यवस्थापन विषय अन्तर्गत स्नातकोत्तर दर्शनाचार्यका अध्येता ‘एमफिल स्कलर्स’ हुन् ।)
View : 383
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved